शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय
साताको सेयर

सातामा ८१.९५ अंकले घट्यो सेयर बजार, यस्तो छ घटबढको प्राविधिक सम्भावना

शुक्रबार, ०१ चैत २०८१, १७ : ००
शुक्रबार, ०१ चैत २०८१

काठमाडौँ । सेयर बजार परिसूचक एक सातामा ८१.९५ अंकले गिरावट आएको छ । सातामा चार दिनमात्रै कारोबार भएको बजारले सो बराबरको अंक गुमाएको हो । सात दिनसम्म घटेको बजार साताको अन्तिम कारोबार दिन अर्थात् बुधबार भने १७.१२ अंक बढेर बन्द भएको थियो । 

यो साता सेयर बजारमा ३३ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो औसत यो दैखिक औसत ८ अर्ब ४३ करोड रुपैयाँ बराबर हो र अघिल्लो महिना कुल ५१ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यो दैनिक औसत १० अर्ब २९ करोड रुपैयाँ बराबर हो । यो हिसाबले हेर्दा कारोबार रकममा करिब १८ प्रतिशत कमी आएको देखिन्छ । 

कारोबारसँगै कारोबार भएको सेयर संख्यामा २४ प्रतिशत र कारोबार संख्यामा भने ८ प्रतिशत मात्रै कमी भएको देखिन्छ । यो साता दैनिक औसत १ करोड ४३ लाख कित्ता सेयर कारोबार भएको छ । अघिल्लो साता दैनिक औसत १ करोड ८७ लाख कित्ता सेयर कारोबार भएको थियो । त्यस्तै, अघिल्लो साता दैनिक औसत ९८ हजार ९४९ वटा कारोबार भएकोमा यो साता घटेर ९१ हजार ३८५ मा झरेको नेप्सेको तथ्यांक छ । 

  • यस्तो छ प्राविधिक विश्लेषण 

यो साताको नेप्से परिसूचकले इन्भर्टेड ह्यामरको आकृति बनाएको छ । यसले बिक्रीमा चाप रहेको अवस्थालाई बुझाउँछ । सुरुमा खरिदकर्ता हाबी भएको जस्तो देखिए पनि अन्तिम समयमा बिक्रेताकै वर्चस्व देखिन्छ । सोही कारण यो साता बजारले रातो क्यान्डल बनाएको छ । यसले घट्दो दरको निरन्तरतालाई देखाउँछ । 

तर, अन्तिम दिनको अवस्थालाई तुलना गर्ने हो भने बजारले इन्भर्टेड ह्यामर सहितको हरियो क्यान्डल बनाएको देखिन्छ । यो अवस्थाले बजारमा सुधारको संकेत गर्छ । साप्ताहिक र दैनिक बजारको संकेत फरक फरक भएकोले बजारको सम्भावित गति अनिश्चित नै देखिन्छ । 

यो अवस्थामा बजारले बढ्दो ट्रेन्ड समातेको अवस्थामा २८०० विन्दुमा मात्रै अवरोध हुने देखिन्छ । त्योभन्दा माथि गएमा बजारले अपट्रेन्डको बाटो लिनसक्ने देखिन्छ । यसको विपरीत बजार घटेर २७०० अंकभन्दा तल पुग्यो भने त्यसपछिको सपोर्ट विन्दु क्रमशः २६५० र २६०० अंक देखिन्छ । योबीचमा हुने घटबढलाई भने बजारको सामान्य घटबढ (साइडवेज) मान्नसक्ने अवस्था देखिन्छ । 

  • यो साता बजारमा के के भए ? 

यो साता सेयर बजारमा दुई चर्चित कम्पनीको साधारणसभा स्थगित भएका छन् । पाटन उच्च अदालतको आदेशमा बजारकै सबैभन्दा धेरै बजार पुँजीकरण भएको विशाल बजार कम्पनीको साधारणसभा स्थगित भएको छ । उता, बजारमा धेरै मूल्य चलखेल हुने सिन्धु विकास बैंकको साधारणसभा कोरम नपुगेको भन्दै स्थगित गरिएको छ । सूचीकृत कम्पनीको साधारणसभा स्थगित हुनुलाई सेयर बजारमा अप्रत्याशित मानिन्छ । 

यो साता पहिलो पटक गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य घट्न थालेको छ । करिब २ हजारलाई छोएपछि उक्त कम्पनीको सेयरमूल्य बुधबार घटेर १९६१ रुपैयाँमा झरेको हो । यो साता यो साता पनि कारोबार रकममा भने पुनर्बीमा कम्पनीकै वर्चस्व देखिएको छ । एक साताभरमा हिमालयन रिइन्स्योरेन्स ३ अर्ब १ करोड २५ लाख रुपैयाँ तथा नेपाल पुनर्बीमा कम्पनीको २ अर्ब २३ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ । 

त्यसबाहेक माछापुच्छ्रे बैंकको प्रोमोटर सेयर, घलेम्दी हाइड्रोपावर, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स जस्ता सेयरहरू कारोबारका रकम तथा संख्या समेतका आधारमा अगाडि देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?