सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : गेटा मेडिकल कलेज

यहीँ पढ्न पाउँछु कि भन्दाभन्दै अन्तै पढेर डाक्टर भइसकेँ तर अस्पतालको प्रगति भएन

सोमबार, ०४ चैत २०८१, ०९ : २४
सोमबार, ०४ चैत २०८१

धनगढीबाट अत्तरिया निस्किँदै गर्दा दायाँतर्फ भव्य संरचना देखेर जति मन खुसी हुन्छ, यसको बारेमा बुझ्नेहरूलाई त्योभन्दा बढी सरकार र राजनीतिक दलका नेताहरूले यसको सञ्चालनमा गरेको ढिलासुस्ती देखेर आक्रोश र पीडाले मन कटक्क खान्छ । हुन पनि धरहरा पूरा बनेर नसकिँदै उदघाटनको निम्ति हतारो गरिन्छ तर अर्बाैं खर्च गरेर गेटामा बनाइएको संरचना सञ्चालनको सुरसार छैन । कहिले विधेयकको बहानामा, कहिले अरु कुनै बहानामा गेटा मेडिकल कलेजलाई अल्झाउने काम भएको छ ।

कसैले यसको वास्तविकता भन्न खोज्दैनन् । यो लेखमार्फत म प्रतिष्ठान वा विश्वविद्यालय वा मेडिकल कलेजको विवादभन्दा पर रहेर हामीलाई आजको दिनमा गेटामा चाहिएको के हो र अहिले गेटाको अवस्था के छ भन्ने बारेमा चर्चा गर्दछु ।

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा आउनुभयो अनि गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो खुसीको कुरा हो । नेपालमा मेडिकल विश्वविद्यालय छैन, त्यो अब यहाँ बन्छ ।’

तर यो भौतिक संरचना बनेर सञ्चालनको निम्ति कुरिरहेको पनि ४/५ वर्ष भइसकेको छ भन्ने कुरा प्रधानमन्त्रीले बिर्सिदिनुभयो । अझै पनि यो सञ्चालन हुने अत्तोपत्तो छैन । सुरु गरेजस्तो मात्रै गर्नका निम्ति नै होला, ६०० शय्याको अस्पतालसहितको मेडिकल कलेजका निम्ति बनेको भौतिक पूर्वाधार र त्यसै अनुरुप अहिले खरिद हुँदै गरेका उपकरणहरूका बाबजुद ५० शय्याको, त्यो पनि अस्थायी दरबन्दीमात्र स्वीकृत गरेका कारण हरेक वर्ष पुनः स्वीकृत गराउन मन्त्रालय धाउनुपर्ने बाध्यता छ ।

यस सम्बन्धी विधेयक संसदीय समितिमा पुगेको छ तर चालु अधिवेशनबाट त्यो विधेयक पास हुने सम्भावना शून्य प्रायः छ । किनकि संसदमा अरु विधेयक पनि लामो समयदेखि छलफलको पालो कुर्दै बसिरहेका छन् ।

प्रधानमन्त्रीज्यूले दीक्षान्त समारोहमा ‘मेडिकल विश्वविद्यालय बन्छ’ भन्दैगर्दा धनगढीको सेती प्रादेशिक अस्पतालमा कति बिरामी इमर्जेन्सीमा बेड नपाएर भुइँमा पल्टिनुपरेको छ । उता गेटामा राखिएका खाली बेडहरूले भने बिरामी र चिकित्सक नपाएर थन्किनु परेको छ ।

आजको दिनमा गेटामा स्वास्थ्य मन्त्रालय अन्तर्गत ५० बेडको अस्थायी दरबन्दी स्वीकृत गरेर अस्पताल चलाउँदै गर्न भनेर केही संघ अन्तर्गतका चिकित्सक एवं स्वास्थ्यकर्मी, केही छात्रवृत्ति तथा करारका चिकित्सकहरू तथा अन्य स्वास्थ्यकर्मी गरेर १५० को हाराहारीमा कर्मचारी छन् । हिजोआज ओपीडीसहित शल्यक्रिया सेवाहरू र आईपीडी सेवा पनि सुरु गरिएको छ तर सीमित जनशक्ति र अन्य विविध अप्ठ्याराका बिच दैनिक करिब १०० जना बिरामीले सेवा लिइरहेका छन् ।

सरकारले गेटालाई अझै यस्तै अवस्थामा कहिलेसम्म चलाइरहन्छ भनेर अब सुदूरपश्चिमका जनताहरूले आफ्ना नेताहरूलाई प्रश्न गर्नुपर्ने बेला भएको छ । हुन त हामी यस्तो परिवेशमा छौँ, जहाँ २०४८ सालदेखि स्वास्थ्य क्षेत्रको दरबन्दी थप गरिएको छैन । २०४८ सालकै चिकित्सक दरबन्दीकै वरिपरि अझै पनि स्वास्थ्य क्षेत्र अलमलिएको छ । अहिले भौतिक संरचना बनाउन राज्य उत्साहित हुने, महँगा–महँगा उपकरण खरिद गर्न पनि धेरै सोच्नैनपर्ने तर दक्ष जनशक्ति थप्ने कुरामा भने किन हो कुन्नि, सरकार त्यति इच्छुक देखिँदैन ।

सांसद विकास कोषका नाममा अर्बाैं बजेट छुट्ट्याउन गाह्रो नपर्ने, भ्यु टावरहरू ठड्याउन बजेट अभाव नहुने तर भौतिक संरचना र उपकरणहरू खरिद गरिसक्दासमेत यसलाई कम्तीमा पनि ३०० शय्याको क्षमतामा सञ्चालन गर्न ढिलाइ हुनुले गेटालाई सञ्चालन गर्नै नदिने चलखेल त भइरहेको छैन भन्ने आशङ्का उब्जिनु स्वाभाविक हो ।

सानो तर रोचक प्रसङ्ग पनि जोडौँ– हालै चिया पसलमा चिया पिउँदै थियौँ । हाम्रो छेवैको अर्काे टेबलमा बसेका एकजना बुद्धिजीवीका कुरा सुनेर ध्यान आकृष्ट भयो । किनकि त्यो चिया चौतारोमा उठिरहेको विषय थियो– गेटा मेडिकल कलेज कहिले चल्छ होला ?

बुवाको उमेरका एक जना मान्छे भन्दै हुनुहुन्थ्यो– अहिलेको अवस्थामा देशको सबैभन्दा ठुलो राजनीतिक व्यक्तित्व कोही हुनुहुन्छ भने शेरबहादुर देउवा नै हो । किनकि उहाँ देशको सबैभन्दा ठुलो राजनीतिक दलको सभापतिमात्र होइन, अहिले देशका ठुला दुई राजनीतिक दल मिलेर सरकार गठन गरिएको छ । सत्ता गठबन्धन हुँदा भएको सम्झौता तोडिने अवस्था नआए अबको प्रधानमन्त्री पनि उहाँ नै हो । शेरबहादुर देउवाज्यूले चाहने हो भने गेटालाई विश्वविद्यालयकै रूपमा चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीहरू आउन त अझै समय लाग्ला तर ३०० बेडको विशिष्टिकृत सेवासहितको अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न गर्न कुनै आइतबार कुर्नु पर्दैन ।

तर प्रश्न उठ्छ– शेरबहादुर देउवाले नचाहेको चाहिँ किन ?

त्यही चिया चौतारोमा अर्काेले थपे, ‘धनगढीका निजी अस्पतालहरूले नै गेटालाई सञ्चालन हुन दिइरहेका छैनन् ।’

त्यहाँ अनेकथरिका अड्कल हुन थाले तर सबैको चासो र शङ्का जायज अनि व्यापक थियो । उनीहरूमा अलिकति आशा पनि थियो । कम्तीमा पनि ३०० बेडको स्थायी दरबन्दी स्वीकृत गरी सुविधा सम्पन्न अस्पताल चलाउन अखिर केले रोकेको हो ?

आजको दिनमा पनि ५० बेडको, त्यो पनि अस्थायी दरबन्दीबाटै गेटालाई चलाएर सेवा प्रदान गर्न खोज्ने हो भने त्यो भव्य संरचनाबाट पाइने सेवा भनेको जिल्ला अस्पतालसरह हो । भवन र उपकरणले उपचार गर्ने होइन, उपचार गर्नको निम्ति दक्ष जनशक्तिको आवश्यकता पर्छ र त्यो आवश्यकता पूर्ति गर्न सक्दो चाँडो ३०० बेडको दरबन्दी स्वीकृत गरी त्यही अनुरुप सेवा–सुविधा विस्तार गर्न अब ढिलो गर्न हुँदैन ।

