शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म

शुक्रबार, ०१ चैत २०८१, २३ : ५५
शुक्रबार, ०१ चैत २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिको बैठक निर्णयविहिन 
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन समितिको बैठक अनिर्णित बनेको छ। स्वयम्भूमा रहेको होटल बज्रमा बसेको त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिको बैठक अनिर्णित बनेको हो ।

२. प्रचण्डको संगीत आरोप
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको नाम नलिई तर उनलाई लक्षित गरेर एकसाथ दुई वटा संगीन आरोप लगाएका छन् । उनले पूर्वराजालाई लक्षित गरेर २०५८ सालमा भएको ‘दरबार हत्याकाण्डको मास्टरमाइन्ड’ र ‘मूर्ति चोर’ भएको गम्भीर आरोप लगाएका हुन्। नेकपा माओवादी केन्द्र मेलम्ची नगर समिति, सिन्धुपाल्चोकको नगर सम्मेलन तथा जागरण सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्ता बदनाम संस्था फेरि फर्किन सम्भव नरहेको बताए ।

३. पर्यटनमन्त्री पाण्डेविरुद्ध उजुरी
नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाइँले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन् । बजगाइँले मन्त्री पाण्डेविरुद्ध तीनवटा आरोप लगाउँदै बुधबार उजुरी दिएका हुन् । पाण्डेले संविधान र पार्टी सिद्धान्तको उल्लंघन गरेको, पार्टी विधानको उल्लंघन तथा राष्ट्र र लोकतन्त्रप्रति गैरजिम्मेवार अभिव्यक्ति दिएको बजगाइँको आरोप छ ।

४. पार्टी एकता
रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सीके राउत नेतृत्वको जनमत पार्टीबीच एकताका लागि औपचारिक रूपमा प्रक्रिया अगाडि बढेको छ । दुवै पार्टीमा आन्तरिक विवाद देखिएका कारण एकता प्रक्रिया अगाडि बढ्छ कि बढ्दैन भन्ने अन्योल भने कायमै छ । यद्यपि जनमत पार्टीले हालै बसेको केन्द्रीय समितिको बैठकबाट उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा वार्ता समिति गठन गरिसकेको छ ।
दुवै पार्टीबिचको एकता प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाएको जनमत पार्टीले जनाएको छ ।

५. स्ववियु निर्वाचन
नेपाल विद्यार्थी संघ (नेविसंघ)को आन्तरिक विवादका कारण त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रभावित भएको छ । नेविसंघभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहको गुटबन्दी छ । एउटै संगठनका दुई समूहबीच विवाद हुँदा कतिपय क्याम्पसमा तालाबन्दी गरिएको छ भने कतिपयमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न सकेको छैन ।

६. लोडसेडिङको खतरा
नेपाललाई भारतले आइतबारदेखि ६५४ मेगावाट बिजुली सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) मात्रै दिने भएको छ । नेपालमा भारतबाट १२ घण्टा मात्रै बिजुली आयात गर्ने पाउने भएपछि रातको समयमा लोडसेडिङ हुने अवस्था देखिएको हो । भारतसँग भएको सम्झौता अनुसार मार्च १६ तारिखदेखि १२ घण्टाभन्दा बढी समयमा बिजुली दिन नसक्ने जानकारी गराएको विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बिहान ६ बजे देखि साँझ ६ बजेसम्म मात्रै बिजुली खरिद गर्न पाउने भएपछि आइतबारदेखि औद्योगिक क्षेत्रमा रातभर लोडसेडिङ हुने अवस्था देखिएको छ ।

७. नयाँ ब्याजदर
चैत महिनाका लागि करिब एक दर्जन बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ महिनाको ब्याजदर तालिका अनुसार यो महिना लागि केही बैंकले ब्याजदर बढाएका छन् । केही बैंकले स्थिर राख्दा केही बैंकको ब्याजदर घटाएका छन् ।

८.विभाजित नाडा
टोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल विभाजित हुँदा अटो क्षेत्रको सबैभन्दा ठुलो प्रदर्शनी नाडा अटो शो नै संकटमा परेको छ । अटोमोबाइल्स व्यवसायीबिचको आन्तरिक विवाद र लडाइँको कारण आगामी अटो शो संकटमा पर्ने देखिएको हो । लामो इतिहास बोकेको नाडा गत फागुन ९ गते आधिकारिक रूपमा दुई टुक्रा भएको थियो । कम्पनी रजिस्ट्रार कार्यालयमा नाफा वितरण नगर्ने गरी नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) दर्ता भइसकेको छ ।

९. लगानी स्वीकृत
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा साढे ४४ अर्ब बढी लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागको तथ्यांक अनुसार यो वर्षको साउनदेखि फागुन मसान्तसम्म ४२७ कम्पनीबाट ४४ अर्ब ६६ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

१०. खुल्यो मौसम
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण बिहीबार साँझ काठमाडौँमा हल्का वर्षा भयो भने बुधबार पनि हावाहुरीसहित सामान्य वर्षा भएको थियो । लामो समयदेखि वर्षा नहुँदा तुवाँलोले ढाकिएको काठमाडौँको मौसम शुक्रबारदेखि खुलेको छ । काठमाडौंमा तुवाँलो खासै देखिएको छैन भने वायु प्रदूषणको स्थितिमा पनि सुधार आएको छ ।

११. नयाँ यातायात विधेयकको तयारी
बदनियत साथ सवारी दुर्घटना गराइ कुनै पनि व्यक्ति अङ्गभङ्ग भएमा चालकलाई हुने कैद तथा सजाय घटाउने गरी विधेयक ल्याउने तयारी भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजाय परिमार्जन गरेको हो । विधेयकको मस्यौदालाई वेबसाइटमा प्रकाशित गरी मन्त्रालयले सरोकारवालासँग सुझाव माग गरेको छ ।

१२. बुढानीलकण्ठ स्कुलमा छात्रवृत्तिको अवसर
राजधानीको बुढानीलकण्ठ स्कुलले छात्रवृत्तिमा पढ्ने अवसर प्रदान गर्नका लागि दरखास्त आह्वान गरेको छ । बुढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा समेत सहभागी विद्यालयहरूमा कक्षा ५ देखि आवासीय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालबालिकाहरूमध्येबाट छात्रवृत्ति छनोटका लागि दरखास्त आह्वान भएको शिक्षा मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?