प्रभु साहको प्रश्न, ‘नेपाल एयरलाइन्स किन घाटामा ?’

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल एयरलाइन्स घाटामा हुनुको कारण बारे सरकारसँग प्रश्न सोधेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले अरू एयरलाइन्स नाफामा हुँदा नेपाल एयरलायन्समात्रै किन घाटामा गयो भनेर प्रश्न गरेका हुन् ।
‘अरू एयरलाइन्सले नाफा गर्ने तर सरकारको नेपाल वायु सेवा निगम घाटामा जाने, नेपाल एयरलाइन्सले आफ्नो जहाज उडाउनै सकेको छैन । वर्षौँदेखि ती जहाजहरू थन्काइएको छ । आन्तरिक उडानका लागि भनेर चीनबाट ल्याइएका पाँच वटा जहाज थन्काएर राखिएको छ । ती जहाजलाई कि उडाउनुपर्यो, कि व्यवस्थापन गर्नुपर्यो । यत्तिकै ती जहाज थन्काएर सरकारले के सन्देश दिन खोजेको हो ?’, साहले प्रश्न गरे ।
अहिले नेपाल वायु सेवा निगमले कि त जहाज नै नउडाउने र उडाइएपनि फूल फेजमा नउडाएको साहको आरोप छ । उनले नेपाल एयरलाइन्सले जहाज उडाउनै पर्यो भनेपनि यात्रु नपाउने (चाप नभएको) ठाउँबाट उडाउने गरेको भन्दै आलोचना गरे ।
उनले यसबारे सरकारको पोजिसन के हो भनेर प्रश्न सोधे । ‘यो सरकार कता हो ? एयरलाइन्स डुबाउन चाहेको हो कि बढाउन चाहेको ? नेपाल वायु सेवा निगमबाट फाइदा लिन चाहेको हो कि यसलाई बिक्री गरेर निजी वायुसेवा कम्पनीहरूबाट लाभ लिन चाहेको हो ?’, आजपा अध्यक्ष साहले प्रश्न गरे । उनले नेपाल वायु सेवा निगमले अहिले अन्तर्राष्ट्रिय फ्लाइटमा जम्मा चार वटा जहाजमार्फत उडान भरेको सुनाए । तर, वायु सेवा निगमसँग १५ सय कर्मचारी रहेको तथ्याङ्क पेस गरे ।
साथै उनले नेपाल एयरलाइन्सलाई युरोपियन युनियनले कालोसूचीमा राखेकोमा त्यसबारेमा सरकारले के गरिरहेको छ भन्ने बारेमा जवाफ माग गरे ।