शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

मेरो गोरखपुरको यात्रा

शनिबार, ०२ चैत २०८१, १६ : ११
शनिबार, ०२ चैत २०८१

मेरो हजुरबुबाको इच्छा भारतको गोरखपुरमा रहेको गोरखनाथको दर्शन गर्ने थियो । हामी ३ पुस्तालाई गोरखनाथको दर्शन गर्न धेरै मन थियो; मेरो हजुरबुबा, बाबा र म । साथमा मेरो मामुलाई पनि दर्शन गर्न मन थियो । त्यसैले हामीले गोरखनाथको दर्शन गर्ने योजना बनायौँ । हामीले छलफल गरेर भन्यौँ कि यो पुण्यको काम हुन्छ र धेरै समय लाग्दैन । यो योजना तयार भएपछि हामीले भोलि गोरखनाथको दर्शन गर्ने भन्यौँ । मलाई धेरै खुसी लागिरहेको थियो किनभने यहाँ म पहिलोपटक गएको थिएँ । मैले केही पनि बोकेको थिइनँ किनभने हामी त्यहाँ बस्न गएको होइन; दर्शन गर्न गएको हो । एक दुई घण्टा दर्शन गरेर आउने हो । 

राति भएको थियो त्यसैले हामी सबै सुत्यौँ । अनि बिहान भएको थियो; मैले मुख धोएँ र नुहाएँ । हामी सबै गोरखपुरको यात्राको लागि तयार थियौँ । हामी बिहान सुनौली पुगेका थियौँ । बाबाले भनिस्यो कि मलाई भारतीय पैसा चाहिएको छ र बाबाले नरहरि ठुलोबाबासँग ३००० जति भारतीय पैसा साटिस्यो । हामी अझै भारतको सुनौलीको बस बिसौनीमा जाँदा एउटा बस भेट्टायौँ । मैले त्यो बसलाई हेर्दा अच्चम्म मानेँ किनभने त्यो बस नेपालको बस जस्तो थिएन बल्की त्यसको दुई गुणा ठुलो थियो । मलाई भित्रबाट हाँसो पनि उठिरहेको थियो र बस पनि धेरै लामो थियो ।

हाम्रो यात्रा सुरु भयो सुनौलीदेखि । मेरो मनमा एउटा प्रश्न उठ्यो र मैले बाबालाई सोधेँ — बाबा मैले ल्यापटपमा हेर्दा भारत कस्तो राम्रो देखिन्थ्यो यहाँ त फोहोर छ । बाबाले हाँस्दै भनिस्यो —साउथ भारत र नर्थ भारतमा धेरै फरक छ । हामी अहिले नर्थ भारतमा छौँ । नर्थ भारतमा अलि फोहोर छ र सहरहरू कम सफा छन् । साउथ भारत भनेको युरोपियन देशहरू जस्तै लाग्छ ।

हामीले हाम्रो यात्रा अगाडि बढायौँ । मलाई धेरै भोक लागिरहेको थियो । ठ्याक्कै गाडी रोकियो । मैले बाबालाई भने कि बाबा मलाई धेरै भोक लागिरहेको छ र त्यो पकौडा किनिदिस्यो न । बाबाले भन्नुभयो — हेर छोरा यो पकौडा नराम्रो हो । यो नराम्रो तेलबाट बनेको हो । यो तेलले शरीरलाई धेरै हानी गर्दछ । बरु घरको कुरा खानुपर्छ भन्दै बसभित्र लगेर मामुले बोकेको खाजा ख्वाइस्यो ।222

त्यसपछि बस हिँड्यो र मैले अर्को कुरा थाहा पाएँ कि भारतमा धेरै आकासे पुलहरू हुँदा रहेछन् । त्यस पुलको माथि तल गाडी चढ्दा र ओर्लदा धेरै मजा आउने रहेछ । त्यसपछि मैले बाबालाई भने कि बाबा एकछिन बसमा फेसबुक हेरम्न । बाबाले हुन्छ भन्नुभयो र जब डाटा खोलेर हेर्दा त डाटाले काम गरेन किनभने एन्टिसी भारतमा काम गर्दैन रहेछ ।
बस खलासीले हाम्रो टिकट काट्यो र हामीलाई हाम्रो टिकट दियो । मैले यो देखेर बाबालाई सोधेँ कि बाबा टिकटको मूल्य ५४० थियो र हामीले ६०० रुपैयाँ दियौँ । अब खै त अरु फिर्ता पैसा भनेर मैले सोधेँ । बाबाले भनिस्यो कि बस खलासीले अहिले दिन्छु भन्दाभन्दै उत्रिने बेला हतार गराउँछ । त्यो पैसा नदिन सक्छ र हामीलाई छक्याउँछ । यो कुरा थाहा पाएपछि मैले बाबालाई भने कि त्यसो भए खलासीले खुजुरा पाएको देखेपछि हाम्रो पैसा माग्नुपर्छ ।

त्यसपछि खलासीले ड्राइभरलाई कराउँदै भने — थोडा धिरे चलाओ गाडी । अनि मेरो मनमा प्रश्न उठ्यो । खलासीले किन ड्राइभरलाई यसरी कराको भनेर मैले मेरो बाबालाई प्रश्न सोधेँ । त्यसपछि मेरो बाबाले भनिस्यो कि नेपालमा ड्राइभरले खलासीलाई हेप्छन् भने भारतमा खलासीले ड्राइभरलाई हेप्छन् । यही हो कारण; यो खलासीले ड्राइभरलाई हेप्नु । 
हामीले सोधेपछि खलासीले भन्यो कि अब् हम् गोरखपुर १५ मिनेट मेँ पहुँचेङ्गे । सबलोग तयार होजाइए । मैले बाबालाई गोरखपुरको बारेमा सोध्न लागेँ । मैले सोधेँ — त्यहाँ मान्छेहरूले चोरी कसरी गर्छन् । यो सुनेर बाबाले मुसुक्क हाँस्दै भन्नुभयो कि चोरीको त कुरै छोडदेऊ भन्दै एउटा कथा सुनाउनु भयो ।

हजुरबुबा र बाबा एक दिन बनारसबाट पुरीतिर रेलमा जाँदै हुनुहुन्थ्यो रे । रेल एउटा डरलाग्दो घना जङ्गलबाट जान्थ्यो र हामी त्यही दिशाबाट पुरी जाँदै थियौँ — बाबाले भन्नुभयो । त्यतिबेला रातिको ९ बजेको थियो अचानक एउटा चोर रेलको ढोकाभित्र प्रवेश गर्यो र हजुरबुबाको ब्याग समातेर चोर्न खोज्यो । त्यतिबेला हजुरबुबाले दिमाग लगाएर हाम्रा सबै झोलाहरू एक आपसमा बाँधिदिनुभएको थियो । त्यसैले चोरले हाम्रो ब्यागहरू चोर्न सकेन । हजुरबुबाले स्याउ काट्ने चक्कु देखाएर चोरलाई आफ्नो कब्जामा लिनुभयो । यो देखेपछि रेलमै पुलिस आए । त्यस चोरलाई रेलको पुलिस थानामा लगियो । त्यहाँका पुलिसले भने कि अब् इसको एफायर दर्ज किजिए । त्यसपछि हजुरबुबा र मैले पुलिससँग बिन्ती गर्दै भन्यौँ कि हाम्रो रेल छुट्दैछ । त्यसैले तपाई जे गर्नुहुन्छ गर्नु भन्दै हामी रेलमा चढ्यौँ । त्यसपछि हामीले थाहा पायौँ कि त्यो मान्छे सेनाबाट भागेको रहेछ भन्दै पुलिसले भने । मैले मेरो बाबालाई भनेँ कि यो सबै घटना हुँदा हजुरलाई डर लागेन ? बाबाले भन्नुभयो कि के लाग्नु डर ?

यो कुरा भन्दाभन्दै हामी गोरखपुर पुग्यौँ भन्दै खलासीले भन्यो । म खुसी थिएँ । मैले बाबालाई सोधेँ — बाबा यो मन्दिर कति ठुलो छ । बाबाले भन्नुभयो — जस्तो भारत नेपालभन्दा २२ गुणा ठुलो छ त्यस्तै यो मन्दिर पनि अरु मन्दिर भन्दा २२ गुणा जत्रै ठुलो छ । हामीले त्यसपछि मन्दिरभित्र प्रवेश गर्यौँ । त्यसपछि हामीले गोरखनाथ र सबै देवीदेवताहरूलाई दर्शन गर्यौं । पुजारीले मलाई माला पनि लगाइदिनुभयो । त्यहाँ हामीले टीका लगाएर प्रसाद खायौँ । मैले ठुला ठुला मान्छेहरूको मूर्ति पनि हेर्न पाएँ । त्यहाँ हामीले दर्शन गरेर मन्दिरलाई पछाडि नपारेर फोटो खिच्यौँ र पानीमा बोटिङ हेर्यौं । मलाई यहाँ धेरै मजा भइरहेको थियो । मलाई लागिरहेको थियो कि म स्वर्गमा थिएँ । मैले बाबालाई भोक लाग्यो भनेँ । बाबाले मलाई, हजुरबुबालाई र मामुलाई खाजा ख्वाउन एउटा रेस्टुरेन्टमा लग्नुभयो । त्यहाँको खाजा धेरै मिठो थियो । अब हामीले फेरि घर फर्किने योजना बनायौँ ।
हामी बसमा चढ्यौँ । मेले सुनौलीदेखि गोरखपुरसम्मका त्यही आउने बेलाका कुराहरू फर्किंदा पनि देखिरहेको थिएँ । त्यसपछि हामी सुनौली पुग्यौँ । त्यो बस सुनौलीसम्म मात्रै जान्थ्यो । त्यसपछि हामीले नेपालमा आई अर्को बसमा चढ्नुपथ्र्यो । त्यसैले हामीले छिटै बुटवल जाने एउटा बसमा चढ्यौँ । त्यहाँ हामीले नयाँ नेपाली मान्छेहरूलाई भेट्यौँ । तिनीहरू अमिर अमिर मान्छेका बारेमा र उट्पटाङ कुरा गर्दै थिए; जस्तै ः स्टिब जब्स् र एलन मस्को कुरा, ५० डिग्रीमा सुन्तला फल्यो; सुगर रोग फुकेर निको हुन्छ; मलाई ग्यास्ट्रिक भए पनि दुधको चिया मरे छोड्न सक्दिन; आम्मै मैले कुरा काट्दै मेरो घर पो आइपुगेछ; यस्तै यस्तै । उत्रिने बेला भएछ । हामीहरू भित्रभित्रै हाँसिरहेका थियौँ । त्यसपछि हामी हाम्रो घर पुग्यौँ । मलाई बाबाले भन्नुभएको थियो कि अब यो एक दिनको यात्रा तिमीले लेख्नुपर्छ र मैले हुन्छ भनँे । त्यसैले मैले फाल्गुन २८ यो यात्रा गरेर होलीको दिन लेखेको हुँ ।

न्यु होराइजन माध्यमिक विद्यालय, बुटवल
कक्षाः ६

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुश्रुतराज न्यौपाने
सुश्रुतराज न्यौपाने
लेखकबाट थप