आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय
पहिलो प्रस्रव

बल–बैँस छँदासम्म उनले दिनको उज्यालोमा लेखिनन्

आइतबार, ०३ चैत २०८१, ०६ : ३३
आइतबार, ०३ चैत २०८१

आख्यानकार पद्मावती सिंहले काठमाडौँको छाउनीस्थित आफ्नो घरको ठेगाना दिँदा घर नम्बर दिएकी थिइन् — गुलाबी रङको घर, कालो रङको गेट छ ।

उनले भनेकै गल्लीमा पुग्दा पनि घर पत्ता लगाउन सकिनँ र उनलाई फोन गरेँ । 

‘म गेटमा निस्कन्छु,’ उनले भनिन् । 

घाँटीमा ऊनीको हरियो गलबन्दी अनि रातो कुर्ता लगाएर उनी गेटमा उभिइरहेकी थिइन् । ‘ला, अस्ति रङ लगाउँदा घर नम्बर छोपिएको रहेछ, अनि कसरी देख्नु त ! मैले पनि भर्खरै थाह पाएँ,’ उनले भनिन् ।

रातोपाटीले ‘पहिलो प्रस्रव’ स्तम्भ चलाउँदै छ, जसमा महिला लेखकले पहिलो कृति लेख्न र छपाउन गरेको संघर्षका कथा आउँछन्— यही बताएर मैले उनीसँग समय लिएकी थिएँ । भेटमा हामीले यिनै विषयमा भलाकुसारी गर्‍यौँ ।

जान्ने–बुझ्ने भएदेखि नै उनले कथा लेख्न थालेकी हुन् तर कथाहरू कापीका पानामै सीमित थिए । २०२२ सालको एक दिन, उनले कथा लेखेको कापी उनकी ठुलीदिदीको हातमा पर्‍यो । नेपालीमा स्नातक गरेकी उनकी दिदी ती कथा पढेर आश्चर्यमा परिन्, ‘कतैबाट सारेको हो कि आफैँले लेखेको !’ 

पद्मावतीले भनिन्, ‘आफैँ लेखेको ।’ 

त्यस दिन कथाका बारेमा खासै कुरा भएनन् । त्यतिबेला पद्मावती आईएससी गर्दै थिइन् । त्यसको केही दिनपछि कलेजमा उनलाई साथीहरूले एउटा पत्रिका देखाउँदै सोधे, ‘ओइ पद्मा ! तिम्रो नाममा कथा छापिएको रहेछ, तिम्रै हो नि ?’ 

त्यतिबेला लेखकको तस्बिर छापिने चलन त्यति थिएन । सुरुमा उनले होइन भनिन् । आफूसँग नाम मिल्ने कसैले लेख्यो होला भन्ने उनलाई लागेको थियो । किनभने उनले छाप्नका लागि भनेर कसैलाई आफ्नो कथा दिएकी थिइनन् । 

विशेषतः उनले रातको समयमै साहित्य सिर्जना गरेकी छन् । एक निद्रा सुतेर ब्युँझिएपछि उनी कलम र कापी समातेर बस्थिन् । १–२ बजे उठेर लेख्न बसेकी उनी कहिलेकाहीँ छर्लङ्ग उज्यालो नहुँदासम्म लेखिरहन्थिन् ।

तैपनि उनले पत्रिका हेरिन् । आरती साप्ताहिकमा छापिएको त्यो कथाको शीर्षक थियो — ‘पत्थरको हृदय’ । आफैँले लेखेको कथा पत्रिकामा देखेर उनी एकैचोटि आनन्द र आश्चर्यमा परिन् । 

पत्रिका बोकेर घरमा पुगेपछि थाहा भयो, उनकी दिदीले त्यो कथा पत्रिकालाई दिएकी रहिछन् । 

त्यसको १६ वर्षपछि अर्थात् २०३८ सालमा उनको पहिलो कथाकृति ‘कथादि’ छापियो । त्यतिबेला उनका भाइले आफ्नै खर्चमा कथासंग्रह छापिदिएका थिए । साहित्यप्रतिको दिदीको लगाव र रुचि देखेर भाइलाई लागेछ, दिदीलाई उत्प्र्रेरित गर्नुपर्छ । 

‘कृति निकाल्न प्रकाशकलाई खोज्दै कता हिँड्नु !’ पद्मावती भन्छिन्, ‘सिकारु वा भर्खरै लेख्न थालेकाहरूलाई प्रकाशक भेट्नै मुस्किल हुन्थ्यो । पहिलो कृति छापिँदासम्म म आख्यानका क्षेत्रमा थोरबहुत चिनिएकी थिएँ । तर प्रकाशक खोज्दै हिँडिनँ ।’ 

त्यसको वर्ष दिनपछि उनको दोस्रो कृति ‘कथायाम’ (२०३९) साझा प्रकाशनबाट छापियो । त्यतिबेला आफ्नो ५–६ हजार रुपैयाँ खर्च भएको उनी सुनाउँछिन् । सिंहका कृतिहरू कहिले उनको भाइले, कहिले साहित्यिक पत्रकार संघले, कहिले श्रीमान्ले त कहिले अन्य कुनै संस्थाले प्रकाशन गरिदिए । यस मानेमा उनी आफूलाई भाग्यमानी सम्झन्छिन् । 

जागिरे उनले घर–परिवार, केटाकेटी र कार्यालयलाई दिएर बाँकी रहेको समय  मात्रै लेखनका लागि छुट्ट्याउनुपर्थ्यो । ‘गैरसरकारी र अन्तर्राष्ट्रिय संघ–संस्थाहरूमा रहेर काम गरेँ । जागिरका सिलसिलामा कहिले काठमाडौँ बाहिर त कहिले कता हिँडडुल गरिरहनुपर्थ्यो,’ उनी भन्छिन्, ‘लेखन भन्नु लत रहेछ, एकपटक लत बसेपछि छुट्दै नछुट्ने ।’ 

विशेषतः उनले रातको समयमै साहित्य सिर्जना गरेकी छन् । एक निद्रा सुतेर ब्युँझिएपछि उनी कलम र कापी समातेर बस्थिन् । १–२ बजे उठेर लेख्न बसेकी उनी कहिलेकाहीँ छर्लङ्ग उज्यालो नहुँदासम्म लेखिरहन्थिन् । ‘पहिले मैले कहिल्यै दिनको उज्यालोमा लेख्न बसिन् । अहिले त उमेरले गर्दा पनि होला, राति अबेरसम्म वा आधा निद्रामा उठेर लेख्न सक्ने अवस्था रहेन,’ उनी भन्छिन्, ‘अहिले फुर्सद पनि छ र दिउँसो पनि लेख्न थालेकी छु ।’ ल्यापटप वा कम्प्युटरमा भन्दा उनलाई कापीमै लेख्न सजिलो लाग्छ । 

१६ वर्षको उमेरदेखि उनले निरन्तर लेखिरहेकी छन् । अहिलेसम्म उनका आठवटा कथा संग्रह, तीनवटा उपन्यास अनि एउटा गीत संग्रह प्रकाशित छ । अन्तिमपटक कोभिडको समयमा रत्न पुस्तकले ‘पद्मावती सिंहका प्रतिनिधि कथा संग्रह’ छापेयता सिंहको नयाँ कृति आएको छैन ।

यस वर्ष (२०८१ मा) उनले दुईवटा मात्रै कथा लेखिन् भने लघुकथा निकै लेखेकी छन् । यो वर्षको अधिकांश समय गीत लेखन, गायन र रेकर्डिङमा खर्चिरहेको उनी बताउँछिन् । 

आफूले लेखेका रचना प्रकाशन गर्ने सन्दर्भमा उति साह्रो संघर्ष गर्नुनपरेको उनको अनुभव छ । ‘आफ्ना समकालीनहरूको संघर्षका दिनहरूको कहानी सुन्दा आफूले त कुनै दुःखै भोगेको रहेनछु भन्ने महसुस हुन्छ,’ उनी भन्छिन् ।

