शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मनोरञ्जन

नेपाल आइडल रविको हिरोमा छलाङ

शुक्रबार, ०१ चैत २०८१, १६ : ००
शुक्रबार, ०१ चैत २०८१

काठमाडौँ । गायक रवि ओड अहिले आफ्नो पहिचान विस्तार गर्ने क्रममा छन् । त्यसैले सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’का विजेता उनको पछिल्लो समय गायन सक्रियता केही कमी आएको छ । बरु उनलाई फिल्मीको प्रचार प्रसार गर्दै हिँडेको देख्न सकिन्छ । उनी प्रचारप्रसारमा देखिएको फिल्म हो ‘द्रौपदी’ ।

चैत ८ देखि प्रदर्शन तयारीमा रहेको फिल्ममा उनी हिरोको रूपमा देखिँदैछन् । उनको यो अभिनयमा डेब्यु फिल्म हो । ‘डेब्यु फिल्ममै हिरोको भूमिका पाएपछि सफल बनाउन प्रचार प्रसारमा मिहिनेत त गर्नुपर्‍यो नि’ उनले भने, ‘फिल्मको कामले गायक सक्रियतामा केही कमी भएको हो ।’

ऋषिराज आचार्य निर्देशित फिल्ममा उनको अलवा निर्देशक आचार्य, आश्विनी शाही, सुजाता तिमिल्सिना, प्रकाश ज्ञवाली, कविराम भामलगायत कलाकारको समेत मुख्य भूमिका छ । फिल्ममा उनी ‘कुले’ नामको पात्रको भूमिका छन् । जो गाउँको सामान्य परिवारको सदस्य हो । ऊ ससानो कुरोमा रमाउँछ, सिक्पल र सहयोगी भएको उनले सुनाए ।

रविको फिल्मको हिरो बन्ने इच्छा कहिल्यै थिएन । तर सानैदेखि सहरमा भित्तामा फिल्मका पोस्टर टाँसेको देख्दा ती पोस्टरमा पनि आफ्नो फोटो भए हुन्थ्यो । ठुलो पर्दामा मानिसले आफूलाई हेरे हुन्थ्यो भन्ने उनलाई लाग्थ्यो । भित्री मनको इच्छा ‘द्रौपदी’ले पुर्‍याएको उनले बताए ।

हुन त जतिवेला उनी नेपाल आइडियल बने । त्यति नै वेला उनलाई एउटा फिल्ममा अभिनय गर्ने अफर आएको थियो । त्यो समय त निर्माताले उनकै कथामा बायोपिक फिल्म बनाउने अफर गरेका थिए । ‘अहिले मेरो बायोपिक बन्ने वेला भएको छैन’ भन्दै उनले टारिदिए । ‘द्रौपदी’को अफर भने उनले नकार्न सकेनन् ।

‘फिल्म खेल्ने इच्छा थियो । आफूले चाहेको उमेरै गर्नुपर्छ भन्ने लाग्यो’, उनले अगाडि भने ‘भोलि के हुन्छ, भन्न सकिन्नँ । अहिले ट्राई गरौँ भनेर पनि अभिनयमा होमिएको हो ।’ फिल्मको विषयवस्तु पश्चिम नेपालको र आफू पनि त्यही ठाउँको भएकाले अभिनय गरेको उनले सुनाए । भन्छन्, ‘अहिले खोल्न मिल्दैन, तर फिल्मको कथा पनि राम्रो छ । मेरो भूमिका पनि राम्रो छ ।’

482671291_508788798686931_2843909090546838596_n

‘द्रौपदी’ अभिनय तयारीका लागि उनले निर्देशककै अभिनय प्रशिक्षण केन्द्रबाट केही समय प्रशिक्षणसमेत लिए, वर्कसपमा बसे । जसले उनलाई अभिनयमा सजिलो भयो । फिल्म त खेले, रिलिज हुँदै गर्दा उनको मनमा एउटा डर छ यतिवेला, त्यो हो– हिरोका रूपमा दर्शकले स्विकार्छन् कि स्वीकार्दैनन् । आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेको कारण दर्शकले स्विकार्नेमा भने उनी आशावादी छन् ।

‘पहिले हिरोमा हेन्डसम, आकर्षक जिउडाल, फुर्तिलोलगायत गुण हुनुपर्थ्यो । अहिले त्यो समय छैन’ उनी भन्दै गए, ‘अहिले चरित्रको हिरोको समय हो । चरित्रमा म फिट छु ।’ फिल्म प्रदर्शनपछि कुलेको जस्तो चरित्रमा अन्य फिल्मबाट आफूलाई नै खोजिने उनी सुनाउँछन् । 

अभिनयमा जम्लान् ?

रवि ‘नेपाल आइडल सिजन २’ विजेता हुन् । उनलाई देश तथा विदेशमा नेपाल आइडल विजेताकै रूपमा चिन्छन् । नेपाल आइडल भए पनि करिब ३५ बढी देश र देशका थुप्रै स्थानमा सांगीतिक कार्यक्रम उनले गरेका छन् । उनले दुई सय बढी गीत रेकर्ड पनि गरिसकेका छन् । गायनमा राम्रो उचाइ भएका रविको अभिनयमा पनि त्यो उचाइ बन्ला त ? उनी अभिनयमा गायनझैँ उचाइ बन्न भनेर नलागेको र नसोचेको बताउँछन् ।

‘मेरो अभिनयमा गायनझैँ उचाइ बन्छ भनेर सोचेको पनि छैन । त्यो हिसाबले लागेको पनि होइन र कुनै क्षेत्रले दिँदैन पनि । त्यो एउटा अचिभमेन्ट हो’, उनले भने, ‘अनुभव गरौँ भनेर लागेको हो । निरन्तरता भए पुग्छ ।’ निरन्तरता भयो भने नाम त पक्कै होला नि ? उनले प्रतिप्रश्न गरे ।

रियालिटी शो विजेता बिस्तारै हराउँदै गएका छन् । उनलाई पनि यही आरोप लाग्ने गर्छ । अहिले पनि महिनामा ५–६ वटा गीत रेकर्ड गर्ने उनी पहिलेभन्दा केही थोरै र गुणस्तरीय काममा लागेकाले हराएजस्तो देखिएको सुनाउँछन् ।

‘महिनामा ६–७ वटा गीत रेकर्ड हुन्छ । त्यतिकै संख्यामा पनि सार्वजनिक भइरहेको छ । स्टुडियोमा ५०–६० गीत रेकर्डमा छन्, बिस्तारै आउँछन्’, उनी भन्छन्, ‘विजेता बनेको ६–७ वर्ष भयो । कामविहीन हुनुपरेको छैन ।’ आफ्नो खर्च, परिवारको खर्च, भाइबहिनीको पढाइ गायनबाट नै चलिरहेको उनी बताउँछन् ।

सपना थपिँदै जान्छ

रवि अबको दिनमा गायन र अभिनय एकसाथ लैजाने सोचमा छन् । अभिनयमा उनी फरक–फरक भूमिका गर्दै जाने बताउँछन् । गायनमा भने उनको सेन्टिमेन्टल, रोमान्टिक, स्याड भर्सन र डान्सिङ नम्बरलगायत सबै प्रकारको गीत गाउने सोच छ ।

घरमा सुन्नेले स्याड गीत रुचाउने पाइएको बताउने उनी स्टेज कार्यक्रममा लागि डान्सिङ नम्बर चाहिने बताउँछन् । मानिस समय र सिच्युयसनअनुसार गीत रुचाउँछन् । यो गायकले निकै ख्याल गर्नुपर्ने उनको भनाइ छ । ‘कोही लभ, फ्यामिलीमा ट्रयाजिडी  भएर दुःखी, कोही बाहिर अरूको सफलता हेरेर मैल किन गर्न सकिनँ भनेर दुःखी भइरहेका छन् । तिनका लागि स्याड गीत उपयुक्त हुन्छ’, उनले भने, ‘कतिपय नाच्न, झुम्न चाहने, दुःख भुल्न चाहनेका लागि रोमान्टिक डान्सिङ गीत चाहिन्छ ।’

गायनदेखि अभिनयसम्म आउँदा रविको सपना अब त पूरा भयो होला भन्ने मानिसलाई लाग्न सक्छ । उनी अझै आफ्नो सपना पूरा नभएको बताउँछन् । 

‘पहिले सपना नेपाल आइडल जितेर चिनिनुथियो । त्यसपछि हिरो बन्नु थियो । एकपछि अर्को सपना थपिने रहेछ’, उनी भन्छन्, ‘कोरियन गीत अंग्रेजीमा बनेर जसरी विश्वमा प्राथमिकतामा परिरहेको छ । नेपाली गीत पनि त्यस्तै गराउन मन लागेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?