आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय
राजतन्त्रबारे रघुजी

संसारमा जहाँजहाँ राजतन्त्र छन्, त्यहाँ षड्यन्त्र नै छ

आइतबार, ०३ चैत २०८१, १८ : ००
आइतबार, ०३ चैत २०८१

राजनीति, तथ्य, यथार्थ र तर्कमा गर्‍यो भने त्यो टिकाउ हुन्छ । भ्रमको खेतीले केही समय मानिसलाई झुक्याउन सकिएला, निराशाको खेतीले मानिसलाई केही समय अलमलमा पार्न सकिएला, तर सधैँ अलमलमा पार्न सकिँदैन, झुक्याउन सकिँदैन । 

अहिले देशमा भ्रम र निराशाको खेती व्यापक रूपमा चलेको छ । त्यसका लागि केही सञ्चारमाध्यम, खासगरी सामाजिक सञ्जाललाई उपयोग गर्ने चलन बढेको छ । केही महिना अगाडि सेयर कास्ट इनिसिएटिभ नेपालले नेपालका ५२ जिल्लाका १९६ वटा गाउँ र नगरपालिकाका तीन हजार मानिससँग कुरा गरेर एउटा सर्वेक्षण तयार पारेको थियो । त्यसमा जीवनस्तर, सेवा प्रवाह, राजनीतिक लगायतका विषयमा नेपालीहरूले आफ्ना धारणा व्यक्त गरेका थिए ।

त्यसमा कुराकानी गर्ने ५७ प्रतिशत मानिसले पछिल्लो पाँच वर्षमा आफ्नो जीवनस्तर धेरै वा केही सुधार भएको बताएका छन् भने २७ प्रतिशतले उस्तै छ र १५ प्रतिशतले खस्केको बताएका छन् । अर्थात् देशका बहुसङ्ख्यक जनताले आफ्नो जीवनमा परिवर्तन आएको आमरूपमा भनेका छन् । त्यसैगरी, मुलुकको अवस्था कस्तो छ भन्ने प्रश्नमा ५० प्रतिशतभन्दा धेरैले अलि राम्रो र धेरै राम्रो भनेका छन् । २४ प्रतिशतले उस्तै छ भनेका छन् भने बिग्रिएको भनी २६ प्रतिशतले देखाएको छ । यहाँ राजा हुँदाको र नहुँदाको पनि तुलना गरिएको छ । 

२०६५ मा गणतन्त्र घोषणा भएको थियो । गणतन्त्र आएपछि मुलुक झन् बिग्रियो भन्नेहरूले विश्व बैंकले गरेको एउटा अध्ययनलाई हेर्दा हुन्छ । सन् २००८ मा नेपालीको प्रतिव्यक्ति आय १९४२ डलर थियो, गणतन्त्रको १५ वर्षपछि सन् २०२३ मा नेपालीको प्रतिव्यक्ति आय ५९९४ डलर पुग्यो ।

अर्थात् नेपालीको प्रतिव्यक्ति आय यो अवधिमा २.८ प्रतिशत अर्थात् झन्डै तीन गुणाले बढेको छ । अब दक्षिण एसियालाई तुलना गरेर हेरौँ । २.८ गुणाले नेपालको प्रतिव्यक्ति आय बढेको छ भने भारतको पनि २.८ नै हो । भुटानको ६ हजार ३५ थियो, अहिले १५ हजार ६४ पुगेको छ अर्थात् बढेको प्रतिशत २.५ हो । श्रीलंंकाको ७ हजार ३१७ थियो, अहिले १४ हजार ४६१ भएको छ अर्थात् प्रतिव्यक्ति आय दुई गुणा बढ्यो । बंगलादेशको २५ सय ५५ डलर थियो भने अहिले ९ हजार ४१ पुगेको छ अर्थात् ३.६ प्रतिशतले बढेको छ । पाकिस्तानको तीन हजार ७२१ थियो, अहिले ६ हजार ३७ पुग्यो अर्थात् १.६ प्रतिशतले वृद्धि भएको छ । माल्दिभ्सको १३ हजार ७६५ थियो, २४ हजार ७३५ अर्थात १.८ प्रतिशतले बढेको छ । 

दक्षिण एसियामा बंगाल टाइगरले चिनिने बंगलादेशको प्रतिव्यक्ति आय ३.६ प्रतिशतले बढ्यो भने नेपाल र भारतको बराबर छ । अहिले भारतमा धेरै विकास ग¥यो भनिन्छ तर यो अध्ययन हेर्दा नेपाल र भारत बराबर छ । नेपाल अहिले पनि दक्षिण एसियामा गरिब छ तर राजाको पालामा झन् गरिब थियो । विगतको १५ वर्षमा नेपालको प्रतिव्यक्ति आय भारतको प्रतिशत बराबर र बंगलादेशभन्दा कम छ तर आर्थिक विकासमात्र महत्त्वपूर्ण कुरा होइन, लोकतन्त्र महत्त्वपूर्ण कुरा हो । ३.६ प्रतिशतले बढेको बंगलादेशमा लोकतन्त्र नहुँदा, प्रेस स्वतन्त्रतालाई खुम्च्याउँदा, नागरिकलाई अधिकार नदिँदा विद्यार्थीको नेतृत्वमा आन्दोलन भयो र शेख हसिना देश छाडेर जानु पर्‍यो । 

नेपालले पनि यो बिचमा जेजति प्राप्त गरेको छ, त्यो सन्तोषजनक छैन भन्ने कुरा म मान्छु तर राजाको पालाको भन्दा अहिले धेरै डेभलप भएको छ । सन् २००५ मा देशको कुल गार्हस्थ्य उत्पादन जम्मा आठ अर्ब डलर थियो अहिले २०२३ मा ४४ अर्ब डलर पुगेको छ । राजाको शासन र गणतन्त्रको तुलना नै गर्न मिल्दैन । १५ वर्षको अवधिमा यो देश निकै अगाडि बढेको छ । पूर्वाधार विकासमा, बिजुली, टेलिफोन, इन्टरनेट, शिक्षा, सडक, स्वास्थ्यको विकास गाउँगाउँ पुगेका छन् । गाउँगाउँमा पक्की स्कुल बनेका छन् तर विद्यार्थीको कमी छन् । अहिले केही भएन भन्ने गलत भाष्य बनाउने प्रयास भइरहेको छ, जुन आफैँमा आपत्तिजनक छ । 

दक्षिण एसियाको अवस्था हेर्ने हो भने नेपालमा महिलाहरूलाई ३३ प्रतिशत आरक्षण सुरक्षित छ, जुन अहिले भारतले पनि गर्न सकिरहेको छैन । स्थानीय निकायमा ४० प्रतिशत आरक्षण छ । समावेशी राजनीति छ । के हामीले यी सबै हेर्नुपर्दैन ? यो देशमा राजाको ठाउँमा मधेसमा भैँसी चराउने एक जना मधेसीलाई राष्ट्रपति बनायो, के बिग्रियो ? पहाड भोजपुरीकी एक जना सामान्य परिवारको छोरी देशको राष्ट्रपति भइन्, के बिग्रियो ? आज तनहुँका सामान्य परिवारका व्यक्ति राष्ट्रपति भएका छन्, के बिग्रियो ? भोलि पूर्वका कुनै राई, लिम्बु, पश्चिमका कुनै गुरुङ, तराईका कुनै थारु, दलितका कुनै छोरा राष्ट्रपति बन्दा के इज्जत जान्छ ? जाँदैन ।

हिजो सामन्तवादको खुट्टा टाउकोमा राखेर पाउ मोल्नेहरूलाई गरिबका छोरा राष्ट्रपति बनेको देख्दा असह्य भएको होला । त्यो पीडा बोधले राजा चाहियो भनेको होला । राजा किन चाहियो ? राजाका इतिहास हेरौँ, आफ्नै वंशका बहादुर शाह, जसले पृथ्वीनारायण शाहपछि नेपाल एकीकरणमा महत्त्वपूर्ण भूमिका खेले, नेपालको सिमाना बढाउन खोजे । तिनलाई काका, भाउजूको लडाइँमा तेल छर्केर जेलमा मार्‍यो भन्छन् कसैले, कसैले आत्महत्या गर्न बाध्य बनायो भनेका छन् । 

रणबहादुरको पालामा जेठी र कान्छी रानीको लडाइँमा भीमसेन थापा जस्ता देशभक्त काटिए । राजेन्द्र विक्रमको पालामा कसले कोतपर्व गरायो ? जेठो छोरालाई मारेर आफ्नो छोरालाई युवराज बनाउन कान्छी रानीले षड्यन्त्र गर्दाखेरि कोतपर्व जन्मेको होइन ? जहाँबाट १०४ वर्षे राणा शासनको बिजारोपण भयो । त्यसपछि त्रैलोक्य विक्रम छँदाछँदै कसले विष खुवायो र मा¥यो दरबारमा ? के त्यो कुनै जनताले गरेको थियो षड्यन्त्र ?

मैले भनेको इतिहास गलत भनेको हो भने त्यसलाई कसैले गलत साबित गरोस् । केही समय पहिले यही संसदबाट एकमतले हामीले चुच्चे नक्सा छाप्यौँ । २०१२ सालमा छापिएको हुलाक टिकटमा चुच्चे नक्सा छ । पञ्चायतकालमा त्यो चुच्चे नक्सालाई कसले बुच्चे बनायो ? राजाको सक्रियकालमा नेपालको चुच्चे नक्सा हरायो, नेपालको लोकतन्त्र पनि हरायो । त्यसको जवाफ चाहियो यहाँ । राजावादी भनेर जुलुस निकालिन्छ । त्यहाँ यसो हेर्‍यो, सबैभन्दा तल देश, त्यसभन्दामाथि नरेश, नरेशभन्दा माथि योगी र उत्तर प्रदेश । के यही हो देश भक्ति ? 

२०४६ सालमा आन्दोलन गरेर बहुदल व्यवस्था कायम गर्‍यौँ । हामीले संवैधानिक राजतन्त्र मानेर गयौँ । यो संवैधानिक राजतन्त्र कसले उल्टायो ? त्यो राजा ज्ञानेन्द्रले असोज १८ र माघ १९ कु गरेर होइन ? अनि राजतन्त्र केकालागि चाहियो ? त्यसैको लागि ? दुसैँ र तिहारको बेलामा लुकेर पारसलाई युवराज बनाइयो । त्यो बेला पारसले के के गरे ? गीत गाएर फर्किरहेका एक जना कलाकार प्रवीण गुरुङलाई गाडीले लखेटीलखेटी मारे । के यो पनि झुटो हो ? हल्ला भएपछि मुद्दा चलाउने कुरा भयो अनि एक जना नक्कली भुजेल खडा ग¥यो । राजतन्त्रमा यस्ता नमुना काण्डहरू थुप्रै भए । त्यसैले नेपाली जनतालाई राजतन्त्र चाहिएको होइन । अहिलेको संविधानले पनि राजतन्त्रलाई चिन्दैन । 

त्यसैले त्यस विषयमा संसदभित्र छलफल गर्न पाइँदैन । संविधानले गणतन्त्र मात्र चिन्छ । राजतन्त्र इतिहासको विषय भइसक्यो । संसारमा धेरै राजतन्त्र इतिहास भइसकेको छ । राजतन्त्र भनेको विशेषाधिकार हो । राजतन्त्र भनेको आफैँमा विशेषाधिकार हो । राजनीतिको प्रवाह गणतन्त्र हो । नेपालमा गणतन्त्र आउनुपर्थ्यो, आयो । इतिहासमा धेरै राजतन्त्र आउँछ जान्छन्, यो गणतन्त्र आजको माग हो । 

