किसान र शिक्षकको योगदानको कदर गर्न जानेन समाजले

भीमकाय वृक्षको उत्पत्ति मसिना दाना वा बिउ नै हुन् तर हाम्रो नजर बिउमा होइन रुखमा पर्छ । सबै तह, तप्का र ओहोदामा आसीनहरू या साधारण मानिसहरुको आधारभूत आहार कृषकको योगदान हो, तर तिनै किसान नजरमा आउँदैनन् । समाजका विभिन्न विधाका विश्वविख्यात व्यक्तित्वले विश्व वा समाजलाई जे जति योगदान गरेका छन्, त्यसको पिँधमा आउँछन् — शिक्षा र शिक्षक । यसरी जो कोहीको प्रगतिको आधार बन्ने किसान र शिक्षकप्रति हाम्रो नजर त्यति पर्दैन ।
गएको फागुन २२ गते बिहान १० बजे, स्वास्थ्य चौकीमा चिकित्सक भेट्ने तय (अपोइन्टमेन्ट) गरेको थिएँ । समयमै त्यहाँ पुगेँ र रिसेप्सनमा आफू आइपुगेको जानकारी गराएँ । यसो गर्नु बेलायतमा प्रचलित व्यवहार हो ।
मलाई त्यहाँ केहीबेर प्रतीक्षा गर्न भनियो । प्रतीक्षा स्थलमा बसेर इन्टरनेट चलाउँदा मेरो आँखा एउटा समाचारमा पुथ्यो । समाचारको शीर्षक थियो — बेलायती किसानहरू आन्दोलनमा । नेपालमा यस्ता आन्दोलन सामान्य नै भए । नेपाली किसानले सामान्यतः मल, बिउ र बजारका लागि गरेका आन्दोलन हाम्रा लागि नयाँ होइनन् ।
नेपाली किसानकै अवस्था सम्झँदै मैले बेलायती किसानको आन्दोलनबारे लेखिएको समाचार पढिसकेँ । त्यस समाचारले सम्प्रेषण गर्न खोजेको सन्देश भने भिन्न थियो । सोही समाचारको प्रभावमा म यो आलेख लेख्दै छु ।
म किसान परिवारमा जन्मे–हुर्केको व्यक्ति हुँ । जीवनको सुरुवाती वर्षमा म कृषि र शिक्षण पेसामा संलग्न थिएँ ।
समाचार पढ्दै जाँदा मेरो ध्यान कृषि र शिक्षण पेसातर्फ मोडियो । आजसम्म मान्छेले जेजति विकास र आविष्कार गरेको छ, त्यसको पिँध वा आधारमा आउँछन् — कृषि र शिक्षण । किसान र शिक्षक दुवै वर्गको योगदान एकातिर र संसारमा विभिन्न समयमा विभिन्न व्यक्तिले गरेको महत्त्वपूर्ण काम वा आविष्कारलाई हेर्ने नजर र व्यवहार अर्कोतिर । अनि निक्र्योलमा पुगेँ कि मैले आफ्ना केही भावना वा विचार पस्कनैपर्छ ।
- हाम्रो अवलोकन कति ठिक कति बेठिक !
प्रायः हामी देखिएको ठुलो चिजलाई हेर्छौं । पोखरी, तालतलाउ, नदी या महासागरको रूप पानीका सानासाना थोपाको सङ्कलन नै हो । संसारका विभिन्न भूभागमा पाइने सानातिना बुट्यानदेखि ठुला रुखहरूको उद्गम आफ्ना प्रजाति अनुसारका मसिना तथा साना बिउका दाना नै हुन् । इजिप्टका पिरामिडदेखि चीनको विशाल पर्खाल, फ्रान्सको आइफेल टावर, अमेरिकाको ट्विन टावर, नेपालको धरहरा लगायत संसारका प्राचीन तथा आधुनिक महल तथा सम्पदा तिनै मसिनो माटो, बालुवा आदिको समष्टि रूप नै हुन् भन्ने भुल्नु हुँदैन ।
विनाशतर्फ हेर्दा— प्रत्येक वर्ष विशाल जङ्गल (२०२५ को क्यालिफोर्निया, २०१९ को अमेजन, २०१९/२० को अस्ट्रेलिया) आगोको झिल्कोबाट सखाप भएका प्रशस्तै उदाहरण इतिहासका पानामा दर्ज भएका छन् । यसै वर्ष नेपालमा पनि तराई मात्र नभएर तेह्रथुम लगायत जिल्लामा डढेलोको क्षति बेहोर्नुपरेको तितो अनुभव ताजै छ ।
यहाँ निर्माण र विनाशका दुई भिन्न रूप प्रस्तुत गरिए पनि दुवैमा स्थापित गर्न खोजिएको प्रसंग साना या सूक्ष्म वस्तुको योगदान या कारण नै हो, चाहे विशाल भवन निर्माणमा होस् या डढेलोको विनाशमा । सामान्यतया हाम्रो ध्यान ती सूक्ष्म वस्तुप्रति नभई सतही र वर्तमानमा देखिएका अवस्था र वस्तुप्रति जान्छ या गएको देखिन्छ । अथवा ती वर्तमानमा देखिएका सार रूपको पछाडिका मूल कारक तत्त्व गौण मानिन्छन् वा त्यसमा ध्यान पुगेको देखिँदैन ।
- प्रतिभाशाली व्यक्तिहरूको धरातल के ?
विश्वका सानाठुला, धनी–गरिब या विकसित अविकसित सबै मुलुकका आ–आफ्ना विशेषता र वैभवहरू छन् । हामी आम सर्वसाधारण भने अरुको देख्छौँ तर आफूसँग भएको देख्दैनौँ । नेपालीमा प्रसिद्ध भनाइलाई साभार गर्दै भन्दा कस्तुरीले आफूसँग भएको बिनाको ख्याल नगरी वास्ना खोज्न भौतारिएजस्तै । अर्थात् यो कतै हाम्रो दृष्टि भ्रम नै त होइन ? अथवा हामीमा आलोचनात्मक चेतको कमी त होइन ? योबारे भविष्यमा कुनै अर्कै प्रसंगमा आउला ।
संसारमा जति पनि वैज्ञानिक, लेखक, कलाकार छन् ती सबैले सर्वप्रथम स्वस्थ जीवनलाई ध्यान दिन्छन् र दिए । स्वस्थ जीवनका लागि स्वच्छ आहार आवश्यक हुन्छ, जुन हामीलाई विशेषतः कृषिबाट प्राप्त हुन्छ । त्यसपछि उनीहरूको बौद्धिक उर्जाको आधार हो, शिक्षा । शिक्षाका लागि शिक्षक अनिवार्य हुन्छ ।
किसानको पौरख र पसिनाबाट उब्जाइएका कृषि उपजको भरमा हाम्रो जीवन आश्रित छ । निल आर्मस्ट्रङ चन्द्रमामा पुगे पनि साथमा लगेको आलु, गहुँ आदिका परिकार त तिनै किसानको पौरखबाट उब्जाइएका थिए र चन्द्रलोकबाट फर्की आएपछि पनि तिनै कृषि उपज आवश्यक परेकै थियो ।
- किसानको योगदान र सामाजिक हेराइ
आफूलाई सर्वाधिक शक्तिशाली र बलवान् ठान्ने संसारकै नेता वा शासकलाई प्रश्न गरौँ — तपाईं बलियो कि एक किसान ?
यसमा मेरो जवाफ हुन्छ, किसान ।
किसानहरूले उब्जाएको खाद्यवस्तु (आलु, गहुँ, सब्जी, फलफूल आदि) खाएर मात्रै तपाईं बिहान आफ्नो कार्य क्षेत्रमा खट्नुहुन्छ, म पनि खटेको छु । किसानको पौरख र पसिनाबाट उब्जाइएका कृषि उपजको भरमा हाम्रो जीवन आश्रित छ । नील आर्मस्ट्रङ चन्द्रमामा पुगे पनि साथमा लगेको आलु, गहुँ आदिका परिकार त तिनै किसानको पौरखबाट उब्जाइएका थिए र चन्द्रलोकबाट फर्की आएपछि पनि तिनै कृषि उपज आवश्यक परेकै थियो ।
दुर्भाग्य भनौँ या के भनौँ, तिनै किसानको अवस्थाबारे सोच्ने या तिनीहरूको अवस्था सुधारबारे हरेक समाज र राष्ट्रको हेर्ने दृष्टिकोण सधैँ वक्र रहेको देखिन्छ वा मलाई यस्तै अनुभूति हुन्छ । उदाहरणका लागि हालसालै भारत र बेलायतका किसान आन्दोलन हेरौँ । नेपालमा त यस्ता आन्दोलन खास गरी शासक वर्गका लागि सामान्य भएर भइरहेका छन् । भारतका किसानले कृषि ऋण मिनाहा हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनमा मुद्दा चलाइएका किसानको मुद्दा फिर्ता लिनुपर्ने लगायत माग राखेर आन्दोलनरत छन् । राजधानी नयाँदिल्ली पुगेर सरकारलाई आफ्ना माग सुनाउने भन्दै किसानहरूले गत वर्षको फागुन १ गतेदेखि दिल्ली जाऔँ अभियान सुरु गरेका थिए, (कान्तिपुर टीभी, फागुन ४, २०८०) ।
भारतीय किसान आन्दोलनको समर्थनमा बेलायतको लेबर पार्टीका सांसद जर्मी कोर्बिनले भारतीय किसानको पक्षमा उभिन आवश्यक रहेको बताए, (अनलाइनखबर, २०७७ फागुन २५ गते) ।
विडम्बना सांसद कोर्बिनले भारतीय किसानको पक्षमा आवाज उठाइरहँदा बेलायती किसान वर्तमान लेबर सरकार (कोर्बिनकै पार्टी) ले लगाएको मृत्यु कर (इन्हेरिट्यान्स ट्याक्स) को विषयलाई लिएर आन्दोलनरत छन् । कतै यो अरुको आङको जुम्रा देख्ने तर आफ्नो आङको भैँसी नदेख्ने नेपाली उखानजस्तै त भएन । यसले कतै राजनीतिज्ञको प्रवृत्तिको प्रतिनिधित्व गरेको होइन जस्ता जिज्ञासा उत्पन्न गरेको देखिन्छ । यद्यपि यसलाई अर्कै बहसको विषय बनाउन सकिएला ।
हरेक राज्यले समस्या समाधानभन्दा निस्तेज पार्ने बाटाहरू अनुसरण गरेको देखिन्छ । उदाहरणका लागि किसान आन्दोलनलाई निस्तेज पार्न राज्य संयन्त्रले सबै खाले प्रयास गरेको तितो यथार्थ देखियो । बन्दका कारण भारतको राजधानी दिल्लीसहितका राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनकारीलाई दिल्ली प्रवेश गर्न रोक लगाइएको छ । तर विभिन्न प्रदेशहरूले नाका बन्द गरेर किसानलाई रोक्दै आएका छन् । नेपालको प्रसंगमा माथि नै चर्चा गरियो । के सबैतिरका राज्य सरकारहरू यस्तै हुन् या भुइँ तहका नागरिकलाई यस्तै व्यवहार गर्नुपर्छ ?
- शिक्षकको योगदान र सामाजिक हेराई या दृष्टिकोण
विभिन्न विधामा स्थापित र सिद्धहस्त व्यक्तित्वलाई जिउन र शारीरिक तथा मानसिक श्रम गर्न आवश्यक पर्ने खाद्य वस्तु नै हो, जो किसानले उत्पादन गर्छन् तर समाजमा तिनीहरूको कदर देखिँदैन ।
त्यस्तै शिक्षक या गुरु पनि समग्र हेराइमा नपरेका या सम्बोधन नगरिएका पात्र भएको आभास हुन्छ— बेलाबखत समाज र राज्यले शिक्षकप्रति गरेका या देखाएका व्यवहारले यही पुष्टि गर्छन् । आफू पेसाले शिक्षक भएको नाताले नभई यहाँ यस स्तम्भका लागि निरपेक्ष भएर ‘शिक्षक’प्रति देखिए देखाइएका प्रमाण र व्यवहारको आधारमा विचार प्रस्तुत गरेको हुँ ।
समस्त तह र तप्काका मानवलाई खानका लागि उत्पादन गर्ने काममा किसानको योगदान हुन्छ । त्यस्तै ज्ञानको भोक मेटाउने आधार या सहयोगी भनेका शिक्षक या गुरुहरू हुन् । ‘गुरु’ शब्दको अर्थ मार्गदर्शक, शिक्षक या ज्ञानदाता भनेर बुझिन्छ । प्रसिद्ध दार्शनिक, साहित्यकार, कलाकार, वैज्ञानिक, डाक्टर, इन्जिनियर आदि सबैका उत्पादक त सम्बन्धित विधाका तिनै गुरुहरू या शिक्षकहरू थिए र हुन् । जीवनका पछिल्ला समयमा आर्जित उपलब्धिका मूल आधार या स्रोत त तिनै गुरुहरू या शिक्षकहरू हुन् । सेक्सपियर, बर्नार्ड सा, अरस्तु, पिकासो, नील आर्मस्ट्रङ, चर्चिल आदि सबैलाई पनि कसै न कसैले आफ्नो भाषाका अक्षर र अङ्कहरू सिकाएकै हुन् । नेपालका पनि भानुभक्त, लेखनाथ, लक्ष्मीप्रसाद आदिलाई पनि कसैले अक्षर र अंक सिकाएकै हुन् ।
मलाई भने मेरा पिता (चुडामणि भट्ट)ले पढ्न र लेख्न सिकाउनुभएको थियो । आनी, बानी र संस्कार मेरी आमा धनकुमारीले सिकाउनुभएको हो । मेरो जस्तै अरुको पनि ।
उद्घोषकले त्यहाँ भएका इन्जिनिएर, अकाउन्टेन्ट, डाक्टर, पत्रकार आदि भनी सबैतिर आँखा डुलाई सम्बोधन गर्नुभयो । मैले शिक्षक भन्नुहुन्छ या हुन्न भनी बडो ध्यानपूर्वक सुनिरहेको थिएँ । दुर्भाग्य भनिएन । उद्घोषकले जति विधाका व्यक्तिहरूको नाम लिए पनि आखिर ती सबैका कोही न कोही त शिक्षक थिए ।
अर्थात् मेरो जग या आधार या धरातल त्यही हो, यद्यपि म अहिले जहाँ र जुन अवस्थामा आइपुगेँ । यसै साथ अर्काे पाटो जोडिहालौँ, मैले मेरो औपचारिक शिक्षाको आरम्भ अर्थात् प्राथमिक तहदेखि पीएचडीसम्म मलाई अध्यापन गर्नुभएका सबै गुरु तथा गुरुआमाहरूको नाम सङ्कलित पुस्तिका प्रकाशनमा ल्याउने कार्य अगाडि बढाइरहेको छु । मैले विद्यावारिधि गरे पनि मेरो शोध–ग्रन्थमा पोखिएका अक्षर तथा अङ्कहरू सिकेको या जानेको त त्यही मेरो गाउँको श्री सिद्धकाली माध्यमिक विद्यालयबाट हो । जुन त्यतिबेला प्राथमिक नै हो र बाह्रखरी सिकाउने गुरु तारानाथ भट्ट हुनुहुन्थ्यो । त्यसैले मैले धेरै ठाउँमा धरातलको कुरालाई जोड दिएको हुँ, किनकि टाढाबाट टुप्पो देखिए पनि धरहरा त जग या आधारभूमिमै उभिएको हुन्छ । नेपालको धरहरालाई भुइँचालोले दुई–दुईपटक ढाल्यो तर आधार त यथास्थानमा छ ।
किसानप्रतिको हेराइ जस्तै शिक्षक र शिक्षण पेसाप्रतिको हेराइ र गरिने व्यवहार सुमधुर र सकारात्मक कहिल्यै भएन, आजसम्म भएको छैन । यद्यपि केही पनि नभएको पक्कै होइन । मात्रात्मक सुधार धरहराको टुप्पो जस्तै भए पनि गुणात्मक पक्ष भने जे–जस्तो हुनुपर्ने हो त्यो भएको छैन ।
नेपालमा कक्षा १–१२ सम्म ३ लाख २५ हजार शिक्षक अध्यापन गर्नुहुन्छ (द काठमाडौँ पोस्ट, मार्च ९, २०२५) । यति ठुलो जमातमा कहीँ न कसैबाट बेलाबखत कमी–कमजोरी भएका छैनन् भनी दाबी गर्न सकिँदैन । विडम्बना के देखिएको छ भने सीमित कमजोरीलाई देखाएर समग्र जगतलाई नै दोषी करार गर्ने यदाकदा प्रयत्न भइरहेको छ । यो त प्रवृत्ति तथा प्रणालीको उपज पनि हो भन्ने केही आधार छन् । उदाहरणका लागि राजनीतिको आरोप । हो, नेपाली शिक्षकहरू विभिन्न राजनीतिक दलका भ्रातृ संगठनजस्तै परिचालित भएको पनि नदेखेको होइन । यदि अनुगमन र वृत्ति विकासका अवसर हुने हो भने यस्ता सवाल स्वाभाविक रूपमा न्यून भएर जान्छन् । प्रत्येक सरकारका पालामा एक वा अर्काे मुद्दाका लागि आन्दोलन गर्नुपर्ने अवस्थामा शिक्षक समुदाय पुगेको तितो सत्य हो ।
शिक्षा क्षेत्रमा काम गरिसकेको व्यक्तिको नेतृत्व शिक्षाले पायो भने शिक्षक लगायत समग्र शिक्षा प्रणाली सुधार हुन्छ भन्ने भाष्य बेला–बखत सुनिएको हो । यसो हो भने पञ्चायत कालदेखिकै शिक्षा मन्त्रालयको मात्र नभई समग्र सरकारको नेतृत्व गरिसक्नु भएकाहरूको पृष्ठभूमि हेरौँ । मेरो जानकारीमा भएसम्म राज्य सञ्चालनको बागडोर सम्हालिसक्नुभएका पूर्वप्रधानमन्त्रीहरू स्व. सूर्यबहादुर थापा, स्व. मरिचमान सिंह श्रेष्ठ र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबैको पृष्ठभूमि प्रधानाध्यापक तथा शिक्षक नै थियो । शिक्षाको नेतृत्व सम्हालिसक्नुभएका शिक्षामन्त्रीहरू केशरबहादुर विष्ट, अर्जुननरसिंह केसी, रामहरि जोशी, कुलबहादुर गुरुङ, गोविन्दराज जोशी, देवीप्रसाद ओझा, दिनानाथ शर्मा, शिशिर खनाल र हालकी विद्या भट्टराई सबै विद्यालय तथा महाविद्यालयमा सेवा गरिसक्नुभएका व्यक्तित्व हुनुहुन्थ्यो र हुनुहुन्छ । स्मरण रहोस् देवी ओझा त शिक्षक संगठनको महासचिव तथा अध्यक्षकै हैसियतमा शिक्षक आन्दोलनको नेतृत्व मात्र नभई भोक हडताल समेत गर्नुभएको थियो । उल्लिखित मन्त्रीहरूको कसकसको पालामा शिक्षामा के तात्त्विक र दीर्घकालीन हित हुने कदमहरू चालिए ? यहीँ सवाल उठ्छ, उचित पृष्ठभूमि मिलेन भनौँ भने सबै शिक्षा क्षेत्रका अनुभव प्राप्त । तसर्थ मेरो निष्कर्ष हो, इच्छाशक्तिको कमी, दीर्घकालीन सोच र दूरदर्शितामा कमी, र सबैभन्दा प्रबल दोषी कतै ‘प्रवृत्ति’ त होइन ? यहाँ पनि प्रसंग आउँछ धरहराको टुप्पो र धरातल ।
धरातल बिर्सिने दुईवटा तितो प्रसंग प्रस्तुत गरिहालौँ । २०४० सालतिर नेपालमा शिक्षक आन्दोलन चलिरहेको थियो । म त्यसताका दुल्लभ माध्यमिक विद्यालय, घ्याम्पेसाल, गोरखाको प्रधानाध्यापक थिएँ, साथै शिक्षक संगठनको पदाधिकारी पनि । एकजना सिकिस्त बिरामी काठमाडौँ लैजानुपर्ने थियो । गोरखामा त्यसताका सवारी–साधनको उपलब्धता कम थियो, न त एम्बुलेन्स सेवा नै । एक कार्यालयका हाकिम (नाम उल्लेख नगरौँ) सँग कुनै दोस्रो व्यक्तिको साथ त्यस कार्यालयको गाडी सहयोग माग्न गइयो । बिरामी पछि–पछि गाउँलेहरूले ल्याउँदै हुनुहुन्थ्यो । त्यही पर्खाइको समयमा शिक्षक आन्दोलनको प्रसंग निस्कियो । एक्कासि ती हाकिमले बडो रवाफका साथ आन्दोलनप्रति आफ्नो नकारात्मक प्रस्तुति कटाक्ष गर्नुभयो । आन्दोलनप्रति सकारात्मक या नकारात्मक धारणा राख्न पाइन्छ, त्यो सम्बन्धित व्यक्तिको अधिकार हो । त्यसमा मेरो आपत्ति थिएन । उहाँको तर्क थियो, ‘हामी प्रथम श्रेणी पास गरेकाहरू, प्लान पायौँ त्यही अनुसार काम पाएका छौँ । शिक्षकहरू तृतीय या मुस्किलले द्वितीय श्रेणी पास गरेकाले हामी सरह सुविधा खोज्ने ?’ यसप्रति मेरो तिखो टिप्पणी रह्यो र विनयपूर्वक भनेँ, सर ! तपाईंलाई प्रथम श्रेणीमा उत्तीर्ण हुन सक्ने गरी सिकाउने त आखिर तिनै तृतीय या द्वितीय श्रेणी पास गरेकाले नै रहेछ । तपाईंले त झन् गर्व गर्नुपर्नेमा उल्टै खेदो खन्ने ? उहाँ अलि असमञ्जस जस्तो महसुस गरी मैले त्यसो भन्न खोजेको होइन भनी सफाइ दिन थाल्नुभयो । त्यत्तिकैमा हाम्रो बिरामी लिएर गाउँलेहरू आइ पुग्नुभयो ।
प्रशस्तैमध्ये झन्डै हालसालैको भन्दा पनि हुन्छ एउटा पेसाकर्मीको बिचको छलफल समारोहको प्रसंग पनि धरातल भुलेको त्यत्तिकै रोचक छ । औपचारिक कार्यक्रम घोषणा गर्दै गर्दा उद्घोषकले उपस्थित सबै तह र तप्काका व्यक्तिलाई सम्बोधन गर्ने नेपाली परम्परा नै हो । अन्यत्र जस्तै यहाँ पनि उद्घोषकले त्यहाँ भएका इन्जिनिएर, अकाउन्टेन्ट, डाक्टर, पत्रकार आदि भनी सबैतिर आँखा डुलाई सम्बोधन गर्नुभयो । मैले शिक्षक भन्नुहुन्छ या हुन्न भनी बडो ध्यानपूर्वक सुनिरहेको थिएँ । दुर्भाग्य भनिएन या उच्चारण गरिएन । उद्घोषकले जति विधाका व्यक्तिहरूको नाम लिए पनि आखिर ती सबैका कोही न कोही त शिक्षक थिए, जसको कारण उहाँहरू आज यो स्थानमा आइपुग्नुभएको छ । मैले अन्य पेशाको अवमुल्यन गरेको बिल्कुलै होइन, सबै पेशाको आ-आफ्नो ठाउँमा उत्तिकै महत्त्व हुन्छ l साथै, म आफू शिक्षक भएकाले भाउ खोजेको पनि होइन । मात्र हाम्रो धरातलीय यथार्थतालाई नजरअन्दाज गरिने प्रवृत्तिप्रति मात्रै संकेत गर्न खोजेको हुँ । यस्ता थुप्रै प्रसंग छन् जहाँ धरातल बिर्सने या त्यसको महत्त्व नदिने । अर्थात् खोलो त-यो, लौरो बिर्सियो भन्ने उखान जस्तै चरितार्थ भयो कि ?
- निष्कर्ष
अब निष्कर्षमा भन्नुपर्दा शिक्षाको महत्त्वबारे शिक्षालाई महत्त्व दिनेमा नेल्सन मन्डेलाको भनाइ हरेक समय र मुलुकका लागि सान्दर्भिक छ र हुनेछ, ‘यदि समाज नष्ट गर्नु छ भने सैन्य शक्ति निर्माण गर र तालिम होइन शिक्षा क्षेत्रलाई तहसनहस गर्नु ।
यस भनाइले शिक्षाको महत्त्व र गहनता कति रहेछ भन्ने पक्कै बोध हुन्छ । कतै नेपालमा मन्डलाको भनाइले सार्थकता पाएको त होइन ? जसका कारण यस क्षेत्र सधैँ सत्तासीनको बोलीमा ‘गरिनेछ’ र बाँकी सबैको जिब्रोमा ‘केही भएन’को रटान गुन्जिरहन छाडेन । अब एकपटक सबै तह र तप्काले आफूभित्रै नियाल्ने बेला भइसक्यो कि ?
त्यस्तै कृषि र कृषकलाई केन्द्रमा राखेर हेर्नुपर्ने महत्त्व र सान्दर्भिकताबारे नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. बीपी कोइरालाले योजना आयोगको सभा कक्षमा योजना निर्मातालाई सम्बोधन गर्ने क्रममा दिनुभएको निर्देशन एउटा अनुपम उदाहरण हो । सो निर्देशन निश्चित रूपमा सान्दर्भिक थियो, छ र भविष्यमा पनि हुनेछ । दुर्भाग्य त्यो दूरदर्शी र मर्मस्पर्शी विचारको अनुसरण नहुँदा नेपालको अर्थतन्त्र मात्र नभई कृषक र कृषि क्षेत्रका समस्या ज्युँका त्युँ छन् भन्दा अत्युक्ति नहोला । त्यस्तै भुइँ तहका आम मानिसलाई जोड्न महात्मा गान्धीको चर्खा आन्दोलन कमै मर्मस्पर्शी थिएन ।
अन्त्यमा, मन्डेला, बीपी या गान्धीका यी र यस्तै वाणीको मात्र पनि व्यक्तिगत, पारिवारिक, सामाजिक तथा राज्य सञ्चालनमा थोरै मात्र ध्यान पुगे परिस्थिति अहिले भन्दा भिन्नै हुने थियो कि ? बाँकी पाठक वर्ग र सम्बन्धितहरूको जिम्मा ।
(दुल्लभ मावि, रेडन कलेजका पूर्वप्राचार्य, नेल्टाका पूर्वअध्यक्ष तथा नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय वरिष्ठ उपाध्यक्ष डा. भट्ट कोवेन्ट्री विश्वविद्यालय ग्रुप, बेलायतमा प्राध्यापन गर्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लो स्कोरिङ खेलमा लुम्बिनीसामु टिकेन मधेस
-
मुलुकको समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा
-
च्यासलमा एमाले सचिवालय बैठक
-
अदालतले रोक्दारोक्दै ट्रम्प प्रशासनद्वारा सयौँ ग्याङ मेम्बर डिपोर्ट
-
ओली र देउवासँग प्रचण्डको प्रस्ताव– गणतन्त्र पक्षधर मिलौँ
-
घाँटी हेरेर मात्र हाड निल्नुपर्छ : गभर्नर अधिकारी