शुक्रबार, ०१ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्ववियु निर्वाचन

नेविसंघमा गुटबन्दीका कारण स्ववियु निर्वाचन प्रभावित

शुक्रबार, ०१ चैत २०८१, २० : १६
शुक्रबार, ०१ चैत २०८१

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को आन्तरिक विवादका कारण त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रभावित भएको छ ।

नेविसंघभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहको गुटबन्दी छ । एउटै संगठनका दुई समूहबिच विवाद हुँदा कतिपय क्याम्पसमा तालाबन्दी गरिएको छ भने कतिपयमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न सकेको छैन ।

नेविसंघभित्रकै विवादका कारण त्रिवि केन्द्रीय क्याम्पस, शंकरदेव क्याम्पस, पद्मकन्या, पब्लिक युथ क्याम्पस, विश्वभाषा लगायतका क्याम्पसहरूमा नेविसंघले उम्मेदवार तय गर्न सकेको छैन ।

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले तालाबन्दी गरेको छ । केन्द्रीय क्याम्पसमा नेविसंघको तर्फबाट स्ववियु अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ भने दुई जनामध्ये नेविसंघ केन्द्रीय कार्यालयको पत्राचारपछि निर्वाचन समितिले दिपकराज जोशीको उम्मेदवारी सदर गरेको थियो ।

त्यसपछि नेविसंघ त्रिवि सभापति विष्णु बडैला लगायतले निर्वाचन समितिको कार्यालयसमेत रहेको प्रिन्सिपल कार्यालयमा ताला लगाएको हो । नेविसंघकै एक पक्षको तालाबन्दीका कारण निर्वाचन समितिले न निर्वाचन प्रक्रिया अगाडि बढाउन सकेको छ, न त नेविसंघको आधिकारिक उम्मेदवार बनाउन सकेको छ ।

नेविसंघ त्रिवि सभापति बडैलाले त्रिवि समितिको तर्फबाट उम्मेदवारी दिएका अनोज कार्की आधिकारिक उम्मेदवार भएको दाबी गरे । तर, नेविसंघकै प्रवक्ता सुरज सेजुवालले जोशी आधिकारिक उम्मेदवार भएको दाबी गरे ।

‘केन्द्रीय कार्यसमितिको तर्फबाट दिपक जोशी आधिकारिक उम्मेदवार हुन् । हामीले त्यही अनुसार निर्वाचन समितिलाई पत्राचार गरेका थियौँ । त्रिवि समितिका साथीहरूबाट पनि दाबी गरिएको छ । यसमा छलफल भइरहेको छ । चाँडै निकास निस्किन्छ,’ सेजुवालले भने ।

त्रिवि सभापति बडैलाले भने आफ्नो नेतृत्वमै संगठन दर्ता भएको र सोही अनुसार आफ्नै सिफारिसमा कार्कीको उम्मेदवारी आधिकारिक भएको बताए ।

नेविसंघको केन्द्रीय कार्यालय र नेविसंघ त्रिवि समितिको अन्तरद्वन्द्वका कारण केन्द्रीय क्याम्पसको निर्वाचन प्रक्रिया नै प्रभावित बनेको छ । कडा सुरक्षा घेराका बिच विवाद समाधानको प्रयास भइरहेको छ ।

फागनु २७ गते उम्मेदवारी दिने समय सकिएपछि नाम सार्वजनिक गर्दा कार्कीको नाम निर्वाचन कार्यालयले सार्वजनिक गरेको थिएन । त्यसपछि सो समूहले प्रिन्सिपल कार्यालयमा ताला लगाएपछि कार्की समूहको पनि नाम राखेर सार्वजनिक गरिएको थियो ।

विवाद भएपछि मुख्य निर्वाचन अधिकृत प्रा.डा. कृष्णप्रसाद न्यौपानेको राजीनामा माग गरिएको छ ।

  • महेन्द्र मोरङमा निर्वाचन अधिकृतलाई थुनेर आगजानी

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा समेत नेविसंघकै कारण निर्वाचन प्रक्रिया प्रभावित बनेको छ । कांग्रेस नेता शेखर कोइराला निकट केही विद्यार्थी नेताहरूले स्ववियु निर्वाचन समितिको कार्यालयमा निर्वाचन अधिकृत डा. सुशीलकुमार अधिकारीलाई बुधबार मध्याह्न कोठामै थुनेर आगो लगाएका थिए । अधिकारीलाई कोठामा थुनेर विद्यार्थीहरूले बाहिरबाट तालाबन्दी गरेका थिए । त्यसको केही समयपछि प्रहरीको टोली पुगेर ताला फोडेर अधिकारीको उद्धार गरेको थियो ।

प्रहरीले आगजनी गर्ने विद्यार्थी नेताहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य योजराज दाहाल, पूजा विश्वास, जिल्ला सचिव गुड्डु साह र आयुष दाहाल लगायतका छन् ।

उनीहरूले आगजनी गर्नु र निर्वाचन अधिकृतलाई थुन्नुको कारण भने नेविसंघको आधिकारिकताको विवाद हो । महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनको लागि नेविसंघको दुई गुटले दर्ता गराएका थिए । तर, निर्वाचन समितिले मंगलबार राति केन्द्रले दिएको आधिकारिताको चिठी लिएर गएपछि देउवा पक्षबाट उम्मेदवार बनेका प्रज्वल विष्टको समूहलाई नै आधिकारिक मान्दै नाम सार्वजनिक ग¥यो । जसमा कोइराला समूहबाट उम्मेदवार बनेका नेविसंघका केन्द्रीय सदस्यसमेत योगराज दाहालको समूहलाई स्वतन्त्र प्यानलको मान्यता दिइयो । त्यसपछि आक्रोशित बनेका उनीहरूले निर्वाचन अधिकृत अधिकारीलाई थुन्ने र निर्वाचन कार्यालयमा आगो लगाउने काम गरेका हुन् ।

नेविसंघको दुई गुटको अराजकता यसअघि पनि देखिँदै आएको थियो । गत फागुन १५ गते नेविसंघको संस्थापन गुटले शेखर गुटका विद्यार्थी नेताहरूमाथि हातहतियारसहित आक्रमण गरेका थिए । नेविसंघका नेतासमेत रहेका क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेल, सचिव सनिम ठकुरी र नेविसंघकै सदस्यहरू महमद सलमानलगायतले नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई आक्रमण गरेका थिए ।

  • शंकरदेवमा छैनन् नेविसंघका आधिकारिक उम्मेदवार

शंकरदेव क्याम्पसमा समेत निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । तीन वटा विद्यार्थी संगठन नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेपछि यहाँ स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

स्ववियु कोषको दुरुपयोग गरी विद्यार्थी भर्ना गरिएको भन्दै तीन विद्यार्थी संगठनले फागुन २७ गतेदेखि तालाबन्दी गरेका हुन् । उनीहरूले शंकरदेव क्याम्पसमा स्ववियु अध्यक्ष सुशान्त बस्नेतले स्ववियुको कोष दुरुपयोग गरी विद्यार्थी भर्ना गरेको आरोप लगाएका हुन् ।

गरिब, पिछडिएका, अपाङ्ग तथा जेहन्दार विद्यार्थीको नाममा रहेको कोषबाट स्ववियु सभापति बस्नेतले चार सय भन्दा बढी विद्यार्थी भर्ना गरेको आरोप छ ।

हालका स्ववियु अध्यक्ष नेविसंघको तर्फबाट निर्वाचित भएका थिए । यहाँ नेविसंघकै आधिकारिक उम्मेदवारको टुंगो लागेको छैन ।

त्यस्तै पब्लिक युथ क्याम्पसमा समेत निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । एकातिर निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन भने अर्कोतिर नेविसंघले आधिकारिक उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

पद्मकन्या क्याम्पसमा समेत नेविसंघभित्र आधिकारिक उम्मेदवारको विषयमा विवाद छ ।

सरस्वती क्याम्पसमा पनि निर्वाचन प्रक्रिया पनि अघि बढेको छैन । यहाँ पनि नेविसंघको आधिकारिक उम्मेदवारको टुंगो लागेको छैन ।

नेविसंघ प्रवक्ता सुरज सेजुवालले उम्मेदवारको विवाद देखिएका कलेजहरूमा मिलाउने प्रयास भइरहेको बताए । उम्मेदवारको विषयलाइ लिएर बागी तथा स्वतन्त्र उम्मेदवारी दिने गरिएको बताउँदै प्रवक्ता सेजुवालले विवादरहित ढंगबाट उम्मेदवारको टुंगो लगाउने प्रयास भइरहेको जानकारी दिए ।

उम्मेदवारीमा चित्त नबुझाएपछि धेरैजसो कलेजमा नेविसंघको तर्फबाट बागी उम्मेदवारी परेको छ । त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघकै ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यस्तै अन्य कलेजहरूमा समेत नेविसंघकै तर्फबाट दुई वा सोभन्दा बढी उम्मेदवारी परेको छ । यस्ता कलेजमा चैत ५ गते निर्वाचन हुने सम्भावना नरहेको बताइन्छ ।

केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिले चैत ५ गते निर्वाचन हुन नसक्ने कलेजहरूमा १५ दिनपछि निर्वाचन गराउन सक्ने अधिकार दिएको छ । जसले गर्दा चैत ५ को मितिमा नभए पनि त्यसपछि निर्वाचन गराउन सकिनेछ । त्यही अनुसार निर्वाचन समितिहरूले विवाद समाधानको प्रयास थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?