शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय
समाचार

बाल सुधार गृहमा झडप र आगजनी, ४९ जना घाइते

घाइते भन्छन्, ‘क्याप्टेनको दादागिरी बढी भयो’
शनिबार, ०२ चैत २०८१, १७ : ३३
शनिबार, ०२ चैत २०८१

बुटवल । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा झडप हुँदा ४९ जना घाइते भएका छन् । दुई समूहबिचको झडपमा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ । 

झडपलाई आज अपराह्न मात्र प्रहरीले नियन्त्रणमा लिएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले रातोपाटीलाई बताए ।  ‘दुई समूहबिच भएको झडपमा अस्पताल को–को जाने भनेर हात उठाउन लगाउँदा ४९ जना अस्पताल आएका छन्,’ जोशीले भने ।  ।

घटनामा गम्भीर रहेका घाइते १ जना र २ जना नेपाल प्रहरीको मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ । अन्य घाइतेहरूलाई नेपालगन्जको भेरी अस्पताल लगिएको छ । त्यहाँ चिकित्सकले हेरेर साँझसम्म कति जनालाई डिस्चार्ज गर्ने र कतिलाई भर्ना गर्ने भन्ने यकिन हुने जोशीले रातोपाटीलाई बताए । 

झडपका क्रममा सुधार केन्द्रभित्र आगजनीसमेत गरिएको छ । बालबन्दीहरूले आफू बस्ने लत्ता कपडा भाँडाकुँडा र फर्निचर आगजनीमा गरेको थिए । घटनामा तीन जना प्रहरी पनि घाइते भएका छन् ।   

प्रहरीका अनुसार बाल सुधार गृहमा गएराती सुरु भएको विवाद दुई पक्षबिचको झडपमा परिणत भएको हो । बालबन्दीहरूले सुधार गृहको तल्लो तलामा आगजनी गरेर ध्वस्त बनाएका छन् । 

बाल सुधार गृहमा २ सय ५५ बढी बाल बन्दी रहेका छन् । उनीहरू मध्ये केही पनि नभागिको र सबै प्रहरीको घेरामा राखिएको प्रमुख जिल्ला अधिकारी  जोशीले बताए । उनले भने, ‘भित्र सफा हुँदैछ , सफा भएपछि भित्र राखिन्छ । अहिले सबै प्रहरी नियन्त्रणमा चौरमा रहेका छन् ।’

  • कसरी घटना घट्यो ?

सुधार गृहमा बर्दिधारी प्रहरी राख्न नपाइने कानुनी व्यवस्था भएकाले अहिले त्यहाँ १४ जना क्याप्टेनहरू विभिन्न सिफ्टमा खटिने गरेका छन् । त्यसमा भाइ नाइके र दाइ नाइके पनि हुन्छन् । 

प्रहरीले घटनाबारेको यकिन कारण अझै बाहिर ल्याएको छैन । गत राति सुरुमा ६ जना घाइते भएका थिए । उनीहरूसँग प्रमुख जिल्ला अधिकारी जोशीले कुराकानी गर्दा क्यापेटनहरूले घरबाट पैसा मगाउन भन्ने तथा अन्य तनाव दिने गरेका कारणले लफडा भएको  बताएका थिए । जोशीले रातोपाटीसँग भने, ‘यकिन कारण अझै खुलेको छैन तर मैले घाइतेसँग कुरा गर्दा क्याप्टेनले तनाव दिँदा झडप भएको बताएका छन् ।

गत वर्ष असोज ४ गते सुधार गृहमा झडप हुँदा एक बाल बन्दीको मृत्यु भएको थियो । केही दिन अघि मात्रै तीन जना प्रहरी कुटिएका थिए । यसअघि झडप गरी रहनेहरूलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरण गरेको थियो ।

पछिल्लो समय बाल सुधार गृह प्रशासनका लागि सुरक्षा चुनौती बनिरहेको छ । प्रहरीले बल प्रयोग गर्न नमिल्ने र भित्र रहेकाहरू आपसमा लडिरहने घटना बढेका छन्  । 

प्रमुख जिल्ला अधिकारी जोशीले १८ वर्ष नपुगेलाई राख्न बनाइएको बाल सुधार गृहमा १८ वर्ष माथिकाहरूलाई पनि मुद्दा किनारा नलाग्दासम्म भन्दै बसाउँदा बेला–बेला झडप हुने गरेको बताए । उनले यस विषयमा तत्काल छानबिन समिति गठन हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप