सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा मितेरीपुल–नयाँबसपार्क सडक खण्डमा टाँगा चलाउन पाइने

आइतबार, ०३ चैत २०८१, २१ : ५९
आइतबार, ०३ चैत २०८१

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगञ्जको मुख्य बजार क्षेत्रमा जथाभावी ढङ्गले चल्दै आएका टाँगालाई मितेरीपुल–रजतजयन्तीचोक–बाइपास सडक हुँदै नयाँ बसपार्कको रुटमा मात्रै चलाउन आग्रह गरेको छ । 

वीरगञ्जको मुख्य बजार क्षेत्रमा जभाभावी रुपमा टाँगा चलाउँदा सवारी दुर्घटना र सडकमा मलमुत्रको दुर्गन्ध फैलिने भएकाले व्यवस्थित गर्न खोजिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले वीरगञ्जमा चल्ने टाँगालाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न जनचेतना मूलुक अभियान सुरुआत गरेको जानकारी दिए ।

आइतबार  ट्राफिक प्रहरी, वीरगञ्ज महानगरका प्रतिनिधि, प्रहरीचौकी इनर्वा र ग्रीनसिटि सामुदायिक सेवा केन्द्रको अगुवाईमा टाँगा चालकलाई अभिमुखीकरण गर्दै अबदेखि टाँगालाई मितेरीपुल, रजत जयन्तीचोक, बाइपास सडक हुँदै नयाँ बसपार्कको रुटमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरिएको छ । घोडाको मलमुत्र व्यवस्थापन गर्न अनुरोध गरिएको प्रहरी निरीक्षक भट्टले उल्लेख गरे । यसबाट घोडाको मलमुत्रबाट हुने दुर्गन्धमा कमी ल्याउन सकिनेछ ।

टाँगा चलाउन सीमावर्ती सहर रक्सौलको रेल्वे ढालाचोकसम्म प्रवेश पाउने भएकाले पनि सामानसहितका यात्रुको मुख्य रोजाईमा टाँगा पर्ने गर्छ । अन्य अटोरिक्सालाई शंकराचार्यगेट नजिकै मितेरीपुलमा रोकिने भए पनि टाँगा भने भारतीय भूमिसम्मै पुग्ने भएकाले पनि सर्वसाधारणको रोजाईमा टाँगा पर्ने गर्छ । भारतीय टाँगा पनि वीरगञ्जमा आउजाउ गर्ने गर्छन । वीरगञ्ज आसपासमा भारतीय टाँगासहित करिव १५० देखि २०० को हाराहारीमा टाँगा रहेका छन् ।

ट्राफिक प्रहरी कार्यालयले दसैँ लगत्तै मुख्य सडकखण्डमा टाँगा नचलाउन अनुरोध गरे पनि टाँगा चालकले भने अटेरी गर्दै आएका थिए । ट्राफिक प्रहरीले पछिल्लो समय घण्टाघर चोक र अन्य सडक खण्डमा सवारीसाधन चलाएमा नियन्त्रणमा लिन थालिएको छ । प्रहरी निरीक्षक भट्टले घण्टाघर, रेल्वे सडक, मेनरोडलगायतका स्थानमा अत्यधिक ट्राफिक चाप भएकाले टाँगा नचलाउन अनुरोध गरिएको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?