सुरुवाती समय मधुपर्कमा कथा पठाउँदा ‘अर्को पनि ल्याइदिनु है, बहिनी’ भनेर त्यतिबेलाका सम्पादक केशवराज पिँडालीले भन्ने गरेको उनलाई अझै याद छ । ‘कति ठाउँमा त कथा छापिदिन्छौँ, दिनु है भनेर माग्दा पनि लेख्न सकिनँ,’ उनी भन्छिन् । 

माहोल

पद्मावती सिंहको जन्म सम्पन्न परिवारमा भएको थियो । पिता राजनीतिज्ञ अनि श्रीमान् व्यवसायी । उनका हजुरबा हरिभक्त माथेमा दरबारमा ‘सरदार’ थिए । उनले नेपाल भाषामा गजल र भजन लेख्थे । ‘उहाँले लेखेको भजन त्यतिबेला भजनगृहमा खुबै गाइन्थ्यो,’ उनी भन्छिन्, ‘नेपालभाषामा उहाँलाई भक्तिकवि भन्ने पदवी दिइएको थियो । बजै बितेर कोरा बस्दा बाजेले १३ दिनसम्म कसैसँग नबोलीकन शोककाव्य तयार पार्नुभएको थियो रे । जसलाई पछि मेरो बुवाले प्रकाशन गरिदिनुभयो ।’

‘ओइ पद्मा ! तिम्रो नाममा कथा छापिएको रहेछ, तिम्रै हो नि ?’ साथीहरूले एउटा पत्रिका देखाउँदै सोधे । त्यतिबेला लेखकको तस्बिर छापिने चलन त्यति थिएन । सुरुमा उनले होइन भनिन् । आफूसँग नाम मिल्ने कसैले लेख्यो होला भन्ने उनलाई लागेको थियो । किनभने उनले छाप्नका लागि भनेर कसैलाई आफ्नो कथा दिएकी थिइनन् ।

काठमाडौँको ओमबहालमा जन्मेर हुर्केकी पद्मावती सिंहका छिमेकी थिए, विख्यात कवि सिद्धिचरण श्रेष्ठ । श्रेष्ठकी छोरी पद्मावतीकी मिल्ने साथी थिइन् । उनको घरमा पद्मावतीको आउजाउ भइरहन्थ्यो । श्रेष्ठको घरमा त्यतिबेला थुप्रै लेखक जमघट हुने गरेको पद्मावतीले देखिन् । उनले सिद्धिचरणलाई बुवा भनेर सम्बोधन गर्थिन् ।

यस्तै, पद्मावतीका दिदीहरूलाई पढाउन वरिष्ठ नाटककार विजयबहादुर मल्ल गोठाले पनि आइरहन्थे । यस्तै चर्चित साहित्यकार शंकर लामिछाने पद्मावतीको दाइका मिल्ने साथी थिए । यस्तै परिवेशमा हुर्किएकी सिंहलाई सानै उमेरदेखि नै लेख्न र पढ्न रुचि जाग्दै गयो ।

७७औँ वसन्तमा हिँड्दै गरेकी आख्यानकार पद्मावती सिंहको दिनचर्या अचेल केहीबेरको व्यायाम र ध्यानबाट सुरु हुन्छ । निम्तो आउने साहित्यिक कार्यक्रममा प्रायः उनी पुगेकै हुन्छिन् । कतै जाने कार्यक्रम नभए उनले मन र शरीर डुलाउने दुई ठाउँ छन् — घर पछाडिको बगैँचा र फेसबुक ।

मलाई लिन तल गेटनेर झर्दा उनले खुट्टा खोच्याएझैँ गरेकी थिइन् । 

‘खुट्टामा केही समस्या छ र दिदी ?’ मैले सोधेकी थिएँ ।

‘बुढेसकाल लाग्यो नि बाबै, कहिले के हुन्छ कहिले के हुन्छ ? चिसोले होला नि !’ उनको जवाफ थियो । 

‘यो उमेरसम्म तपाईँ यति सक्रिय हुनुहुन्छ, तपाईंको अगाडि मलाई आफू पो बुढी भइसकेजस्तो लाग्छ,’ मैले भनेँ । 

उनी आवाज निकालेरै हाँसिन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप