एउटी विद्रोही दुलही

मेहन्दी लगा के रखना,
डोली सजा के रखना ।
लेने तुझे ओ गोरी,
आएंगे तेरा सजना ।
आरतीको बिहेको मेहेन्दी उत्सवको दिन । वातावरण संगीतमय थियो । हरिया, पहेँला पहिरनमा सजिएका आमन्त्रितहरू कोही खाँदै थिए त कोही नाच्दै । ‘मेहेन्दी सौभाग्यको प्रतीक हो । दुलहीको शृङ्गार हो... ।’ बाबुआमा र आफन्तजन भनिरहेका थिए तर आरती मेहेन्दी लगाउन मानिरहेकी थिइनँ । ऊ मेहेन्दी नलगाउने जिद्दी गरिरहेकी थिई ।
आरती मेहेन्दीलाई आयातीत फजुलखर्ची संस्कृति ठान्थी । उसमा सामाजिक रीतिथिति र परम्परालाई हेर्ने अलग दृष्टिकोण थियो । आरती विद्रोही र जुझारु स्वभावकी थिई । ऊ जे बोल्थी हुनैपथ्र्यो । एक्लै हुन किन नपरोस्, नरुचाएको विषयविरुद्ध चट्टानझैँ खडा हुन्थी आरती ।
आरतीमा विवाहप्रति समेत सकारात्मक दृष्टिकोण थिएन । त्यसै कारण तीस वर्षसम्म ऊ अविवाहित रही । ३१ वर्ष लाग्दै गर्दा विवाहका निम्ति तयार भई ऊ, एक सर्तमा । सर्त थियो, ‘जन्ती पर्सिनुअघि भाषण दिने ।’
आरती विवाहप्रति सकारात्मक हुन नसक्नुका कारण थिए । ऊ साथीहरूको विवाहेतर सम्बन्ध देखेर वाक्क–दिक्क थिई । उसले प्रिय साथी अमलाको मागी–विवाह हेरी । प्राणप्रिय सरिताको विवाहेतर सम्बन्धलाई नजिकबाट नियाली । प्रेम विवाह गरेकी सरिताको दाम्पत्य जीवन तीन वर्ष नपुग्दै सिसाझैँ फुट्यो । मागी–विवाहको डोली चढेकी अमलाको वैवाहिक सम्बन्ध दुई वर्ष नकट्दै उजाड–उराठ हुन पुग्यो । त्यसैले हुनुपर्छ, आरती भन्ने गर्थी, ‘विवाह वासना तृप्तिका निम्ति गरिने कृत्रिम सम्झौता हो !’
मेहेन्दी उत्सवको अघिल्लो रात फिटिक्कै निदाइन आरती । उसलाई विवाहपछिको जिन्दगी कस्तो रहला भन्ने प्रश्नले पिरोलिरह्यो । प्रश्नकै बिच उसले संकल्प लिई, ‘मेरो विवाह हुनेछ त मेहेन्दीबिनाको । म परम्परागत रूढि र आयातीत संस्कृतिविरुद्ध चट्टानझैँ खडा हुनेछु ।’
विवाहको दिन आयो । दुलहा अमनले आरतीको घरमा पाइला टेक्यो । दुलहाको आगमनसँगै आरतीको संकल्प परीक्षणको घडी पनि आइपुग्यो । दुलही पहिरनमा सजिएकी आरती घरबाहिर निस्किई । अनि उपस्थितजन माझ भाषण दिन सुरु गरी—
‘आदरणीय महानुभावहरू !
आज म यहाँहरू सामु आफ्ना केही दृष्टिकोण राख्न गइरहेकी छु । सबैभन्दा पहिले यो भन्न चाहन्छु कि हाम्रो समाज आज पनि परम्परागत रूढि, कुसंस्कार र आयातीत संस्कृतिको जाँतोमुनि पिसिएको छ । परम्परागत रूढि, कुसंस्कार र आयातीत संस्कृति हाम्रा दुस्मन हुन् । तिनले हाम्रो भलाई कहिल्यै गर्दैनन् । मैले मेहेन्दी बहिष्कार गर्नु त्यसैको एक कडी थियो । मेहेन्दी हाम्रो मौलिक संस्कृति थिएन । यो पराई र फजुलखर्ची संस्कृति हो । यो भारतबाट तराईको बाटो पहाडी भूगोलमा प्रवेश गरेको हो । आजभन्दा १०–१५ वर्षअघिसम्म मेहेन्दीबारे धेरै कमलाई जानकारी थियो ।
म यहाँहरूसामु थप केही कुरा राख्न चाहन्छु । हाम्रोमा दुलहीले दुलहाको गोडाको जल खानुपर्ने कुपरम्परा छ । दुलहाले दुलहीको खुट्टाको पानी खान नहुने, दुलहीले दुलहाको गोडाको जल खानुपर्ने ! यो कस्तो परम्परा हो ?
अर्को कुरा, मासिक धर्म नियमित शारीरिक प्रक्रिया हो । यो शारीरिक विकार त्यागको एक भाग हो । शरीरले खकार, र्याल, सिँगान, दिसा–पिसाब बाहिर निकालेजस्तै हो यो तर हाम्रो समाज मासिक धर्ममा रहेकी महिलालाई अशुद्ध ठान्छ । छुवाछुतको व्यवहार गर्छ । म यसको प्रबल विरोध गर्दछु । र घोषणा गर्छु कि जुन घरमा दुलही बनेर जानेछु मैले त्यहाँ मासिक धर्म बार्नेछैन । स्मरण रहोस्, मासिक धर्मका समयमा अरु बेलाभन्दा बढी सरसफाइ जरुरी हुन्छ तर हाम्रो परम्परा मासिक धर्म भएकी महिलालाई चार दिन नभई नुहाउने अनुमति दिँदैन । गुफामा लगेर राख्छ । पश्चिमी नेपालमा प्रचलित ‘छाउ गोठ’ त्यसको ज्वलन्त दृष्टान्त हो ।
म यहाँहरूमाझ चौथो कुरा भन्न चाहन्छु । जब म सुत्केरी हुनेछु, सुतक बार्नेछैन । मानिस मर्दा जुठो बार्नु जायज छ । शोक मनाउनु उचित छ तर शिशुको जन्मलाई अशुद्धिको प्रतीक मानेर पूजापाठ या शुभकर्ममाथि बन्देज लगाउनु कुनै पनि अर्थमा विज्ञानसम्मत हुन सक्दैन । सुतक बार्नु गलत परम्परा हो । यसर्थ म सुत्केरी भएपछि हरेक दिन नुहाइधुवाइ गरी पूजा कोठामा गएर शंख–घण्ट बजाउनेछु । देवी–देवताको पूजा गर्नेछु ।’ हुँकारका साथ आरतीले भनी ।
आरतीको भाषण सुनेर केहीले जिब्रो टोके । मानिसहरू समर्थन र विरोधमा बोल्न थाले । आरतीको भाषण सुनेको एक जनाले रिसले आँखा देख्न छाड्यो । ‘तँ शास्त्रविरोधी होस् । तँ हिन्दु समाजको कलंक होस् । विधर्मीहरूको गोटी होस् । तेरो भनाइलाई मैले डलर बोलेको मानेको छु । युरो बम्केको ठानेको छु । तँ विषवृक्ष होस् । तँजस्ताको शीघ्रातिशीघ्र उन्मूलन जरुरी छ ।’ यसो भन्दै आरतीमाथि लाठी प्रहार गर्न तम्सियो ऊ ।
आरतीमा विवाहप्रति समेत सकारात्मक दृष्टिकोण थिएन । त्यसै कारण तीस वर्षसम्म ऊ अविवाहित रही । ३१ वर्ष लाग्दै गर्दा विवाहका निम्ति तयार भई ऊ, एक सर्तमा । सर्त थियो, ‘जन्ती पर्सिनुअघि भाषण दिने ।’
प्रभात नामको युवाले त्यहाँका यावत् गतिविधि नियालिरहेको थियो । ऊ आरतीको भाषणबाट प्रभावित थियो । उसले आरतीमाथिको आक्रमणलाई आफूमाथिको आक्रमण सम्झियो । प्रभात ‘आरतीमाथि लाठी बर्साउनुअघि मसँग युद्ध गर् !’ भन्दै जोडले चिच्यायो । अनि भिडन्तका निम्ति तम्तयार भएर निस्कियो ।
परिस्थिति एकाएक विषम् बन्यो । प्रभातको गर्जनपछि आक्रमणकारी रोकियो । आरतीमाथि बर्सन लागेको लाठीले बिराम पायो । लगत्तै प्रभात र आक्रमणकारीबिच वाक्युद्ध चल्यो । तनावपूर्ण वातावरणका कारण दुलहा र दुलहाका बाबुले ‘के गर्ने’ भन्नेबारे तत्काल निर्णय लिन सकेनन् । किंकर्तव्यविमूढ उनीहरू सरसल्लाहाका निम्ति एकान्तमा बसे ।
‘केटी नेता हो भन्ने थाहा थियो । ठडौरी छ भन्ने सुनेको पनि हो । तर यो स्तरमा प्रस्तुत होली भन्ने लागेको थिएन । यस्ती केटीबाट घरबार हुँदैन । अमनको जीवन बर्बाद हुन्छ मात्र । खुट्टा भए जुत्ताको के दुःख !’ त्यसैले दुलही नलिई फिर्ता जाउँ ।’ विचारविमर्शपछि दुलहाको बाबुले मुख खोल्यो । अमनले बाबुको कुरामा सहमति जनायो ।
यस प्रकार बरियाँत दुलही नलिई फिर्ता जाने स्थिति पैदा भयो । तर आरती किञ्चित बिचलित भइन् । ऊ आफ्नो मतमा चट्टानझैँ अडिइरही । आरतीलाई दुलहा पक्षसामु आफ्ना कुरा थप स्पष्ट पार्न मन लाग्यो । ऊ पुनः बोल्न थाली —
‘दुलही नलिई जाने या के गर्ने, त्यो यहाँको खुसी । यहाँहरूले मलाई ठिक ढंगले बुझ्न सक्नुभएन । म मेहेन्दी र सामाजिक कुसंस्कार, कुसंस्कृतिको मात्र नभई बेबी–सावर, भ्यालेन्टाइन डेजस्ता आयातीत संस्कृतिको पनि विपक्षमा छु ।’ उसले नहिच्किचाई भनी ।
‘समाजमा बदनाम हुन्छ हाम्रो । बरियाँत फिर्ता नलैजानुस् ।’ दुलहीका मामाले दुलहाका बाबुसमक्ष दुई हात जोडेर बिन्ती बिसाए तर बिन्तीले काम गरेन ।
...
विवाह भाँडिएकामा दुलहीका आमाबाबु निराश भए । निराशाकै बिच युवक प्रभातले आरती र उसका बाबुआमासँग आफ्नो धारणा राख्ने अनुमति माग्यो । सबैले बिनाहिच्किचाहट मञ्जुरी जनाए ।
प्रभात बोल्न थाल्यो —
‘मेरो विचारमा आरती एक्काइसौँ शताब्दीको युगवाणी हुन् । समाज परिवर्तनको संवाहक हुन् । आरती सोह्रै आना सही छन् । नेपाली समाजमा आरतीजस्ता दुई–चार हजार युवतीको खाँचो छ । त्यसैले यहाँहरू मञ्जुर हुनुहुन्छ भने म आरतीसँग विवाह गर्न तयार छु,’ उसले भन्यो ।
प्रभातको उद्घोषले विवाह मण्डपको अपहरित खुसी पुनः बहाल गर्यो । पोखराको मौसमझैँ परिवर्तन भइरहेको थियो त्यहाँको दृश्य । आरतीको बाबु छिनछिनमा परिवर्तित स्थिति देखेर भ्रमित पनि भए । उनी सोच्दै थिए, ‘कतै म फिल्म त हेरिरहेको छैन ?’
उनी केहीबेर मौन रहे । उनलाई प्रभातसँग केही प्रश्न सोध्न मन लाग्यो ।
‘बाबुको परिचय ?’ सोधे उनले ।
‘म प्रभात घिमिरे । अमनको साथी ।’
‘पढाइ कति छ नि बाबुको ?’
‘मास्टर पास गरेको छु ।’
‘जागिर पनि छ कि ?’
‘नेपाल सरकारको शाखाअधिकृत हुँ ।’
‘काठमाडौँमा घर छ कि छैन ?’
‘छैन । चितवनको भरतपुरमा सानो घर छ ।’
‘चितवनको भरतपुरमा घर’ भनेको सुन्नासाथ आरतीका बाबुको अनुहारको रूपरंग फेरियो । निधारमा फुकाउन नसकिएला जस्ता गाँठा परे ।
‘काठमान्डुमा घर नभएकालाई त के छोरी दिनू ?’ छोटो मौनतापछि उनी बोले । आरतीकी आमा चुपचाप थिइन् त्यतिन्जेल । ‘पख्नुस् बुबा । मेरो तर्फबाट आमा बोल्नुहुन्छ !’ आरतीले आमाको सहारा खोजी । छोरीको अनुरोधलगत्तै आमा बोल्न थालिन् ।
‘त्यसो होइन बुढा ! प्रभात बाबुको घर चितवन भएर के भो त ? चितवन आज देशकै अब्बल जिल्लाका रूपमा विकसित भइरहेको छ । जता हेर्यो उतै चिल्ला, फराकिला सडक । भीडभाड, दुर्गन्ध र प्रदूषणले भरिएको काठमान्डुभन्दा भरतपुर बस्नु कैयौँ गुना स्वास्थ्यवर्धक छ । धुवाँ, धुलो, कोलाहल आदिबाट मुक्त सहरको प्रसंग चल्दा धेरैले भरतपुरको नाम लिने गर्छन् । काठमान्डु बस्नेको भन्दा चितवन बस्नेको आयु दश वर्ष लामो हुन्छ । मलाई प्रभात बाबुको विचार मन पर्यो । प्रभात बाबुसँग आरतीको विवाह गर्न म मञ्जुर छु । मलाई लाग्छ, यसमा आरती पनि सहमत छे,’ आमाले घोषणा सुनाइन् ।
आरतीले जे सुन्न चाहेकी थिई आमाले त्यही भनिन् । उसले आमाको कुरामा ताली बजाएर समर्थन जनाई । अनि मधुर मुस्कानका साथ प्रभात भएतिर लम्किई । आरती र प्रभात कसिलो अँगालोमा बाँधिए ।
‘मियाँबिबी राजी तो क्या करे काजी !’ भन्दै आरतीका बुबा पनि छोरीको खुसीमा सामेल भए । अनिश्चयको कालो बादल फाट्यो । वातावरण उल्लासमय बन्यो । यत्तिकैमा कसैले लाउड स्पिकरमा गीत बजायो —
‘...आज बाह्र हाते पटुकीको कुरा गर मायालु ।
बाँधी कम्मर भाँच्न मन लाग्यो ।
तिम्रो रोधी घर मारुनीको कुरा गर मायालु
मलाई छम–छम–छम नाच्न मन लाग्यो ।’
सबै नाचे, सबै हाँसे । आरतीले प्रभातलाई स्वयम्बरको माला पहिर्याइदिई । प्रभातले आरतीको सिउँदोमा सिन्दुर हाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताको म्याद सात महिना बाँकी छँदै बन्यो मोटरेबल पुल
-
भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत
-
अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधीजन्य हुरीको बबण्डर, १८ जनाको मृत्यु
-
नागार्जुनको गौतम गाउँमा आगलागी, बाटो साघुँरो हुँदा आगो निभाउन सास्ती
-
१२ बजे, १२ समाचार : गणतन्त्र विरोधी गतिविधिविरुद्ध वृहत्त प्रदर्शन हुँदैदेखि दरबार हत्याकाण्डबारे प्रचण्डको अभिव्यक्तिले तरंगसम्म
-
जनकपुरमा ढिलो गरी मनाइयो होली