घण्टौँ विवाद भइरहँदा पुगेन प्रहरी, सानो विवादमै चल्यो गोली

वीरगन्ज । बारामा घण्टौँसम्म भएको एक विवादमा नेपाल प्रहरी समयमा नपुग्दा गोली प्रहारसम्मको घटना भएको छ । आपराधिक गतिविधिबारे सूचना संकलन तथा प्रहरी गस्ती नहुँदा बारा जिल्लाको सुरक्षा व्यवस्था नै फितलो हुँदै गएको भन्दै प्रहरीको आलोचना भएको हो ।
यो घटना शुक्रबार राति साढे ९ बजेतिर भएको । सिमरा उपमहानगरपालिका–७ मा स्थानीय स्थानीय परशुराम गिरीको घरमा एक्कासि आक्रमण भएको थियो ।
सोही वडाका वडाध्यक्ष सुनिल गुप्ताको नेतृत्वमा गएको समूहले गिरीको गेटमा, झ्यालमा तथा घर वरिपरि गालीगलौज गर्दै ढुंगा र इँटा बर्साएका थिए । घटनाको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
उक्त भिडिओमा घटना यतिमै सीमित भएको देखिँदैन, वडाध्यक्ष गुप्ता नेतृत्वको समूहले घरपरिवारमाथि आक्रमण गर्न थालेपछि गिरीले घरबाट एक राउण्ड हवाइफायर गरेका थिए । आफ्नो घर परिवारमाथि आक्रमण हुँदा बचाउमा कोही नआएपछि आफ्नो बचाउका लागि गोली चलाउनुपर्ने अवस्था आएको गिरीले प्रहरीमा बयान दिएका छन् ।
डीएसपी शुभद्रा वाइवाले भनिन्, ‘गिरीको घर परिवारमाथि आक्रमण भइरहेपछि उनले एक राउण्ड हवाई फायर गरेको सबुत प्रमाण भेटिएको छ । हवाई फायर गरिसकेपछि घटना नियन्त्रणमा आएको थियो ।’
‘उक्त हवाई फायरपछि घटना नियन्त्रणमा आएको थियो । त्यसपछि मात्र हामीलाई सूचना आयो । अनि हाम्रो टोली तुरुन्त घटनास्थलमा पुगेको थियो,’ उनले भनिन् । उनले सिसिटिभी फुटेज झिकाएर थप अनुसन्धान भइरहेको बताइन् ।
प्रहरीका अनुसार उक्त घटना शुक्रबार दिउँसो गिरीका परिवारबाट कसैले वडाध्यक्षलाई अश्लील शब्दसहित गाली गरेको थियो । डीएसपी वाइबाले भनिन्, ‘यही घटनाको बारेमा वडाध्यक्षले आफ्नो टोली लिएर सोधपुछ गर्न पुगेको बयान दिएका छन् । सोधपुछ गर्दा विवाद भएको वडाध्यक्षले स्वीकारेका छन् ।’
सिमरामा कलवार र गिरी समुदायबिच ‘टसल’ रहेकोले यो घटना भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएका छन् ।
यता, प्रहरीको आलोचना भइरहेको विषयमा बारा जिल्लाका प्रहरी प्रमुख सन्तोष तामाङले भने, ‘हाम्रो सबै टोली होलीको सुरक्षामा खटिएको थियो, सबै ड्युटीमै थिए । तर यो घटनाको सूचना समयमा भएन । त्यही भएर यो घटना हुन पुग्यो ।’
‘तर जे कारणले घटना भए पनि गलत भएको छ, छानबिन गरेर कसुरदारलाई प्रहरीले छोड्दैन,’ उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिए
-
अनेरास्ववियुलाई नेविसंघको काउन्टर, आरोप लगाएर जिम्मेवारीबाट भाग्ने काम बन्द गरौँ
-
गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु
-
१० बजे १० समाचार : उपभोक्ता अदालत गठन, समाजवादी मोर्चाको शक्ति प्रदर्शन
-
प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी
-
नेपाली मूलका विजय पौडेल क्यानडामा बने सांसद पदको उम्मेदवार