आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुरक्षा

आईजीपी कुँवरसहित ९ जना उच्च प्रहरी अधिकृत भोलिदेखि सेवा निवृत्त हुँदै

नयाँ नेतृत्वको दौडमा तीन जना एआईजी
आइतबार, ०३ चैत २०८१, १३ : ३२
आइतबार, ०३ चैत २०८१

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसहित ९ जना उच्च प्रहरी अधिकृतहरू सोमबारबाट सेवा निवृत्त हुँदै छन् । २०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन् । कुँवरले करिब दुई वर्ष ८९ हजार फौजको कमान्ड गरे ।

कुँवरसँगै एआईजीहरू टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि एकसाथ अवकाशमा जाँदै छन् । उनीहरूकै ब्याचमेट डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि चैत ४ गते राति १२ बजेबाट अवकाश हुन लागेका हुन् ।

टेक प्रसाद राई कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएर आईजीपीको प्रतिस्पर्धामा थिए । सो ब्याचका श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले यसअघि नै अवकाश पाइसकेका छन् ।  जनक भट्टराई केही दिनअघि मात्र एआईजीमा बढुवा भएका हुन् ।

अवकाशमा जान लागेका डीआईजी गणेश चन्द सुदूरपश्चिम प्रदेशको प्रमुख छन् । भोला रावल गण्डकी प्रदेशको प्रमुख छन् । रावल आइतबार नै गण्डकी प्रदेश प्रहरी कार्यालयबाट बिदा भएर काठमाडौँ आएका छन् ।

कुँवरको अवकाशसँगै नेपाल प्रहरीको ३१ औँ आईजीपी को हुन्छ भन्नेबारे आम चासो छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कुँवरलाई वरियताको आधारमा आईजीपी नियुक्त गरेको थियो । कुँवर वरीयता सूचीको १ नम्बरमा थिए ।

सोमबार नयाँ आईजीपीबारे निर्णय गरिँदै

नयाँ प्रहरी ऐन आउन ढिला हुने र ३० वर्षे नहट्ने भएसँगै आईजीपी कुँवरलाई सोमबार प्रहरी प्रधान कार्यालयबाट बिदाइ गर्ने कार्यक्रम राखिएको छ । कुँवरको बिदाइ अघि प्रहरी प्रधान कार्यालयमा आइतबार साँझ रात्रिभोजको आयोजना गरिएको छ ।

आईजीपीको नियुक्तिबारे निर्णय गर्न सोमबार बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सोमबार बिहान आईजीपी नियुक्ति गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको प्रधानमन्त्रीको कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । 

प्रहरीको ३१ औँ आईजीपी बन्न तीन जना अतिरिक्त महानिरीक्षकहरू प्रतिस्पर्धामा छन् । प्रहरी अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ आईजीपीको प्रतिस्पर्धी हुन् । थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख हुन् । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।  

२०५२ भदै १९ गते प्रहरी सेवामा प्रवेश गरेका उनीहरूमध्ये दीपक थापा २०७९ चैत ६ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए । सुदीप गिरी र टेकबहादुर तामाङ २०७९ चैत २४ मा एआईजीमा बढुवा भएका हुन् । उनीहरू १८ दिन ढिला बढुवा भएका थिए । 

वरीयता सूची अनुसार पहिलो नम्बरमा थापा, दोस्रोमा गिरी र तेस्रोमा तामाङ छन् । मन्त्रिपरिषद्ले मेरिट अनुसार नियुक्ति गरेमा थापा प्रहरी प्रमुख हुने सम्भावना उच्च छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप