शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै नाच्यो ब्रिसबेन

शनिबार, ०२ चैत २०८१, १७ : ३९
शनिबार, ०२ चैत २०८१

ब्रिसबेन । गएको साता मात्र चक्रवात (समुद्री आँधी) ‘अलफ्रेड’ले प्रभावित अस्ट्रेलियाली राज्य क्विन्सल्याण्ड राम्रोसँग तंग्रिन सकेको छैन । राजधानी ब्रिसबेनमा शुक्रबार आयोजित नेपथ्य कन्सर्टमा भने त्यसको कुनै छनक देखिएन । चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै झुमे दर्शक ।  

 क्यानबेरा र पर्थका दर्शकसँग रमाइलो क्षण बाँडेपछि नेपथ्य ब्यान्ड अस्ट्रेलियाको तेस्रो ठुलो सहर ब्रिसबेन आइपुगेको थियो । यहाँस्थित टिभोली हलमा नेपथ्यको प्रस्तुति अघिल्ला सहरहरूमा जत्तिकै भव्य रुपमा सम्पन्न भएको छ ।

कन्सर्ट पूर्वनिर्धारित समय अर्थात् बेलुकीको ठीक ९ बजे सुरु भएको थियो । त्यसभन्दा झन्डै डेढ घण्टा अगावैदेखि हलअगाडि दर्शकको लाम लाग्न सुरु भइसकेको देखिन्थ्यो ।

अन्यत्रझैँ कन्सर्टको थालनी ‘कोशीको पानी’ गीतबाट भयो । गीतहरूका बीचबीचमा आफ्नो भनाइ राख्दै मुख्य गायक अमृत गुरुङले जस्तोसुकै संकटलाई पनि मिलेर सामना गर्ने नेपालीको बानी विदेशमा पनि कायम राख्न र मानवता एवं सहयोगी भावना विकास गर्न दर्शकलाई अनुरोध गरे ।

‘छेक्यो छेक्यो’ गीत सुनाएपछि अमृतले होलीको शुभकामना बाँडे । लगत्तै ‘अब म तपाईंहरुलाई मेरो बैंसको गीत सुनाउँछु’ भन्दै ‘आँगनैभरि’ गाए ।

दर्शकको भिडमा व्हीलचेयर गुडाउँदै आएका ४६ वर्षीय विकास चापागाईं पनि थिए । ‘यो जिन्दगानी’ गीतको प्रस्तुतिमा लट्ठिएका उनले प्रतिक्रिया दिए, ‘यो मलाई असाध्यै मनपर्ने गीत हो ।’

‘यो जिन्दगानी’ सकिनासाथ गायक अमृतले शुक्रबारै दिवंगत भएका साहित्यकार लीलबहादुर क्षेत्रीलाई सम्झेका थिए । ‘आफ्नो गाउँठाउँ छाडेर बसाइँ सर्नेहरूको अमर कथा लेख्ने क्षेत्रीलाई हामी नेपालीले कहिल्यै बिर्सने छैनौँ,’ उनले भने, ‘यो गीत आज उहाँलाई नै समर्पण गर्छु ।’

दर्शकले ताली बजाएर उनलाई समर्थन जनाएका थिए ।

 ‘दर्शक रमाएको देख्दा जहिले पनि आनन्द मिल्छ,’ स्थानीय आयोजक सन्तोष कुँवर भन्दै थिए, ‘हामीले अनुमान गरेको भन्दा राम्रोसँग कार्यक्रम सम्पन्न भयो ।’

नेपथ्यलाई व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठले प्रतिकुलताबिच पनि दर्शकले कार्यक्रममा उत्साहजनक सहभागिता जनाएको देख्दा खुसी लागेको सुनाए ।

ब्यान्ड र व्यवस्थापनको १४ सदस्यीय टोलीमध्ये मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

 मुलुकको पूर्वी किनारमा रहेको ब्रिसबेनपछि ब्यान्ड अब दक्षिण तर्फको टापु अर्थात् तास्मानियाको राजधानी होबार्ट पुग्दै छ । आगामी कन्सर्ट मार्च १८ मा होबार्टस्थित ‘ओडियन थिएटर’ मा हुनेछ । ब्यान्ड मार्च २१ मा एडिलेड सहरको ‘हिन्डले स्ट्रीट म्युजिक हलमा’,  मार्च २४ मा मेलबर्नको ‘फेस्टिभल हल’ मा प्रस्तुत भएपछि अन्तिम शो गर्न सिड्नीतर्फ लाग्नेछ ।

 पृथ्वीको दक्षिणी गोलार्द्धको सहर सिड्नीस्थित ‘होर्डन पभिलियन’ मा मार्च २९ को साँझ आयोजित कन्सर्टका लागि झन्डै तीन साताअघि नै टिकट ‘सोल्ड आउट’ भएपछि शो थपिएको छ । दर्शकको चाहनालाई सम्मान गर्दै नेपथ्य साढे पाँच हजार क्षमताको ‘होर्डन पभिलियन’ हलमा मार्च ३० मा पनि प्रस्तुत हुनेछ । त्यसलगत्तै ब्यान्ड स्वदेश फिर्नेछ ।

 सबै सहरमा कार्यक्रमका जानकारी सहित अनलाइन बुकिङ लिंकको लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत जानकारी पाउन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप