उखुको रकम भुक्तानी गर्न चिनी मिलको आलटाल, किसान समस्यामा

बुटवल । नवलपरासीको प्रतापपुर गाउँपालिका– ८, पिपलपाथीका युवराज मौरीयाले ३ बिघा जमिनमा उखु खेती गरेका थिए । उनले यो सिजन उत्पादित धेरैजसो उखु प्रतापपुर गाउँपालिका–८ मै रहेको इन्दिरा सुगर मिललाई बेचे भने केही सुनवलस्थित लुम्बिनी चिनी मिललाई बेचे । यद्यपि उनले उखुको रकम पाउन सकेका छैनन् ।
युवराजले इन्दिरा सुगर मिलबाट २ लाख १० हजार र लुम्बिनी चिनी मिलबाट १ लाख रुपैयाँ जति पाउनुपर्ने छ । उनले रातोपाटीसँग भने, ‘चिनी मिलले समयमा भुक्तानी गर्दैन । हामीले उखुको रकम आएपछि घर व्यवहार चलाउने तथा अन्य काम गर्ने योजना बनाएका हुन्छौँ तर समयमा पैसा नआउँदा समस्या हुन्छ ।’
प्रतापपुरको बेलाटारी निवासी दिनेश यादवको समस्या र गुनासो पनि उस्तै छ । उनले इन्दिरा सुगर मिलबाट पैसा नपाएपछि केही दिन अगाडि गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवलाई सम्पर्क गरेर रकम उठाइदिन आग्रह गरेका थिए ।
दिनेशले रातोपाटीसँग भने, ‘दुःख गरेर मिललाई उखु दियो तर पैसा कहिले आउने भन्ने टुङ्गो छैन ।’
युवराज मौरीयाका अनुसार लुम्बिनी चिनी मिलको रकम भुक्तानी प्रक्रियामा छ । इन्दिरा सुगर मिलको मालिक नै सम्पर्क नआएपछि समस्या भएको उनको भनाइ छ ।
नवलपरासीमा किसानसँग उधारोमा उखु खरिद गरेको मिलले सिजनमा भुक्तानी नदिएपछि करिब १ हजारभन्दा धेरै किसान समस्यामा परेका हुन् । उद्योगले भुक्तानी नदिएको किसानको गुनासोपछि प्रतापपुर गाउँपालिकाले तत्काल किसानको बक्यौता भुक्तानी गर्न चिनी मिललाई पत्राचार गरेको थियो ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष एवं उखु उत्पादक किसान समिति लुम्बिनी प्रदेशका अध्यक्ष उमेशचन्द्र यादवले जिल्ला रहेका तीन वटा चिनी मिलले किसानको रकम भुक्तानी दिन बाँकी रहेको र त्यसमा पनि सबैभन्दा बढी समस्या इन्दिरा सुगर मिलमा रहेको बताए ।
उनले लुम्बिनी र बागमती खाँडसरीले आ–आफ्नो रुटिङ्ग बनाएर रकम प्रदान गरे पनि इन्दिरा सुगर मिलका सञ्चालक नै सम्पर्कमा नरहेपछि समस्या भएको जानकारी दिए ।
नवलपरासीमा ३ वटा चिनी मिल छन् । तीमध्ये दुई वटाले उखु क्रसिङ गरिसकेका छन् । बागमती खाँडसरीले भने क्रसिङ जारी राखेको छ । मंसिर–पुस महिनासम्म किसानले चिनी मिलमा उखु बुझाएका हुन् । जस अनुसार लुम्बिनी चिनी कारखानाले किसानलाई २० करोड रकम तिर्न बाँकी छ ।
लुम्बिनी चिनी कारखानाका महाप्रबन्धक केशव आचार्यले किसानको रकम छिटै भुक्तानी गर्ने बताए । उनले भने, ‘अहिले चिनी बिक्री नभएका कारण हाम्रो करिब २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ तर अब यही हप्ताबाट रकम दिन सुरु गर्छौं ।’ लुम्बिनी चिनी कारखाना सुनवलले ६ लाख ६५ हजार क्वीन्ल उखु क्रसिङ गरेको थियो ।
यता बागमती खाँडसरी उद्योग भने अहिलेसम्म उखु क्रसिङमै छ । उक्त उद्योगले अझै एक हप्ता उखु क्रसिङ गर्ने उद्योगका महाप्रबन्धक टङ्कनाथ काफ्लेले रातोपाटीलाई बताए । अहिलेसम्म १० लाख ६० हजार क्वीन्टल उखु क्रसिङ गरेको उनको भनाइ छ । अझै करिब १ लाख क्वीन्टलसम्म क्रसिङ हुन सक्ने उनले जानकारी दिए ।
खाता नमिलेको तथा अन्य प्राविधिक कारणले किसानले रकम भुक्तानीमा केही ढिला भए पनि सबैको हकमा यस्तो समस्या नभएको र भुक्तानी भइरहेको काफ्लेले बताए । किसानलाई उखुको बिउ तथा उपकरण खरिदका लागि पनि चिनी मिलले लगानी गर्दै आएको भन्दै उनले किसानकै लागि उखु उत्पादनकै क्रममा ५ करोड लगानी गरेको दाबी गरे ।
- इन्दिरा सुगर मिलमा रकम उठाउन समिति गठन
इन्दिरा सुगर मिलले यो सिजनमा एक पटकमात्रै किसानलाई रकम दिएको थियो । ८ लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको यो मिलले अहिले ६ लाख क्वीन्टलभन्दा बढी क्रसिङ गरेको मिलको उत्पादन शाखा प्रमुख दुर्गा चतुर्वेदीले रातोपाटीलाई बताए ।
मिलका लेखा सहायक धमेन्द्र यादवले करिब ६ करोडभन्दा धेरै रकम भुक्तानी गर्न बाँकी रहेको रातोपाटीलाई बताए । सो उद्योगका मालिक राकेश अग्रवाल नेपाल बाहिर छन् । कम्पनीमा लेबरसहित २९४ जना कर्मचारीले माघ महिनाको आधा तलब होलीमा लगेका छन् । अझै माघ महिनाको आधा र फागुन महिनाको रकम भुक्तानी गर्न बाँकी रहेको यादवले बताए ।
केही दिन अगाडि ४ सयभन्दा धेरै किसान उखुको रकम नपाएको भन्दै मिलमा पुगेका थिए । गाउँपालिकामा पनि उनीहरूले रकम उठाइदिन भन्दै दबाब दिएका थिए ।
प्रतापपुर गाउँपालिका अध्यक्ष एवं उखु किसान महासंघ लुम्बिनीका अध्यक्ष उमेशचन्द्र यादवले उक्त समस्या समाधान गर्न इन्दिरा सुगर मिलमा कार्यरत ४ जना कर्मचारी, ४ जना किसानका प्रतिनिधि र एक जना उखु व्यवसायी गरी ९ जनाको एउटा समिति गठन गरेको बताए ।
उक्त समितिले अब मिलका उत्पादन भएको चिनी बिक्री गर्ने र किसान तथा कर्मचारीको भुक्तानी गर्ने योजना बनाएको छ । समितिमा प्रतिनिधित्व गर्ने कर्मचारी धमेन्द्र यादवले अब एकदुई दिनमा मिलबाट चिनी बिक्री गरेर किसानलाई पैसा दिने र चिनीको ट्रक गेटबाहिर पठाउने सहमति भएको बताए ।
कपिलवस्तु जिल्लाको कृष्णनगर, विजयनगर, महाराजगन्जमा उखु उत्पादन गर्ने किसानहरू उखु खेतीको विकल्प खोज्न थालेका छन् । चिनी मिलले समयमा पैसा नदिएका कारण उखुको सट्टामा केरा खेती गर्न थालेको केरा उत्पादन व्यवसायी संघ नवलपरासीका लखुप्रसाद यादवले बताए ।
चिनी मिलबाट भुक्तानी पाउन लामो समय कुर्नुपर्ने भएकाले कतिपय उखु किसानले भेली (सक्खर) बनाउने क्रसरमा समेत बेच्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्द्रयान–५ लाई भारत सरकारले दियो मञ्जुरी
-
‘शान्ति सम्झौताले युक्रेनलाई नेटोमा सहभागी बर्जित गर्नुपर्छ’
-
चीनले किन ल्यायो आय बढाउनेदेखि शिशु स्याहारमा सहुलियतसम्मका उपाय ?
-
राम मन्दिरले सरकारलाई तिर्यो ४ अर्ब भारु कर
-
अस्ट्रेलियामा अत्यधिक गर्मीका कारण स्टेडियममै क्रिकेट खेलाडीको निधन
-
चोकको नाम राख्ने विषयमा धनुषामा विवाद, प्रहरीले चलायो गोली