शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
‘अब सिलिकन भ्यालीको पछाडि दौडिने समय सकियो’
डिपसिकका संस्थापकको अन्तर्वार्ता

‘अब सिलिकन भ्यालीको पछाडि दौडिने समय सकियो’

शनिबार, ०२ चैत २०८१

हालै सिलिकन भ्यालीमा ठुलो उथलपुथल मच्चियो । एआई र प्रविधिको क्षेत्रमा अमेरिकी प्रभुत्वलाई चुनौती दिँदै चीनको उदयसँगै यस क्षेत्रमा स्पष्ट रूपले परिवर्तनका धाँजाहरू देखिन थालेका छन् । यसबिच विश्वभरका मानिसले चीनतर्फ हेरिरहेका छन् । जनवरी २०२५ मा डिपसिक–आर वन चिनिया एआई फर्म डिपसिकले नयाँ खाले ओपन–सोर्स इन्फरेन्स मोडेल ल्यायो । जम्मा ६ मिलियन अमेरिकी डलर लागतमा उसले बनाएको मोडेलले विश्व बजारमै भूकम्प ल्याई दियो । यसबाट मेटा, गुगल र माइक्रोसफ्ट जस्ता अरबौँ डलर सम्पत्ति भएका कम्पनीहरूले स्पष्ट चुनौती महसुस गरे ।

तर, डिपसिकले भने आफूलाई अझै परिष्कृत गर्न धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताएको छ । एआईको भविष्य सिलिकन भ्यालीमा नकोरिएर विश्वका अन्य कुनै देशमा कोरिन थाल्यो भने के होला ? यस्ता विषय जान्नका लागि डिपसिकका संस्थापक लियाङ वेनफेङसँग चिनिया सञ्चारमाध्यम एन योङले सन् २०२४ को अन्त्यतिर चिनिया भाषामा साक्षात्कार गरेको थियो । हामीले यो अन्तर्वार्ता द चाइना एकेडमीमा अंग्रेजीमा प्रकाशित साक्षात्कारलाई अनुवाद गरी नेपाली पाठकमाझ पस्केका छौँ ।

  • डिपसिकको ‘भी–टू’ मोडेल सार्वजनिक भएलगत्तै एआईको संसारमा हलचल पैदा भएको छ । यसले तुरुन्तै एआईका ‘लार्ज मोडेल’ को बजारमा मूल्य युद्ध सुरु गराइदियो । केही मानिस त तपाईँले बजारमा उथलपुथल ल्याई दिएको भनिरहेका छन् के भन्नु हुन्छ ?

हामीलाई त उथलपुथलकारी हुनु नै थिएन । यो त यत्तिकै दुर्घटना जसरी हुन पुग्यो ।

  • यस्तो परिणामबाट तपाईँ स्वयं आश्चर्यमा पर्नु भएको हो ?

पक्कै पनि ! हामीलाई त मूल्यको कुरा यति साह्रो संवेदनशील हुन्छ भन्ने लागेकै थिएन । हामी त आफ्नै पारामा काम गरिरहेका थियौँ । उत्पादन लागत हिसाब गर्ने र त्यही आधारमा थोरै नाफा राखेर मूल्य तोक्ने गरेको हो । हाम्रो सिद्धान्त नै घाटामा पनि नजाने अनि ज्यादा नाफा पनि नलिने भन्ने हो । हामीलाई अहिलेको मूल्यले हाम्रो लागत भन्दा सामान्य नाफा दिन्छ ।

  • तपाईँको उत्पादनको मूल्यले बजारमा हंगामा सुरु गरेको पाँच दिनमै ‘झिप्पु एआईले’ मूल्य घटायो । त्यसलगत्तै बाइटडान्स, अलिबाबा, बैडु र टेनसेन्टले पनि मूल्य घटाउन थाले । मूल्य घटाउने त लहर नै पो चल्यो त ?

‘झिप्पु एआई’ ले आफ्नो न्यून श्रेणीको उत्पादनमा मूल्य घटाएको हो । उनीहरूको मुख्य मोडेल त अझै महँगै छ । बाइटडान्स चाहिँ हाम्रो हाराहारी मूल्यमै आइपुगेको पहिलो कम्पनी हो । त्यसले अरू कम्पनीलाई पनि मूल्य घटाउन दबाब सिर्जना भयो । ठुला कम्पनीका मोडेलको लागत पनि हाम्रो भन्दा धेरै छ । हामीले त उनीहरू यसरी घाटामै गएर पनि मूल्य घटाउन तयार हुन्छन् होला भन्ने सोचेका थिएनौँ । इन्टरनेट युगको घाटामा पनि बजार हिस्सा हासिल गर्न व्यापार गर्ने तरिका अन्ततः अहिले पनि लागु भएरै छाड्यो ।

हामी बाहिरका मान्छेले हेर्दा त मूल्य घटाउने भनेको त प्रायः धेरै भन्दा धेरै प्रयोगकर्ताहरू आकर्षित गर्न गरिन्छ । अज इन्टरनेट युगको प्रतिस्पर्धामा त यस्तो झन् व्यापक पाइन्छ । हाम्रो हकमा अलि फरक छ । हाम्रो प्रमुख उद्देश्य बढिभन्दा बढी प्रयोगकर्ता तान्नु थिएन । हामीले नयाँ–पुस्ताको मोडेल संरचना खोज्दै गर्दा यसको लागत आफै कम भयो । फेरी हामी एआई र एपिआई दुवै सेवा सर्वसुलभ र सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यता राख्छौँ । 

  • यो भन्दा अघिसम्म त सबैजसो चिनियाँ कम्पनीहरू एप्लीकेसनहरू बनाउनका लागि ‘एल.एल.ए.एम.ए.’ मोडेल नक्कल गर्ने गर्थे । तपाईँले त ‘मोडेल स्ट्रक्चर’ को प्रयोग गर्नुभयो । यस्तो किन ?

त्यसो गर्नुका पछाडि केही कारण छन् । यदि हामी कुनै एप्लिकेसन बनाउन चाहन्छौँ तथा छिटो कुनै चीज बाहिर ल्याउन खोज्दैछौँ भने ‘एल.एल.ए.एम.ए.’ को संरचना प्रयोग एकदमै गज्जबको रोजाई हो । तर, हाम्रो लक्ष्य एजीआई अर्थात् आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स हो भने हामीले सीमित स्रोत साधनबाट उच्चकोटीको नतिजा हासिल गर्न हामीलाई नयाँ मोडेल संरचना नै चाहिन्छ ।

यो खासमा गुणात्मक वृद्धिको आधारभूत अनुसन्धान हो । हामी यसको ‘आर्किटेक्चर’ मा मात्रै सीमित नरहेर यसले गर्ने तथ्यांकको प्रशोधन, व्यवस्थापन तथा मान्छेले जस्तै गर्ने तार्किक क्षमताबारे पनि केन्द्रित भयौँ । यो कुरा तपाईँले ख्याल गरेर हेर्नु भयो भने हाम्रो मोडेलमा पनि भेट्न सक्नुहुन्छ । एल.एल.ए.एम.ए. लाई तालिम गराउँदाको दक्षता तथा यसले अनुमान गर्न लाग्ने लागत अहिले विश्वमा चलेका नवीनतम मापदण्डहरू भन्दा लगभग दुई पुस्ता नै पछाडि छ ।  

  • यस्तो सिङ्गै पुस्ता नै फरक हुने कुरा कहाँबाट आउँछ ?

पहिलो कुरा मोडेललाई तालिम दिने कुराको दक्षतामै फरक हुन्छ । हाम्रो अनुमानमा चीनका अब्बल मोडलहरूले पनि विश्वस्तरीय मोडेलसँग बराबर हुनका लागि आफ्नो क्षमता लगभग दोब्बर गर्नैपर्ने हुन्छ । हाम्रोमा अझै संरचनागत तथा त्यस्ता संरचनाको तालिमको क्षमता कमजोर नै छ । हाम्रो ‘डाटा’ सम्बन्धी दक्षता पनि पछाडि नै छ । यसको अर्थ हामीलाई ‘डाटा’ र त्यसको प्रशोधन क्षमता पनि दोब्बर नै चाहिएको छ । यी सबै मिलाउँदा हामीले चार गुणा क्षमता बढाउनु छ । हाम्रो उद्देश्य भनेको निरन्तर क्षमता बढाउनु नै हो ।

  • प्रायः चिनियाँ कम्पनीहरू मोडेल र एप्लिकेसन दुबैमा लागेका छन् तर डिपसिक चाहिँ अनुसन्धानमा मात्रै ध्यान केन्द्रित गरिरहेको देखिन्छ । यस्तो किन ?

हो । किनभने हामीलाई लाग्छ अहिले सबै भन्दा महत्त्वपूर्ण कुरा भनेको आफूलाई विश्वव्यापी नवप्रवर्तनको दौडमा सामेल गराउनु हो । वर्षौँदेखि चिनियाँ कम्पनीहरू अन्यत्र विकास भएका प्राविधिक आविष्कारबाट फाइदा उठाउन र त्यसबाट कसरी हुन्छ पैसा कमाउनमा धेरै उद्धत छन् । यो दिगो काम होइन । हाम्रो लक्ष्य चाहिँ तत्काल छिटो नाफा होइन । हामी यसको समस्त प्रणालीकै दायरा फराकिलो बनाउनका लागि गर्नुपर्ने प्राविधिक काममा ध्यान दिँदै छौँ ।

  • इन्टरनेट अझ भनौँ मोबाइल इन्टरनेटको युगमा अमेरिका नवप्रवर्तनमा अगाडी छ भन्ने मानिन्छ । यता चीन भने त्यसलाई दैनिक जीवनमा प्रयोगका तरिकामा अब्बल छ भन्ने मानिन्छ । कुरा के हो ?

मलाई लाग्छ आफ्नो आर्थिक विकाससँगै चीनले अरूको आविष्कारबाट फाइदा लिने मात्रै गर्न छोडेर आफूलाई अघि बढाउनै पर्छ । यसले आफूलाई बिस्तारै लाभार्थीबाट योगदानकर्तामा परिवर्तन गर्नुपर्छ । गएको तीन दशकमा विश्वमा भएको आईटी क्रान्तिको अवधिमा भएका प्रमुख प्राविधिक नवप्रवर्तनमा हाम्रो उपस्थिति एकदमै दुर्लभ छ ।

हामी अझै मूरको नियम भनिने ‘राम्रो हार्डवेयर र सफ्टवेयरका लागि १८ महिना पर्खनु पर्छ’ भन्ने मान्यतामा अभ्यस्त छौँ । स्केलिङको नियमको हकमा पनि हाम्रो अवस्था त्यस्तै छ । यी प्रगतिहरू पश्चिमाहरूको अगुवाइमा व्यापक प्रविधि खोजकर्ताहरूको पुस्तौँ पुस्ताको अथक मेहनतका परिणाम हुन् । हामी यस प्रक्रियामा सक्रिय रूपमा संलग्न हुन सकेनौँ । त्यसैले गर्दा पनि अहिले हामीलाई यसको महत्त्व राम्रोसँग बोध हुन नसकेको देखिन्छ ।

  • डिपसिकको दोस्रो संस्करण अर्थात् ‘भी–२’ ले सिलिकन भ्यालीलाई आश्चर्यमा पारिदियो । यस्तो किन भयो त ?

अमेरिकामा हरेक दिन भइरहेका नवप्रवर्तनहरूको तुलनामा यो खास कुनै नयाँ कुरा होइन । उनीहरू आश्चर्यमा पर्ने कारण चाहिँ अब चिनियाँहरू पनि नवप्रवर्तनकै दुनियाँमा आइपुगे भन्नेमा छ । हिजोसम्म अरूको आविष्कार पछ्याइरहेका चिनियाँहरू अब अरूलाई पछ्याउन छाडेर आफै निर्माणमा लाग्न थाले भनेर आश्चर्यमा परेका हुन् ।

  • तर, यता चीनको सन्दर्भमा त अझै विशुद्ध नवप्रवर्तनमा ध्यान दिने कुरा सामान्य भइसकेकै छैन । ठुला मोडेलहरू बनाउन धेरै खर्चिलो हुन्छ । सबै कम्पनीले यसो गर्न सजिलो पनि छैन । व्यवसायसँग नजोडिई यसो गर्न अप्ठेरो छ हैन र ?

हो नवप्रवर्तनको काम निस्सन्देह महँगो काम हो । हामी यस अघि विद्यमान प्रविधिमै खेल्दै आएका हौँ । यसका पछाडि चीनको विकासको स्तर पनि जोडिन आइपुग्छ । हामी विकासको सुरुवाती अवस्थामा थियौँ । तर, आज चीनको अर्थतन्त्रको आकार धेरै ठुलो भएको छ । ‘बाइट डान्स’ तथा ‘टेनसेन्ट’ जस्ता कम्पनीको नाफा उल्लेख्य रूपमा बढेको छ । हामीलाई अहिले पुँजीको समस्या छैन । अब हामीलाई प्रतिभावान् व्यक्तिहरूलाई कसरी प्रभावकारी नवप्रवर्तनमा जोड्ने भन्ने कुराको समस्या छ ।

  • किन यस क्षेत्रका हाम्रा ठुला साहुहरू पनि नवप्रवर्तन भन्दा व्यापारीकरण मै ध्यान दिइरहेका छन् ?

तीन दशकदेखि नै हामी नवप्रवर्तनको सट्टा नाफामा लागेका हौँ । नवप्रवर्तन केवल व्यापारिक विषयमा मात्रै पर्दैन । यसलाई त उत्सुकता र सृजनशील आकांक्षा दुवै चाहिन्छ । अहिले हामी आफ्नो त्यही आदतको शिकार भएका छौँ । तर त्यो एउटा चरण हो । सधैँ त्यस्तै हुँदैन ।

  • डिपसिक पनि व्यापारिक संस्था नै हो । तपाईँ यसैगरी आफ्नो नवप्रवर्तनलाई ‘ओपन सोर्स’ गर्दै जानुभयो भने त्यसलाई तपाईँका प्रतिस्पर्धीले सजिलै नक्कल गर्न सक्छन् । अनि तपाईँलाई फाइदा चाहिँ कसरी हुन्छ त ?

यस्ता अत्याधुनिक र आमूल रूपान्तरणकारी प्रविधिको क्षेत्रमा ‘क्लोज्ड सोर्स’ भन्ने कुरा खिइँदै जाँदै छ । च्याटजीपीटी निर्माता अमेरिकी कम्पनी ‘ओपन एआई’ का मोडेलहरू नै अरूले भेट्टाउनबाट रोक्न अब गाह्रो छ । त्यसैले हाम्रो फाइदा आफ्नो टिम बढाउनुमा छ । सीप र क्षमता बढाउनुमा छ ।

सीप र कौशल बढाउँदै जाने हो । नवप्रवर्तनको संस्कार विकास गर्दै लाने हो । ‘ओपन सोर्सिङ’ र अनुसन्धानात्मक प्रकाशनहरूले सधैँ ठुलो घाटा गराउँछन् भन्ने हुँदैन । प्रविधिकर्मीका लागि आफूमा आफैलाई निरन्तर खोजिराख्ने मान्छे थप्दै जानु धेरै ठुलो कुरा हो । ‘ओपन सोर्स’ व्यावसायिक कुरा मात्रै होइन यो आफैमा एउटा उन्नत संस्कृति पनि हो । आफूले सबै थोक लिने मात्रै होइन । फिर्ता गर्नु पनि प्रशंसनीय काम हो । यसले प्रतिभाहरू आकर्षित गराइरहन्छ ।

  • आधारभूत एआईले अनुसन्धान भन्दा पनि तत्कालको व्यापारलाई प्राथमिकता दिनुपर्ने वकालत गर्ने झु सिहोउ जस्ता मानिस– एजीआईलाई अव्यवहारिक भनिरहेका छन् ।  यस्ता बजारबाट चल्ने खालका विचारहरूप्रति तपाईँको प्रतिक्रिया के छ ?

झु सिहोउको तर्क अल्पकालिक फाइदा खोज्नेहरूको हकमा मिल्छ । तर, दिगो रूपमा नाफा कमाउने अमेरिकी कम्पनीहरू दीर्घकालीन अनुसन्धान र विकासको जगमा बनेका हुन ।

  • डिपसिकको त्यसो दीर्घकालीन लक्ष के छ त ?

हामीलाई लाग्छ चीन एआईको क्षेत्रमा सधैँ पछुवा रहिरहन सक्दैन । हामी प्रायः चीन र अमेरिकाको एआईबिच एक वा दुई वर्षको मात्रै अन्तर छ भन्ने गर्छौ । यो फरक एक वा दुई वर्षको मात्रै नभएर सक्कली र त्यसको नक्कल गर्ने बिचमा छ । यो शृङ्खला नफेर्ने हो भने चीन सधैँ यस्तै पछुवा रही रहन्छ । केही नयाँ गर्नुपर्ने अनिवार्य भइसकेको छ ।

धेरै घरेलु चिपहरू असफल हुन्छन् किनभने तिनीहरूसँग सहयोगी प्राविधिक समुदायहरूको अभाव छ र दोस्रो हात अन्तर्दृष्टिमा भर पर्छन्। कसैले सीमामा पाइला चाल्नु पर्छ । प्रविधि कम्पनी ‘एनभिडिया’ को दबदबा उसको एकल प्रयासले मात्रै स्थापित भएको होइन । यसको पछाडि अर्को–पुस्ताको प्रविधि बनाउन तयार भएको साझा कार्ययोजना र तथा समस्त प्राविधिक ‘इकोसिस्टम’ छ । चीनलाई अब त्यस्तै ‘प्राविधिक इकोसिस्टम’ चाहिएको छ । चीनमै बनाएका धेरै ‘चिप्सहरू’ सहयोगी प्रविधि समुदायको अभावमा असफल हुने गरेका छन् । मौलिक ज्ञानको अभावले समस्या सिर्जना गरेको छ । अब कसैले त हिम्मत गरेर अगाडी जानै पर्छ ।

  • तपाईँ अहिले ओपन–सोर्सको कुरा गर्नुहुन्छ । सुरुमा त च्याटजीपीटी बनाउने कम्पनी ओपन एआई पनि यस्तै आदर्श कुरा गर्थ्यो । पछि ओपन एआई नाफा कमाउन थाल्यो । तपाईँ पनि भविष्यमा त्यसै गरी नाफा कमाउनेमा लाग्ने त होला ?

हामी ‘क्लोज्ड–सोर्स’ मा जाने छैनौँ । हामी मजबुत प्रधौगिकी इकोसिस्टम बनाउनुपर्छ भन्नेमा विश्वास गर्छौँ ।

  • लगानी जम्मा गर्ने बारे के सोच्नु भएको छ ? सञ्चार माध्यमहरूमा आएका रिपोर्ट अनुसार त आइपिओ जारी गर्न खोजिँदै छ भन्ने पनि छ । सिलिकन भ्यालीमा त यस्ता कम्पनीहरू ठुला लगानीकर्तासँग मिल्न गएको देखिन्छ । तपाईँको त्यस्तो सोच छ कि छैन ?

तत्काल त्यस्तो कुनै योजना छैन । हामीलाई पैसा कहिल्यै चुनौती जस्तो लागेन । बरु उच्च गुणस्तरका इलेकट्रोनिक चिप्सहरूमा लागेको प्रतिबन्धले असर गरेको छ ।

  • धेरै जनाको तर्क के छ भने ‘आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स’ भनिने उच्च स्तरको एआईको विकासका लागि सशक्त सहकार्य तथा पारदर्शिता चाहिन्छ । तर, ठुलो लगानी चाहिँ अलि गोप्यतामा फस्टाउँछ भनिन्छ । तपाईँ के ठान्नुहुन्छ ?

लगानी बढाउँदैमा त्यहाँ नवप्रवर्तन बढ्छ नै भन्ने हुँदैन । यदि त्यस्तो हुन्थ्यो भने त ठुला प्रविधि कम्पनीहरूले नवप्रवर्तनमा एकाधिकार कायम गरिसकेका हुन्थे ।

  • डिपसिकको ‘अपरेसनल’ क्षमता कमजोर भएकै कारण तपाईँले यसको एप्लिकेसनहरू नबनाउनु भएको हो ?

अहिले हाम्रो अवस्था भनेको प्राविधिक नवप्रवर्तनको चरण हो । तत्काल यसको उपयोग गरेर बनाइने ‘एप्लिकेसन’ को बाढी ल्याउने बेला भएको छैन । हामी दीर्घकालमा हाम्रो उत्पादन र प्रविधि उत्पादन गर्ने उद्योगहरूको ‘इकोसिस्टम’ खडा गर्न चाहन्छौँ । अरूले हाम्रा मोडेलमा आधारित भएर ‘बिजनेस–टु–बिजनेस’ तथा ‘बिजनेस–टु–कन्जुमर’ सेवा विकास गर्छन ।

हामी भने आधारभूत अनुसन्धानमै केन्द्रित हुन्छौँ । यदि उद्योगहरूको त्यस्तो शृङ्खला बन्यो भने हामी आफैले एप्लिकेसनहरू बनाउनुपर्ने आवश्यकता नै पर्दैन । आवश्यक पर्दा त हामी आफै बनाउन पनि नसक्ने होइनौँ । तर, हाम्रो मूल ध्यान भनेकै अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनेछ ।

  • उपभोक्ताहरूले अन्य ठुला प्रविधि कम्पनीका उत्पादन छोडेर डिपसिककै ‘एपीआई’ किन रोज्ने त ?

अबको भविष्य पक्कै पनि खास विशिष्टीकृत श्रम विभाजनको हुन्छ । आधारभूत एआई मोडेलको लागि निरन्तर नवप्रवर्तन चाहिन्छ । तर, यस्तो मामिलामा ठुला कम्पनीहरूको सीमा हुन्छ । उनीहरूको विशेषताले आउने समयको माग पुरा गर्न सक्दैन ।

  • तर, प्रविधि एक्लैले प्रतिस्पर्धात्मक क्षमतामा त्यस्तो फरक ल्याउन सक्छ त ? तपाईँ आफैले खासमा ‘गोप्य’ भन्ने केही हुँदैन भन्नु भएको छ !

हो ! गोप्य भन्ने हुँदैन । तर, त्यसलाई देखेपछि पनि नक्कल गर्न त समय र लागत दुवै लाग्छ । ‘एनभिडिया’ को ’ग्राफिकल प्रोसेसर युनिट’ मा त्यस्तो खास गुप्त चमत्कार केही छैन । तर, पनि त्यस बराबर बनाउनलाई त सहकार्य गर्ने मजबुत समूह चाहिन्छ । मुख्य समस्या त्यहाँ हुन्छ ।

  • तपाईँले आफ्नो उत्पादनको मूल्य घटाइदिएपछि अर्को कम्पनी ‘बाइट डान्स’ ले पनि घटायो । यसले उनीहरू झस्किए जस्तो देखियो । यसरी ‘स्टार्टअप’ र ठुला स्थापित कम्पनीबिचको प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ ?

साँच्चै भन्ने हो भने हामीलाई यस्तो कुनै मतलब छैन । मूल्य घटाउने भनेको त हामीले आफूले काम गर्दै गर्दा आएको नतिजा हो । ‘क्लाउड सर्भिस’ उपलब्ध गराउने हाम्रो लक्ष्य होइन । हाम्रो लक्ष्य त ‘आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स’ हासिल गर्ने हो । अहिलेसम्म हामीले यसको कुनै ठुलो समाधान भेटेका छैनौँ । ठुला कम्पनीका आफ्ना प्रयोगकर्ता छन् । तर, उनीहरू त्यस्ता कम्पनीको कमाइको अतिरिक्त स्रोत बनिरहेका हुन्छन् । यसले पनि नयाँ कम्पनीको जबरजस्त उपस्थिति निम्त्याई दिन्छ।

  • चीनमा अहिले विद्यमान छ वटा मुख्य एआई कम्पनीहरूको भविष्य कस्तो छ ?

मेरो विचारमा दुई देखि तीनवटा सम्म टिक्छन् होला । सबै अहिले पैसा कमाउने ध्याउन्नमा छन् । जसको प्रस्ट लक्ष छ तथा अनुशासनपूर्वक सञ्चालित छन् तिनीहरू मात्रै जोगिन्छन् । अरू त बाहिरिनेछन् । तर जे भए पनि यसको मूल्य भने कायम रहन्छ । त्यो फरक स्वरूपमा रहन भने सक्छ ।

  • प्रतिस्पर्धाको कुरा गर्दा चाहिँ तपाईँको दर्शन के हो ?

म हाम्रो अनुसन्धान वा उत्पादनले सामाजिक दक्षता बढाउँछ कि बढाउँदैन भन्ने हेर्छु । औद्योगिक मूल्य शृङ्खला कायम गर्छ कि गर्दैन भन्ने हेर्छु । अन्तिम लक्ष भनेको दक्षता नै हो । अरू कुरा भनेको क्षणिक हुन । कुनै अवस्थामा आउँछ र हराउँछन् । यस्ता कुरामा धेरै ध्यान दिन खोज्दा अन्योल मात्रै हुन जान्छ ।

  • ओपन एआईका एक जना पूर्व प्रमुखले त डिपसिकले ‘केही रहस्यमय’ मान्छे भाडामा लिएर डिपसिक को ‘भी–२’ अर्थात् पछिल्लो संस्करण बनायो भन्दै छन् । को हुन तिनीहरू ?

यहाँ कोही त्यस्तो ‘रहस्यमय मान्छे’ छैन । सबै भर्खर विश्वविद्यालयको पढाई सकेका विद्यार्थी वा पढ्दै गरेका विद्यार्थी छन् । यी थोरै अनुभव भएका मान्छेले काम गरिरहेका छन् ।

  • ठुला एआई कम्पनीहरू संसारभरबाट प्रतिभावान् व्यक्ति भेला पार्छन् । केही मान्छेका अनुसार त संसारका मुख्य ५० एआईबारे प्रतिभावान् व्यक्ति त चिनियाँ कम्पनीमा काम गर्दैनन् भन्दैछन् । तपाईँको त्यस्तो प्रतिभावान् समूह कहाँ बाट आउँछ त ?

डिपसिकको ’भी–२’ त पूर्ण रूपमा चीनकै प्रतिभाहरूको काम हो । संसारका ५० उत्कृष्ट प्रतिभा आजको दिनमा चीनमा पक्कै नहुन सक्छन् । हाम्रो लक्ष्य तिनीहरूलाई यही हुर्काउने हो ।

  • ‘मल्टी–हेड लाटेन्ट एनेन्टस (एमएलए)’ भनिने खास प्रकारको नवप्रवर्तनको अभ्यास गर्नु भएको छ । हामीले सुने अनुसार यो विचार सुरुमा कुनै एक जना युवा अनुसन्धानकर्ताको व्यक्तिगत रुचिबाट आएको हो भन्ने छ । खास यस्तो नवीन प्रयोग कसरी आयो ?

हो । आजसम्मका खास खास ‘एटेन्सन आर्किटेक्चर’ को अध्ययन गरेर तिनीहरूको विकासको ढाँचाबारे बुझ्दा उहाँलाई एक्कासि वैकल्पिक प्रकारको डिजाइनको प्रेरणा आएछ । तर, त्यसलाई मूर्त रूप दिन धेरै थोक चाहिन्थ्यो । यसका लागि त लामो यात्राको जरुरत पर्थ्यो । हामीले त्यही टिम बनायौँ । महिनौँको मेहनतपछि त्यसलाई वास्तविकतामा ढाल्न सक्षम भयौँ ।

  • यस्तो खालको मौलिक सृजनशीलता र तपाईँहरूले अभ्यास गर्ने गरेको तेर्सो सांगठनिक संरचनासँग सम्बन्धित जस्तो देखिन्छ । आफ्नो कम्पनीमा तपाईँले ठाडो खालको सांगठनिक संरचना अभ्यास गर्न रोक्नु भयो । तर, ‘आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स’ त असाध्यै अन्योलपूर्ण र उच्च प्रतिस्पर्धात्मक क्षेत्र हो । यस्तो क्षेत्रमा तपाई यस्तै सांगठनिक अभ्यास जारी राख्न सक्नुहुन्छ त ?

डिपसिक पूर्णतः तलबाट माथि जाने खालको (बटम–अप) सांगठनिक संरचनामै रहन्छ । हामी हाम्रो संस्थामा कसैलाई यो गर त्यो गर भन्दैनौँ । स्वाभाविक श्रम विभाजन चल्छ त्यहाँ । हरेकले आफ्नै मौलिक अनुभव र विचार ल्याउँछन् । उनीहरूलाई दबाब दिनु पर्दैन । उनीहरूलाई जब अप्ठेरो अनुभव हुन्छ उनीहरू अरूलाई छलफलमा बोलाइ हाल्छन् । जब कुनै काम लाग्ने खालको विचार देखा पर्छ हामी त्यसलाई कार्यान्वयन गर्न माथिबाट तल जाने (टप डाउन) शैली प्रयोग गर्छौँ ।

  • व्यक्तिको भूमिका र स्रोत साधनको वितरणमा पनि डिपसिकले असाध्यै सहज विधि अपनाउँछ भन्ने सुनिन्छ । कुरा के हो ?

स्रोत साधन तथा समूहका सदस्यको पहुँचमा कुनै सीमा राखिएको छैन । कसैको दिमागमा केही नयाँ विचार आयो भने उसले सहजै हाम्रो ‘ट्रेनिङ क्लस्टर’ मा पहुँच राख्न सक्छ । कुनै अनुमति पनि पर्खनु पर्दैन । साथै हाम्रो कुनै त्यस्तो कठोर सांगठनिक पदानुक्रम पनि छैन । विभागहरूको बिचमा रोकावट पनि छैन । आफ्नो आपसी रुचि अनुसार जोसुकैसँग सहकार्य गर्न पाइन्छ ।

  • तपाईँ असाध्यै प्रतिभावान् मान्छे भर्ती गर्नुहुन्छ । तर, व्यवस्थापन यति खुकुलो छ । कसरी त्यस्ता प्रतिभा खोज्ने र टिकाउने गर्नुहुन्छ ?

हाम्रो संस्थामा मान्छे भर्तीको नीति मूलतः जिज्ञासा, रुचि र जोसमा भर पर्ने खालको छ । हाम्रा धेरै जसो सदस्यहरू पृथक् र गज्जबको पृष्ठभूमिबाट आएका छन् । उनीहरूलाई अनुसन्धानको रहर पैसाले नाप्न सकिन्न । उनीहरूको चासो तलब वा पैसामा नभएर आफ्नो रहर पुरा गर्नेमा छ ।

  • ‘ट्रान्सफर्मर’ गुगलको एआई ल्याबबाट जन्मियो । च्याटजीपीटी ओपन एआईले ल्यायो । यी कर्पोरेट एआई ल्याबले ल्याएका उत्पादन भए । तपाईँहरू स्टार्टअपबाट अघि बढ्दै हुनुहुन्छ । के फरक छ यी दुई शैलीमा ?

चाहे गुगल होस्, ओपन एआई वा चीनकै ठुला प्रविधि कम्पनी नै किन नहुन । तिनीहरूले आफ्नो उत्पादनका लागि धेरै थोक उपलब्ध गराएका छन् । ओपन एआईको हकमा त त्यो एक हदसम्म ऐतिहासिक संयोग पनि थियो ।

  • भने पछि नयाँ कुरा पत्ता लाग्ने वा बन्ने कुरा मूलतः संयोगमै भर पर्ने हो ? हामीले सुने अनुसार तपाईँको कार्यालय अलि फरक प्रकारले बनाइएको छ । त्यसका ढोकाहरू पनि बाहिर–भित्र दुवै तिरबाट खुल्ने खालका छन् । तपाईँका समकक्षीहरूका अनुसार त्यस्तो डिजाइन गुगलको ट्रान्सफरमरको झल्को दिने गरि ‘संयोग’ को खोजी गर्ने गरि बनाइएको छ । जहाँ हरेक कोठाको छेउबाट हिँड्ने व्यक्तिले त्यहाँ हुने छलफल सुन्न सक्छ । तथा त्यसको सहायतामा आम ढाँचा बनाउन सजिलो बनाउँछ । के तपाई संयोग खोजिरहनु हुन्छ ?

मेरो विचारमा नवप्रवर्तन मूलतः विश्वासको मामिला हो । यसमा विश्वासको सबैभन्दा ठुलो भूमिका हुन्छ । सिलिकन भ्याली किन यति धेरै नवप्रवर्तनकारी भयो त ? किनभने उनीहरू प्रयास गर्न पटक्कै डराउँदैनन् । जब च्याटजीपीटी आयो चीनमा मान्छेहरू हरेस खान थाले । अब हामी पार लगाउँदैनौ कि के हो भन्न थाले । यो आधारभूत र अत्याधुनिक अनुसन्धान हाम्रो वशमा छैन जस्तो कुरा हुन थाल्यो । लगानीकर्तादेखि मुख्य प्रविधि कम्पनीसम्मले अमेरिका र चीनमा धेरै ठुलो खाडल अनुभव गरे । उनीहरू बरु यसका एप्लिकेसन बनाउनेमै लाग्ने होला भन्न थाले । यसरी त नवप्रवर्तन हुँदैन । नवप्रवर्तनलाई त हिम्मत चाहिन्छ । त्यो हिम्मत युवाहरूमा हुन्छ । हामी त्यसैको संयोजन गर्छौँ ।

  • अरू एआई कम्पनीहरू त लगानी, सहयोग तथा मिडिया चर्चा खोजिरहेका हुन्छन् । डिपसिक त चुपचाप बसेको देखिन्छ । यसरी कसरी एआईमा काम गर्नेहरूको रोजाइमा परिरहन सक्नुहुन्छ त ?

हामीलाई अरू कुराको चिन्ता छैन । हामी त अप्ठेरो समस्या सुल्झाउन लागेका छौँ । सबैभन्दा प्रतिभावान् व्यक्तिका लागि सबैभन्दा लोभ लाग्दो काम भनेकै संसारको सर्वाधिक कठिन समस्या सुल्झाउने अवसर पाउनु हो । खासमा चीनका सबैभन्दा राम्रा प्रतिभाको अवमूल्यन भएको छ । नवप्रवर्तन कम हुँदा यस्तो भएको हो । हामी उनीहरूले जे खोज्छन् त्यही दिन्छौँ । हाम्रो तरिका यही हो ।

  • अमेरिकी कम्पनी ओपन एआईको पछिल्लो कार्यक्रममा जीपीटी–५ देखिएन । धेरैले यसलाई उसको प्रगति धिमा भएको अनुमान गरे । केहीले त यसको फैलावटको नियममै प्रश्न गरे । तपाईँलाई के लाग्छ ?

हामी आशावादी हौँ । यो उद्योगको प्रगति आशातीत नै छ भन्ने लाग्छ । जहाँसम्म ओपन एआईको कुरा छ । त्यो कुनै दैविक शक्तिवाला समूह त होइन । त्यसले सधैँ अगुवाइ गर्न पनि सकिँदैन ।

  • हामीले ‘आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स’को चर्चा धेरै सुन्छौ । त्यो कहिले हासिल हुन्छ होला ? तपाईँहरूको कार्ययोजना के छ ?

यसलाई दुई–पाँच वा दस वर्ष लाग्न सक्छ । केही समय पक्कै लाग्न सक्छ । तर हाम्रो जीवनकालमै हासिल हुन्छ । कार्ययोजनाबारे हाम्रो कम्पनीमै पनि एकमत छैन । हामी त्यही शैलीले काम गर्दैछौँ । पहिलो, गणित र कोडिङ हो । यसले ‘एजीआई’ हासिल गर्न आधार दिन्छ । दोस्रो, ‘मल्टिमोडालिटी’ हो । यसले एआईलाई वास्तविक जीवनबाट सिक्न सघाउँछ । र, तेस्रो हो हामीले बोल्ने भाषा, मान्छेको जस्तो बुद्धि बनाउन यसले आधारभूत रूपमा सघाउँछ । हामी सबै सम्भावनालाई खुला राखेर बढिरहेका छौँ ।

  • ठुला एआई मोडलहरूको भविष्य कस्तो छ त ?

अब आधारभूत मोडेल र सेवा उपलब्ध गराउने केही विशिष्ट कम्पनीहरू हुनेछन् । उनीहरूको फराकिलो र विशिष्टीकृत मूल्य शृङ्खला हुनेछ । यी आधारमा टेकेर समाजको आवश्यकता पुरा गर्न धेरै कम्पनीहरू आउने छन् ।

  • बितेका केही वर्षमा चीनमा पनि ठुला एआई मोडेल बनाउने कम्पनीहरूमा धेरै फेरबदल आएको छ । जस्तै वाङ हुइवेन भनिने असाध्यै क्रियाशील कम्पनी आधा बाटोमै बाहिरियो । नयाँ कम्पनीहरू पनि आफूलाई पृथक् बनाउँदै छन् । यस्तो किन हुँदैछ ?

वाङ हुइवेनको इमान्दारिताको म प्रशंसा गर्छु । उनले सबै घाटा एक्लैले व्यहोरेर अरूलाई सकुशल बाहिर निस्किन दिए । उनको निर्णय उनको आफ्नै लागि प्रतिकुल भए पनि बाँकी सबैका लागि फाइदाजनक थियो ।

  • तपाईँ अहिले आफ्नो सबै ध्यान कता लगाउँदै हुनुहुन्छ ?

मेरो खास ध्यान अर्को पुस्ताको ठुलो एआई मोडेलको अनुसन्धानमा केन्द्रित छ । त्यहाँ अझै सुल्झाउन बाँकी धेरै समस्या छन् ।

  • अन्य धेरै जसो एआई कम्पनीहरू मोडेल विकास गर्ने र त्यसको प्रयोग गर्दै एप्लिकेसन बनाउने दुवै कामलाई सन्तुलित बनाउँदै अघि बढ्दैछन् । प्रविधिको क्षेत्रमा त कोही अघि बढ्दा सधैँ अगाडी हुँदैन । डिपसिक चाहिँ ढुक्क सँग विशुद्ध अनुसन्धानमै लागेको छ । तपाईँको मोडेल अझै कमजोर छ कि के हो ? किन यस्तो गर्नुहुन्छ ?

सबै रणनीतिहरू यत्तिकै आएका हुँदैनन् । ती विगतको अनुभवको आधारमा बनेका हुन्छन् । भविष्यका रणनीतिको हकमा पनि त्यही लागु हुन्छ । एआईको भविष्यमा हुने नाफाको तुलना इन्टरनेट युगको व्यावसायिक तर्कसँग हुबहु मिल्दैन । यसो गर्दा हामी टेनसेन्ट कम्पनीको सुरुका दिनलाई कोका–कोला वा जेनेरल इलेक्ट्रिकसँग तुलना गरेजस्तै असान्दर्भिक तुलनामा पुग्छौँ। यो त गए गुज्रेको शैली हुन्छ । हामीले समयसँगै रणनीतिहरू पनि नयाँ बनाउनुपर्छ ।

  • तपाईँहरूलाई लगानी गरिरहेको कम्पनी हुवाफेङको प्राविधिक र नवप्रवर्तनमा बलियो पृष्ठभूमि छ । यसको वृद्धि पनि सहज देखिन्छ । त्यसले गर्दा तपाईँहरू ढुक्क देखिनुभएको होला ?

केही हदसम्म त हुवाफेङले प्रविधि केन्द्रित नवप्रवर्तनमा हाम्रो आत्मविश्वास बढाएकै हो । तर सबै कुरा त्यसले गरेको भन्न मिल्दैन । सबै ठिक ठाक भएको भन्न पनि मिल्दैन । हामी लामो प्रक्रिया पार गरेर आएका हौँ । मान्छेले हामीलाई प्रायः सन् २०१५ पछिको मात्रै देख्छन् । तर, हामी त गएको १६ वर्षदेखि काम गरिरहेका छौँ ।

  • मौलिक आविष्कारको कुरा गर्दा सुस्त हुँदै गरेको अर्थतन्त्र तथा धिमा हुँदै गरेको पुँजीको समयमा यस्ता आधारभूत अनुसन्धान र विकासले नरोक्ला र ?

त्यो त यसै भन्न सकिन्न । चीनको औद्योगिक क्षेत्र पुनर्संरचना हुँदैछ । बिस्तारै यो क्षेत्र गम्भीर प्राविधिक नवप्रवर्तनमा भर पर्दै जानेछ । जब तत्काल नाफा हुने खालका अवसर हराउँदै जान्छन् । पक्कै पनि धेरैले नवप्रवर्तन अँगाल्न थाल्नेछन् ।

  • त्यसो भए तपाईँ आशावादी नै हुनुहुन्छ ?

हेर्नुस् म सन् १९८० ताका ग्वाङदोङको पाँचौँ तहको सहरमा हुर्किएको हुँ । मेरो बुवा प्राथमिक विद्यालयमा पढाउनु हुन्थ्यो । सन् ९० को दशकमा ग्वाङदोङमा पैसा कमाउन धेरै अवसर थिए । धेरै अभिभावकहरू हाम्रो घरमा आएर पैसा कमाउन छोडेर पढेर बस्नुको अर्थ छैन भन्ने गर्थे । तर, अहिले फर्केर हेर्दा परिस्थिति धेरै फेरिएको छ । अहिले पैसा कमाउन त्यो बेला जस्तो झनै सजिलो छैन । ट्याक्सी चलाउँछु भन्न पनि अहिले सजिलो छैन । एकै पुस्तामा धेरै कुरा फेरिएका छन् । पक्कै पनि अब सबै कुरा उस्तै रहँदैनन् ।

विशुद्ध नवप्रवर्तन भविष्यमा बढ्दै जानेछ । अहिले धेरै जसो मानिसहरूले यसलाई राम्रोसँग बुझेका छैनन् । किनभने सिङ्गै समाजले यथार्थबाट सिक्ने हो । जब समाजले गम्भीर खालको प्राविधिक नवप्रवर्तनमा लागेका मान्छेको सम्मान गर्न थाल्छ त्यसबेला आमधारणा पनि पक्कै फेरिनेछ । हाम्रो काम भनेको अझै राम्रा कामको उदाहरण प्रस्तुत गरिरहने हो । र, त्यो प्रक्रियालाई सहजीकरण गरिरहने हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया