सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय

कैलालीको लम्कीचुहा मोतीपुरमा एक पुरुषमाथि खुकुरी प्रहार

आइतबार, ०३ चैत २०८१, २२ : ३०
आइतबार, ०३ चैत २०८१

धनगढी । कैलालीको लम्की चुहा नगरपालिका–२ मोतीपुरमा शनिवार साँझ एक व्यक्तिमाथि खुकुरी प्रहार भएको छ ।  स्थानीय कमल रावलमाथि खुकुरी प्रहार भएको हो । 

शनिवार साँझ ६ बजे आफूमाथि अमानवीय व्यवहार र कुटपिट भएको भन्दै अनुप शाहीसहितको एक समूह इलाका प्रहरी कार्यालय (इप्रका) लम्की पुगेको थियो। उनीहरूले कमल रावलले आफूलाई बन्धक बनाएको, हतियार देखाउँदै यातना दिएको भन्दै उजुरी दिएका थिए।

उजुरी गम्भीर भएकाले प्रहरीले तत्कालै एक्सन लिँदै टोली परिचालन गरेको प्रहरी निरीक्षक लोकेन्द्र सिंहले जानकारी दिए। प्रहरीका अनुसार उजुरीका आधारमा एक टोली रावलको घरमा पुग्यो। प्रहरी कमलका बुवासँग कुरा गरिरहेको बेला रावलले घरको पछाडिबाट भाग्ने प्रयास गरे । त्यही बेला १२–१३ जनाको समूह अचानक आइपुग्यो र धारिलो हतियार प्रयोग गरेर रावलमाथि आक्रमण गर्‍यो।

नजिकै रहेका प्रहरीले भीड नियन्त्रण गर्न प्रयास गरेको दाबी गरे पनि स्थानीयले भने प्रहरीकै सामुन्ने आक्रमण भएको र प्रहरी मूकदर्शक बनेको आरोप लगाएका छन्। गम्भीर घाइते भएका रावललाई लम्की चुहा अस्पताल पुराइयो, तर थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल रिफर गरिएको छ।

घटनापछि आक्रोशित स्थानीयवासी तथा रावलका आफन्तले पूर्वपश्चिम राजमार्ग पनि केहीबेर अवरुद्ध गरे। उनीहरूले घटनालाई नियोजित भन्दै प्रहरीकै संरक्षणमा आक्रमण भएको आरोप लगाएका छन् । मोतीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष टीकाराम तिमिल्सिनाले भने, ‘प्रहरी भ्यान यही थियो, हतियारसहित प्रहरी खटिएका थिए। प्रहरी पुगेपछि आक्रमणकारी आएर घरमै बसेकालाई खुकुरी प्रहार गरे। यो सरासर प्रहरीको संरक्षणमा भएको गुण्डागर्दी हो।’

प्रहरीले किटानी जाहेरी आएपछि दोषी पक्राउ गर्ने प्रतिबद्धता जनाएको छ। घटनाको छानबिन जारी रहेको बताइएको छ। यो घटनाले प्रहरी प्रशासन, सुरक्षा रणनीति र अपराध नियन्त्रण प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको स्थानीयवासीले बताएका छन् ।

प्रहरी सामुन्ने आक्रमण हुनु संयोग मात्र हो कि नियोजित ? उजुरीकै आधारमा पक्राउ गर्न गएको प्रहरी सामान्य तयारीमा मात्रै किन थियो ? आक्रमणकारी समूहलाई कसले परिचालन गर्‍यो? प्रहरीको उपस्थितिमा आक्रमणकारीले कसरी निर्भीक आक्रमण गर्न सके ? स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। घटनाले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाइरहेको उनीहरूको माग छ  । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराका अनुसार घटनाका विषयमा अनुसन्धान भइरहेको छ। घटनापछि कुटपिट गर्ने टोली फरार छ। प्रहरीले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?