मनप्रसाद सुब्बाका तीन कविता

१) माटोको कुरा
तिमीले माटोको कुरा गरेथ्यौ ।
मैले पनि माटोकै कुरा गरेको हुँ ।
तिमीले सायद
मृतकलाई दिने एक मुट्ठी माटोको कुरा गरेको हौ
कि लावारिस लासलाई गाड्ने
एक खाडल माटोको कुरा गरेको हौ !
मैले भनेँ
आफू निर्धक्क उभिन सकिने
भरिलो र मायालु माटोको कुरा गरेको हुँ
अनि एक छानो आकाश टाँगेर
सपना र बिपना दुवै देख्न सकिने
एक घडेरी माटोको कुरा गरेको हुँ
कुरा गरेको हुँ एक आँगन माटोको
जहाँ छोराको बिहेमा च्याब्रुङ नाचसित
बेस्सरी रमाउन पाइरहुँ
जहाँ भैलेनी र देउसेहरूसित
तिहार हाँस्न पाइरहुँ ।
तिमीले सायद
मसिना मोडलहरूमा कक्रिएको
बजारमा बेचिने माटोका डल्लाहरूको कुरा गरेका हौ
कि तिम्रो आफ्नो गाडधन लुकाउने
एक खाल्डो माटोको कुरा गरेको हो ।
तर मैले भनेँ
चार गह्रा माटोको कुरा गरेको हुँ
जहाँ हाम्रो स्वाभिमानको बाली
लहलह बालाहरूमा कुम्न सकोस् ।
एक खले–गह्रा माटोको कुरा गरेको हुँ
जहाँ हाम्रो चिनारीको मेहे अग्लो ठड्याएर
यौटा रमाइलो दाइँ मङ्सिरे गाउँदै घुम्न सकोस् ।
कुरा गरेको हुँ एक कोठेबारी माटोको
जहाँ चितुचाँगेको ठाडो स्यूर
र मखमलीका आँखाहरूको पहरेदारीमा
एक झाङ दूधमाने र एक ड्याङ रायोसाग बाँचिरहोस्
अनि कुरा गरेको हुँ एक बाटो माटोको पनि
जहाँबाट हाम्रा नानीहरू क्षितिज उघार्दै बढ्न सकून्
अनि नयाँ नयाँ बिहानीहरू प्रभातफेरी गाउँदै आउन सकून्
खै तिमीले भने
कस्तो माटोको कुरा गरेको हो कुन्नि !
मैले त
थकान मेट्न पाइने
एक ओछ्यान माटोको कुरा गरेको हुँ
चित्त फाट्दा मन खोलेर रुन सकिने
आमाको काखजस्तो माटोको कुरा गरेको हुँ
हो, दाइ
मैले त साँच्चै नै माटोको कुरा गरेको हुँ ।
२) एस्ट्रे
यस गोलो टेबलमाथि
म एक एस्ट्रे उभिएको छु
एस्ट्रे : अपूर्णताको भण्डार
जहाँ कुनै पनि छैनन् पूर्ण सिग्रेटहरू
केवल ठुटाहरू, खरानीहरू
अनि निभेका सलाईका काँटीहरू !
लुकाएर धेरै दिन अघिका
मृत, बासी र चिसा ठुटाहरू
दुर्गन्धित भएको छ यो एस्ट्रे
तर हेर बाहिर यसका आकर्षक बुट्टाहरू !
लुकाएर गर्भमा अपूर्णताहरू
पूर्णताको प्रदर्शन गर्न खोज्छ
युगको ठूलो उपलब्धि — सभ्यताको प्रतीक !
एस्ट्रे आफ्नो धाक जमाउँछ
नियालेर हेर यो एस्ट्रे
अपूर्णताको अहंकार !
बाह्य बुट्टाको हुँकार !!
यस गोलो टेबलमाथि
म एक एस्ट्रे उभिएको छु
एस्ट्रे : ठुटा सिग्रेटको भण्डार !
एस्ट्रे : सभ्याताको निःस्सार सार !!
३) ऐनाभित्रको त्यो अनुहार
रातभरि ऐठन पारेर
अँध्यारो भागिसकेपछि
हरेक बिहान
म उठिदिन्छु आफ्नो चिहानबाट
धेरे धेरै आशा र आस्थाका कुम्लाहरू
घाइते पीठभरि झुन्ड्याएर
दौडाएर नसा–नसामा बँचाइका वासनाहरू े
म फेरि जाग्छु
हरेक बिहान म आफ्नो चिहानबाट जागी उठ्छु
अनि उठेर म
यौटा ऐना अघि उभिएको हुन्छु
त्यो ऐनाभित्र यौटा अनुहार हुन्छ
यौटा अपरिचित अनुहार
यौटा खुम्चिएको अनुहार
ओहो ! कस्तरी हेरिरहन्छ मलाई त्यो
अनुहारको आँखाले
त्यो हेराइमा
प्रेम छैन, घृणा छैन
अनुनय छैन, हुकुम पनि छैन
केही छैन
केवल प्रश्न छ
प्रश्न छ जवाफ पर्खिरहेको !
यौटा ठूलो प्रश्नचिह्नजस्तो लाग्छ
मलाई त्यो अनुहार
उफ् ! चिन्दिनँ, केही बुझ्दिनँ
यो कस्तो अनुहार र कसको ?
प्रश्न यो कसलाई र कस्तो ??
सायद यो कसैको अधुरो पोट्रेट हो
सायद यो अँध्यारोमा खिचिएको ‘नेगेटिभ’ हो
सायद यो मेरो अनुहार हो
कि तिम्रो अनुहार हो
कि उसको अनुहार हो ।
उफ् ! ऐनाभित्रको त्यो अनुहार कसको हो ?
क... स... को ??
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु
-
१० बजे १० समाचार : उपभोक्ता अदालत गठन, समाजवादी मोर्चाको शक्ति प्रदर्शन
-
प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी
-
नेपाली मूलका विजय पौडेल क्यानडामा बने सांसद पदको उम्मेदवार
-
चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’
-
एघार कर्मचारी भएको कार्यालयलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी