आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट

कोशी प्रदेशको पहिलो जित, निरीह बन्यो गण्डकी

आइतबार, ०३ चैत २०८१, १२ : ०४
आइतबार, ०३ चैत २०८१

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा तुलनात्मक रुपमा कमजोर देखिएको कोशी प्रदेशको टोलीले पहिलो जित हात पारेको छ । कोशी प्रदेशले आइतबार खेलिएको खेलमा गण्डकी प्रदेशमाथि नौ विकेटको सजिलो जित हासिल गर्यो ।

जारी प्रतियोगितामा हालसम्म पाँच खेल खेलेको कोशी प्रदेशले हासिल गरेको यो पहिलो जित हो । कोशी प्रदेश यसअघि लगातार चार खेलमा पराजित भएको थियो । हालसम्म चार खेल खेलेको गण्डकी प्रदेशले पनि एक खेलमा जित हात पारेको छ भने तीन खेलमा पराजय भोगेको छ । 

टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकी प्रदेशले २०.४ ओभरमै अलआउट हुनुअघि ३१ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने ८.२ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।

कोशी प्रदेशको जितमा ओपनर सकिब हकले अविजित १६ रनको योगदान गरे । अर्का ओपनर चिराग साहले १० रन बनाए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका सोनु अन्सारी चार रनमा अविजित रहे । कोशी प्रदेशले अतिरिक्त रुपमा दुई रन पायो । गण्डकीका बलर सुवाष भण्डारीले एक विकेट लिए । 

त्यसअघि, गण्डकी प्रदेशको टोली हालसम्मकै सबैभन्दा कम योगफलमा समेटिएको थियो । जारी प्रतियोगितामा यसअघि कुनै पनि टोली यति कम स्कोरमा अलआउट भएको थिएन । गण्डकीका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकीका चार ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । वंश क्षेत्री, दीपक डुम्रे, रोहित चन्द र सुवाष भण्डारी शून्य रनमै पेभेलियन फर्किए ।

ओपनर अर्जुन कुमालले सर्वाधिक नौ रन बनाए । अर्का ओपनर मुस्कान थापा चार रनमै आउट भए । कप्तान विपिन खत्री पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । अमृत गुरुङले तीन रन बटुले । सुदिप अर्याल एक रनमै आउट भए । 

तल्लो क्रमका ब्याट्सम्यान चन्द्र पौडेलले पाँच रन बनाए । सुजन गौतम ६ रनमा अविजित रहे । गण्डकी प्रदेशले अतिरिक्त रुपमा दुई रन पायो । कोशी प्रदेशका बलर विपिन महतो एक्लैले ६ विकेट लिए । उनले आठ ओभरमा तीन मेडन राख्दै केवल १७ रन खर्चिए । 

फिरदोष अन्सारीले पनि तीन विकेट हात पारे । उनले आठ ओभरमा पाँच मेडन राख्दै केवल १० रन खर्चिए । अर्को एक विकेट दिपेश कँडेलले लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप