शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय
समकालीन कथा चर्चा

विचलन, विखण्डन र पलायनप्रति चिन्ता तथा वितृष्णाभाव प्रस्तुत भएका कथा

शनिबार, ०२ चैत २०८१, ११ : ४०
शनिबार, ०२ चैत २०८१

(‘समकालीन कथामा जनयुद्धको प्रतिविम्बनका कलात्मक आयाम’ शीर्षकको प्रा.डा. गोपीन्द्र पौडेलको शोधप्रबन्धलाई हामीले अघिल्लो सातादेखि क्रमशः प्रकाशन गर्दै आएका छौँ ।)

१) अर्थात् टीकारामहरू

कथाकार ऋषिराज बरालको प्रस्तुत कथा उनकै बर्की नम्बर १३९९९ नामक कथासङ्ग्रहमा सङ्कलित छ । यस कथामा जनयुद्धपश्चात् क्रान्तिकारी पार्टीमा आएको विचलनप्रति विमति प्रस्तुत भएको छ । २०४६ सालको जनआन्दोलनमा बार्दलीमा बसेर आन्दोलनकारीहरूको उपहास गर्ने, जनयुद्धका समयमा जनयुद्धको प्रक्रियालाई बहुदल मास्ने खेल भन्ने तर आफूलाई भने झापा आन्दोलनदेखिको क्रान्तिकारी कम्युनिस्ट ठान्ने पवनप्रसाद अर्थात् कामरेड टीकारामको भण्डाफोर यसमा भएको छ । त्यति मात्र होइन त्यस्तो चरम अवसरवादी एवं भ्रष्ट पात्रलाई पार्टी एकताका नाममा नेतृत्व तहसम्म पुर्‍याएर प्रशिक्षण दिन लगाउने निन्दनीय कार्य पार्टीबाट भएको प्रति ‘म’ पात्र अविनाश र कथाकारको मुखपात्र रामप्रसादको सख्त विमति रहेको छ । यसमा पार्टी ठुलो बनाउने नाममा कुँडाकर्कट हुल्नु भनेको गम्भीर विचलनको सङ्केत हो भन्ने प्रस्टै बुझ्न सकिन्छ ।

यसमा माथि उल्लिखित कथ्यवस्तु तथा विचारलाई कथात्मक बान्की दिन पात्र, परिवेश र घटनाको सुन्दर प्रारूप निर्माण गरिएको छ । यहाँ कथावाचक ‘म’ पात्र (अर्थात् कथाकार स्वयम्) छ, ‘म’ पात्र भन्दा एक कदम अघि बढेर अप्रत्यासित वस्तु तथा घटना प्रसङ्गको सङ्केत गर्दै ‘म’ पात्रभित्रका परिस्थितिजन्य भावलाई जगाउने र सचेत गराउने काम रामप्रसादले गरेको छ । एउटा सभा हलमा पार्टीको प्रशिक्षण चलिरहेको, पार्टीका वरिष्ठ नेतासँगै पवनप्रसाद पनि मञ्चासीन भएर रैरवाफ देखाइरहेको सन्दर्भमा मञ्च र हलका गतिविधिलाई ‘म’ पात्रतर्फ सङ्केत गर्दै पाठकसम्म पुर्‍याउने काम राम्रप्रसादले गरेको छ भने पवनप्रसाद अर्थात् टीकारामको कलङ्कित इतिहासको उत्खनन् गर्ने काम ‘म’ पात्र र रामप्रसादबाट भएको छ ।

यसमा कथावाचक ‘म’ पात्र छ, उसको सहयोगी रामप्रसाद छ तर कथाको केन्द्रमा पवनप्रसाद छ । त्यसैले प्रस्तुत कथा भन्नु पवनप्रसाद अर्थात् टीकारामको कथा हो । यस अर्थमा यस कथाको दृष्टिकेन्द्रीय पात्र पनि पवनप्रसाद नै हो । पवनप्रसादलाई मञ्चासीन भएको देख्नेबित्तिकै ‘म’ पात्र र रामप्रसादमा उसप्रतिका नकारात्मक भाव एकपछि अर्को रूपमा तरङ्गित भएका छन् । त्यसैले पवनप्रसाद ‘म’ पात्र र रामप्रसादका सन्दर्भमा उद्दीपकका रूपमा प्रस्तुत भएको छ । यस निम्ति सभाहल र मञ्चको परिवेश सहयोगी बनेको छ । त्यसो त हलबाहिर राखिएका सहिदका तस्बिर तथा ब्यानरले पनि क्रान्तिकारी पार्टीको प्रशिक्षणमा पवनप्रसादको उपस्थिति र अझ प्रशिक्षण समेतलाई उपहास गरेको सङ्केत यहाँ पाउन सकिन्छ ।

‘म’ पात्रद्वारा रामप्रसादको परिचय कथाको पृष्ठभूमिमा प्रस्तुत भएको छ । यसको कथानकको विकासमा समाख्याताको वर्णनसँगै पात्रका बिचको क्रिया व्यापारको महत्त्वपूर्ण भूमिका रहेको छ । घटनाको न्यूनताका कारण कथानकको विकास आवश्यक मात्रामा भएको छैन । यसो भए पनि कथानकको विकास नाटकीय रूपमा भएको छ, त्यस निम्ति पात्रका बिचको चुस्त संवाद तथा दृश्यात्मकता सहयोगी बनेका छन् । यसमा बाह्य वस्तुगत परिवेशभन्दा पनि मनोगत परिवेश प्रभावशाली देखिन्छ । ‘म’ पात्र र रामप्रसादका क्रियाकलापबाट त्यसको सङ्केत पाइन्छ । यसको वाक्य गठन, पद तथा पदावली चयन तथा अनुच्छेद योजना चुस्त र व्यवस्थित हुनुले सुन्दर रूपविन्यास तथा परिष्कृत भाषा शैलीका कारण कथाकलाका दृष्टिमा यो सुन्दर कथा हो ।

२) सहिदको सालिक

कथाकार घनश्याम ढकालद्वारा लिखित प्रस्तुत कथा ढकालकै ‘सहिदको सालिक’ कथा सङ्ग्रहमा सङ्कलित छ । दश वर्षसम्म जनयुद्ध लडेको पार्टी सरकारको हिस्सेदार भएपछि त्यसमा आएको विचलनको प्रस्ट दृष्टान्त यसमा प्रस्तुत भएको छ । युद्ध अवधिभर गाउँमा पाँचजना सहिद भएको सन्दर्भमा सहिदको सम्मानस्वरूप सहिदपार्क बनाउने गाउँलेको निर्णय, पार्क भएपछि पाँचैजना सहिदको सालिक राख्ने प्रस्ताव, गाउँको प्रतिष्ठित किसान मणिराजको नेतृत्वमा पार्क तयार भएपछि त्यसमा सालिक राख्ने मनसायले सरकारको सहयोग माग्न मणिराज काठमाडौँ आए पनि फोस्रो आश्वासन मात्र हात लाग्यो । जनताकै सहयोगमा सालिक ठड्याइने अठोटका साथ माणिराजको गाउँ फिर्ती भएको छ । सहिदको सालिक बनाउने जस्तो सत्कर्मका लागि पनि उपेक्षा मात्र हात लाग्नु भनेको सहिदहरूप्रति पनि अपमान हो र त्यो भनेको विचलनको पराकाष्ठा हो, आन्दोलनबाट विमुख हुनु हो । सरकारमा आसीन भएपछि आन्दोलन, सहिद तथा पार्टीका कार्यकर्ताको उपेक्षा हुनुले विचलनको प्रस्ट सङ्केत यसमा पाउन सकिन्छ ।

कथाको पृष्ठभूमिमा नायक मणिराजको परिचय प्रस्तुत गरिएको छ । उसकै नेतृत्वमा सहिदपार्क निर्माण भएको छ र एउटै स्तम्भ निर्माण गरेर पाँचजना सहिदको सालिक बनाउने योजनाअघि बढेको छ । युद्धमय परिवेशका पृष्ठभूमिबाट शान्ति प्रक्रियामा आएपश्चात् जुन विचलनको स्थिति देखापरेको छ, त्यसलाई पाठक समक्ष प्रस्तुत गर्ने कार्य मणिराजले गरेको छ । मणिराज मूलतः कथाकारको, मुखपात्र हो जसले कथाकारका विचारको प्रतिनिधित्व गर्छ । ऊ विवेकसम्मत रूपमा समस्यासँग पौँठेजोरी खेल्ने सङ्घर्षशील पात्र हो । त्यसैले मणिराजको उदात्त एवं उच्चतर चित्रण अनि सरकारका मन्त्री र तिनका निजी सचिवको हीनतर चित्रण यसमा भएको छ ।

युद्धमय परिवेश, त्यागको सम्मान, सङ्घर्षशील किसान नायक अनि सत्तासीन भ्रष्ट पात्रको समीकरणका माध्यमबाट सुन्दर प्रारूप निर्माण गरेर विचलनमुखी प्रवृत्तिको लेथ्नो काढ्ने कार्य यस कथामा भएको छ । यसमा एकातिर मणिराजलगायतका गाउँलेहरूले निष्ठाको पक्षपोषण गरेका छन्, ती सत् पात्र हुन् भने अर्कोतिर सरकारका मन्त्री र तिनका निजी सचिवहरूले भ्रम र बेइमानीको पक्षपोषण गरेका छन्, ती असत् पात्र हुन्, विचलनका मतियार हुन् । त्यसैले निष्ठाको राजनीतिलाई थाप्लोमा बोकेर यात्रारत मणिराज यस कथाको दृष्टिकेन्द्रीय पात्र हो जसको केन्द्रीयतामा समग्र घटना प्रक्रियाले फन्का मारेका छन् ।

यसमा कथानकको विकास नाटकीय रूपमा भएको छ । त्यसमा समाख्याताको समाख्यान विधि र पोखरादेखि काठमाडौँ (सिंहदरबार)सम्मको दृश्य संयोजनले सघाउ पुर्‍याएको छ । यसमा मणिराज र सरकारका मन्त्रीहरूका बिच बाह्य द्वन्द्व रहेको छ । बाह्य वस्तुगत परिवेशका साथै नायक पात्र मणिराजमा मनोगत परिवेशको प्रत्यङ्कन पनि औचित्य अनुरूप भएको छ । सरल एवं सुगठित भाषिक विन्यास, संयमित प्रस्तुति शैलीले यसको रूपविन्यास पनि सुन्दर बनेको छ । मीतव्ययी कथनपद्धति तथा चुस्त प्रकृतिको संवादले पनि पात्रको चारित्रिक विकासमा मद्दत गरेको छ । पार्टी शान्ति प्रक्रियामा आएपछि र खास गरी सत्तासीन हुन थालेपछि मौलाएको विचलनमुखी प्रवृत्तिलाई पाठकसमक्ष प्रस्तुत गर्ने यस कथाको कलाविधान सन्तुलित एवं सफल रहेको छ ।

२०५२ सालदेखि आरम्भ भएको जनयुद्ध ऐतिहासिक आवश्यकता एवं वर्ग सङ्घर्षको उच्चतम अभिव्यक्ति थियो । सबै प्रकारका उत्पीडनबाट उन्मुक्ति प्राप्त गर्ने उद्देश्यअनुरूप थालिएको जनयुद्धपञ्चात् घटनाक्रमहरू अघि बढ्दै जाँदा सामाजिक राजनीतिक जीवनका विभिन्न आयामसँगै कला–साहित्यमा पनि त्यसको प्रभाव पर्नु स्वाभाविक थियो ।

३) बम डिस्पोजल

यस कथाका कथाकार सरल सहयात्री (सरल पौडेल) हुन् । प्रस्तुत कथा उनको ‘क्रान्तिका कथाहरू’ नामक सङ्ग्रहमा सङ्कलित छ । यस कथामा क्रान्तिकारी पार्टीमा आएको सैद्धान्तिक एवं नीतिगत विचलनको प्रतिविम्बन भएको छ । यसमा शान्ति सम्झौताको उल्लेख त गरिएको छैन तर नजानिँदो ढङ्गले त्यसयता पार्टीले अवलम्बन गरेको शान्तिविरोधी नीति तथा आत्मसमर्पण (?) लाई कथाशिल्पका माध्यमबाट पाठकसमक्ष प्रस्तुत गरिएको छ । विचलनको प्रक्रियालाई अलि फरक तरिकाबाट प्रस्तुत गर्दा यसमा विषयगत, पात्रगत, परिवेशगत एवं प्रस्तुतिगत नवीनता रहन गएको छ । यस कथाले छेउकिनारका घिसेपिटे पात्र र प्रवृत्तिमा होइन मूल क्रान्तिकारी पार्टीले हतियार विसर्जन गर्ने जुन नीतिगत निर्णय गरेको छ त्यसप्रति पूर्णतः विमति प्रकट गरेको छ ।

‘म’ पात्रका असन्तुष्टि, विमति तथा मानसिक तनाबका बिचबाट कथाको आरम्भ भएको छ । यसमा कथावाचक ‘म’ पात्रका सन्दर्भमा पार्टीले गरेको नीतिगत निर्णयले आलम्बनको अनि बिहानै युएनको रोहोवरमा बम डिस्पोजल कार्यक्रक्रमा सहभागी हुने निमन्त्रणाले उद्दीपनको काम गरेका छन् । एकातिर विचार, आत्मसम्मान र हतियार कन्टेनरमा थन्काउने कुरा छ अर्कोतिर पार्टीको नीतिगत निर्णय छ । यस बिचमा ‘म’ पात्र निकै पिरोलिएको छ, उसले युद्धका क्रममा जनताका बिचमा रहेर काम गर्दाका क्षणहरू अनि हिमाल, पहाड, तराई गर्दाका क्षणहरू सम्झन्छ र उद्देश्य पूरा नहुँदासम्म लडिरहने भनेर वाचा गरेको पनि सम्झन्छ । यहाँ ‘म पात्र अत्यन्त कठोर मानसिक उल्झनमा फसेको र मानसिक तनाबले क्षतविक्षत भएको छ । ‘म आज असाध्य विक्षिप्त भएको छु’ (पृ. १२९) भन्ने उसको कथनले पनि ऊ निकै अस्वस्थ छ भन्ने बुझिन्छ ।

बाह्य सीमित दृष्टिबिन्दु रहेको प्रस्तुत कथाको दृष्टिकेन्द्रीय पात्र पनि ‘म’ पात्र नै हो । यो मूलतः ‘म’ पात्रको कथा हो, उसको जीवनभोगाइ र मानसिक पीडाको कथा हो । यसमा एक ठाउँमा उसको छोटो संवाद सहिदहरूसित हुनुबाहेक सम्पूर्ण कथाचेतनप्रवाह प्रद्धति/शैलीमा प्रस्तुत भएको छ । क्षीण आख्यानात्मक संरचनामा विन्यस्त यस कथामा ‘म’ पात्रका अन्तरङ्ग अनुभूतिको विस्तार भएको छ । यसमा एकल पात्र छ, उसले आफूमा परेको मानसिक आघातलाई बिसाउन एकालापी कथन पद्धतिको सहारा लिएको छ । ऊ बन्दुक डिस्पोजल गर्न लागिएको अवस्थाप्रति चिन्तित छ, भित्तामा झुन्ड्याइएका सहिदका तस्बिरले आफूलाई उपहास गरेको महसुस गर्छ । उसको तर्क छ हतियार भन्नु विचारको रक्षक हो, हतियार नै भएन भने विचारको रक्षा पनि हुँदैन । यसै सन्दर्भमा ऊ नेताहरूप्रति पनि निकै आक्रोशित बनेको छ । वस्तुतः हतियार कन्टेनरमा थन्क्याउनु भनेको आत्मसमर्पण गर्नुजस्तै हो भन्ने उसको बुझाइ रहेको छ, जुन बुझाइ वस्तुपरक थियो भन्ने पुष्टि अहिलेको परिवेशले पनि गर्छ ।

प्रवाहशील शैलीका लागि अपेक्षित भाषाशिल्प तया रूपविन्यास यसमा पाउन सकिन्छ । एकल पात्र, घटनाशून्य स्थिति र आरोह–अवरोह नहुनुले यसमा कथानकले प्रवेश पाएको छैन । पात्रका संवेगात्मक जगत्को शृङ्खलाबद्ध एवं तार्किक अभिव्यञ्जनाका माध्यमबाट कथाकलाको बान्की यसले प्राप्त गरेको छ । त्यसैले अन्य कथाका तुलनामा यसको प्रस्तुति शैली, विषय विन्यास तथा संरचनागत सुगठन फरक प्रकृतिको रहन गएको छ ।

  • ४) बुन्दै गरेको डोकोमा नबुनिएका सपनाहरू

इन्द्रकुमार श्रेष्ठ ‘सरित’द्वारा लिखित प्रस्तुत कथा सरितको ‘ऋतु फेरिदै जान्छ’ नामक सङ्ग्रहमा सङ्गृहित छ । यसमा क्रान्तिकारी पार्टी जनयुद्धबाट शान्ति प्रक्रिया हुँदै सरकारसम्म पुगे पनि नेताहरूमा देखिएको विचलनमुखी प्रवृत्तिका कारण जनयुद्धका घाइते तथा अपाङ्गहरूप्रति गरिएको उपेक्षा र बेवास्तालाई कथाको कथ्यविषय बनाइएको छ । पार्टी शान्तिप्रक्रियामा आएपछि जनयुद्धमा दुईवटा खुट्टा गुमाएर अपाङ्ग बनेको जयन्तकी श्रीमती रश्मिलाले सेनामा भर्ती हुन जाँदा लापत्ता हुनु, जयन्तलाई भेट्न कोही पनि फर्केर नआउनु तथा चार वर्षकी छोरीको बिचल्ली हुनुजस्ता घटना प्रक्रिया यसमा घटित भएका छन् । यसरी उपेक्षामा परेको जयन्तले जसोतसो डोका बुन्ने पेसा अँगालेको भए पनि उसले सपना बुन्न नसकेको वा सपनाको दाहसंस्कार भएको अनुभव गरेको छ ।

माथि उल्लिखित कथ्य विषयलाई कथास्वरूप प्रदान गर्न यसमा कथ्यवस्तु, पात्र र परिवेशको समीकरणका माध्यमबाट सुन्दर प्रारूप निर्माण गरिएको छ । त्यस निम्ति पार्टी शान्ति प्रक्रिया हुँदै सरकारसम्म पुग्दाका परिघटनालाई प्रस्तुत गर्न जनयुद्धमा दुवै खुट्टा गुमाएर अपाङ्ग बनेको जयन्त, उसकी श्रीमती रश्मिला र चार वर्षकी छोरीलाई पात्रका रूपमा चयन गरी तिनको चारित्रीकरणका माध्यमबाट विचार सम्प्रेषणको प्रक्रियालाई अघि बढाइएको छ । आफू घायल भए पनि सहानुभूतिपूर्वक नेता–कार्यकर्ता भेट्न आउलान्, श्रीमती रश्मिला सेनामा भर्ती होलिन्, मुलुक समृद्धितर्फ अगि बढ्ला भन्ने उसका सपना सबै चकनाचुर भएका छन् । आफ्नी श्रीमती बेपत्ता हुनुको र चार वर्षकी छोरीको पीडा त छँदै छ त्यो भन्दा पनि पार्टीमा आएको विचलनका कारण जनयुद्धको प्रक्रिया हुँदै शान्ति प्रक्रियामा आउँदासम्मका उसका सपनामा तुषारपात भएको छ । समाख्यानात्मक विधिअनुरूप लेखिएको प्रस्तुत कथामा अपाङ्ग जयन्तका संवेगात्मक भावको अभिव्यञ्जना भएको छ । अतः यो कथा भन्नु जयन्तको कथा हो भने कथावाचक स्वयं कथाकार बनेका छन् । यसमा जयन्तका संवेगात्मक भावसँग खेल्ने सामथ्र्य कथाकारले देखाएका छन् ।

बाह्य सीमित दृष्टिबिन्दु रहेको यस कथाको दृष्टिकेन्द्रीय पात्र जयन्त हो र यसमा उसकै बारेमा सम्पूर्ण नालीबेली लगाइएको छ । त्यसो त उसका भावना, सपना र संवेदनालाई उद्दीप्त पार्ने काम पार्टीमा आएको विचलनले गरेको छ, उसले बेहोरेको उपेक्षाले गरेको छ । तात्क्षणिक कथारेखामा संरचित यस कथामा रश्मिला बेपत्ता हुनुजस्तो घटनाबाहेक अन्य प्रसङ्गहरू जयन्तकै केन्द्रीयतामा कथावाचकबाट प्रस्तुत भएका छन् । आख्यानोचित भाषा तथा रूपविन्यासले पनि कथालाई सुन्दर बनाएको छ । घटना र क्रिया व्यापारमा शिथिलता देखिनुले कथा अपेक्षाकृत रूपमा सघन संरचनायुक्त बन्न सकेको छैन । यसो भए तापनि मुख्य पात्रको मानसिक तन्तुलाई केलाउन र उसको मनोभावनाको प्रतिविम्बन गर्न कथा सफल रहेको छ ।

  • ५) बहिर्गमन

यस कथाका कथाकार उदयबहादुर चलाउने हुन् । उनकै ‘समरयात्रा’मा प्रस्तुत कथा सङ्गृहित छ । यस कथामा तत्कालीन जनमुक्ति सेनाका तथाकथित अयोग्य लडाकुहरू बिदाइ हुँदाको परिवेशलाई कथात्मक बान्की दिइएको छ । मृत्यु वा मुक्तिको कसम खाएर जनयुद्धमा होमिएका योद्धालाई एकतर्फी सम्झौताद्वारा बहिर्गमनका लागि जुन बाध्यकारी परिवेश निर्माण गरिएको छ, त्यसप्रति कथाकारको तीव्र असन्तुष्टि यसमा पाउन सकिन्छ । यसलाई सैद्धान्तिक विचलनका रूपमा इङ्गित गर्दै त्यस्तो प्रक्रियाप्रति असन्तुष्टि एवं विमति प्रकट गरिएको छ । ‘अब म युग बदल्ने अभियानको सिपाही रहिन । सम्झौताको लाठोले लघारिँदै छ’ (पृ.८४) भन्ने ‘म’ पात्रको कथनमा असन्तुष्टि मात्र होइन आक्रोश समेत व्यक्त भएको छ ।

सुन्दर प्राकृतिक परिवेशको प्रत्यङ्कनबाट सुरु भएको कथामा ‘म’ पात्रको मानसिक परिवेशसँग समधर्मिता देखिन्न । यसको तात्पर्य प्रकृतिमा तुवाँलो हटेर वातावरणीय छटा निर्माण भए पनि ‘म’ पात्रको दिमागी तुवाँलो हटेको छैन । यसको कथावाचक ‘म’ पात्र हो, उसले आफ्नो कथा भनिरहेको छ । क्यान्टोनमेन्टबाट बिदाइ हुनुपूर्व उसले आफ्नी आमालाई सम्झेको छ, जनयुद्धको घनीभूत प्रक्रियालाई सम्झेको छ र अझ बढी त उसले ‘तँलाई कहिल्यै हार्न नपरोस्’ (पृ.८३) भनेर आफ्नी आमाले दिएको आशीर्वाद सम्झेको छ । यस कथाको कथानक विकास परावर्तित ढाँचामा भएको छ । अर्थात्, यस कथाको ‘म’ पात्र क्यान्टोनमेन्टमा हुन लागेको विदाइको क्षणबाट पूर्वस्मृतितर्फ फर्केको छ जसमा स्वाभाविकता र कथनगत सौन्दर्यसमेत झल्कने गर्छ ।

कथावाचक ‘म’ पात्रले आफूलाई केन्द्रमा राखेर आफ्नै कथा भनेकाले आन्तरिक केन्द्रीय दृष्टिबिन्दुको प्रयोग यसमा भएको छ । यसमा ‘म’ पात्रले आफ्ना अनुभूतिको विस्तारका क्रममा आमासँग पहिलोपटक बिदा हुँदाको क्षण, दोस्रोपटक कम्ब्याक्ट ड्रेसमा घर पुग्दा आमाको हौसला प्राप्त गरेको क्षण तथा जनयुद्धमा साथीहरूसँग बिताएका क्षणलाई सुन्दर बान्कीमा प्रस्तुत गरेको छ । काव्यात्मक प्रवाहशील शैली, काव्यात्मक भाषा, आख्यानोचित रूपविन्यासका कारण कथा सुन्दर बनेको छ । सुन्दर शिल्प संरचनाका माध्यमबाट पार्टीमा देखिएको विचलनको अभिव्यञ्जना यसमा भएको छ ।

  • ६) सहिद आमासँगको भेट

‘युद्धका कथाहरू’मा सङ्गृहित प्रस्तुत कथाका कथाकार हिरामणि दुःखी हुन् । यस कथामा सहिद आमा वीरमाली रोकाका माध्यमबाट पार्टीमा मौलाउँदै गएको विचलनमुखी प्रवृत्तिको आलोचना भएको छ । पार्टी कामको सिलसिलामा गाउँ गएको पार्टी कार्यकर्ता निर्माणले सहिद आमा वीरमाली रोकाको घरमा आतिथ्यता लिएको छ । बिहानको चियागफका सिलसिलामा दुवैबिच पार्टी र क्रान्तिका बारेमा चिन्ता व्यक्त हुन्छ, हुनु स्वाभाविक पनि छ । दुई छोरा वरुण र गर्जनलाई युद्धमा गुमाएकी वीरमाली रोका स्वयं सचेत पात्र हुन्, त्यसैले पनि उनको चिन्ता जायज देखिन्छ । उनको चिन्ता साम्राज्यवादीको घेराबन्दी, विस्तारवादीको मिचाहा प्रवृत्तिमा त छँदै छ थप आफ्नै क्रान्तिकारी पार्टीका नेताहरू सहरमुखी र सुविधाभोगी भएको प्रति गम्भीर चिन्ता व्यक्त भएको छ । पार्टीमा यसरी नै विचलनमा बढोत्तरी भयो भने क्रान्तिको भविष्य, मुलुकको भविष्य अनि सहिदको बलिदानको औचित्य के होला भन्ने चिन्ता वीरमाली रोका र निर्माणमा समेत देखिन्छ ।

क्रान्तिकारी पार्टीमा आएको विचलनसम्बन्धी यस प्रवृत्तिको प्रतिविम्बन गर्न दुईजना पात्रको क्रिया व्यापारका माध्यमबाट कथासूत्रको निर्माण यसमा भएको छ । सहिद आमा वीरमाली रोकाका घरमा अतिथि बनेको पार्टी कार्यकर्ता निर्माण सहिद परिवारका सदस्यलाई भेट्ने क्रममा त्यहाँ पुगेको छ । बिहानको मिर्मिरेमा चियाको साथमा भएको दुई पात्रका बिचको हार्दिकतापूर्ण संवादबाट कथाको आरम्भ भएको छ । यसपूर्व पार्टी र कान्तिको चिन्ताले रातभर सुत्न नसकेको निर्माणका अनुभूति छन् भने त्यस्तै अनुभूति छन् वीरमाली रोकाका पनि । दुवै पात्रका बिच संवादबाट सुरु भएको कथा पुनः निर्माणको अन्तरङ्ग अनुभूतितिर डोरिएको हुँदा यसको कथानक पारवर्तित ढाँचामा विन्यस्त देखिन्छ । कथाको मध्य भागबाट पुनः संवाद क्रिया अघि बढ्छ, त्यस क्रममा दुवैले विषयको खोलुवा प्रस्तुत गर्छन् । फरक कति मात्र हो भने निर्माण पार्टी कार्यकर्ता हुनाले अनुशासनको मर्यादाभित्र बसेर व्यक्तिएको छ भने वीरमाली रोका सुरुमा केही सङ्कोचमा परेकी भए पनि अन्त्यतिर निर्भीक भएर पोखिएकी छन्, व्यक्तिएकी छन् । तर पूर्ण रूपमा फुक्न भने सकेकी छैनन् ।

यस कथाका दुवै पात्र पार्टी र क्रान्तिप्रति आस्थावान छन्, समान वर्ग, विचार र आदर्शले ओतप्रोत छन् । यसो भए तापनि विषयको केन्द्रमा वीरमाली रोका छन्, त्यसमा निर्माणले उद्दीपनको काम गरेको छ । विचलनको सेरोफेरो र मुख्य कडीलाई समातेर आफ्ना धारणा राख्ने काम वीरमाली रोकाले गरेकी छन् । यस तात्पर्यमा उनी विचारवाहक पात्र हुन्, दृष्टिकेन्द्रीय पात्र हुन् र कथाकारकी मुखपात्र समेत हुन् । पार्टीमा मौलाउँदै गरेको विचलनसम्बन्धी प्रवृत्तिको अभिव्यञ्जना दिन कथाकारले पात्रको चयन, चारित्रीकरण प्रारूपीकरणमा निकै कुशलता देखाएका छन् । नेताहरू सहरमुखी भएको परिवेशमा एउटी गाउँले आमा, त्यो पनि सहिद आमाका माध्यमबाट आलोचनात्मक चेत प्रस्तुत हुनु स्वाभाविक र विश्वसनीय समेत मान्न सकिन्छ ।

यसमा परिस्थिति एवं विषय प्रसङ्ग अनुरूप परिवेशको चित्रण भएको छ । वीरमाली रोका चिया लिएर निर्माणको कोठामा आउँदाको बिहानीपखको परिवेशको चित्रणमा समधर्मिता तथा सार्थकता रहन गएको छ । यसमा पात्रको चारित्रीकरणमा नाटकीय विधिको अवलम्बन गरिएको छ । अर्थात् उनीहरूबिचको क्रिया व्यापारबाट चारित्रीकरण प्रक्रिया सम्पन्न भएको छ । यसको भाषा सालीन र मर्यादित छ, चुस्त प्रकृतिको संवाद अनि सुन्दर रूपविन्यासले कथा सिँगारिएको छ । यसो भनौँ विषयवस्तुको मर्मलाई आत्मसात् गर्ने सन्दर्भमा यसको कथाशिल्प सुन्दर छ ।

  • ७) भत्केको घर

यस कथाका कथाकार केशव पुडासैनी ‘विमल’ हुन् । उनकै ‘भत्केको घर’ नामक कथा सङ्ग्रहमा सङ्गृहित प्रस्तुत कथाले जनयुद्धपछिको सामाजिक जीवनको सन्नाटा, विरूपावस्था तथा विदीर्ण अवस्थाको प्रतिविम्बन गरेको छ । यहाँ निरन्तर जनयुद्धमा खटेको ‘म’ पात्रको अवस्था र ऊभन्दा दश वर्षपछि जनयुद्धमा सामेल भएर जीवन निर्वाह गरेको ‘ऊ’ पात्र चाउतेको अवस्थामा आनकातान फरक देख्न सकिन्छ । शान्ति प्रक्रियापछि क्यान्टोनमेन्टतिर छिरेको चाउतेले टिनको छानो हाल्दा चुनाव प्रचारका लागि गाउँतिर छिरेको ‘म’ पात्रको स्याउलाले छाएको घरको अवस्था क्षतविक्षत भएको छ । मुसलधारे पानी घरभित्र छिरेर बुढी आमालाई पानी फाल्नाको सास्ती छ । विचरी आमा दश वर्षसम्म जनयुद्धमा लागेको आफ्नो छोराको घर र अन्तिमतिर जनयुद्धमा लागेको चाउतेको घरको तुलना गर्छिन् । ‘म’ पात्र छोराले राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापनाका कुरा गर्छ, आमा त्यसलाई दुत्कार्छिन् । आखिरमा त्यही चाउतेको घरमा शरणार्थी भएर बस्न बाध्य हुन्छन्, आमाछोरा र एउटा गाई समेत । समतामूलक समाज स्थापनाका खातिर आरम्भ गरिएको जनयुद्धको सम्झौतापस्त अवतरण हुँदा उही विभेद र कष्टप्रद जीवनभोगाइको यथार्थपरक चित्रण यस कथामा भएको छ ।

यस कथामा जनयुद्धमै लागेका पात्रको चयन तथा तिनको तर्कसङ्गत चारित्रीकरण र प्रारूपीकरण गरेर विषयको गम्भीरताअनुरूप सुन्दर कथा संरचना निर्माण गरिएको छ । ‘म’ पात्र भुक्तभोगी छ तथापि राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका कुरा गरेर आमालाई फुस्ल्याउने प्रयत्न गर्छ तर बुझक्की आमा छोराका टालटुले कुरा पत्याउँदिनन् । आमाछोराका बिचको संवादले नै कथालाई निकै अर्थपूर्ण बनाएको छ । आमाको तर्क निकै गम्भीर छ । त्यसो त ‘म’ पात्रले नबुझेको कहाँ हो र ? तर बुझ पचाउँछ । लाग्छ म पात्रले पनि यस्तो परिस्थिति सिर्जना गर्ने पार्टी नीतिको उपहास गरिरहेको छ । ‘म’ पात्रका पूर्वस्मृतिस्वरूप प्रस्तुत भएका कथन पनि निकै मार्मिक छन् । आफ्नो बाबुलाई ओछ्यानबाट लगेर दुस्मनले बेपत्ता बनाएको, आफूहरूले साहुको घरमा आगो लगाएर नेपाली क्रान्ति जिन्दावाद भनेर नारा लगाएको जस्ता घटनाले उसलाई पिरोलेका छन् । यसले पाठकीय भावलाई समेत उद्वेलित गराउँछ ।

यसमा कथावाचक ‘म’ पात्र भए पनि कथाकारको दृष्टि आमामा पर्न गएको छ र आमाकै केन्द्रीयतामा कथाका घटना क्रम अघि बढेका छन् । वस्तुतः यस कथामा आन्तरिक परिधीय दृष्टिबिन्दु देख्न सकिन्छि । समस्याको चुरो कुरो उप्क्याउने र ‘म’ पात्रलाई वस्तुस्थितिको ज्ञानतर्फ फर्काउने सन्दर्भमा आमाले उद्दीपकको भूमिका खेलेकी छन् । संवादात्मक कथनपद्धति तथा दृश्य संयोजनसँगै प्रस्तुत कथा नाटकीय रूपमा अगि बढेको छ । पात्रका बिचको संवाद भङ्गीपूर्ण छ र विषयको गाम्भीर्यलाई पर्गेल्ने सन्दर्भमा अर्थपूर्ण बनेको छ । यसको कथानक विकास परावर्तित ढाँचामा भएको छ । आरम्भ र अन्त्यको शृङ्खला अनि तिनका बिचको सम्बन्धले तात्क्षणिक कथारेखाको आभास पाइए पनि कथानकको मध्यतिर आइपुग्दा ‘म’ पात्र अतीततर्फ विचरण गर्नुले यसको कथानक ढाँचा परावर्तित बनेको छ । परिष्कृत भाषा तथा भङ्गीपूर्ण प्रस्तुति शैलीले कथालाई सुन्दर बनाएको छ । यसको रूपविन्यास सुन्दर छ जसबाट पाठकलाई बोझिलो अनुभूति हुँदैन । कथ्य विषयको मर्म अनुरूप कठोर प्राकृतिक परिवेश अनि त्यसको प्रभावस्वरूप पात्रमा विकसित विचलित मनोदशाले पनि कथा उद्देश्यसम्म पुग्न सफल भएको छ ।

  • ८) लिम्बुनी आमै

‘महासमरका यात्री’ नामक कथासङ्ग्रहमा सङ्कलित यस कथाका कथाकार गङ्गानारायण श्रेष्ठ हुन् । यस कथाले पलायन, विसर्जन र विखण्डनको प्रतिविम्बन त गर्दैन तर त्यसतर्फ सङ्केत गर्दै त्यसबाट बच्न सचेत गराएको छ । यस कथाकी सचेत पात्र लिम्बुनी आमैले लालसिंह लगायत माओवादी नेतासँग यो पार्टी पनि अर्को एमाले बन्ने त होइन भन्ने जिज्ञासामा लालसिंहको जवाफबाट सन्तुष्ट भएकी उनले माओवादीको भू्रणबाट अर्को एमालेको जन्म नहोस् भन्नेतर्फ सचेत गराएकी छन् ।

यसमा लालसिंह लगायत तीनजना माओवादी नेता र लिम्बुनी आमैका बिचको क्रिया व्यापारका माध्यमबाट कथानक सूत्रको निर्माण भएको छ । पृष्ठभूमिको प्रसङ्गमा प्रचण्ड गर्मी र मुसलधारे वर्षाका बिचमा अरुण नदीको किनारैकिनार यात्रा गर्दै गरेका लालसिंह लगायत तीनजना माओवादी नेताको प्रसङ्ग छ । उनीहरू माओवादी हुन् भन्ने कुराको सङ्केत एकजना स्कुले विद्यार्थीबाट थाहा पाइन्छ । त्यसो त बिच जङ्गलमा उनीहरूलाई देख्नेबित्तिकै यी माओवादी नेता हुन् भन्ने कुरा लिम्बुनी आमैले सजिलै ठम्याउँछिन् । यहीँबाट कथानकले गति लिएको र परिणतिलाई पछ्याएको आभास पाइन्छ । यसमा लिम्बुनी आमै, लालसिंह लगायत माओवादी नेताहरू क्रान्तिकारी आदर्शको अनुशरण गर्ने पात्र छन् भने दुईजना एमालेका कार्यकर्ता (बाटोमा फेला परेका) र शाहीसेना (उल्लेख्य मात्र भएका क्रान्तिविरोधी यथास्थितिवादी पात्र छन् । अझ लिम्बुनी आमै त झापा विद्रोहदेखि माले/एमालेको राजनीति गरेकी, ओली र मैनालीलाई भात खुवाएकी, एमालेमा छँदा एरिया कमिटी सदस्य र वडाध्यक्षसमेत भएकी परिपक्व पात्र हुन् । अनुभवका हिसाबले उनी धेरै सचेत छन्, त्यसैले माओवादी नेतासँग उनले माओवादी पनि अर्को एमाले बन्ने त होइन भन्ने जिज्ञासा राखेकी छन् । अहिले परिस्थिति उलटपुलट हुँदा लिम्बुनी आमैको आशङ्का यथार्थमा परिणत भएको छ र उनको खबरदारी निकम्मा साबित भएको छ । यसो भए तापनि सम्भावनालाई वस्तुपरक रूपमा आकलन गर्न सक्ने लिम्बुनी आमै दूरदृष्टि भएकी पात्र हुन्, यस कथाका सन्दर्भमा दृष्टिकेन्द्रीय पात्र हुन् ।

यसमा कथाको सूत्राधारका रूपमा लालसिंह रहेको छ जसले कठोरतम परिवेशका बिचमा पनि गन्तव्य पछ्याउने प्रयत्न गरेको छ । एकातिर टन्टलापुर घाम अनि लगत्तै मुसलधारे वर्षा र अर्कोतिर एमालेका कार्यकर्तासँगको भेट अनि शाही सेनाको व्यारेक र गस्तीलाई छिचोल्नुपर्ने बाध्यात्मक स्थितिको सामना लालसिंहलगायतका पात्रले गरेका छन् । चुस्त प्रकृतिको संवाद तथा दृश्याङ्कनका कारण कथा नाटकीय रूपमा अगि बढेको छ । कथनमा मिठास छ, भाषागत विन्यासमा शिष्टता छ र वाक्यगठन तथा अनुच्छेद संरचनाका दृष्टिले यसको रूपविन्यास पनि सुन्दर देखिन्छ । कथ्य विषयलाई कथाकलाका माध्यमबाट स्पष्ट रूपमा पाठकसमक्ष प्रस्तुत गर्ने यो कथा भविष्य बोधले ओतप्रोत छ । जुन चिज नहोस् भन्ने कामना बुढी आमैले गरेकी थिइन्, त्यही हुनुले बुढी आमैको जिज्ञासा सत्य साबित भएको छ ।

  • कलात्मक आयामसम्बन्धी मूल्याङ्कन

जनयुद्धको प्रतिविम्बन भएका समकालीन कथाको कलात्मक आयामसम्बन्धी विश्लेषणपश्चात् तिनको सङ्क्षिप्त मूल्याङ्कन पनि आवश्यक देखिएको छ । यहाँ विश्लेष्य २५ वटा कथाको कलात्मक बान्की वा शिल्पका बारेको सूचनामूलक प्रस्तुति दिइएको छ । जुन–जुन आधारमा टेकेर २५ वटा कथाको विश्लेषण गरियो, त्यही आधारमा मूल्याङ्कन गर्नु उपयुक्त देखिन्छ । अतः कथानक, पात्र, परिवेश, दृष्टिबिन्दु भाषा, रूपविन्यास, शैली एवं कथनपद्धति र प्रारूपीकरण योजनाका आधारमा विश्लेष्य कथाको मूल्याङ्कन गर्दा बढी वस्तुगत हुने देखिन्छ ।

परिपुष्ट कथानक विन्यास तथा कार्यकारण सम्बन्धको तर्कसङ्गत प्रस्तुतिका दृष्टिले — ‘मैले उसको नाम स्वास्तिका राखिदिएँ’, ‘प्रतिशोध’, ‘युद्धको भुमरी’, ‘नयाँ वस्ती’, ‘युद्धकालकी आमा’, ‘मछलीवाला’, ‘सङ्कटकाल’, ‘औँसीको रात’, ‘बादलभित्र’, ‘सहिदको सालिक’, ‘भत्केको घर’ आदि कथा उल्लेख्य हुन सक्छन् । मझौला प्रकृतिको कथानक विन्यास भए पनि घटना तथा क्रियाव्यापारमा तादात्म्य रहेका कथाहरूमा ‘पर्खाल आतङ्क’, ‘सङ्कल्प यात्रा’, ‘घाम झुल्किनुअघि’, ‘फूलमती घर फर्कनै पाइन’, ‘अर्थात् टीकारामहरू’, ‘बुन्दै गरेको डोकोमा नबुनिएका सपनाहरू’, ‘सहिद आमासँगको भेट’, ‘लिम्बुनी आमै’, आदि रहेका छन् । त्यसो त ‘फलामे किल्ला’, ‘बम डिस्पोजल’, ‘बहिर्गमन’ क्षीण आख्यानमा संरक्षित कथा भए पनि यिनमा समाख्याताको भङ्गीपूर्ण प्रस्तुति रहन गएको छ । ‘विद्रोहका ज्वालाहरू र कामरेड ज्योति’ शीर्षकका कथामा कथानक विन्यासमा विशृङ्खलता पाउन सकिन्छ । घटनाको नाटकीय विकास तथा द्वन्द्व निर्मितीका दृष्टिले ‘युद्धकालकी आमा’, ‘मैले उसको नाम स्वस्तिका राखिदिएँ’, ‘प्रतिशोध’, ‘युद्धको भुमरी’, ‘पर्खाल आतङ्क’, ‘सहिदको सालिक’, ‘बादलभित्र’ आदि स्तरीय एवं सुन्दर कथा हुन् ।

पात्रको चयन, चारित्रीकरण र प्रारूपीकरणका दृष्टिले ‘युद्धकालकी आमा’, ‘मैले उसको नाम’, ‘स्वस्तिका राखिदिएँ’, ‘मछलीवाला’, ‘बादल भित्र’, ‘सहिदको सालिक’, ‘बम डिस्पोजल’, ‘लिम्बुनी आमै’, ‘अर्थात् टीकारामहरू’, ‘सहिद आमासँगको भेट’, ‘भत्केको घर’, ‘सङ्कल्प यात्रा’ आदि स्तरीय कथा हुन् । यिनमा पनि ‘युद्धकालकी आमा’, ‘मछलीवाला’, ‘मैले उसको नाम स्वस्तिका राखिदिएँ’ र ‘अर्थात् टीकारामहरू’ शीर्षकका कथामा पात्रको चारित्रीकरण र प्रारूपीकरण सबल एवं सुन्दर रहेको छ । युद्धकालकी आमा कथाकी आमा, मछलीवाला कथाको रामलखन, मैले उसको नाम स्वास्तिका राखिदिएँ कथाको स्वास्तिका, बादलभित्र कथाकी जोखी दमिनी, सङ्कल्प यात्रा कथाकी जानकी चौधरी, लिम्बुनी आमै कथाकी लिम्बुनी आमै, अर्थात् टीकारामहरू कथाको पवनप्रसाद, बम डिस्पोजल कथाको ‘म’ पात्र चारित्रीकरण र प्रारूपीकरणका दृष्टिले सुन्दर र सबल पात्र हुन्, जसले कथाकारको विचारलाई पाठकसम्म सहजै पुर्‍याउने सेतुको काम गरेका छन् । त्यसो त यीका अतिरिक्त सहिद आमासँगको भेट कथाकी वीरमाली रोका, नयाँ वस्ती कथाकी मुना, सहिदको सालिक कथाको मणिराज, घाम झुल्किनुअघि कथाकी माइली मगर्नी, फूलमती घर फर्कनै पाइन कथाकी फूलमती पनि सबल पात्र हुन् । अतः पात्रको चयन, चारित्रीकरण र प्रारूपीकरणका दृष्टिले जनयुद्धको प्रतिविम्बन भएका कथाहरू आशलाग्दा छन् ।

कथामा परिवेशले पात्रका आन्तरिक एवं बाह्य अवस्थाका बारेमा त जानकारी गराउँछ नै त्यसभन्दा महत्त्वपूर्ण भूमिका घटनाको पूर्वापर प्रसङ्गमा खेल्ने गर्छ । त्यसैले बाह्य वस्तुगत परिवेशले भावी घटनाको पृष्ठभूमि र कारणको सङ्केतसँगै परिणतिको खोलुवा पनि दिन्छ भने आन्तरिक वा मनोगत परिवेश पात्रको मानसिक अवस्थासँग सम्बन्धित रहन्छ । जनयुद्ध प्रभावित प्रायजसो कथामा दुवै प्रकृतिको परिवेशको प्रत्यङ्कन भएको छ । ‘मैले उसको नाम स्वस्तिका राखिदिएँ’, ‘युद्धको भुमरी’, ‘युद्धकालकी आमा’, ‘सङ्कटकाल’, ‘आँैसीको रात’, ‘घाम झुल्किनुअघि’, ‘फूलमति घर फर्कनै पाइन’, ‘भत्केको घर’ आदि कथामा बाह्य वस्तुगत परिवेशका साथै पात्रको मानसिक अवस्थालाई उजिल्याउने गरी मनोगत परिवेशको प्रत्यङ्कन भएको छ । त्यसरी नै ‘प्रतिशोध’, ‘युद्धको भूमरी’, ‘नयाँ बस्ती’, ‘सपना र डायरी’, ‘मछलीवाला’, सङ्कल्प यात्रा’, ’बादलभित्र’ शीर्षकका कथामा युद्ध आँधीमय कठोर परिवेशको प्रत्यङ्कन भएको छ भने ‘बम डिस्पोजल’, ‘बहिर्गमन’ शीर्षकका कथामा मनोगत परिवेश प्रभावशाली बनेको छ । यी कथामा प्रयुक्त परिवेशले कथाकलाको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

कथामा कथावाचक पात्र तथा कथाको मुख्य पात्रले यात्रा गर्ने मार्ग वा यी पात्रको अवस्थितिका बारेमा जानकारी दिने उपकरण भनेको दृष्टिबिन्दु हो । जनयुद्ध प्रभावित कथामा आन्तरिक केन्द्रीय एवं परिधीय दृष्टिबिन्दुका साथै बाह्य सर्वज्ञाता, सीमित तथा वस्तुगत दृष्टिबिन्दुको प्रयोग भएको छ । बम डिस्पोजल र बहिर्गमन शीर्षकका कथामा आन्तरिक केन्द्रीय दृष्टिबिन्दुको प्रयोग भएको छ भने मैले उसको नाम स्वास्तिका राखिदिएँ’, फलामे किल्ला, नयाँ वस्ती, अर्थात् टीकारामहरू, सहिद आमासँगको भेट शीर्षकका कथामा आन्तरिक परिधीय दृष्टिबिन्दुको प्रयोग भएको छ । बुन्दै गरेको डोकोमा नबुनिएका सपनाहरू, फूलमति घर फर्कनै पाइन, मछलीवाला, युद्धकालकी आमा शीर्षकका कथाहरूमा बाह्य सीमित दृष्टिबिन्दु रहेको छ भने प्रतिशोध, विद्रोहका ज्वालाहरू शीर्षकका कथामा बाह्य वस्तुगत द्रृष्टिविन्दुको प्रयोग भएको छ । यस अतिरिक्तका कथामा बाह्य सर्वज्ञाता दृष्टिविन्दुको प्रयोग पाइन्छ ।

कथालाई कलात्मक बान्की प्रदान गर्ने सन्दर्भमा भाषिक प्रयुक्तिको महत्त्वपूर्ण भूमिका रहन्छ । कथामा सरल, कोमल, प्राञ्जल भाषाको प्रयोग त अपेक्षित हुन्छ नै त्यसमा पनि आख्यान्योचित ललित एवं लालिमायुक्त भाषाको प्रयोग पनि अपेक्षित हुन्छ । भाषिक प्रयोगका दृष्टिले यहाँ विश्लेष्य कथाहरू स्तरीय नै छन् । खासगरी युद्धकालकी आमा, मैले उसको नाम स्वस्तिका राखिदिएँ, मछलीवाला, सङ्कल्प यात्रा, औँसीको रात, सहिदको सालिक, बम डिस्पोजल, अर्थात् टीकारामहरू’ नयाँ बस्ती, घाम झुल्किनुअघि आदि कथाहरू भाषिक प्रयोगका सुन्दर दृष्टान्त बनेका छन् ।

रूपविन्यासले कथालाई सुन्दर बनाउँछ । कथारूपी घरमा विभिन्न बान्कीका बुट्टा भर्ने र चित्ताकर्षक बनाउने माध्यम भनेको रूपविन्यास हो । यसको तात्पर्य घर अर्थात् कथा सुन्दर हुनु आवश्यक छ । कथाको संरचनात्मक टाँचा सुन्दर छैन भने रूपविन्यासको कुनै अर्थ हुँदैन । त्यसैले सुन्दर संरचनामुक्त कथाले सुन्दर रूपविन्यासको माग गर्दछ । वस्तुतः सुन्दर संरचनाका साथमा सुन्दर रूपविन्यासमा आवेष्ठित कथाहरूमा मैले उसको नाम स्वस्तिका राखिदिएँ, युद्धकालकी आमा, मछलीवाला, सङ्कटकाल, औँसीको रात, बादल भित्र, अर्थात् टीकारामहरू, बम डिस्पोजल, सहिद आमासँगको भेट, घाम झुल्किनुअघि, सङ्कल्प यात्रा आदि रहेका छन् । त्यसो त विद्रोहका ज्वालाहरू, होलेरी, प्रतिशोध, भत्केको घर आदि कमजोर रूपविन्यास भएका कथा पनि यहाँ छन् ।

भङ्गीपूर्ण कथन शैली वा सिपका कारण पनि कथाले कलात्मक बान्की प्राप्त गर्छ । सामान्यतया कथामा समाख्यानात्मक, संवादात्मक, तथा आत्मकथनात्मक प्रवाहशील शैलीको प्रयोग हुने गर्दछ । प्रस्तुतिमा मिठास र आकर्षण भयो भने जुनसुकै शैलीले पनि कथालाई सुन्दर बनाउँछ । यहाँ विश्लेषण गरिएका कथामध्ये बम डिस्पोजल र बहिर्गमन शीर्षकका कथा आत्मकथनात्मक प्रवाहशील शैलीमा प्रस्तुत छन् भने विद्रोहका ज्वालाहरू र नयाँ वस्ती शीर्षकका कथा संवादात्मक शैलीमा प्रस्तुत छन् । अन्य सबैजसो कथा समाख्यानात्मक शैलीमा प्रस्तुत भएका छन् । प्रस्तुति शैलीका कोणबाट हेर्दा बम डिस्पोजल, बहिर्गमन, सङ्कल्प यात्रा, अर्थात् टीकारामहरू, युद्धकालकी आमा मछलीवाला, सपना र डायरी, शीर्षकका कथा सुन्दर छन् ।

प्रारूपीकरण प्रक्रिया साहित्यका सबैजसो विधामा अपरिहार्य मानिन्छ । यो कला तथा विचार निर्माण दुवैसँग सम्बन्धित छ । कथालाई केकस्तो गन्तव्यतर्फ डोर्‍याउने भन्ने कुराको निर्धारण प्रारूपीकरण प्रक्रियाले गर्दछ । उदात्त विचारको सम्प्रेषणका लागि सोहीअनुरूपको सुन्दर प्रारूप कथा स्रष्टाले निर्माण गर्दछ भने विचारको भ्रष्टीकरण गर्दा भद्दा एवं कुरूप प्रकृतिको प्रारूपको सहारा लिएको हुन्छ । उही वा उस्तै विषयको चयन कथामा भए पनि वस्तुलाई हेर्ने दृष्टिकोणअनुरूप प्रारूपीकरण योजना बनाइन्छ । वस्तुतः जनयुद्धलाई नै कथाको विषयप्रसङ्ग बनाउँदा एकथरि कथाकारले यसको उदात्तीकरण गर्नु र अर्काथरी कथाकारले भ्रष्टीकरण गर्नुका पछाडि प्रारूपीकरण योजनाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । कथामा प्रारूपीकरण प्रक्रिया कथानक, पात्र, परिवेश, भाषा, प्रस्तुति शैली रूपविन्यास लगायत सबैजसो उपकरणमा आकर्षित हुन्छ । यहाँ विश्लेष्य कथाहरूमध्ये युद्धकालकी आमा, मछलीवाला, मैले उसको नाम स्वस्तिका राखिदिएँ, सङ्कल्प यात्रा, बादलभित्र, सहिदको सालिक, अर्थात् टीकारामहरू बम डिस्पोजल आदि शीर्षकका कथा प्रारूपीकरण प्रक्रियाका सुन्दर दृष्टान्त हुन् ।

  • निष्कर्ष

२०५२ सालदेखि आरम्भ भएको जनयुद्ध ऐतिहासिक आवश्यकता एवं वर्ग सङ्घर्षको उच्चतम अभिव्यक्ति थियो । सबै प्रकारका उत्पीडनबाट उन्मुक्ति प्राप्त गर्ने उद्देश्यअनुरूप थालिएको जनयुद्धपञ्चात् घटनाक्रमहरू अघि बढ्दै जाँदा सामाजिक राजनीतिक जीवनका विभिन्न आयामसँगै कला–साहित्यमा पनि त्यसको प्रभाव पर्नु स्वाभाविक थियो । यही प्रभावस्वरूप समकालीन नेपाली कथामा पनि जनयुद्धको प्रतिविम्बन हुन थाल्यो । अद्यापि जनयुद्धको प्रभावस्वरूप कथा सिर्जनप्रक्रियाले निरन्तरता समेत पाइरहेको छ ।

पाठकीय दृष्टिले प्रभावशाली विधा कथामा जनयुद्धको प्रतिविम्बन गर्ने सन्दर्भमा पुरानो पुस्ताका कथाकारसँगै नयाँ पुस्ताका कथाकारहरू कथा लेखनमा सक्रिय रहे । त्यही सक्रियताका कारण जनयुद्धको प्रतिविम्बन भएका झन्डै तीनदर्जन बढी कथासङ्ग्रह प्रकाशित भएका छन् भने कति कथा त विभिन्न पत्रपत्रिकामा छरिएर रहेका पनि छन् । जनयुद्धको प्रक्रियाद्वारा आविर्भाव भएको सौन्दर्यबोधी चेतनाका कारण समकालीन नेपाली कथामा जनयुद्धको प्रतिविम्बन भएको पाइन्छ । 

जनयुद्धको प्रतिविम्बन भएका समकालीन कथाको कलात्मक आयामको अनुशीलन तथा मूल्याङ्कनका लागि पच्चिसवटा कथाको चयन गरिएको छ । जनयुद्धको प्रतिविम्बन भएका समकालीन कथाको कलात्मक आयामको अनुशीलन गर्दा प्रथमतः कथाकलाको निर्मितीमा महत्त्वपूर्ण भूमिका खेल्ने कथानक, पात्र, परिवेश दृष्टिबिन्दु तथा भाषालाई आधार बनाइएको छ । त्यस्तै कथाकलाको निर्माणमा सुन्दर बान्की प्रदान गर्ने प्रारूपीकरण प्रक्रिया रूपविन्यास तथा कथनशैलीका कोणबाट पनि कथाको अनुशीलन गरिएको छ । जनयुद्धको प्रतिविम्बन भएका समकालीन कथा वस्तुसौन्दर्यले मात्र होइन रूप सौन्दर्यले पनि वेष्ठित छन् । युद्ध कठोर मात्र हुँदैन, कोमल पनि हुन्छ, युद्धले आतङ्क मात्र होइन आनन्द पनि प्रदान गर्छ, युद्ध कुरूप मात्र हुँदैन सुन्दर पनि हुन्छ, युद्ध अर्थहीन मात्र होइन अर्थपूर्ण पनि हुन्छ र युद्ध रहर–लहडको उपज नभई बाध्यताको उपज हो र ऐतिहासिक आवश्यकता हो भन्ने समकालीन कथाको कथ्यवस्तुलाई आफूभित्र समाहित गर्ने कलात्मक युक्ति र चातुर्य अनुकरणीय रहेको छ । यसको तात्पर्य जनयुद्धको प्रतिविम्बन गर्ने सबै कथा अब्बल छन् भन्ने होइन तर समानान्तर धाराका श्रष्टा/समालोचकले भन्ने गरेजस्तो ती ‘नारा’ र ‘कुरा’मा सीमित छैनन्, कथाकालाका लोभलाग्दा दृष्टान्त पनि बनेका छन् । त्यस्तो दृष्टान्त बनेका कथाहरूमा युद्धकालकी आमा, मैले उसको नाम स्वस्तिका राखिदिएँ, मछलीवाला, सङ्कल्पयात्रा, औँसीको रात, सहिदको सालिक, अर्थात् टीकारामहरू, बादलभित्र, बम डिस्पोजल आदि रहेका छन् । त्यस्तै सङ्कटकाल, सहिद आमासँगको भेट, फूलमती घर फर्कनै पाइन, घाम झुल्किनुअघि, बुन्दै गरेको डोकोमा नबुनिएका सपनाहरू, नयाँ वस्ती, युद्धको भुमरी, लिम्बुनी आमै आदि पनि कथाकलाका दृष्टिले सुन्दर कथा छन् । यिनका अतिरिक्त केही कथा भने कथाकलाका दृष्टिमा केही कमजोर रहेका छन् । केही अपवादबाहेक जनयुद्धको प्रतिविम्बन गर्ने समकालीन कथा संरचनागत सुंगठन, प्रारूपीकरण प्रक्रिया, प्रस्तुतिशैली र लालित्यमय रूपविन्यासका दृष्टिले सुन्दर सृजना हुन्, कथाकलाका सुन्दर साक्ष्य हुन् ।

  • सन्दर्भ सामग्रीसूची

किरण (२०६५). नेपाली समाज र संस्कृति : एक सङ्क्षिप्त अध्ययन. काठमाडौँ : सृजनशीन प्रकाशन प्री.लि ।

चैतन्य (२०६४). क्रान्ति र सौन्दर्य. काठमाडौं : प्रगतिशील अध्ययन केन्द्र ।

पाण्डेय, ताराकान्त (२०६६). ‘सौन्दर्यचिन्तन तथा समालोचनामा जनयुद्धको प्रभाव’, कलम. १८ः३. पृ.२८–३९ ।

पौडेल, गोपीन्द्र (२०७९). कथा परिशीलन. काठमाडौँ : भुँडीपुुराण प्रकाशन ।

प्रचण्ड (२०६३). संस्कृति कला र सौन्दर्यचिन्तन. काठमाडौं : अखिल नेपाल जनसांस्कृतिक सङ्घ ।

बराल, ऋषिराज (२०६६). सत्ता र संस्कृति. काठमाडौंः अक्सफोर्ड इन्टरनेशनल प्रा.लि ।

भट्टराई, गोविन्दराज र विष्णुविभु घिमिरे (२०६३). द्वन्द्व र युद्धका कथा. काठमाडौं : डा. गोविन्दराज भट्टराई ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा.गोपीन्द्र पौडेल
प्रा.डा.गोपीन्द्र पौडेल
लेखकबाट थप