गण्डकीमा मगरढुट र गुरुङ भाषा : मगर र गुरुङको कथा

भाषा आयोगले २०७८ भदौमा सरकारी कामकाजको भाषा भनेर नेपालीबाहेकका १२ मातृभाषालाई प्रदेशगत रूपमा सिफारिस गरेको थियो ।
जसमध्ये गण्डकी प्रदेशका लागि मगर ढुट, गुरुङ र भोजपुरी भाषा सिफारिस भएका थिए ।
२०६८ को जनगणना अनुसार गण्डकी प्रदेशमा भोजपुरी भाषाको वक्ता संख्या एक लाख ९३ हजार ४८७ (७.०७ प्रतिशत) थियो । पछिल्लो (२०७८)को जनगणना अनुसार, यो संख्या घट्न गयो, कारण प्रदेशको नक्सांकन हुँदा भोजपुरी भाषाको बाहुल्य रहेको सुस्तापश्चिम लुम्बिनी प्रदेशमा पर्यो । अहिले गण्डकीमा सरकारी कामकाजको भाषाका रूपमा मगरढुट र गुरुङ भाषा आयोगको सिफारिसमा परेका छन् । मगर ढुट त कर्णालीका लागि पनि सिफारिस गरिएको छ ।
जनगणना २०७८ अनुसार, देशभरि मगर ढुट बोल्नेको जनसंख्या आठ लाख १० हजार ३१५ (२.७८ प्रतिशत) र गुरुङ भाषा बोल्नेको संख्या तीन लाख २८ हजार ७४ (१.१२ प्रतिशत) रहेको छ ।
गण्डकी प्रदेशमा मात्रै नेपाली बोल्नेको जनसंख्या १८ लाख १० हजार तीन, मगर ढुट बोल्नेको जनसंख्या दुई लाख ३६ हजार ७२९ र गुरुङ भाषा बोल्नेको जनसंख्या दुई लाख आठ हजार ८८ रहेको छ ।
सिफारिस गरिएका मातृभाषाको कार्यान्वयनमा संविधान बमोजिम पहिलो जिम्मेवारी प्रदेश सरकारको रहन्छ । संविधानको धारा ७ (२) ले भनेको छ, ‘नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ ।’ यस्तै ७ (३) मा व्यवस्था छ, ‘भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ ।’
यस्तो संवैधानिक व्यवस्था भई भाषा आयोगले सिफारिस गरेको तीन वर्ष बितिसक्दा पनि बागमती बाहेकका अन्य प्रदेशले ऐनसम्म बनाएका छैनन् ।
गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद’ मन्त्रालयका मन्त्री बिन्दुकुमार थापाका अनुसार, बहुसंख्यक व्यक्तिहरूले बोल्ने भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी विधेयक तयार भइसकेको छ । ‘अब यसलाई १० गते (चैत)को संसद् बैठकमा सैद्धान्तिक छलफल सकेर विषयगत समितिमा पठाउँछौँ,’ मन्त्री थापाले शुक्रबार साँझ रातोपाटीका संवाददाता प्रकाश ढकालसँग भने, ‘सामाजिक विकास तथा कृषि समितिमा सरोकारवाला र विज्ञहरूसँग छलफल गरेर निष्कर्षमा पुग्छौँ ।’
- मगरको मूलथलो
मगर जाति वा समुदायको मूलथलो कहाँ हो, उनीहरू नेपालमा कहिले र कहाँदेखि आए भन्ने आजसम्म स्पष्ट हुन सकेको छैन । मगरको मूलथलो र नेपाल आगमनका सम्बन्धमा विभिन्न विद्वान्का विभिन्न मत छन्, यद्यपि मगरहरू नेपालका आदिवासीमध्ये एक हुन् भन्नेमा दुई–मत छैन ।
‘ठकुरिका कुलमा गिरि जो गएका ।
गिरिगिरिकन जो मगर भएका ।।
मगरको वंशावली हराएर जान्छ ।
ठकुरीका गाउँमा पसे पत्ता लाग्छ ।।’
(शिखरनाथ सुवेदी)
उपरोक्त पंक्तिहरू जनकलाल शर्माको पुस्तक ‘हाम्रो समाज : एक अध्ययन’बाट लिइएको हो । शर्माका अनुसार, ‘हुण’ र ‘हेप्ताल’हरू नै पछि आएर मगर कहलाइएका हुन् । ‘हुणहरूको खास निवासस्थान वर्तमान मंगोलिया, मन्चुरिया र साइबेरिया थियो । विशाल भूभागमा फैलिएको हुण जनजातिमा अनेक उपजनजाति थिए जसमा प्रत्येक उपजनजातिको आफ्नै नेता हुन्थ्यो । यसै हुण जातिले तुर्क, किरगिज र मगियार (मग्यार) आदि जातिलाई पनि जन्म थियो,’ शर्माले लेखका छन्, ‘हाम्रो प्रायद्वीपमा हुणहरूको सबभन्दा ठुलो आक्रमण ईसाको पाँचौँ शताब्दीको मध्येको आक्रमणलाई मानिन्छ । स्कन्दगुप्तले ४५५ इस्वीमा हुणहरूलाई हराए । युद्धमा हारेका हुणहरू यसै प्रायद्वीपको विभिन्न भागमा गएर बस्न थाले । यहाँ बस्दा आफ्नो पुरानो धर्म छाडेर यहीँको धर्म पनि स्वीकार गरे । आठौँ शताब्दी र त्यसपछिको कालमा गोत्र परिवर्तनद्वारा ठुलो संख्यामा राजपुत अर्थात् क्षत्री हुन आउने अनेक जातिमध्ये हुणहरू पनि एक हुन् ।’
राति सपनीमा इष्टदेवीले भनिन्, ‘तातो पानी पिउनेले अबदेखि मलाई नछुनू तर पूजा गर्न नछोड्नू ।’ । ती जनै नलगाउने तातो पानी खाने भाइ मगर र नखाने भाइलाई ठाकुर भनियो । ती कुलदेवीलाई लसर्घामा स्थापना गरी ब्राह्मणको वाक्य, ठकुरीकर्ता, मगर पुजारी भए ।
शर्माका अनुसार हुणहरूले उत्तरबाट हाम्रो प्रायद्वीपमा जुन समय बाटो खोले त्यसको पछिपछि अर्को जाति पनि आयो । हुणभन्दा पछि तर लगत्तै आएकाले लोकले यिनलाई पनि हुण भन्यो तर यी हेप्ताल थिए । हेप्तालमा हुण संस्कृतिको छाप थियो । यी दुवै आयुधजीवी थिए । हेप्तालहरूमा हुणको रक्त थियो थिएन यसै भन्न कठिन छ । हेप्तालहरू मूलतः मध्य एसियाका निवासी थिए ।
‘ईसाको आठौँ शताब्दीपछि हिन्दु धर्म अपनाउनेमा हेप्तालहरू पनि हुन् । हुणहरू उत्तर र दक्षिणबाट आएर हाम्रो पार्वत्य प्रदेशमा स–साना राज्य खडा गरे भने त्यसै समयमा हेप्तालहरूले पनि आफ्ना स–साना राज्य खडा गरे । हुणहरू यहाँ आएर मगर कहलाए,’ शर्मा लेख्छन्, ‘हेप्तालहरू हिन्दु धर्म अपनाएर क्षत्रीय भए पनि क्षत्रीयमा कायम रहन सकेनन् । त्यसै कारण जातिभ्रष्ट भएका ठकुरीहरू नै पछि गएर मगर भएका हुन् भन्ने जनविश्वास भएको हो ।’
डोरबहादुर विष्टको पुस्तक ‘सबै जातको फूलबारी’ अनुसार धेरै मगरलाई ठकुरी र क्षेत्रीहरू आफ्नै दाजुभाइ हुन् भन्ने विश्वास छ ।
स्याङ्जाको आलमदेवी थानमा ठकुरी र मगरको कुलपूजा सँगै हुने र त्यहाँ मगर पूजारी रहनेबारे एउटा लोकइतिहास छ ।
किंवदन्ती अनुसार राजा सूर्यखान (राजा पृथ्वीनारायण शाहका पुर्खा)ले चितौरगढतिरबाट इष्टदेवी बोकेर आएका थिए । ती इष्टदेवीले चितौरगढमा महाराजालाई भनेकी थिइन्, ‘मलाई जमिनमा नछुवाई उत्तरखण्ड नेपाल देशतिर लैजाऊ र राज्य गर ।’ तदनुसार नेपालको भूगोलतिर प्रवेश गर्दा रिडिघाटमा पुगेपछि प्यास लागेकाले बाटाको एक घरमा पानी मागे ।
त्यस घरमा रक्सी बनाएकाले रक्सीको घ्याम्पामाथि राखेको तातो पानी खाएछन् । राति सपनीमा इष्टदेवीले भनिन्, ‘तातो पानी पिउनेले अबदेखि मलाई नछुनू तर पूजा गर्न नछोड्नू ।’ । ती जनै नलगाउने तातो पानी खाने भाइ मगर र नखाने भाइलाई ठाकुर भनियो । ती कुलदेवीलाई लसर्घामा स्थापना गरी ब्राह्मणको वाक्य, ठकुरीकर्ता, मगर पुजारी भए ।
इष्टदेवीलाई भीमसेनपातीको बोटमा राख्न खोज्दा अचानक हातबाट देवी जमिनमा खसिन् र झटपट समात्न खोज्दा देवी अलप भएकीले राजा सूर्यखानलाई अन्त्यन्तै चिन्ता पर्न गयो । रातमा राजालाई सपना वाणी भयो, ‘पीर मान्नुपर्दैन, म यहीँ बस्छु, चोखोनितीसँग मगर कुमार केटा ४, पण्डित १, राजाकर्ता १ भई मेरो भक्ति गर्नु र राज्य बढ्ला ।’
जागा भएपछि राजाले त्यसै ठाउँमा चौपाटी बनाए । देवी अलप भएको ठाउँलाई अलपदेवी भन्दाभन्दै आलमदेवी हुन गयो । आलमदेवीलाई वंशावलीमा आलम खडका कालिका भनिएको छ । सूर्यखानका विषयमा अन्य जानकारी पाउन सकिएको छैन, (डा. राजाराम सुवेदीको पुस्तक ‘स्याङ्जास्थित चौबिसी राज्यहरूको इतिहास’बाट) ।
आलमदेवी थानमा राजखलक शाहवंश, खान (खाण) र मास्की रानाको कुलपूजासँगै हुन्छ । यहाँ सम्पूर्ण पशुपन्छीको बली दिने चलन अझै कायम छ । आलमदेवी मन्दिरको उत्तरपट्टि दशैँको नवमीको दिन सुँगुर बलि दिने गरिन्छ, (मनोज घर्तीमगर र राजकुमार दिक्पालको पुस्तक ‘मगर इतिहास’ ( प्रकाशक : गण्डकी प्रज्ञा प्रतिष्ठान) ।
‘हुण’ र मगरसँग मिल्दोजुल्दो शब्द ‘मग्यार’बारे हंगेरीमा एउटा जनश्रुति छ, त्यहाँका कतिपय मानिसको उद्गमस्थल मध्य एसिया हो । कालान्तरमा युरोपमा प्रवेश गरी हुण (Hun) भन्ने दाजु र मग्यार (Magyar) भन्ने भाइको संयुक्त नामबाट हंगेरी देशको नामकरण भएको थियो । हुणका सन्तान चीन र तिब्बत हुँदै नेपालमा प्रवेश गरेका थिए भन्ने कथनलाई पुष्ट्याइँ गर्ने प्रशस्त प्रमाण पाइन्छन्, (डा. हर्षबहादुर बुडा मगरको २०५३ वैशाखमा प्रकाशित पुस्तक ‘मगर र मग्यार : पुख्र्यौलीको खोजीमा !’) ।
इमानसिंह चेम्जोङले मगरजातिको उत्पत्ति हाल चीनको ‘सिम’ भन्ने स्थानमा भएको उल्लेख गरेका छन् । उनीहरू त्यस ठाउँबाट ‘सिङ’ र ‘चितु’ भन्ने दुई मगरहरूको नेतृत्वमा सर्वप्रथम नेपालको दक्षिण भेगमा प्रवेश गरेका थिए ।
‘प्राचीन मगर र अक्खा लिपिका लेखक एमएस थापामगरका अनुसार मगरहरू प्राचीन ढुंगेयुग वा सिकारी युगमा चीनको पामिर तिरबाट आजभन्दा लगभग चार हजार वर्षअगाडि भारतीय महाद्वीपमा बसाइँ सरेका हुन् । पण्डित शरत्चन्द्र दासका अनुसार मगरहरू तिब्बतको काङपा चान उपत्यकाबाट पाँचौँ वा छैटौँ शताब्दीतिर नेपाल प्रवेश गरेका हुन्,’ मीन श्रीस मगरले आफ्नो पुस्तक ‘मगर जातिको चिनारीमा विभिन्न स्रोत–सन्दर्भ उद्धृत गर्दै लेखेका छन्, ‘कतिपयले मगरहरू चीनको खाम प्रान्तबाट नेपाल प्रवेश गरेको तर्क राख्छन् । मगरहरू चीनबाट नेपाल प्रवेश गरेका हुन् भने मुस्ताङ घाँटीको बाटो भएर गण्डकी प्रदेशमा आई बसोबास गरेका हुन सक्छन् । मस्ताङ घाँटीबाट ईपू १५०० देखि १००० तिर मगरहरू डोल्पा, मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, प्युठान र रुकुमतिर फैलिएको अनुमान गरिएको छ । केही विद्वान्का अनुसार मगरहरूको एक समूह पञ्जाब, नैनीताल, गढवाल हुँदै नेपाल प्रवेश गरेका छन् भन्ने तर्क पाइन्छन् ।’
यी तर्क तथा अनुश्रुतिलाई पुष्टि गर्ने ठोस प्रमाण त प्राप्य छैनन्, यद्यपि मगरहरूको कुलपूजाको विधिविधानले यी तर्क र अनुश्रुतिलाई केही आधार दिने मीन श्रीस मगरको तर्क छ । उनका अनुसार, कतिपय मगरले आफ्नो कुलपूजा सम्पन्न गर्दा आफ्ना कुलपितृलाई हिमालतिरबाट पूजास्थलमा बोलाउने गर्छन् । ‘यसरी नै मगर समुदायमा बोलिने भाषा पनि चिनियाँ तिबेटो–बर्मन परिवारमा पर्ने हुँदा मगरहरूको उत्पत्तिको थलो उत्तर चीनतिरैबाट हुन सक्ने अनुमानलाई बल पुगेको देखिन्छ,’ उनले लेखेका छन्, ‘तर यस तर्क वा अनुमानप्रति संस्कृतिविद् बमकुमारी बुढामगरको पूर्ण रूपमा अहसमति छ ।’
मगर भाषामा बनेका स्थान नामहरूले गण्डकी तथा राप्ती प्रस्रवण क्षेत्रको विशाल पहाडी भूभागलाई मगर जातिको मूल थलो भएको प्रमाणित गर्ने लेखक मीन श्रीस मगरको भनाइ छ । उनी लेख्छन्, ‘मगर भाषाको गान डीबाट बनेको गण्डकी अहिले आएर काली गण्डकी हुँदै कृष्ण गण्डकी बनेको छ ।’
मगर शब्दको उत्पत्तिका सम्बन्धमा विभिन्न विद्वान्बाट विभिन्न तर्क आएका छन् । केशर जङ्ग बराल मगरले आफ्नो पुस्तक ‘पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरूको संस्कृति’मा विभिन्न स्रोत–सन्दर्भ उद्धृत गर्दै लेखेका छन्, ‘महाकाली नदी र चन्द्रभंग नदीबिचको उपत्यकालाई महर उपत्यका भनिन्छ । भूमध्ये सागरबाट दक्षिण पूर्व हुँदै आएका मगरहरूको एउटा शाखा नेपाल प्रवेश गर्नुभन्दा अघि त्यही उपत्यकामा बसोबास गरेको थियो । त्यस उपत्यकाबाट आएका मगरहरूले आफूलाई महर भन्दथे । यही महर शब्दबाट कालान्तरमा मगर भएको भन्ने तर्क पाइन्छ । यस्तै गण्डकी प्रदेशलाई पनि महर्लोक भनिथ्यो । महरलोकका बासिन्दालाई महर भनिएको र पछि महरबाट अपभ्रंश भई मगर भएको हुन सक्छ ।’
प्रसिद्ध भाषाशास्त्री तथा ओरेगन विश्वविद्यालय अमेरिकाका प्राध्यापक डेभिड ई. वाटर्सले मगरहरूको उत्पत्ति स्थल प्राचीन मंगोलिया मानेको मनोज घर्तीमगर र राजकुमार दिक्पालको पुस्तक (मगर इतिहास)मा उल्लेख छ । ‘मगर को हुन् भनेर ट्वाक्क भन्न नसकिए जस्तै मगरको उत्पत्ति ठ्याक्कै कहाँ भएको हो ? हालसम्म भन्न सकिएको छैन,’ घर्तीमगर र दिक्पाल लेख्छन्, ‘विद्वानहरूको फरक–फरक मत पाइए पनि मगर जातिलाई मंगोल नश्लको जाति र नेपालको रैथाने जाति, आदिवासी जाति भनेर चिनिन्छ । मगर जातिमा बाहिरबाट आएर समिश्रण भई र भाइखलक फुटेर अन्य जातिहरू बनेका पनि छन् ।’
- मगरभाषा
आदिवासी मगरहरूको पुख्र्यौली भाषा ऐतिहासिक कालमा एउटै थियो । कालान्तरमा राज्यसत्ताबाट भाषाप्रतिको दमन हुन थाल्यो । शासक तथा प्रशासकहरूले आफ्नो भाषा लाद्दै आए । निश्चित भूभागमा मगर भाषा बोल्नमा समेत प्रतिबन्ध लगाइयो । जसले गर्दा मगरहरूबिच भाषिक सञ्चार हुन पाएन र उनीहरूको मातृभाषामा फरकपन देखिन पुग्यो, (नेपाल मगर संघले २०७७ सालमा प्रकाशन गरेको पुस्तक ‘मगर भाषाहरूको वर्णमाला, स्तरीय तथा सरल लेखन’ ।
अहिले मगरहरूमा प्रचलित ती मातृभाषा रहेका छ — १) मगर काईके, २) मगर खाम/पाङ, ३) मगरढुट ।
उपरोक्त पुस्तक अनुसार, अठार मगरात क्षेत्रको मगर भाषा ‘मगर खाम वा पाङ’ नामले, डोल्पाको तराली क्षेत्रमा बोलिने मगर भाषा ‘मगर काईके’ नामले, बाह्र मगरातमा बोलिने मगर भाषा ‘भिरकोटे खाम (मगर ढुट वा कुरा) नामले चिनिन्छ । भारोपेली भाषा परिवारका भाषा वक्ताद्वारा भोट–बर्मेली परिवारका सबै जनजातिका भाषालाई खसको विपरीत पर्याय ‘खाम’ नामल चिन्ने गरिन्छ । जस्तै : मगर खाम, राजी खाम, राउने खाम्ची, कसुण्डा खाम, थकाली खाम, छन्त्याल खाम आदि ।
- गुरुङ
गुरुङको इतिहास, सभ्यता र भाषा–संस्कृति खोज्नुअघि तमु र गुरुङ शब्दबारे स्पष्ट हुनुपर्छ ।
२०६७ मा प्रकाशित होमा थकाली (गुरुङ)को पुस्तक ‘तमू गुरुङ जातिको उत्पत्ति र धर्म–संस्कृति’ अनुसार, तमु र गुरुङ एउटै जातिलाई जनाउने दुईवटा नामयोगी शब्द हुन् । यी दुई शब्दको अर्थलाई लिएर विभिन्न विद्वान्का विविध मत छन् ।
तमु शब्दको ‘त’ले बज्र, माथि, घोडा र बन्चरोलाई जनाउँछ । ‘मु’ले आकाशको अर्थ दिन्छ । ‘त्यसैले तमुको अर्थ आकाशको बज्र, घोडा भएका अथवा पालक तथा लेकाली मानिस हुन् भनी विद्वान्हरू लेख्छन्,’ होमा गुरुङ लेख्छिन्, ‘त्यस्तै गुरुङ शब्द तिब्बती भाषाको ‘ग्रोङ’ शब्दबाट बनेको हो भन्ने भनाइहरू पनि पाइन्छन् । जसको अर्थ खेताला वा कृषक हुन्छ भनिएको छ ।’
जंगबहादुरले सन् १८६७ मा लालमोहर जारी गुरुङहरूबिच भातपानी चल्ने र ठुलो–सानो नहुने आदेश गरे । तर जंगबहादुरको हुकुमविपरीत सन् १९११ मा शेखरनाथ सुवेदीले गुरुङका विभेदकारी वंशावली थरगोत्र प्रवरावली बनारसबाट प्रकाशित गरे । फेरि गुरुङहरूले विरोध गर्नुपर्यो ।
उनका अनुसार, तिब्बती भाषाको घोरुङ शब्द अपभ्रंश भई गुरुङ भएकोे पनि भनिन्छ । घोरुङको अर्थ ‘पाल’ हो । ‘यस्तै गुरु–अङ्गबाट गुरुङ भएको भन्ने कथन छ भने चीनको स्वशासित क्षेत्र तिब्बतको ज्यारोङबाट आएको हुनाले गुरुङ भएको तर्क पनि कतिपय विद्वान्ले अगाडि सारेका छन् । यस्तै, डा. हर्क गुरुङले ‘कुक्रोहा’ अर्थात् ‘कुक्रोहों’ शब्द अपभ्रंश हुँदै गुरुङ बनेको उल्लेख गरेका छन् । ‘कु’ले नौ र क्रोहोंले मुखिया जनाउँछ ।
तमुहरूको उत्पत्ति कसरी भयो तथा उनीहरू नेपाल भूमिमा कहाँबाट आए भन्नेबारे तीन बेग्लाबेग्लै मत पाइन्छन् । ‘प्राचीनकालमा गुरुङहरू गण्डक क्षेत्रमा आउनुअघि मंगोलियाबाट चीन–तिब्बत हुँदै नेपालको मुस्ताङ; गण्डक क्षेत्रका मनाङ, कास्की, लमजुङ, गोरखा, स्याङ्जा र तनहुँमा बसोबास गरेको भन्ने विश्वास गरिन्छ । केही विद्वान्हरू तमु गुरुङहरू गण्डक क्षेत्रमा आउनुअघि मंंगोलियाबाट चीन–तिब्बत भई पहिले भारतमा बसोबास गरी कालान्तरमा गण्डक क्षेत्र प्र्रवेश गरेको बताउँछन् । यस तर्कमा विश्वास गनेहरू त्यसैले पनि गुरुङहरू हिन्दु धर्मावलम्बी भएको तर्क अगाडि सार्छन् । तमू गुरुङहरूको वंशावलीमा भने उनी उनीहरू कनौजबाट आएको आर्य हुन् भनेका छन्,’ होमा थकाली गुरुङले लेखेकी छन् ।
जनकलाल शर्माले हुणका सन्तति आजका गुरुङ भएको उल्लेख गरेका छन् । गुरुङहरूको वंशावली अनुसार उनीहरूका पुर्र्खा सर्वप्रथगम कन्नौजमा थिए । कन्नौजबंशी गुरुङहरू आफ््नो गोत्र भारद्वाज बताउँछन् ।
२०६८ मा प्रकाशित नारायण ल्हेंगे गुरुङको पुस्तक ‘तमू (गुरुङ) जातिको चिनारी’ अनुसार, गुरुङको वास्तविक इतिहास लिखित रूपमा छैन । तमुको बारेमा स्वदेशी तथा विदेशी लेख–रचना प्रकाशमा ल्याए पनि अझै पनि आधिकारिक इतिहास यही हो भन्ने अवस्था छैन ।
‘गुरुङको इतिहास मौखिक रूपमा छ । त्यसलाई प्ये ताँ ल्हु ताँ (धर्म–संस्कृति)को इतिहास भनिएको छ । प्ये (धर्मशास्त्र)मा तमुको प्रादुर्भाव भएको ठाउँलाई स फू थी क्ल्ह्याल्सा मानिएको छ,’ ल्हेंगे लेख्छन्, ‘स फू थी क्ल्ह्याल्सामा तीन महागुरु कर्कली क्ह्याला, क्ह्रोंलु पच्यू र आपा क्हार्बुको सृष्टि भएको कुरा प्येमा उल्लेख छ । सिकारी जीवनपश्चात् गुरुङहरूको स्थायी राज्यका रूपमा स फू थी क्ल्ह्याल्सा रहेको देखिन्छ तर स फू थी क्ल्ह्याल्सा कहाँ थियो भन्ने विषयमा खासै अनुसन्धान भएको पाइएको छैन ।’
उनका अनुसार, तमुहरू कुनै बेला मंगोलियादेखि चीन र तिब्बत हुँदै सिकारी जीवनमा नेपालको उत्तरी सिमाना मनाङ र मुस्ताङ प्रवेश गरेका हुन् । अन्नपूर्ण हिमशृंखला र लमजुङ हिमालको काखमा अवस्थित क्होल सोंथर गुरुङहरूका लागि अत्यन्त महत्त्वपूर्ण थलो थियो । ‘त्यहाँ कुनै समय तमु खम्बा राजाले शासन गरेका थिए । अत्यन्त सुन्दर र उब्जाउ हुने यो उचाइको समथर भूभागमा अवस्थित क्होल राज्य तीन खण्डमा रहेको पाइएको छ,’ ल्हेंगेले विभिन्न स्रोत–सन्दर्भ दिँदै लेख्छन्, ‘खम्बा राजा निसन्तान भई मरेपछि क्ह्ले अर्थात् घले राजालाई राज्य सञ्चालनको जिम्मेवारी दिइएको थियो । घलेलाई गुरुङ होइन भन्यो भने प्ये ताँ ल्हु ताँको भावना विपरीत हुन्छ । प्राज्ञ डा. जगमान गुरुङका अनुसार पनि थुप्रै घले राजा र गुरुङ राज्यहरू भएको पाइन्छ ।’
गुरुङ विद्वानहरूका अनुसार शासकहरूले गुरुङहरूलाई हिन्दुकरण मात्रै गरेनन्, गुरुङ समुदायमा फुट ल्याउन हुँदो नहुँदो वंशावली समेत लेखाए र गुरुङलाई चार जात र १६ जातमा विभाजित गरे । होमा थकाली गुरुङ लेख्छिन्, ‘राजा जगाति खाँणको आदेशबाट करिब ३५० वर्षअघि राजपण्डित भोजराजले लेखेको तमु गुरुङहरूको वंशावलीलाई शिखरनाथ सुवेदीले बढाइचढाइ गरी दासीपुत्र १६ जाते र राजपुत्र चार जाते भनी तमु गुरुङहरूको कथित जातीय विभाजन गरी तमु वंशावली प्रकाशन गरे ।’
नारायण ल्हेंगे गुरुङले डा. हर्क गुरुङलाई उद्धृत गरे अनुसार, राजा गीर्वाणयुद्धको पाला (सन् १८०८) मा भएका लालमोहोरद्वारा गुरुङहरूका आफ्ना पुरोहित पच्यू, क्ल्हेबृ र लमको सट्टा बाहुन पुरोहित प्रयोग गर्र्न बाध्य गराइयो । यस्तै राजेन्द्रविक्रमको ताम्रपत्र (सन् १८१६) ले आइन्दा गुरुङहरूको कर्मकाण्डमा बाहुन लगाउनुपर्ने निर्देशन दियो । राजेन्द्रविक्रमको अर्को आदेश (सन् १८१८) ले बाहुन लगाएर कर्मकाण्ड गर्ने गुरुङले केहीमा कर माफी पाउने र बाहुन पुरोहित नलगाउनेले चाकचाकुई र मोरो अपुताली कर तिर्नुपर्ने गराइएको थियो । यसमा गुरुङहरूले विरोध जनाएपछि राजेन्द्रले अर्को आदेश गरी गुरुङलाई आफ्नो जातीय संंस्कारमा आफ्नै पुरोहित लगाउन पाउने बनाए ।
सन् १८२८ को आदेशमा सबै गुरुङहरू जुन थरका भए पनि समान हुन्, चार जात ठुलो र सोह्र जात सानो भन्न पाइँदैन भन्ने थियो तर जातमा आधारित जंंगबहादुरको कानुन आएपछि गुरुङहरूबिच पुनः विवाद भयो ।
सन् १८६७ मा जंगबहादुरले पनि लालमोहर जारी गुरुङहरूबिच भातपानी चल्ने र ठुलो–सानो नहुने आदेश गरे । तर जंगबहादुरको हुकुमविपरीत सन् १९११ मा शेखरनाथ सुवेदीले गुरुङका विभेदकारी वंशावली थरगोत्र प्रवरावली बनारसबाट प्रकाशित गरे । फेरि गुरुङहरूले विरोध गर्नुपर्यो । फलतः सन् १९२१ मा चन्द्रशमशेरको भारदारी फैसलाले शेखरनाथ सुवेदीलाई २० रूपैयाँ जरिवाना गरी पुस्तक जफत गर्यो, बिक्री–वितरणमा रोक लगायो ।
होमा थकाली लेख्छिन्, ‘यसरी गुरुङ जातिको आन्तरिक कलह र खिचातानीलाई कानुनी रूपमा अन्त्य गराए पनि सामाजिक तथा व्यवहारिक रूपमा अहिलेसम्म यसका अवशेष रहेको पाठकहरूलाई विदितै छ ।’
गुरुङ भाषा
आफूलाई ‘तमुमई’ भनेर चिनाउने गुरुङहरूको मौखिक इतिहास अनुसार उनीहरू नेपालको उत्तरी हिमाली भेगमा शताब्दियौँ अगाडि आएका हुन् । गुरुङ भाषा (तमूक्वी) सिनो–तिब्बतीयन अन्तर्गत पर्छ, गोर्खा आर्मीका लागि प्रख्यात गुरुङहरू रमाइलो गर्ने समुदायको रूपमा अन्य नेपालीमाझ चिनिन्छन् जो रक्सी, सङ्गीत र नाचमा रमाउँछन्, (पिर्को मोइजालाको पुस्तक ‘ग्रामीण गुरुङ सङ्गीतको इथ्नोग्राफिक अध्ययन : निरन्तरता र परिवर्तन, अनुवादक टंक प्रसाद गुरुङ) ।
गुरुङको पहिचान भनेकै भाषा, धर्म, संस्कार र संस्कृति हुन् । गुरुङ भाषा मौलिक रूपमा एउटा कथ्य भाषा भएकाले यसको आफ्नो लिपि छैन । तर विगत केही दशकदेखि गुरुङहरूले गुरुङ भाषाको लिपिबारे चासो देखाउन थालेका छन्, (२०७९ मा प्रकाशित रत्नमान गुरुङको पुस्तक ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञान एक परिचय’) ।
रत्नमानका अनुसार, कास्कीको हेम्जाकोट गाउँमा जन्म भई दोस्रो विश्वयुद्ध लडेका जगनलाल गुरुङले खेप्रिह (रिड एन्ड राइट) लिपिको रचना गरेका छन् । तर यो लिपि व्यवहारमा लागु हुन सकेन । सन् १९७७ मा बालनरसिं गुरुङको सक्रियतामा ‘खेमा लिपि’को रचना गरियो । यो लिपि खास गरेर गुरु पिमबहादुर गुरुङको रेखदेखमा विकास गरिएको थियो । हाल बालनरसिंह गुरुङका चेला भीम गुरुङको व्यवस्थापन र संयोजनमा खेमा लिपिसम्बन्धी तालिम तथा गोष्ठीहरू नियमित रूपमा सञ्चालन हुने गर्छ । रत्नमानले सचित्र गुरुङको आलेख उद्धृत गर्दै लेखेका छन्, ‘खेमा लिपि नेपाल, भारत (सिक्किम), भुटानमा सिकाइन्छ र यो नै गुरुङको आधिकारिक लिपिको रूपमाा नेपाल भाषा आयोगमा दर्ता गरिएको छ तर यसले देशभित्र आफ्नो प्रभाव क्षेत्र विस्तार गर्न सकेको छैन ।’
कतिपयले गुरुङ भाषालाई देवनागरी वा रोमन लिपिमा लेख्न सकिने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन, तस्बिरहरू
-
रास्वपाभित्र कुनै गुट–उपगुट छैन, सबै रवि गुट मात्र : अर्याल
-
मेरो गोरखपुरको यात्रा
-
जनताको असन्तुष्टिलाई धमिलो पानी बनाई राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्र हुँदैछ : मोर्चा
-
दरबार हत्याकाण्डको छानबिन गर्ने कुरा भूमिगत हुँदादेखि नै उठाएको हुँ : प्रचण्ड
-
दीपेन्द्रको विस्फोटक ब्याटिङ र ललितको घातक बलिङसामु निरीह बन्यो मधेस