शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
वायु गुणस्तर प्रतिवेदन

चाड बन्यो सन् २०२४ कै सर्वाधिक प्रदूषित देश, नेपाल सातौँ नम्बरमा

शुक्रबार, ०१ चैत २०८१, १९ : ४०
शुक्रबार, ०१ चैत २०८१

काठमाडौँ । हावाको गुणस्तर अनुगमन गर्ने स्विट्जरल्यान्डस्थित ‘आइक्यू एअर’ ले ‘विश्व वायु गुणस्तर प्रतिवेदन–२०२४’ सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार चाड सन् २०२४ कै सबैभन्दा बढी प्रदूषित मुलुक बनेको छ । उक्त सूचीको सातौँ नम्बरमा नेपाल परेको छ ।

नेपालमा डढेलो लाग्ने, कृषि अवशेष जलाउने, इँटा भट्टाबाट निस्काने धुवाँ, सवारी साधनका धुवाँ लगायतका कारण प्रदूषण बढ्ने गरेको छ । उक्त प्रतिवेदन अनुसार सहरका हिसाबले भारतको राजधानी नयाँ दिल्ली विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको छ । यो सूचीमा नेपालको संघीय राजधानी काठमाडौँ आठौँ स्थानमा छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु स्वास्थ्यकर मानिन्छ । एक्यूआई १०१ देखि १५० सम्मको वायु अस्वास्थ्यकर हुन्छ । यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वास्थ्यकर’ र त्योभन्दामाथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ । प्रतिवेदन अनुसार सन् २०२४ मा नेपालको औसत एक्यूआई ११९ छ ।

एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । डब्लुएचओको मापदण्डअनुसार पीएम–२.५ (रौँभन्दा तीन गुणा मसिना धुलो–धुवाँका कण) को मात्रा वार्षिक पाँच माइक्रोग्राम प्रतिघनमिटर नाघ्दा प्रदूषित मानिन्छ । यसले साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । यी कण वायुमण्डलमा मिसिएर प्रदूषित हुन्छ । सो प्रतिवेदनमा नेपालको हावामा धुलो–धुवाँकोे कण पीएम–२.५ सरदरमा ४२.८ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ । यसले धुलोधुवाँका मसिना कण नाक र मुखबाट सिधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

यस्तै, काठमाडौँको पीएम–२.५ सरदरमा ४५.१ माइक्रोग्राम प्रतिघनमिटर रहेको प्रतिवेदनमा उल्लेख छ । नेपाल लगायत विश्वका दश देशमा वायु गुणस्तर सबैभन्दा बढी खराब भएको सो प्रतिवेदनमा जनाइएको छ ।

वायु गुणस्तर विज्ञ डा. भुपेन्द्र दास वायु प्रदूषणले स्वास्थ्यमा दीर्घकालीन असर पर्ने बताउँछन् । ‘गुणस्तरीय हावा भएको ठाउँ नेपालमा भेट्न मुस्किल नै छ,’ उनले भने, ‘सबै ठाउँमा प्रदूषण फैलिएको छ । यसको बाउन्ड्री त छैन ।’

नेपालमा बर्सेनि ६ महिना वायु प्रदूषणको जोखिम हुने गरेको छ । नोभेम्बरदेखि अप्रिलसम्म नेपालमा वायु प्रदूषणको जोखिम रहन्छ । नेपालमा बर्सेनि करिब ३० लाख मेट्रिक टन कृषि अवशेष जलाइने डा. दासको भनाइ छ । यसले पनि वायु प्रदूषण बढाउने उनले बताए ।

यसका साथै, सवारी साधन, उद्योग, निर्माण कार्य लगायतका कारणले वायु प्रदूषण हुने डा. दासले जानकारी दिए । उनले वायु प्रदूषणको गुणस्तरसँग सम्बन्धित कार्ययोजना राजधानी केन्द्रितमात्रै नभइ स्थानीय तहसँगै समन्वय गर्नुपर्ने सुझाव दिए ।

‘काठमाडौँमा मात्रै वायु प्रदूषणको सचेतना वा कार्यक्रम गरेर परिवर्तन हुँदैन,’ उनले भने, ‘गाउँघरमा पनि बुझाउनु पर्छ, सिकाउनु पर्छ । तराईमा गोठमा लामखुट्टे भगाउनका लागि पराल जलाउँछन् । कृषि अवशेष जलाउने काम पनि उत्तिकै हुन्छ । यस्ता गतिविधिले प्रदूषण बढाउन मद्दत गर्छ ।’

पालिकास्तरमै वायु प्रदूषणबारे सचेतना फैलाउनु पर्ने डा. दासको सुझाव छ ।

वायु प्रदूषित १० मुलुक

स्वच्छ हावा हुनका लागि हावामा धुलो–धुवाँकोे कण पीएम–२.५ माइक्रोग्राम प्रतिघनमिटर भन्दा कम हुनु पर्छ । तर सो प्रतिवेदनमा विश्वका १३५ मुलुकको हावा धुलो–धुवाँकोे कण पीएम–२.५ माइक्रोग्राम प्रतिघनमिटर भन्दा धेरै रहेको देखाएको छ । त्यसमध्ये पनि नेपालसहित चाड, बंगलादेश, पाकिस्तान, कङ्गो, भारत लगायतका १० मुलुकको हावा अति प्रदूषित छ ।

प्रदूषणको मात्रा धेरै भएका शीर्ष १० मुलुकमा अफ्रिकी र दक्षिण–मध्य एसियाली मुलुक छन्  । अफ्रिकी मुलुक चाडको वायु प्रदूषणको मात्रा वार्षिक ९१.८ माइक्रोग्राम प्रतिघनमिटर छ । यो सूचीको दोस्रो नम्बरमा बंगलादेश छ । यहाँको वायु प्रदूषणको मात्रा वार्षिक ७८ माइक्रोग्राम प्रतिघनमिटर छ ।

यस्तै, तेस्रोमा पाकिस्तानमा छ । यहाँको वायु प्रदूषणको मात्रा वार्षिक ७३.७ माइक्रोग्राम प्रतिघनमिटर छ । सूचीको चौथोमा कङ्गो, पाँचौँमा भारत र छैटौँमा ताजकिस्तान छन् । यी मुलुकको वायु प्रदूषणको मात्रा वार्षिक क्रमशः ५८.२, ५०.६ र ४६.३ माइक्रोग्राम प्रतिघनमिटर छ ।

सातौँमा नेपाल छ । नेपालको वायु प्रदूषणको मात्रा वार्षिक ४२.८ माइक्रोग्राम प्रतिघनमिटर छ । आठौँमा रहेको युगान्डाको वायु प्रदूषणको मात्रा वार्षिक ४१ माइक्रोग्राम प्रतिघनमिटर छ । यस्तै नवौँमा रुवान्डा छ । यहाँको वायु प्रदूषणको मात्रा वार्षिक ४०.८ प्रतिघनमिटर रहेको प्रतिवेदनमा उल्लेख छ । दशौँ नम्बरमा रहेको बुरुन्डीमा वायु प्रदूषणको मात्रा वार्षिक ४०.३ माइक्रोग्राम प्रतिघनमिटर रहेको प्रतिवेदनमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?