आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय

दुई महान क्रिकेटर सचिन तेन्दुल्कर र ब्रायन लाराको टोलीबिच उपाधि भिडन्त आज

आइतबार, ०३ चैत २०८१, ०९ : ४१
आइतबार, ०३ चैत २०८१

काठमाडौँ । इन्टरनेशनल मास्टर्स लिग (आईएमएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल आइतबार खेलिँदै छ । प्रतियोगिताको फाइनलमा भारतले वेस्ट इन्डिजको सामना गर्दैछ । खेल नेपाली समय अनुसार, राति १७ः४५ बजे सुरु हुनेछ । 

भारतीय टोलीको कप्तानी सचिन तेन्दुल्करले र क्यारेबियन टोलीको कप्तान ब्रायन लाराले गर्दैछन् । यी दुबै आफ्नो समयका महान क्रिकेटर हुन् । टोलीलाई जारी मास्टर्स लिगको फाइनलमा पुर्याउन पनि यी दुबैले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

त्यसैले तेन्दुल्कर र लाराबिचको यो भिडन्त धेरै क्रिकेट समर्थकका लागि प्रतिक्षाको विषय बनेको छ । सक्रिय खेलाडीको भूमिमा पनि निकैपटक यी दुबै खेलाडी एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छन् । लामो समयपछि अहिले फेरि यी दुबै हस्ती आ–आफ्नो टोलीको नेतृत्व गर्दै एक–अर्काविरुद्ध ओर्लन लागेका हुन् ।

जारी प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई ९४ रनले हराउँदै फाइनलमा स्थान पक्का  गरेको हो । वेस्ट इन्डिजले भने सेमिफाइनल खेलमा श्रीलंकालाई ६ रनले हराएको थियो । अस्ट्रेलियन टोलीको कप्तान शेन वाट्शन थिए भने श्रीलंकाली टोली कुमार सांगाकाराको कप्तानीमा थियो ।

सेमिफाइनल खेलमा वेस्ट इन्डिजलाई विजयी बनाउन ब्रायन लाराले ३३ बलमा एक छक्का र चार चौकाको मद्दतले ४१ रन बनाएका थिए । उनी ‘रिटायर्ड हर्ट’ हुँदै मैदानबाट बाहिरिएका थिए । सेमिफाइनल खेलमा सचिनले पनि ३० बलमा सात चौकाको मद्दतले ४२ रन बनाएका थिए ।

भारतीय टोलीमा सचिनका अतिरिक्त अम्बाती रायुदु, पवन नेगी, युवराज सिंह, स्टुअर्ट बिन्नी, युसुफ पठान, इरफान पठान, विनय कुमार, गुरकिरतसिंह मनलगायतका पूर्वखेलाडी रहेका छन् । क्यारेबियन टोलीमा भने ब्रायन लाराका अतिरिक्त ड्वेन स्मिथ, लेन्डल सिमोन्स, चाडविक वाल्टन, दिनेश रामदिन, आस्ले नर्शलगायतका खेलाडी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप