सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
अदालत

उपभोक्ता अदालतमा पहिलो मुद्दा : ९८ वर्षीयको मृत्यु ‘अस्पतालको लापबाही’

आइतबार, ०३ चैत २०८१, २० : १६
आइतबार, ०३ चैत २०८१

काठमाडौँ । गत माघ ५ गते बुढानीलकण्ठका ९८ वर्षीय हरिहरप्रसाद गौतम बाथरुम जाने बेला लडे । परिवारले उठाएर खाटमा राख्यो । खाटबाट पनि लडेपछि परिवारले चाबहिलस्थित ओम अस्पताल लिएर गयो । ओपीडीमा कार्यरत डाक्टरले एक्सरे गरे । एक्सरे रिपोर्ट हेरेर अस्पतालले केही नभएको भनी उनलाई सामान्य दुखाइको औषधि दिएर डिस्चार्ज गर्यो । 

छोरा वसन्त गौतमसहित परिवारले उनलाई सोही औषधि खुवाई आराम गरायो । तर, चार दिनसम्म पनि दुखाइ निको नभएपछि परिवारले उनलाई ह्याम्स अस्पताल पुर्‍यायो । एक्सरे रिपोर्टपपछि सिटी स्क्यान गरी हेर्दा सामान्य फ्याक्चर भएको खुट्टामा समस्या बढेर हड्डीहरू स–साना टुक्रा भई गम्भीर क्षति पुगेको देखियो ।

पहिला आराम गरेर मात्रै ठीक हुने उक्त समस्या अब अपरेसन वा स्केलेटल ट्रान्सक्सन गर्नुपर्ने बाध्यता भएको सुझाव चिकित्सकले दिए । सँगै यो विधि अपनाउँदा वृद्ध व्यक्तिलाई निमोनियालगायत अन्य समस्या हुनसक्ने चेतावनी पनि चिकित्सकले दिए । 

अपरेसन गर्दा खतरा हुनसक्ने भए पनि खुट्टाको अवस्था गम्भीर भएकाले अपरेसन गरेको र सोही कारण फागुन ३ गते बुवा हरिहरप्रसादको मृत्यु भएको भन्दै छोरा वसन्तले उपभोक्ता अदालत त्रिपुरेश्वरमा फिरादपत्र दायर गरेका छन् ।

उनले ओम अस्पतालले एक्सरे अध्ययन नै नगरी फ्याक्चर छ भन्ने नजानी डिस्चार्ज गरिदिएकाले बुवाको मृत्यु भएको भन्द मुद्दा दायर गरेका हुन् । ‘एक्सरे हेर्दै नहेरी भर्ना गरेर, परीक्षण गरेर उचित उपचार विधि अपनाउनुपर्ने बिरामीलाई सामान्य दुखाइ कम हुने औषधि दिएर औषधि दिएर डिस्चार्ज गरेकाले मेडिकल लापरबाही प्रस्ट भइसकेको छ,’ फिरादपत्रमा भनिएको छ ।

अस्पताल र चिकित्सकहरू सरोजकुमार गोहिवार र सायुज्य राज घिमिरेलाई विपक्षी बनाई दायर गरिएकोफिरादपत्रमा पाँच करोड रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ ।  उक्त घटनापछि आफूहरू विपक्षीकहाँ पुगेको तर विपक्षीले अस्पतालमा दैनिक हजारौँ बिरामी आउने, अस्पताल व्यापार हो सेवा होइन भनी आफ्नो कुनै जिम्मेवारी नहुने भन्दै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप पनि परिवारले लगाएको छ ।

शनिबार वस्तु तथा सेवाको गुणस्तर मापनका लागि उद्घाटन गरिएको उपभोक्ता अदालतले आइतबारदेखि आफ्नो काम सुरु गरेको छ ।उपभोक्ता अदालत गठतपश्चात्अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको दाबीसहित उक्त पहिलो मुद्दा दायर भएको हो ।

यस्तै आइतबार अदालतमा अन्य दुई मुद्दा पनि दायर भएका छन् । विशालबजारस्थित स्वस्तिक सिल्भर प्यालेस प्रालिबाट ठगिएको भन्दै ललितपुरकी सावित्री खत्रीले उजुरी गरेकी छन् । आफूले उक्त पसलबाट साढे चार हजार रुपैयाँमा चाँदीको मूर्ति किनेको, सात दिनपछि फिर्ता गर्न जाँदा दुई हजार ३७५ रुपैयाँ घटाएर दिई ठगी गरेको भन्दै उजुरी परेको हो ।

यसैगरी उपभोक्ता अदालतमा अर्को मुद्दा गाडी मर्मतमा ठगिएको भन्दै परेको छ । सुनसरीका रामसागर यादवले आफूले डल्लुस्थित सुजुकी सर्भिसमा गाडी मर्मत गर्दा ठगिएको भन्दै सिजी होल्डिङ्ग्स र थापाथलीस्थित सूर्य अटोमोबाइल प्रालिलाई समेत विपक्षी बनाई फिरादपत्र दायर गरेका छन् ।

उनले आफूले गाडी मर्मत गराउन जाँदा लामो समय मर्मत नगरेको, अनुमति र पूर्वसूचनाविना इन्जिन खोलेर हानि पु¥याएको र बिल नदिई७७ लाख ७२ हजार रुपैयाँ क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काशीराम बजगाई
काशीराम बजगाई
लेखकबाट थप

छुटाउनुभयो कि ?