आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय

अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती

आइतबार, ०३ चैत २०८१, ११ : ५३
आइतबार, ०३ चैत २०८१

दाङ । पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् । 

स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैले हेर्छन् । तीन वर्षअघि स्ट्रबेरीखेतीमा होमिएका २६ वर्षे उनले गत वर्ष मात्रै रु १८ लाख बराबरको स्ट्रबेरीको कारोबार भएको बताए । “गत वर्ष रु ११ लाख त बचत नै भयो”, उनले भने, “अहिले दैनिक ७० किलोभन्दा बढी बिक्री भइरहेको छ ।” उनका अनुसार यस वर्ष हालसम्म रु चार लाखभन्दा बढी स्ट्रबेरी बिक्री भइसकेको छ । 

साउदले १५ कट्ठा जग्गा भाडामा लिएर स्ट्रबेरीखेती गरेका छन् । उनले स्ट्रबेरी प्रतिकिलो खुद्रामा रु सात सय र थोकमा रु पाँच सयमा बिक्री भइरहेको बताए । उनले स्ट्रबेरी दाङसहित बुटवल, नेपालगञ्ज र धनगढीलगायत ठाउँमा पठाउने गरेको सुनाए । 

 परम्परागत कृषिमा प्रविधिको प्रयोगले सफलता मिलेको उनले बताए । घोराहीमा मात्रै होइन, साउदले कपिलवस्तुमा १२ कट्ठामा र कैलालीमा १० कट्ठामा पनि व्यावसायिक रुपमा स्ट्रबेरीखेती गर्दै आएका छन् । 

    स्ट्रबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले पनि राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने साउदको बुझाइ छ । उनले भने, “सुरुमा बिरुवा ल्याउँदा, सिँचाइलगायतमा रु सात लाख बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको छ, बजारका लागि पनि कुनै समस्या छैन ।” उनका अनुसार कूल उत्पादनको ४० प्रतिशत दाङमा मात्रै बिक्री भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप