मालदिभ्सका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन पहल, बन्यो समिति

काठमाडौँ । मालदिभ्सका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन पहलस्वरुप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संयुक्त समिति गठन गरेका छन् ।
इन्डोनेसियामा क्षेत्रीय स्वास्थ्य सम्मेलनमा सहभागी भएका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र मालदिभ्सका स्वास्थ्य मन्त्री अब्दुल्ला खलिलबीच गत असोज पहिलो साता त्यहाँका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने विषयमा कुराकानी भएको थियो ।
माल्दिभ्सले नेपालले वातावरण बनाएमा विद्यार्थी अध्ययन गर्न पठाउने बताए पछि मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिललाई चिकित्सा शिक्षाको द्विपक्षीय मान्यता तथा प्रवर्द्धनका उपायबारे सुझाव दिन आग्रह गरेका थिए । सोहीअनुसार काउन्सिलले दुवै देशको मापदण्डका आधारमा द्विपक्षीय सम्झौतापश्चात् विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन सकिने आशयको प्रतिवेदन दिएको थियो ।
सोही आधारमा मालदिभ्ससँग द्विपक्षीय सम्झौता गर्ने गरी तयारी गर्न मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुसाल संयोजक रहेको सात सदस्यीय समिति गठन गरेका हुन् । ‘नेपालमा कम्तीमा सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउने वातावरण बनाउन हामी प्रयत्नरत छौँ,’ उनले भने, ‘मालदिभ्सबाट सकारात्मक थालनी गर्ने योजना छ ।’
समितिमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा र गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख सदस्य छन् । यसैगरी नेपाल मेडिकल काउसिन्सलका रजिस्ट्रार,चिकित्सा शिक्षा आयोगका निर्देशक तथा सदस्य सचिव सदस्य रहने समितिमा चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखाका अधिकृत सदस्य सचिव रहने गरी तोकिएको छ ।
समितिले दुवै देशमा अवस्थित चिकित्सा शिक्षा मापदण्ड र मान्यताबारे विस्तृत समीक्षा गर्नेछ । यसैगरी, दुवै देशका मेडिकल काउन्सिलका मापदण्ड अध्ययन गरेर द्विपक्षीय सम्झौता तथा अन्त्यमा मन्त्रालयहरुबीच औपचारिक हस्ताक्षर गर्ने वातावरण तयार गर्न समितिलाई कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए ।
यससँगै अन्य सार्क राष्ट्रका चिकित्सा विद्यार्थीसमेत अध्ययन गर्ने वातावरण तयार हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा लेख्ने किशोर पक्राउ
-
सुदूरपश्चिम प्रदेश ‘क्याबिनेट’ निर्णय : लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन
-
विवाह बन्धनमा बाँधिए क्रिकेटर अविनाश
-
अभिनेता आर्यन अधिकारीले गरे अनिषासँग इन्गेजमेन्ट
-
बैंगलुरु र पञ्जाबको खेलमा वर्षा बाधक
-
भारत सरकारको सहयोगमा सुन्दरहरैँचामा विद्यालय भवनको शिलान्यास