१० बजे १० समाचार : आईजीपीसहित ९ उच्च प्रहरी अधिकारी सेवा निवृत्त हुँदै, प्रचण्डको फोटो जलाएका निराजन रिहा

आज २०८१ चैत ३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा आईजीपीसहित प्रहरीका ९ उच्च अधिकारी भोलिदेखि सेवा निवृत्त, प्रचण्डको फोटो जलाएका निराजन रिहा, राष्ट्रपतिले प्रमाणीकरण गरे चार वटा विधेयक, ओलीलाई गृह प्रदेशमै चुनौती, ओलम्पिक कमिटीको कार्यालयमा सरकारले लगायो ताला, धुर्मुस–सुन्तलीले लगेको सामानको पैसा नपाए अदालत जाने १७ कम्पनीको चेतावनी लगायत छन् ।
१. आईजीपीसहित प्रहरीका ९ उच्च अधिकारी भोलिदेखि सेवा निवृत्त
प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसहित ९ जना उच्च प्रहरी अधिकृतहरू सोमबारबाट सेवा निवृत्त हुँदै छन् । कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि एकसाथ अवकाशमा जाँदै छन् । उनीहरूकै ब्याचमेट डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि चैत ४ गते राति १२ बजेबाट अवकाश हुन लागेका हुन् ।
२. प्रचण्डको फोटो जलाएका निराजन रिहा
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो जलाएको आरोपमा पक्राउ परेका निराजन बम रिहा भएका छन् । उनी राप्रपाका युवा नेता हुन् । उनले शनिबार पूर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाएका थिए । सोही आरोपमा उनलाई मकवानपुर प्रहरीले काठमाडौँ फर्किने क्रममा पक्राउ गरेको थियो ।
३. राष्ट्रपतिले प्रमाणीकरण गरे चार वटा विधेयक
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ४ वटा विधेयक प्रमाणीकरण गरेका छन् । पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ आएका विधेयकहरू आइतबार संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन् ।
४. ओलीलाई गृह प्रदेशमै चुनौती
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्र आफ्नै गृह प्रदेशमै चुनौती झेल्नु परेको छ । कोशी प्रदेश अन्तर्गत चार वटा जिल्लामा ओलीले नै नरुचाएको नेतृत्व चुनिएको छ ।
५. ओलम्पिक कमिटीको कार्यालयमा सरकारले लगायो ताला
अदालतको आदेश विपरीत निर्वाचन सम्पन्न गरेको आरोपमा सरकारले नेपाल ओलम्पिक कमिटीको कार्यालयमा ताला लगाइदिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ओलम्पिक कमिटीको कार्यालयमा तालाबन्दी गरिएको जानकारी दिएका हुन् ।
६. धुर्मुस–सुन्तलीले लगेको सामानको पैसा नपाए अदालत जाने १७ कम्पनीको चेतावनी
चितवनमा क्रिकेट रंगशाला बनाउने भन्दै धुर्मुस–सुन्तलीले लगेको सामानको पैसा नपाए अदालत जाने चेतावनी विभिन्न १७ कम्पनीले दिएका छन् ।
७. राप्रपाका ४० बुँदे माग अलपत्र
प्रचण्ड नेतृत्वको तत्कालीन सरकारसमक्ष ४० बुँदे माग राखेर सडक संघर्षमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना माग कार्यान्वयनमा सरकार उदासीन भएको निष्कर्ष निकालेको छ । गत वर्ष फागुन ९ गते सिंहदरबारमा तत्कालीन प्रधानमन्त्री प्रचण्डसमक्ष सनातन हिन्दु राष्ट्र, राजसंस्थाको पुनर्स्थापना, सुशासनको प्रत्याभूति र संघीयता खारेजी लगायत ४० बुँदे माग राप्रपाले थमाएको थियो ।
८. आठ दलीय मधेसी मोर्चाको साझा एजेण्डा तय
आठ दलीय मधेसी मोर्चाले साझा एजेन्डा तय गरेको छ । सरकारले ल्याएको विभिन्न ६ वटा अध्यादेशमा मतभिन्नता देखिएकाले छायामा परेको मोर्चा पुनः सक्रिय हुने भएको हो ।
९. ऊर्जामन्त्रीले बनाएको समितिलाई काम नगर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बनाएको टीओडी जाँच गर्ने समितिलाई काम नगर्न अन्तरिम आदेश दिएको छ । अधिवक्ता खडानन्द कँडेलले ऊर्जामन्त्रीले कानुन विपरीत गएर समिति बनाएको भन्दै दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशहरू शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो ।
१०. न्यायालयमा चुलिँदो दलीयकरण, मारमा सर्वासाधारण
न्यायालयमा दलीयकरण चुलिँदै गएको छ । दलीय भागबण्डामा हुने नियुक्तिका कारण न्यायालयमा परेको प्रभावबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : एथ्लेटिक क्लब, लेगानेस र गेटाफे विजयी
-
प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो
-
भेडापालनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले किसानलाई दियो गोठालो भत्ता
-
१२ बजे, १२ समाचार : त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेजदेखि आईजीपी वसन्त कुँवरसहित ९ जनाको अवकाशसम्म
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र