शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

राससको अपूर्ण तस्बिर संग्रह

शनिबार, ०२ चैत २०८१, १८ : ५६
शनिबार, ०२ चैत २०८१

राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सिद्धराज राईले गत सोमबार टेलिफोन गरेर भने — तिमीसँग भेट्नु छ, एउटा किताब उपहार दिनुपर्नेछ । 

स्नातकोत्तर पढ्दाका क्लासमेट राई, मेरा मित्र ! उनलाई फुर्सद हुँदा मलाई नहुने, मलाई फुर्सद हुँदा उनलाई नहुने । भेट्ने समय जुर्‍यो, होली पूर्णिमाको दिन । 

रासस कार्यालय भद्रकालीमा भएको भेटमा राईले राससले ६४औँ वार्षिकोत्सवको अवसरमा (फागुन ७ गते) प्रकाशन गरेको ‘रासस फोटो किताब ः गणतन्त्रको १६ वर्ष’ नामक किताब हस्तान्तरण गरे । 

मुलुकमा गणतन्त्र आएपछि राससमा प्रकाशित भएका तस्बिरहरूलाई दुई भागमा विभाजन गरेर किताबमा समावेश गरिएको रहेछ । किताबको पहिलो खण्डमा ‘हाम्रो संस्कृति, हाम्रो सम्पदा’ शीर्षकमा र दोस्रो खण्डमा ‘समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा तस्बिर राखिएका छन् । 

किताबमा पहिलो तस्बिर तत्कालीन राष्ट्रपति डा. रामवरण यादव र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले ०७२ असोज ३ गते संविधानसभा बैठकमा नयाँ संविधान देखाउँदै गरेको तस्बिर छापिएको छ भने अन्तिम तस्बिर दार्चुलाको शैल्यशिखर नगरपालिका– १, शिखरमा अवस्थित चमेलिया जलविद्युत् आयोजनाको नहरको छापिएको छ । 

किताबमा देशको धार्मिक, सांस्कृतिक, जातीय पहिचान, भौगोलिक विविधता आदि झल्काउने गरी तस्बिर राखिएका छन् । विविध जाति र उनीहरूको संस्कृतिलाई चिन्न र चिनाउन यो किताबले महत्त्व राख्छ । किताबमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विषयवस्तु समेटिएका छन् ।

रासस सरकारी समाचार एजेन्सी हो । त्यो एजेन्सीको झल्को किताबमा दिएको देख्न सकिन्छ । राज्य र सरकारका कमिकमजोरीलाई बाहिर ल्याएर सुधार्नका लागि दबाब दिने काम किताबमा कतै देखिन्न । सरकारले गरेको कामको प्रशंसा यथाशक्य गरिए पनि आलोचना र खबरदारीका लागि एक शब्द खर्च गरिएको छैन । 

किताबमा सुरुङमार्ग, विमानस्थल, सडक, पुलका तस्बिरहरू छापिएका छन् । ती तस्बिर हेरेर मात्रै अनुमान गर्ने हो भने राज्य र सरकार पूर्वाधार निर्माणमा सक्रिय रहेको देखिन्छ तर ठेक्का दिएका आयोजना तोकिएको समयमा पूरा गर्न नसकेर निर्माण कम्पनीहरू लगातार कालोसूचीमा परिरहेका छन् । यो कम्पनीले तोकिएको समयमा काम नगर्दा अलपत्र रहेको आयोजना भनेर क्याप्सन लेख्दै तस्बिर राख्न रासस डराएको देखिन्छ । 

किताबमा देशको धार्मिक, सांस्कृतिक, जातीय पहिचान, भौगोलिक विविधता आदि झल्काउने गरी तस्बिर राखिएका छन् । विविध जाति र उनीहरूको संस्कृतिलाई चिन्न र चिनाउन यो किताबले महत्त्व राख्छ ।

त्यति मात्र होइन, निर्माणाधीन पूर्वाधारको तस्बिर समावेश गरे पनि आयोजना कहिलेदेखि बनिरहेका छन्, सम्पन्न गर्ने समय कहिले हो र कति प्रतिशत पूरा भयो भन्ने ब्रिफिङ किताबमा राखेको देखिँदैन । समयावधिमा आयोजना सकिने सम्भावनाबारे पनि कलम चलाएको देखिन्न । 

सरकारको ढिलासुस्तीले एउटै आयोजना वर्षौंसम्म निर्माण सम्पन्न भएका छैनन्, जस कारण राज्यले अर्बौं रुपैयाँको नोक्सानी बेहोर्नुपरिरहेको छ, यसबारे तस्बिर राखिएको देखिन्न । सरकारलाई जवाफदेही बनाउन घचघच्याउने तस्बिर छैनन् । सरकारलाई खबरदारी गर्ने तस्बिर होइन, सरकारको चाकडी गर्ने तस्बिर राखिएका छन् । अर्थात् समाचार एजेन्सीले राख्नुपर्ने मूल्य–मान्यताको भरपूर ख्याल यो किताबमा गरिएको अनुभव गर्न सकिन्न । 

तथापि महाप्रबन्धक राईले किताबको सम्पादकीयमा वस्तुतथ्यलाई नजरअन्दाज गरेर देशमा केही भएन जस्तो गरी नकारात्मक भाष्य सिर्जना गरी राजनीतिक तहमा प्राप्त सबै उपलब्धिलाई नकार्ने र जनतालाई दिग्भ्रमित पार्ने कार्य चिर्ने प्रयास गरिएको लेखेका छन् । ‘मुलुकमा भएको विकास र प्रगतिका विषयमा नागरिकलाई सही र तथ्य कुराको राजनकारी गराउनु राससजस्तो समाचार एजेन्सीको दायित्व हो । २०१८  फागुन ७ गते  स्थापित राससले सत्यतथ्य र निष्पक्ष समाचार सम्प्रेषणमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ । आफ्ना नियमित कार्यबाहेक राससले राज्य र सरकारलाई सहयोग पुग्ने रचनात्मक कार्यहरू गरिआएको छ । यही रचनात्मक कार्य पनि एउटा उपलब्धिका रूपमा ‘रासस फोटो किताब ः गणतन्त्रको १६ वर्ष’ किताब पनि हो,’ राईले सम्पादकीयमा लेखेका छन् ।  

पत्रकारिता गरिरहेका, पढिरहेका र मुलुक बुझेकाले हेर्दा सरकारको प्रवक्ता हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राससले सरकारको दोस्रो प्रवक्ताका रूपमा काम गर्‍यो भन्दा गल्ती हुने आधार देखिन्न । 

अधुरा र कमजोरी औँल्याउने तस्बिर राख्ने आँट नगर्नाले किताब अपूरोजस्तो देखिन्छ । राखिएका तस्बिर जति जबर्जस्त छन्, त्यति क्याप्सन ब्रिफिङ बलियो रूपमा राखिएको छैन । किताब पूरै पढ्दा पूर्ण छ भन्ने आधार भने भेटिँदैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई
लेखकबाट थप