प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिता सम्पन्न

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी खेलकुद समिति महाराजगंजको आयोजनामा मुलपानी क्रिकेट मैदानमा संचालित प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा बिजयी हुने मधेश प्रदेश प्रहरी कार्यालय टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण-पत्र, ट्रफि र नगद पुरस्कार प्रदान गरे । साथै उनले सहभागी टिमका व्यवस्थापकहरूलाई मायाको चिनो समेत प्रदान गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने क्षेत्रमा खेलकुदको महत्व अझ बढि हुने चर्चा गर्दै यस प्रतियोगिताले नेपाल प्रहरीको क्रिकेट खेलको स्तरलाई सुदृढ तुल्याउनुका साथै खेलाडीहरूको पहिचान तथा खेलको विकास र प्रवर्धनमा समेत योगदान पुर्याएको बताए । खेलाडीहरूबाट समूहमा प्रदर्शन भएको मेहनत, अनुशासन, खेलकौशल र सामूहिक भावना नेपाल प्रहरीभित्र रहेको भातृत्व भाव र स्व:अनुशासनको प्रतिबिम्ब भएको चर्चा गर्दै प्रतियोगिताको बिजेता एवम् उपबिजेता तथा अन्य विधामा उत्कृष्ठ हुने सबैलाई बधाई दिनुका साथै आगामी प्रतिस्पर्धामा समेत सफलताको कामना उनले व्यक्त गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले निर्णायकहरू, प्रायोजकहरू तथा सहभागी टिमलाई प्रशंसापत्र एवम् मायाको चिनो प्रदान गरे । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले उत्कृष्ट प्रशिक्षकलाई, प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले उत्कृष्ट बलरलाई, प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले उत्कृष्ट ब्याट्सम्यानलाई र प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराईले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार प्रदान गरे ।
कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले प्रतियोगितामा द्वितीय हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालय टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण-पत्र, ट्रफि र नगद पुरस्कार प्रदान गरे ।
आज भएको फाइनल खेलमा मधेश प्रदेश प्रहरी कार्यालयको टिमले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टिमलाई १४ रनले पराजित गरेको थियो । फाइनल खेलमा पहिलो ब्याटिङ गरेको मधेश प्रदेश प्रहरी कार्यालयको टिमले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो भने जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टिमले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५३ रन मात्र बनाउन सकेको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख रूपैयाँ र द्वितीय हुने टिमले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ हजार रूपैयाँ र उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक युवराज सेन ओली, उत्कृष्ट बलर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी जवान पशुपति प्रकाश मल्ल तथा मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिक्रम शाह उत्कृष्ट प्रशिक्षक, प्रहरी जवान दिपेश राय उत्कृष्ट ब्याट्सम्यान र प्रहरी जवान मुनाल यादव फाइनल खेलका म्यान अफ दि म्याच घोषित भएका थिए ।
फागुन २७ गतेबाट शुरू भएको उक्त प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र ७ वटै प्रदेश प्रहरी कार्यालयका गरी ८ टिमको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल क्रिकेट संघका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु
-
१० बजे १० समाचार : उपभोक्ता अदालत गठन, समाजवादी मोर्चाको शक्ति प्रदर्शन
-
प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी
-
नेपाली मूलका विजय पौडेल क्यानडामा बने सांसद पदको उम्मेदवार
-
चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’
-
एघार कर्मचारी भएको कार्यालयलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी