पूर्वराजा र राजावादीको सक्रियताबारे मधेसवादी दलको बुझाइ के छ ?

काठमाडौँ । राजतन्त्र फर्काउनका लागि राजवादी संघ, संगठनले गरेको प्रदर्शनलाई मधेस केन्द्रित दलका नेताहरूले वर्तमान सरकार तथा सत्तामा रहेका दलहरूप्रतिको असन्तुष्टिका रूपमा व्याख्या गरेका छन् ।
पूर्वराजाको पक्षमा भइरहेका प्रदर्शन अहिलेको सरकार र सत्तामा रहेका दलहरूप्रतिको असन्तुष्टिकै परिणाम रहेको उनीहरूको भनाइ छ । सरकार र सत्तारुढ दलहरूले जनताको चाहनालाई पूरा गर्न नसक्दाकै असन्तुष्टि सडकमा पोखिएको उनीहरूले प्रस्ट पारेका छन् ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजावादीको आडमा देखिएको असन्तुष्टि खासमा कांग्रेस, कम्युनिस्ट दलप्रतिको असन्तुष्टि रहेको बताए । ‘संघीय गणतन्त्रबाट जनताले जे अपेक्षा गरेका थिए, त्यो कुरा यी ठुला दलबाट प्राप्त नभएपछि सडकमा यो असन्तुष्टि देखिएको हो,’ उनले भने ।
अध्यक्ष यादवका अनुसार जनताले कांग्रेस, कम्युनिस्टको विकल्प खोज्न थालेका छन् । यही मौका छोपेर पूर्वराजाले पनि आफ्नो स्पेश खोज्न लागेको उनको भनाइ छ । उनले भने, ‘अहिलेको जस्तो खराब अवस्था कहिल्यै थिएन । सरकारले अहिले जे गरिरहेको छ, त्यसबाट जनता निकै असन्तुष्ट छन् । यस्तो अवस्था त पञ्चायतकालमा पनि थिएन ।’
कांग्रेस, कम्युनिस्टको विकल्प खोज्ने क्रममा पूर्वराजाको पक्षमा गतिविधि बढेको अध्यक्ष यादवले प्रस्ट पारे । तर अहिलेको व्यवस्थाको विकल्प राजतन्त्र हुन नसक्ने उनको दाबी छ । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्र नै हो । त्यसलाई सुदृढ गर्नका लागि मुख्य दलहरू असफल भएमा अन्य दल अगाडि आउनुपर्छ ।’
अध्यक्ष यादवले अब कांग्रेस, कम्युनिस्टले देश अगाडि बढाउन नसक्ने पनि दाबी गरे ।
देशमा गणतन्त्र आएपछि कांग्रेस, एमाले र माओवादी केन्द्रले मात्र देशको नेतृत्व गरेको जिकिर गर्दै मधेसवादी दलका नेताहरूले देश अगाडि नबढ्नुमा यी तीन दल नै मुख्य जिम्मेवार रहेको निष्कर्ष निकालेका छन् ।
गणतन्त्र स्थापनापछि नेपालमा कम्युनिस्ट पार्टीले पाँच पटक सरकारको नेतृत्व गरेका छन् । अहिले पनि नेकपा एमालेले सरकारको गरिरहेको छ । सबै हिसाब गर्दा लगभग १२ वर्ष कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गरेको छ ।
सरकारको नेतृत्व गर्ने नेताहरूमा केपी शर्मा ओली, प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल छन् । यद्यपि अहिले बाबुरामले आफूलाई कम्युनिस्ट नेता भन्ने गरेका छैनन् ।
त्यस्तै गणतन्त्र स्थापना भएपछि खिलराज रेग्मीसहित कांग्रेसले पाँच वर्ष यो देशमा शासन गरेको छ । सर्वोेच्च अदालतका प्रधानन्यायाधीश रेग्मीले ३३४ दिन शासन गरेका थिए । कांग्रेसका गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र सुशील कोइरालाले गणतन्त्रपछि देशको नेतृत्व गरेका हुन् । त्यसमध्ये सबैभन्दा कम गिरिजाप्रसाद कोइरालाले ८२ दिन नेतृत्व गरेका छन् ।
गणतन्त्र स्थापना भएपछि प्रमुख तीन दलले नै लगातार देशको नेतृत्व गर्दै आए पनि जनताले परिवर्तनको अनुभूति नगरेको मधेस केन्द्रित दलका नेताहरूको गुनासो छ ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि राजावादीहरूको सल्बलाहट अहिलेको सरकार र राजनीतिक दलहरूप्रतिको असन्तुष्टि नै रहेको बताए । उनले भने, ‘अहिलेको सरकार र राजनीतिक दलप्रति जनतामा वितृष्णा जागेको छ तर यसले गणतन्त्रको विकल्प दिन सक्दैन, विकल्प भनेको नौलो गणतन्त्र नै हो ।’
यो देशमा लामो समयदेखि कांग्रेस, कम्युनिस्टलगायतका दलहरूले शासन गरे पनि जनताले परिवर्तनको अनुभूति गर्न नसकेको राउतको भनाइ छ । ‘जनताले बरु पञ्चायत नै ठिक थियो भन्न थालेका छन्,’ उनले भने, ‘यो अवस्था अहिलेको ठुला भनाउँदा दलहरूले सिर्जना गरेका हुन् । कार्यकारी प्रधानमन्त्री, मुख्यमन्त्री प्रणालीमा देशलाई लैजानुपर्छ, अनिमात्र अहिलेको असन्तुष्टि कम हुन्छ ।’
कांग्रेस, कम्युनिस्ट पार्टीहरूले लिएको राजनीतिक विचार वा नीति परिवर्तन ल्याएपछि अहिलेका धेरै समस्या समाधान हुने अध्यक्ष राउतको दाबी छ । उनले यो देशमा राजा आउने सम्भावना रत्तिभर नरहेको पनि प्रस्ट पारे । ‘जनताले पनि त्यो चाहेको छैनन्,’ उनले भने, ‘जनताले अहिलेको सरकार र पार्टीप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेकामात्र हुन् ।’ उनले अहिलेको गणतन्त्रलाई अलिकति परिस्कृत गरेमा धेरै समस्या समाधान हुने दाबी गरे ।
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनल पनि यस्तै धारणा राख्छन् । ‘सरकार र दलहरूप्रतिको आक्रोश देखिएको हो, अरु केही पनि होइन,’ उनले भने । सरकारले गरेको कामप्रति जनता सन्तुष्ट नदेखिएको उनको भनाइ छ ।
सोनलले भने, ‘जनताको चाहना पूरा भइरहेको छैन, परिवर्तनको अनुभूति गरिरहेका छैनन् । त्यही कुरा सडकमा पोखिएको हो । त्यसको फाइदा राजावादीले लिइरहेका छन् ।’
अहिलेका दलहरूभित्र देखिएको विवाद, असन्तुष्टि पनि जनतामा असन्तोष बढ्नुको एउटा कारण रहेको सोनलले बताए । उनले भने, ‘जुन दलले लामो संघर्ष गरेर यो गणतन्त्र ल्याए, तिनै दलभित्र असन्तुष्टि छ, त्यहीँभित्र लडाइँ छ । त्यसको असर सरकार र जनतामा पनि देखिएको छ ।’
यसलाई व्यवस्थाप्रतिको असन्तुष्टि भन्न नमिल्ने सोनलको तर्क छ । उनले सरकारको डेलिभरी, नेताको दृृष्टिकोणप्रति जनताले आफ्नो असन्तुष्टि जनाएको जिकिर गरे ।
जनता समाजवादी पार्टीका महासचिव इस्तियाक राइको धारणा अलि फरक छ । उनले भने, ‘यस्तो असन्तुष्टि हरेक व्यवस्थामा भएकै हो, हरेक व्यवस्थामा कोही न कोही विरोध गर्ने निस्किन्छ । राजतन्त्रमा हामी गणतन्त्रवादीहरूले विरोध गरेका थियौँ भने अहिलेका गणतन्त्रमा राजतन्त्रवादीहरूले विरोध गर्नु कुनै नौलो कुरा होइन ।’
तर देशमा कस्तो शासन व्यवस्था चाहिन्छ भन्नेबारे जनताले चयन गर्नुपर्ने उनको भनाइ छ ।
सोनलका अनुसार अहिले एउटा गठबन्धनले सरकार चलाइरहेको छ तर अर्कोले त्यसको विरोध गरिरहेको छ । उनले भने, ‘विरोध हरेक व्यवस्था हुन्छ तर जनतालाई के चाहिन्छ, के गरिदिनुपर्छ भन्ने कुरामा हरदम सचेत रहनुपर्छ ।’
अहिलेको यो विरोध कुनै व्यवस्थाप्रति भन्दा पनि व्यक्ति वा दलप्रति रहेको सोनलको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा शाहप्रति माधवको टिप्पणी : कुनै त्याग, तपस्या र बलिदान नगरेकाको हातमा देश दिन सकिँदैन
-
एनआरएनए उच्चस्तरीय समितिद्वारा निर्वाचन कमिटी गठन
-
राससको अपूर्ण तस्बिर संग्रह
-
नेकपा एसको ‘समाजवादी अभियान’ सुरु
-
सडक अनुशासन उल्लङ्घन गर्ने पैदल यात्रुलाई पनि जरिवाना
-
कार्यक्रमस्थलमै राप्रपाले जलायो प्रचण्डको फोटो (भिडियोसहित)