आखिर मेडिकल विश्वविद्यालयमा पनि हुने भनेको बिरामीहरूको उपचार नै हो र बिरामीहरूको उपचारको निम्ति आवश्यक पर्ने गुणस्तरीय सेवा सुविधासहितको अस्पताल नै हो । त्यसकारण यदि विश्वविद्यालयका निम्ति आवश्यक कानुनी प्रक्रियामा समय लाग्छ भने पनि अस्पताल सञ्चालनमा ढिलाइ गर्नु न्यायोचित छैन ।

२०६६ सालमा सरकारले सुदूरपश्चिममा मेडिकल कलेज खोल्ने भनेर बजेट विनियोजन गर्दै यहाँका सर्वसाधारणमा आशा जगाउने काम गरेको थियो । अब गेटामा मेडिकल कलेज स्थापना हुने भयो भनेर सम्पुर्ण सुदूरपश्चिमवासी खुसीले गदगद भएका थिए । त्यतिन्जेलसम्म न त साविकको सेती अञ्चल अस्पतालमै सम्पूर्ण विशेषज्ञ चिकित्सकसहितको सेवा सुविधा थियो, न अहिलेजस्तो धनगढीमा निजी अस्पतालहरू नै खुलिसकेका थिए ।

त्यतिबेला सामान्य उपचारकै निम्ति पनि यहाँका बासिन्दालाई भारतका विभिन्न सहर वा नेपालकै नेपालगञ्ज वा काठमाडौँमा जानुपर्ने बाध्यता थियो । अस्पताल पुग्न लामो दुरी तय गर्नुपर्ने अवस्थाका कारण कतिको त बाटोमै ज्यान जान्थ्यो । बजेट विनियोजन भइसकेपछि पनि मेडिकल कलेज निर्माण गर्ने भनिएको क्षेत्रमा पटकपटक नानाथरिका अवरोध आइरहे तर स्थानियवासीको निरन्तरको खबरदारी र चिकित्सा शिक्षाका सुधारका अभियन्ता प्रा डा गोविन्द केसी सरले पटक–पटकको सत्याग्रहमा गेटाको विषयलाई उठान गरेपछि ढिलो–चाँडो भवन बन्ने कार्यले प्राथमिकता पायो ।

भौतिक संरचना बनिसकेपछि भने सरकारले पूर्ण रूपमा यसलाई नजरअन्दाज गरेजस्तै गरी छोडिदियो । म आफैँ पनि बाजुराबाट आएर धनगढीमा प्लस टु पढ्दै गर्दा धनगढीमै मेडिकल कलेज बन्ने कुरा चलिरहेको थियो । मलाई आफू सुदूरपश्चिममा खुल्ने मेडिकल कलेजमै उच्च शिक्षा पढ्न पाउँछु कि भन्ने लाग्थ्यो । यही बिचमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट करिब ६ वर्ष लाग्ने दन्त चिकित्सा सम्बन्धी बीडीएसको अध्ययन पूरा गरी हाल धनगढीमा मैले काम गर्न थालेकै ३ वर्ष पूरा भइसकेको छ ।

मेडिकल कलेज सञ्चालन भए त्यसमै काम गर्थें भन्ने मेरो मनमा अझै पनि नभएको होइन तर आशा गर्दागर्दै समय घर्किरहेको छ । गेटा भने त्यही अवस्थामा छ ।

२०८० मंसिरमा गेटालाई चाँडोभन्दा चाँडो सञ्चालन गर्न दबाब दिन डा. गोविन्द केसी अनशनका लागि यहाँ आउनुभयो । स्थानीयहरूले उहाँलाई ‘तपाईंले किन प्रतिष्ठान भनेको ? यहाँ त विश्वविद्यालय बन्ने भइसकेको छ, तपाईं किन यो बिथोल्न आउनुभयो ?’ भन्दै दुर्व्यवहारसमेत गरे । त्यसपछि पनि र अघि पनि डा. केसी सरले सञ्चालनको मोडालिटी जे भए पनि सञ्चालनमा ढिलाइ गर्न नहुने कुरा पटक–पटक राखिरहनु भएको छ । त्यतिखेर यसरी षड्यन्त्रपूर्वक रूपमा प्रचार गरियो कि– अबको केही दिनमा विश्वविद्यालयको सबै तयारी पूरा भएर उदघाटन हुन्छ ।

आज त्यो घटना भएको पनि १७ महिनाभन्दा बढी भइसक्यो तर अहिलेसम्म संसदमा विधेयक प्रस्तुत हुने बाहेक अरु कुनै कुरामा थप प्रगति भएको छैन । अहिले सबैले बुझेको हुनुपर्छ, गेटालाई रोक्न गोविन्द केसी आउनु पर्दैन, यसलाई रोक्न त हाम्रै उच्च राजनीतिक नेतृत्व नै काफी छ ।

  • गेटालाई चाँडो सञ्चालनमा ल्याउन तत्काल गर्नुपर्ने काम

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रतिनिधि सभामा पुगेको छ । यसमा १०० भन्दा बढी संशोधन परेको छ । यस पटकको अधिवेशनमा त छलफलकै निम्ति पनि पालो आउनेमा शङ्का छ । यसपछि बजेट अधिवेशन हुन्छ । त्यसमा पनि यो विधेयक प्राथमिकतामा पर्ने देखिँदैन ।

यो विधेयक संशोधनसहित पास भएपछि पनि अझै ऐन, नियम–कानुन बनाउने प्रक्रियाका लागि पनि लामो समय पर्खिनुपर्ने हुन्छ । त्यसैले छिटै गर्दा पनि डेढ–दुई वर्ष विधेयककै सन्दर्भमा समय लाग्ने देखिन्छ ।

अब अझै २ वर्षसम्म विधेयक पास गराउन कुर्ने, त्यसपछि ऐन कानुन बनाउन कुर्ने, अनि त्यसपछि बल्ल अस्पतालको सेवा विस्तार गर्न, त्यसपछि बिस्तारै चिकित्साशास्त्र अध्ययनको निम्ति पाठ्यक्रम लगायत सबै तयार गर्दा अझै करिब ६/७ वर्षसम्म अध्ययनको पाटोमा कुर्नुपर्ने देखिन्छ । २ दशक आशैआशमा पर्खेका सुदूरपश्चिमवासीहरूलाई अझै थप एक दशक कुराउने होइन, बरु यसलाई अझै छिटो कसरी सञ्चालन गर्न सकिन्छ भन्नेतिर शीर्ष नेतृत्व लाग्नुपर्ने देखिन्छ ।

पछिल्लो समय छलफलमा पनि आएको धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई गेटासँगै गाभेर अहिलेकै अवस्थामा आउँदो आर्थिक वर्षदेखि नै स्नातकोत्तर तहको अध्ययन सुचारु गराउन सकिने बाटो खुला छ तर त्यसको निम्ति पनि ३०० बेडको अस्पताल सुचारु हुनुपर्छ । यो आर्थिक वर्षमा वीर अस्पताल अन्तर्गत रहेर पूर्वमा कोशी अस्पतालदेखि पश्चिममा भेरी अस्पतालसम्ममा एमडी एमएसको अध्ययन सुरु हुँदैछ । त्यसैगरी गेटामा पनि आगामी आर्थिक वर्षमा ३०० बेडको दरबन्दी स्वीकृत गराएर सेती प्रादेशिक अस्पताललाई पनि गेटामै समाहित गरेर अघि बढ्न सकेमा चाँडै जनताले सेवा पाउनेछन् ।

गेटामा मेडिकल कलेज प्रवर्द्धन विकास समितिले २०७२ मा बनाएको रणनीतिक विकास योजना अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि एमबीबीएस कार्यक्रम र आर्थिक वर्ष २०८१/०८२ बाट विशेषज्ञ तहको पढाइ सुरु गर्ने लक्ष्य राखिएको थियो तर २०८२ साल नजिक पुग्दासमेत राम्रोसँग अस्पताल नै चलाउन सकिएको छैन । त्यही कारण सेतो एप्रोन लगाएर चिकित्सा शास्त्र अध्ययन गर्न आउने विद्यार्थीको स्वागत गर्ने सुदूरपश्चिमको सपना पूरा हुन अझै निकै समय लाग्ने देखिन्छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जसरी नै समुदाय केन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने, गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्ने चिकित्सा विश्वविद्यालयको रूपमा अघि बढाएमा धनगढीमात्र होइन, समग्र सुदूरपश्चिम प्रदेशका सबै पहाडी जिल्लामा रहेका जिल्ला अस्पतालमै समय समयमा विशेषज्ञ चिकित्सक पुगेर गुणस्तरीय एवं सुलभ रूपमा उपचार सम्भव हुनेछ ।

(लेखक डाक्टर जैशी धनगढीस्थित सञ्जीवनी अस्पतालमा कार्यरत छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृतराज जैशी
अमृतराज जैशी
लेखकबाट थप

छुटाउनुभयो कि ?