सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
माओवादी अभियान

स्थगित अभियान सुरु गर्नेबारे माओवादी अलमलमा

कहिले बस्छ बैठक ?
आइतबार, ०३ चैत २०८१, १९ : ००
आइतबार, ०३ चैत २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र) स्थगित पूर्व–पश्चिम हुलाकी तराई मधेस जागरण अभियान पुनः सुरु गर्ने विषयमा अलमल देखिएको छ । फागुन १२ गतेदेखि झापाबाट सुरु भएको अभियान फागुन २४ गते स्थगित भएको थियो । 

सोही दिन रौतहटमा बसेको उच्च तहको अनौपचारिक बैठकले देशी विदेशी प्रतिक्रियावादी शक्तिको उक्साहटमा राजावादी प्रतिगामी शक्ति सक्रिय हुन थालेको निष्कर्ष निकालेको थियो । शीर्ष नेताहरू अभियानमा केन्द्रित हुँदा व्यवस्थामाथि नै चुनौती बढेको भन्दै माओवादीले संसद् र सडक मोर्चालाई प्रभावकारी बनाउने निर्णय गरेको थियो । 

अध्यक्ष प्रचण्डले अभियानको नयाँ कार्यतालिका, पार्टीको भावी रणनीति तय गर्न फागुन २६ गते पदाधिकारी बैठक बोलाएका थिए । विदेशी शक्तिको आड–भरोसा, भारतीय कट्टर हिन्दुवादी शक्तिको उक्साहटमा राजावादी र विभिन्न प्रतिगामी शक्ति सलबलाएकाले देशको परिस्थिति गम्भीर रहेको प्रचण्डले विश्लेषण गरेका थिए ।

अभियानको परिमार्जित कार्यतालिका र संघर्षको कार्यक्रम तय गर्न फागुन २७ गते बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरेका थिए । त्यसबिचमा मगर राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन, फागु पूर्णिमा पर्व परेकाले चैत १ गते अर्को बैठकका लागि प्रचण्डले सूचना पठाउने बताएका थिए । तर अहिलेसम्म बैठक बस्ने सम्बन्धमा सूचना नआएको नेताहरूले बताएका छन् । अध्यक्ष प्रचण्ड समाजवादी मोर्चा र विभिन्न काममा व्यस्त भएकाले बैठक बस्न नसकिएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

‘अहिलेसम्म बैठक बस्ने सम्बन्धमा सचिवालयबाट कुनै सूचना आएको छैन । उहाँ समाजवादी मोर्चाको बैठक, बौद्धिक वर्गसँग छलफल तथा चैत १५ गते राजधानीमा हुने विरोधसभाको तयारीमा व्यस्त हुनुभएकाले बैठक बस्न सकिएको छैन । सायद भोलिसम्म खबर आउला’, रातोपाटीसँग शर्माले भने ।

दोस्रोपटक संशोधित कार्यातालिका अनुसार रौतहटमा फागुन २३, बारामा २४, पर्सामा २५, चितवनमा २६ गते अभियान राखिएको थियो । यस्तै नवलपुरमा २७ गते, नवलपरासी पश्चिममा २८ गते, रुपन्देहीमा चैत २, कपिलवस्तुमा ३, दाङमा ४, बाँकेमा ५, बर्दियामा ६, कैलालीमा ७ र कञ्चनपुरमा ८ गते अभियान सञ्चालन हुने गरी समय हेरफेर भएको थियो । 

माओवादीको अभियान मधेस प्रदेशको रौतहटमा आएर स्थगित भएको छ । बाँकी रहेको दुई जिल्ला बारा र पर्सामा तत्काल अभियान सकेर बाँकी प्रदेशका जिल्लामा बिचबिचमा स्थगित गर्दै अभियान जारी राख्ने निर्णय गरेको थियो । तर पार्टीको सम्पूर्ण ध्यान चैत १५ गते हुने विरोधसभामा रहेकाले पार्टीको पदाधिकारी बैठक बस्नेबारे कुनै जानकारी नभएको केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले बताए ।

‘चैत १५ गते काठमाडौँमा हुने प्रतिगमनविरुद्धको आन्दोलन सक्रिय हुनुपर्ने छ । विरोध सभाको तयारीमा पार्टीको सम्पूर्ण शक्ति जुटेको छ । यी सबै गतिविधिलाई मध्यनजर गरी पदाधिकारी बैठक बस्ला । तर अहिलेसम्म बैठक बस्नेबारे कुनै सूचना आएको छैन’, पुनले भने ।

माओवादीका अर्का सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनालले तत्काल पार्टी बैठक बस्नेमा अनभिज्ञता व्यक्त गरे । सबै परिस्थितिको मूल्याङ्कन गरी केही दिनमा बैठक बस्न सक्ने उनले बताए ।

तर राजावादी शक्तिहरूलाई नै बल पुग्ने गरी अभियान स्थगित गर्नु उचित नभएको प्रतिक्रिया आइराखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?