गृह प्रदेशमै एमाले अध्यक्ष ओलीलाई चुनौती

विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका १४ वटै जिल्लाको अधिवेशन सम्पन्न गरेको छ । ती जिल्लामा नयाँ नेतृत्व चयन भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली (संस्थापन पक्ष)ले सहमतिमै नेतृत्व चयनका लागि गरेको प्रयास भने झापामा बाहेक सबैमा निरर्थक बन्यो । झापामा अध्यक्ष ओलीकै हस्तक्षेप र आग्रहमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन भयो ।
झापामा प्रेम गिरीसहितको सबै टिम सर्वसम्मत हुँदा पाँचथर अध्यक्षमा विष्णुप्रसाद सापकोटा र संखुवासभा अध्यक्षमा खड्गबहादुर राई सर्वसम्मत भए । तर, पाँचथर र संखुवाससभामा जिल्ला कार्यसमितिका अन्य पदाधिकारी र सदस्य भने सर्वसम्मत हुन नसकी निर्वाचन भयो ।
यस्तै निर्वाचन प्रक्रियाबाट आएका अध्यक्षहरूमा ताप्लेजुङका डम्बरध्वज तुम्बाहाम्फे, इलामका गणेश प्रसाद बराल, सुनसरीका निलम खनाल (स्वर्गीय) हालका काबा पर्शुराम यादव, भोजपुरका मकरबहादुर खड्का, खोटाङका देव विक्रम राई, ओखलढुङ्गाका ज्ञानबहादुर खड्का र सोलुखुम्बुका दुफकुमार बाँस्तोला संस्थापनले रुचाएकै पात्रहरू हुन् । त्यसबाहेक मोरङका अजम्बर राईसहितको पदाधिकारीको टिम, तेह्रथुमका शिवप्रसाद ढुंगाना, उदयपुरका भागवत राउत र धनकुटाका शिव आङ्ला संस्थापन पक्षले नरुचाएका पात्र हुन् ।
धनकुटामा भने कोशी प्रदेश इन्चार्ज शेरधन राई र केन्द्रीय सदस्य राजेन्द्र राईबिच प्रतिस्पर्धा जस्तो देखिएको थियो । अन्ततः राजेन्द्र राईले रुचाएका आङ्ला निर्वाचित भए । इलाम र ताप्लेजुङमा थोरै भोटले इतर पक्ष पराजित भएको थियो ।
पार्टी अध्यक्ष ओली, महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष गुरुप्रसाद बराल, कोशी प्रदेशका इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सहमतिको प्रयास गर्दा पनि किन सर्वसम्मत हुन सकेन ? निर्वाचन हुँदा पनि संस्थापन पक्ष भनिएकाहरू किन पराजित भए भन्ने बहस एमालेभित्र चलिरहेकै छ ।
कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा सहमतिमा नेतृत्व चयन हुन नसके पनि सहमतिमै प्रतिस्पर्धा हुनुलाई अन्यथा मान्न नहुने बताउँछन् । ‘सबै जिल्लामा सहमतिको प्रयास भयो । धेरै ठाउँमा चुनाव पराजित हुने साथीहरूले पनि नेतृत्व स्वीकार गरेर फूलमाला लगाएरै हिँड्छु भन्नुभएको थियो । सौहार्दपूर्ण ढंगले नै निर्वाचन भए,’ उनले भने ।
उता, एमालेका केन्द्रीय सदस्यसमेत रहेका युवराज बास्कोटा भने एमालेमा वैचारिक हिसाबले फरक मत वा भिन्न मत राख्नेहरू नै अहिले पार्टीको नेतृत्वमा आउनासाथ आफूलाई ‘संस्थापन पक्ष’ भन्ने र अर्को पक्षलाई ‘इतर’ भनिएको बताउँछन् ।
‘अहिले एमालेमा वैचारिक हिसाबले फरक मत वा भिन्नमत राख्नेहरू नेतृत्वमा आउनासाथ संस्थापन पक्ष भन्नुहुन्छ र विचारको पक्षमा सर्वस्व खर्चिएको वा गुमाएको व्यक्ति व्यक्तित्वको पंक्ति संस्थापन इतर कहलिन्छ । वस्तुतः अध्ययन अभावले सिर्जना गरेको यो भड्किलो पक्षमात्र हो । यो आफैँमा बेमेल हो,’ बास्कोटाले भने, ‘बेमेलको पक्षलाई मोरङ जिल्ला अधिवेशनले गतिलो जवाफ दिएको छ ।’
उनले एमाले मोरङको अधिवेशनको मत परिणामलाई अध्यक्ष केपी शर्मा ओलीको हार र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षको जितको रूपमा अर्थ्याउन नहुने प्रस्ट पारे । ‘एमालेलाई भजाउन चाहने कतिपयले कित्ता–कित्तामा समूहबन्दी गर्ने गरेको पाइन्छ । यो होइन । अधिवेशनमार्फत नेतृत्व निर्माणका लागि हुने चुनाव पार्टी जीवनको आन्तरिक अभ्यास र अभ्यासअनुरुपको व्यवस्थापन हो । चुनावमा गएपछि यसबाट प्राप्त हुने परिणाम परस्पर कित्ता काटाकाट र समूहबन्दी गरेर बुझ्न हुँदैन ।’
२०८० असोजमा सम्पन्न एमाले कोशी प्रदेशको अधिवेशनमा पनि दुई प्यानलको प्रतिस्पर्धा भएको थियो । जसको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भए । खतिवडाले अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतले पराजित गरेका थिए । खतिवडाले ५१२ मत प्राप्त गर्दा ढकालले ४३० मत प्राप्त गरेका थिए ।
प्रदेश कमिटीको उपाध्यक्षमा सर्वसम्मत भएका टीकाराम चेम्जोङ दुवै पक्षको प्यानलमा परेका थिए । पदाधिकारीमा त्यही बेला प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएको ढकाल समूहले १४ जिल्लाको अधिवेशनमा आफ्नो सशक्त प्रभाव देखाएको छ ।
अन्तिम अधिवेशनको रूपमा लिएको मोरङमा सो पक्षले संस्थापन पक्षलाई कडा सन्देश दिन सफल भयो । ‘पहाडका ६ जिल्ला बराबर त मोरङ एउटै जिल्ला हो । पहाडमा के भयो भन्ने कुराभन्दा बढी मोरङमा के भयो भन्ने कुराले धेरै ठुलो अर्थ राख्छ,’ बास्कोटा भन्छन्, ‘नेताको नाम लिएर वरिपरि बसेर फुत्त बाहिर निस्किएकाहरूको हाली–मुहालीलाई मोरङमा रोकिएको छ । केपी शर्मा ओलीको नाम लिएर बिचबिचमा भुलुक्क आएका मानिसले आफूलाई संस्थापनको नाममा लामो समयदेखि एमाले राजनीतिमा रहेकाहरूको मान मर्दन गर्ने गरे । त्यस्तै मानिसलाई अध्यक्ष ओलीले पनि ढाडस दिने काम गर्नुभयो । त्यसको जवाफ मोरङले दियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहमा झडप प्रकरणः आयोगले सुरु गर्यो अनुगमन
-
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन ८ र ९ चैतमा, एकहजार प्रतिनिधि सहभागी हुँदै
-
आर्थिक तथा व्यावसायिक वातावरण सुधारसम्बन्धी विधेयक बहुमतले स्वीकृत
-
ओलम्पिक कमिटी विवादमा खेलकुदमन्त्रीले भने, ‘विदेश भ्रमणमा रोक लगाउने निर्णय कायम रहन्छ’
-
राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)
-
८ दलीय मधेसी मोर्चाले तयार गर्यो साझा एजेन्डा