म कुनै समय सम्पादक थिएँ, मलाई कुनबेला जेल लग्छ, थाहा थिएन । मलाई जेल लग्दा कुन मुद्दा लगाउँछ, त्यो पनि थाहा हुँदैनथ्यो । 

पूर्वपश्चिम राजमार्ग पूरा भएको छैन, महाकाली पारीका १८ वटा पुल टेण्डर गर्दा चिनियाँ कम्पनीलाई प¥यो । चिनियाँ कम्पनीलाई परेको त्यो पुल बाह्य दबाबमा उल्टाइँदैछ भनी मैले समाचार लेखे बापत मलाई कारागारमा बोलाएर बयान लियो र केही दिनपछि त्यो पुलको निर्णय उल्टियो । के यही हो देशभक्ति ? म दृष्टिको सम्पादक थिएँ, अञ्चलाधीश कार्यालयबाट एक जना कर्मचारी खटाएर समाचार सेन्सर ग¥यो । मैले अञ्चलाधीशको कार्यालयले सेन्सर गरिएको कारणले यो लाइन हटाइएको भनी लेखेर पत्रिका छापेको छु । त्यो अहिले हेर्दा पनि हुन्छ । त्यही दृष्टि पत्रिकाका कारण मविरुद्ध राजकाजको मुद्दा चलाइयो । ४५ दिन थुनामा राखेर तपाईंको चाल चलन राम्रो भएर थुनामुक्त गरियो भनेर थुना मुक्त गरिएको थियो । 

शान्ति सुरक्षाको कारण देखाउँदै मलाई पटकपटक थुन्यो । म एउटा कलम लिएर हिँड्ने मान्छेसँग त्यो बेलाको शासकले के खतरा देख्थ्यो, मलाई थाह भएन । हो, म त्यो बेला लोकतन्त्रको पक्षमा लेख्थेँ, बोल्थेँ । सायद त्यसलाई नै राजतन्त्रवादीहरूले खतरा देखेका थिए । त्यसैले राजतन्त्र भनेको षड्यन्त्र हो, शाहकालमा मात्र होइन, लिच्छवी, मल्लकालको पनि त्यस्तै थियो । अरू संसारमा जहाँजहाँ राजतन्त्र छन्, त्यहाँ पनि षड्यन्त्र नै छ । 

शासनका लागि जयप्रकाश मल्ललाई उनकै श्रीमतीले थुन्न लगाएकी थिइन् । हामी पृथ्वी जयन्ती मनाउछौँ, हामी बहादुर शाहलाई कदर गर्छौँ । हामीले वीरेन्द्रको पनि त्यति विरोध गर्दैनौँ । उहाँको पालामा देशमा प्रजातन्त्र आएको थियो । हामी बहुदलवादीहरू विवेकी हुन्छौँ, हामी जनताको भावनालाई विश्वास गर्छौँ । 

विशिष्टलाई सुविधा दिने विधेयकको विरोध गरिरहेका छन् तर यहीँ कति जना सांसद हुनुहुन्छ, जो गार्डको सुविधा लिएर हिँडिरहेका छन् । पछिल्लो सरकारमा रहेकाहरूले विभिन्न सुविधा लिन थालेपछि सर्वोच्च अदालतले मापदण्ड बनाएर सुविधा लिऔँ भन्यो । त्यही भएर विधेयक बनाउने काम भयो । अहिले छलफलमै छ । यो सरकार आउनुभन्दा पहिले भएको हो । अहिलेका मन्त्रीहरूले पनि यो कुरा ठिकसँग बोलिरहनु भएको छैन । म प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु कि जनताको सेवा प्रवाहमा लागौँ । जनताको असन्तुष्टिलाई सम्बोधन गरौँ । काम नगर्ने मन्त्रीलाई फेरौँ भन्न चाहन्छु । 

(रघुजी पन्तले आइतबार प्रतिनिधिसभा बैठकमा दिएको मन्तव्यमा आधारित) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रघुजी पन्त
रघुजी पन्त
लेखकबाट थप

छुटाउनुभयो कि ?