आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय

१ अर्ब ११ करोड लागतमा साइबर ब्युरोको अत्याधुनिक भवन तयार हुँदै

आइतबार, ०३ चैत २०८१, १० : ५८
आइतबार, ०३ चैत २०८१

काठमाडौँ । प्रहरीको साइबर ब्युरोले स्थापनाको लामो समयपछि आफ्नै भवन पाउने भएको छ । विद्युतीय माध्यमबाट हुने अपराध नियन्त्रण गर्ने उद्देश्यले २०७५ जेठमा मन्त्रिपरिषद्को निर्णय अनुसार साइबर ब्युरो गठन गरिएको थियो । ब्युरोको लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोगमा अत्याधुनिक भवन तयार हुँदैछ । सामाखुसीमा रहेको प्रहरीको स्वामित्वको जग्गामा भवन तयार भइरहेको प्रहरी प्रवक्ता (डीआईजी) दिनेश आचार्यले रातोपाटीलाई बताए ।

ब्युरोको भवन बनाउन कोइकाले ८० लाख अमेरिकी डलर सहयोग गरेको छ । नेपाली रुपैयाँ १ अर्ब ११ करोड १८ लाख ३८ हजार लागतमा निर्माणाधीन भवन २०८३ पुस १६ सम्ममा पुरा गर्ने गरी काम भइरहेको छ ।

२०७९ असोज ७ मा कोइका र प्रहरी प्रधान कार्यालयको बिचमा भवन निर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । भवन निर्माणको करिब ८५ प्रतिशत काम पुरा भैसकेको छ । प्रहरी प्रवक्ता (डीआईजी) आचार्य भन्छन्– ‘७२ महिनामा पुरा गर्ने गरी २०२१ मा सम्झौता भएको थियो, सम्झौताअनुसार अहिले ७५ देखि ८५ प्रतिशत काम सम्पन्न भैसकेको छ ।’

साइबर ब्युरोको कार्यालय अहिले भोटाहिटीमा छ । पछिल्लो समय विद्युतीय माध्यमबाट हुने अपराध बढेसँगै भोटाहिटीस्थित कार्यालयमा सेवाग्राहीका अत्यधिक भिड हुने गरेको छ । पार्किङको असुविधा र भिडका कारण सेवा असहज हुने गरेको ब्युरोका अधिकृतहरू बताउँछन् । ब्युरो प्रमुख नविन्द अर्यालले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगका अधिकारीहरूसँग समन्वय गरेर भवन निर्माणको वातावरण बनाएका हुन् । साइबर ब्युरोलाई अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को मातहतमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप