शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

आन्तरिक विवादका बिच होला त जनमत र नागरिक उन्मुक्तिबिच एकता ?

शुक्रबार, ०१ चैत २०८१, २१ : ००
शुक्रबार, ०१ चैत २०८१

काठमाडौँ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सीके राउत नेतृत्वको जनमत पार्टीबिच एकताका लागि औपचारिक रूपमा प्रक्रिया अगाडि बढाइएको छ । 

दुवै पार्टीमा आन्तरिक विवाद देखिएका कारण एकता प्रक्रिया अगाडि बढ्छ कि बढ्दैन भन्ने अन्योल देखिएको छ । यद्यपि जनमत पार्टीले हालै बसेको केन्द्रीय समितिको बैठकबाट उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा वार्ता समिति गठन गरिसकेको छ । 

दुवै पार्टीबिचको एकता प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाएको जनमत पार्टीले जनाएको छ । 

अहिले जनमत पार्टीभित्र पनि विवाद चलिरहेको छ । जनमत पार्टीले पार्टीका शीर्ष नेताहरूलाई कारबाहीस्वरुप निलम्बन गरेका कारण पार्टीभित्र द्वन्द्व चलिरहेको छ । त्यसले एकता प्रक्रियालाई प्रभावित पार्ने बताइएको छ । 

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीभित्र पनि विवाद चलिरहेको छ । पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबिचको विवादले एकता प्रक्रियालाई अप्ठ्यारोमा पार्ने देखिएको छ । अध्यक्ष श्रेष्ठ एकताको पक्षमा देखिएकी छैनन् । उनले जनमत पार्टीसँग एकीकरणबारे पार्टीमा कुनै छलफल नभएको बताइन् । 

एकताका लागि बाहिर जस्तो कुरा आए पनि अहिले पार्टीभित्र कुनै प्रक्रिया अगाडि नबढेको श्रेष्ठको भनाइ छ ।

सो पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य लालवीर चौधरीले पार्टी एकताको कुरा सकारात्मक रूपमा अगाडि बढे पनि पार्टीले आधिकारिक कुरा बाहिर ल्याउन बाँकी रहेको बताए । पार्टीका अध्यक्ष श्रेष्ठको असन्तुष्टि के हो, त्यो कुरा आफूलाई थाहा नभएको तर एकीकरणको बारेमा पार्टीले आधिकारिक निर्णय गर्ने उनले बताए । 

अध्यक्ष श्रेष्ठले चैत ८–९ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएकी हुन्, पार्टी एकीकरण लगायत हरेक विषयमा त्यही छलफल हुने बताउँदै नेता चौधरीले पार्टी एकीकरणलाई कसरी अगाडि बढाउने भन्नेबारे ठोस कुरा आउने बताए । 

पार्टी एकीकरणको बारेमा जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबिच पटकपटक छलफल भइसकेको छ । लगभग पार्टी एकीकरण गर्ने सहमति भइसकेको छ भने त्यसलाई औपचारिकता दिन वार्ता समिति गठन गरिएको छ । 

जनमत पार्टी स्रोतका अनुसार एकीकृत पार्टीको नाम जनमत पार्टी राख्ने र त्यसको चुनाव चिह्न ढकिया राख्ने सहमति भएको छ । ढकिया चुनाव चिह्न नागरिक उन्मुक्ति पार्टीको हो । पार्टीको अध्यक्ष सीके राउत रहने र त्यसको संरक्षक रेशम चौधरी रहने अहिलेसम्मको सहमति रहे पनि त्यसलाई फाइनल गर्न बाँकी रहेको जनमत पार्टीका एक नेताले बताए । 

वैचारिक रूपमा पनि दुवै पार्टीबिच कुनै मतभिन्नता छैन । राजनीतिक दस्ताबेजमा पनि दुवै नेताबिच लगभग सहमति भइसकेको छ । दुवै नेतालाई कसरी व्यवस्था गर्ने भन्नेबारे दुवै पार्टीबाट बन्ने वार्ता समितिले टुङ्गो लगाउने बताइएको छ । तर दुवै पार्टीभित्र रहेको आन्तरिक विवाद नै एकताका लागि चुनौती देखिएको ती नेताले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?