शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

महाराजगन्ज नर्सिङ क्याम्पसको क्यान्टिन गत जेठदेखि बन्द, स्ववियु निर्वाचनको एजेन्डा नै बन्यो

शुक्रबार, ०१ चैत २०८१, १६ : २८
शुक्रबार, ०१ चैत २०८१

काठमाडौँ । महाराजगन्ज नर्सिङ क्याम्पसको क्यान्टिन गत जेठदेखि बन्द भएको छ । गुणस्तरीय खाजा नखुवाएको भन्दै स्ववियुले क्यान्टिनमा ताला लगाएपछि क्यान्टिन बन्द भएको हो ।

क्यान्टिन बन्द हुँदा ५०० भन्दा नर्सिङ पढ्दै गरेका विद्यार्थीहरू मर्कामा परेका छन् । उनीहरू खाजा खानका लागि बाहिर जाने गरेका छन् । 

विद्यार्थीहरूले गुणस्तरीय खाजा खुवाउनुपर्ने माग राखे पनि क्यान्टिन सञ्चालक र क्याम्पस प्रशासनले समेत उनीहरूको माग सुनुवाइ नगर्दा अहिलेसम्म क्यान्टिन खुल्न सकेको छैन । 

क्याम्पस परिसरभित्र रहेको सो क्यान्टिनले गुणस्तरीय खाजा नदिएको भन्दै स्ववियुले गत जेठ ९ गते क्यान्टिनमै तालाबन्दी गरेको थियो । भक्त चमेना गृहको नाममा सञ्चालन हुँदै आएको क्यान्टिनको सम्झौतासमेत २०८० पुस २३ गतेदेखि सकिएको थियो । यद्यपि क्यान्टिन सञ्चालन हुँदै आएको थियो । 

स्ववियु अध्यक्ष नोबिना बस्नेतले गुणस्तरीय खाजा खुवाउन पटकपटक आग्रह गर्दा समेत नखुवाएपछि बाध्य भएर ताला लगाइएको बताइन् । ‘हामीले गुणस्तरीय खाजा खुवाउनुपर्‍यो भनेर पटकपटक भनेका थियौँ तर, दिन प्रतिदिन गुणस्तरहीन खाजा दिने गरेपछि सम्पूर्ण विद्यार्थीको तर्फबाट स्ववियुले क्यान्टिनमा ताला लगाएको थियो,’ उनले भनिन् । 

तालाबन्दी गर्नुअघि विद्यार्थीहरूले आन्दोलन नै गरेका थिए । त्यसपछि क्याम्पस प्रशासनले सहजीकरण गरे पनि निष्कर्ष निस्कन सकेको थिएन । स्ववियुको तर्फबाट तालाबन्दी गरिएपछि भक्त चमेना गृहको तर्फबाट छानबिनको मागसहित उजुरी दिइएको थियो ।

विद्यार्थी र क्यान्टिन सञ्चालकबिचको विवाद उत्कर्षमा पुगेपछि क्यान्टिन सञ्चालक भक्त घलेले स्ववियुमाथि १० लाख रूपैयाँ माग गरेको आरोप लगाए । उक्त पैसा दिन अस्वीकार गरेमा क्यान्टिन बन्द गराइदिन्छु भन्ने धम्की दिइएको उनको भनाइ थियो । 

क्यान्टिन सञ्चालकको तर्फबाट विभिन्न निकायमा दिएको उजुरीमा समेत १० लाख पैसा दिन अस्वीकार गरेपछि क्यान्टिन बन्द गराएको उल्लेख छ । 

क्यान्टिन बन्द गराउनुअघि २०८१ वैशाख ११ गते स्ववियुले विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाएको थियो । नर्सिङ क्याम्पसको चमेना गृह भएता पनि नर्सिङ विद्यार्थीहरूलाई नै सेवा ढिला दिने गरेको, खाजाको मेनु कम भएको र मेनुमा समावेश खाजा नपाइने, मेनुमा पाइने खाजाको गुणस्तर कमजोर भएको, सरसफाइमा ध्यान नदिएको, विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा नराखी खाजा पकाउने ठाउँ नजिकै शौचालय रहेको भन्दै स्ववियुले ध्यानाकर्षण भएको जनाएको थियो । 

स्ववियुले बारम्बार क्यान्टिनको सरसफाइलाई लिएर आवाज उठाए पनि सरसफाइ र गुणस्तरमा ध्यान नदिएपछि बाध्य भएर ताला लगाइएको अध्यक्ष बस्नेतको भनाइ छ । 

त्यसअघि २०८० फागुन १० गते क्याम्पस प्रमुखलाई स्ववियुले अवधि सकिएको क्यान्टिन बन्द गरिदिन अनुरोध गर्दै निवेदन दिएको थियो । क्याम्पस प्रमुख तथा प्रशासनले क्यान्टिनको खाजाको गुणस्तरका विषयमा ध्यान नदिएपछि विद्यार्थीहरूको स्वास्थ्यलाई दृष्टिगत गरेर स्ववियुले नै बन्द गराएको उनको भनाइ छ । 

Maharajgunj Nursing Campus canteen bibad_Krishna (5)

लामो समयदेखि क्यान्टिन बन्द भएपछि महाराजगन्ज नर्सिङ क्याम्पसले २०८१ मंसिर ६ गते क्यान्टिन सञ्चालनका लागि टेण्डर आह्वान गरेको थियो । त्यसमा विभिन्न ७ वटा कम्पनीले टेण्डर हाले । तीमध्ये टेण्डर छनोट समितिले एमडी चमेना गृहको टेण्डर स्वीकृत गरेको थियो । 

त्यही बिचमा भक्त चमेना गृहले आफ्नो टेण्डर किन नपरेको भन्दै लिखित जवाफ माग गरेको थियो । सहायक क्याम्पस प्रमुख तथा सूचना अधिकारी अर्चना पाण्डेका अनुसार भक्त चमेना गृहलाई टेण्डर नपर्नुका कारणबारे लिखित जानकारी गराइएको थियो । 

अर्कोतिर भक्त चमेना गृहबाट आफूमाथि निराधार आरोप लगाइएको भन्दै स्ववियुले त्यसको छानबिनको माग ग¥यो । भक्त चमेना गृह र स्ववियुबिच उजुरी फिर्ता लिने र १० लाख रुपैयाँ मागेको आरोप लगाइएकोमा माफी माग्ने सहमति भएको थियो । 

स्ववियु अध्यक्ष बस्नेतले स्ववियुमाथि लागेको आरोप छानबिन नहुँदासम्म टेण्डर प्रक्रिया अगाडि बढाउन नहुने अडान लिएपछि सहमति भएको बताइन् । 

क्यान्टिनमा देखिएको विवादबारे अध्ययन गर्न गठित छानबिन समितिकी संयोजकसमेत रहेकी सहायक क्याम्पस प्रमुख पाण्डेले हाल टेण्डर परेकोसँग सम्झौता गर्ने अन्तिम तयारी भइरहेको बताइन् । 

‘पुरानो भक्त चमेना गृहका सञ्चालकले आफ्नो सामान लैजान मानिरहेको छैन । पुरानोले सामान नउठाइ नयाँलाई दिन सकिएको छैन । त्यसका लागि अहिले वडा कार्यालयबाट सामान उठाउन पहल भइरहेको छ,’ पाण्डेले भनिन् । 

स्ववियु निर्वाचनको एण्जेण्डा बन्यो क्यान्टिन  

यतिबेला स्वतन्त्र विद्यार्थी युनियनको चुनावी माहोल चलेको छ । यसका लागि नेविसंघको तर्फबाट विन्दु पोखरेलको अध्यक्षतामा स्ववियुको टिम बनेको छ । त्यस्तै अनेरास्ववियुको तर्फबाट मन कुमारी बुढाको नेतृत्वमा टिम बनेको छ । 

हालकी स्ववियु अध्यक्ष बस्नेत अनेरास्ववियुबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । यतिबेला नेविसंघले क्यान्टिन बन्द भएको विषयलाई स्ववियु निर्वाचनको एजेन्डा बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?