आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्री कप

तीर्थको शतक, आर्मीको अपराजित यात्रा जारी

शनिबार, ०२ चैत २०८१, १६ : ४०
शनिबार, ०२ चैत २०८१

सिद्धार्थनगर । त्रिभुवन आर्मी क्लबले पुरुष प्रधानमन्त्री कप प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेको छ । शनिबार भएको खेलमा टोलीले कोशी प्रदेशलाई ७ विकेटले हरायो । प्रतियोगितामा आर्मीको यो लगातार चौथो जित हो ।

कोशी प्रदेशले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य आर्मीले १७ बल बाँकी छँदा मात्र ३ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि तीर्थराज दासले शतकीय इनिङ्स खेले । उनले १३९ बलको सामना गर्दै नटआउट रहेर ११२ रन जोडे । उनले यस क्रममा १४ चौका र १ छक्का प्रहार गरे ।

उनलाई बसिर अहमदले ६१ रन बनाउँदै अन्तिमसम्म साथ दिए । अहमदले ६२ बलमा ६ चौका हिर्काए । त्यस्तै, कप्तान विनोद भण्डारीले २७ रन तथा भीम सार्कीले १२ रन बनाए । कोशीका लागि सन्दीप ढुंगाना, भुपाल लुइँटेल र प्रकाश कार्कीले १–१ विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको कोशीले ४९.३ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । टोलीका लागि सुभन गहतराजले ५७ बलमा सर्वाधिक ५१ रन जोडे । उनले ७ चौका प्रहार गरे ।

त्यस्तै, सोनु अनसारीले ४४ रन तथा सुजन थपलियाले ४२ रनको योगदान दिए । सन्दीप ढुंगानाले २१ रन हिर्काए ।

आर्मीका लागि सोमपाल कामीले ८ ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए । अकाश चन्द र शहाब आलमको नाममा २–२ विकेट रह्यो भने कुशल मल्लले एक विकेट लिन सफल भए ।

४ खेलबाट आर्मीको सर्वाधिक ८ अंक रहेको छ । कोशी प्रदेश भने हालसम्म जितविहीन रहँदै अंक तालिकामा पुछारमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप