सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : गेटा मेडिकल कलेज

‘नेताहरूको इच्छाशक्ति अभावका कारण मेडिकल कलेज सञ्चालन हुन सकेन’

सोमबार, ०४ चैत २०८१, ०९ : ३२
सोमबार, ०४ चैत २०८१

धनगढी । सुदूरपश्चिमको स्वास्थ्य र शिक्षा क्षेत्रमा लामो समयदेखि उपेक्षा हुँदै आएको छ । गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा यहाँका नागरिक ठुला तथा गम्भीर रोगको उपचारका लागि काठमाडौँ वा भारत जान बाध्य छन् ।

यो समस्यालाई समाधान गर्न कैलालीको गोदावरी नगरपालिका–५, गेटामा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने माग राख्दै नागरिक समाजले लामो समयदेखि संघर्ष गरिरहेको छ । तर, अझै पनि मेडिकल कलेज सञ्चालनको माग पूरा हुन सकेको छैन ।

यस विषयमा हामीले गेटा मेडिकल कलेज संघर्ष समितिका संयोजक तथा नागरिक अगुवा लोकराज पाण्डेसँग सविता बुढाले  कुराकानी गरेकी छन् । प्रस्तुत छ, पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • गेटा मेडिकल कलेजको इतिहास के हो?

यसको इतिहास निकै दर्दनाक छ । सुदूरपश्चिममा पटक–पटक प्रधानमन्त्री, मन्त्री, सांसदहरू आए । उनीहरूले यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि गम्भीर चासो देखाएनन् । उनीहरूले कहिल्यै पनि यो विषयमा बुझ्न चाहेनन् ।

आफूहरू काठमाडौँ सहरमा बस्ने, आफ्ना बालबच्चा सुविधायुक्त ठाउँमा राख्ने, आफूहरूले त्यो समस्या भोग्न नपरेपछि यहाँका जनताको दुःख, पीडा कहाँ बुझ्न सक्छन् !

सुदूरपश्चिममै एकमात्र विश्वविद्यालय महेन्द्रनगरमा छ– सुदूरपश्चिम विश्वविद्यालय । यसको अवस्थासमेत कमजोर छ । विश्वविद्यालय राजनीति गर्ने थलोका रूपमा चिनिएको छ ।

गेटामा मेडिकल कलेज स्थापनाको विषय २०५५/०५६ सालतिर उठेको हो । त्यतिबेला शंकराचार्यले मेडिकल कलेज खोल्ने विषय उठाउँदा स्थानीयमा ठुलो आशा जागेको थियो ।

त्यसपछि पटक–पटक ज्ञापनपत्र बुझाइयो, आन्दोलन गरियो, अनि बल्ल २०७० सालमा सरकारले मेडिकल कलेजका लागि बजेट छुट्ट्यायो । समस्या के भयो भने, त्यो क्षेत्र जङ्गल भएका कारणले वातावरणीय मूल्याङ्कनका नाममा रुख कटान रोकिन थाल्यो । जनताको निरन्तर दबाबपछि बल्ल रुख कटानको काम अघि बढ्यो ।

७ अर्ब रुपैयाँको लागतमा ७७ बिघा जमिनमा ४३ वटा गगनचुम्बी भवन निर्माण गरियो तर, तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने सरकारी निर्णय कार्यान्वयनमा आउन सकेन । अहिले अस्पताल सञ्चालन भए पनि ५० शय्यामा मात्र सीमित छ ।

  • मेडिकल कलेज सञ्चालनका लागि लामो समयदेखि आवाज उठाइरहनु भएको छ, कत्तिको प्रभाव परेको छ ?

सुदूरपश्चिममा हालसम्म एउटा पनि मेडिकल कलेज छैन । देशभरि २५ भन्दा बढी मेडिकल कलेज छन्, १५२ भन्दा बढी उच्च स्वास्थ्य संस्थान छन्, तर सुदूरपश्चिम अझै पनि उपेक्षित छ ।

हाम्रो आन्दोलनबाट ठुलो प्रभाव परेको छ । सरकारले नेपालकै पहिलो मेडिकल विश्वविद्यालय गेटामा खोल्ने निर्णय गरिसकेको छ । राष्ट्रिय सभाले ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ सम्बन्धी विधेयक पारित गरिसकेको छ । मेडिकल कलेज सञ्चालनका लागि लगातार दबाब परिरहेको छ तर, कार्यान्वयनका लागि सरकारले अझै ढिलाइ गरिरहेको छ । हामी यो सञ्चालन गर्नका लागि दबाब दिइरहने छौँ ।

  • आन्दोलनका क्रममा के–के गर्नुभयो ?

हामीले आन्दोलनको क्रममा सडकदेखि सदनसम्म आवाज उठाइसकेका छौँ । चक्काजाम, आमरण अनशन, शान्तिपूर्ण प्रदर्शनदेखि लिएर मुख्यमन्त्री कार्यालय, प्रदेश सभा, प्रमुख जिल्ला अधिकारी, स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसम्म ज्ञापनपत्र बुझाएका छौँ । विद्यार्थीहरूलाई सडकमा उतारेका छौँ । पत्रकार सम्मेलन, छलफल कार्यक्रमहरू आयोजना गरेका छौँ तर, सरकार अझै पनि ‘हेरौँला, गरौँला’ को मानसिकतामा छ ।

  • मेडिकल कलेज सञ्चालन नहुनुको मुख्य कारण के हो ?

सबैभन्दा ठुलो कारण भनेकै नेताहरूको इच्छाशक्ति अभाव हो । सुदूरपश्चिमका नेताहरू प्रधानमन्त्री, मन्त्री त भए तर यो विषयलाई प्राथमिकतामा राखेनन् । मेडिकल माफियाको चलखेलका कारण केही नेताहरू मेडिकल कलेजलाई निजी क्षेत्रलाई दिन चाहन्छन्, जसको हामी कडा विरोध गर्छाैं ।

सरकारले अन्य ठाउँमा अस्पताल बनाउन बजेट छुट्ट्याउँछ, तर गेटाका लागि बजेट नछुट्ट्याउने बहाना गर्छ । मेडिकल कलेज सञ्चालनका लागि कानुनी प्रक्रिया संसदबाट पास छिटो पास होस् र कार्यान्वयनमा ल्याउनुपर्छ । यदि यो मेडिकल कलेज निजी क्षेत्रलाई दिइयो भने हामी कुनै हालतमा स्वीकार्दैनौँ । यहाँ मेडिकल विश्वविद्यालय बनाउने सरकारको निर्णयबाट सुदूरपश्चिमेली खुसी भएका थिए तर अहिलेसम्म सञ्चालनका लागि चासो नराख्दा निराश बनाएको छ ।

  • मेडिकल विश्वविद्यालयका लागि बनेका संरचनाको अवस्था अहिले कस्तो छ ?

गेटामा मेडिकल कलेजका लागि नेपालकै उत्कृष्ट सुविधासहितको भवन निर्माण भइसकेको छ । ६ सय शय्याको अस्पताल सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार छन् । अत्याधुनिक ल्याब, लाइब्रेरी, होस्टल, प्रशासनिक भवन बनेका छन् । कालोपत्रे सडक निर्माण भइसकेको छ तर, सरकारले लापरबाही गरेका कारण यी संरचना प्रयोगविहीन छन् । यदि सरकार गम्भीर नभए यी संरचनाहरू भत्किने अवस्थामा पुग्नेछन् ।

  • अब के गर्नुहुन्छ ?

हामी अन्तिमसम्म लड्छौँ । यदि अब पनि मेडिकल कलेज सञ्चालन भएन भने कडा आन्दोलन गर्छाैं । आवश्यक परे आमरण अनशन बस्छौँ । सडकमा झर्छौं, सुदूरपश्चिमलाई ठप्प पार्छाैं । जनताको साथ लिएर सरकारविरुद्ध कडा संघर्ष गर्छाैं । हामी सुदूरपश्चिमलाई मेडिकल हब बनाउने लक्ष्य राख्छौँ । अब सरकारले समितिमा गएको विद्येयकलाई सदनबाट पास गर्ने र तीन सय शय्याको अस्पताल सञ्चालन गरेर, तुरुन्तै मेडिकल कलेज सञ्चालन गरेर विद्यार्थी भर्ना प्रक्रिया थाल्नुका साथै कानुन बनाएर मेडिकल विश्वविद्यालय सञ्चालन गर्नुपर्छ ।

जबसम्म मेडिकल शिक्षा पढाइ हुँदैन, तबसम्म हामी मेडिकल कलेज सञ्चालनका लागि सरकारलाई दबाब दिइरहने छौँ । सरकारले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय छिटै सञ्चालन गर्नुपर्छ । राष्ट्रिय सभाबाट पास भइसकेको विधेयक अब छिटो प्रतिनिधि सभाबाट पास गरेर कानुनी प्रक्रिया पूरा गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?