आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय

बाल सुधार गृहमा झडप : अस्पतालबाट सबै  डिस्चार्ज, आगजनी र तोडफोड गर्ने अनुसन्धानमा

आइतबार, ०३ चैत २०८१, ०९ : ४८
आइतबार, ०३ चैत २०८१

बुटवल । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा शुक्रबार राति भएको झडपमा घाइते भएका सबै जना अस्पतालबाट डिस्चार्ज भएका छन् । 

घाइते ४९ जना मध्ये ४३ जनालाई शनिबार साँझ नै डिस्चार्ज भइसकेका थिए । बाँकीलाई सामान्य उपचारपछि राति नै अस्पतालले डिस्चार्ज गरेको बाँकेका प्रमुख जिल्ला अधिकारीले  धर्मराज जोशीले  रातोपाटीलाई बताए । 

२ सय ५५ जनाभन्दा बढी बालबन्दी रहेको सुधार गृहमा दुई समूहबिच झडप हुँदा सुधार गृहभित्र आगजनीसमेत भएको थियो । बालबन्दीहरूले आफू बस्ने लत्ताकपडा, भाँडाकुँडा र फर्निचरमा आगजनी गरेका थिए । घटनामा प्रहरीको मोटरसाइकल समेत बालबन्दीहरूले जलाएका थिए ।  

प्रहरीले आगजनी र तोडफोडमा संलग्न भएको भन्दै करिब एक दर्जनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको छ । प्रमुख जिल्ला अधिकारी  जोशीले उनीहरूसँग सोधपुछ जारी रहेको बताए ।

४० जना बन्दीलाई अर्को बाल सुधार गृह नौबस्ता लगिएको छ । स्थिति हाल शान्त रहे पनि प्रहरीले निगरानी बढाएको छ । बाल सुधार गृहमा प्रहरी विना हतियार बस्नु पर्ने नियम रहेको छ । त्यहाँ क्याप्टेनले अनुगमन र व्यवस्थापन गर्दछ । 

गत वर्ष असोज ४ गते पनि सुधार गृहमा झडप हुँदा एक बालबन्दीको मृत्यु भएको थियो । केही दिन अघि मात्रै तीन जना प्रहरी कुटिएका थिए । यसअघि झडप गरिरहनेहरूलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप