शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

मन्त्री र मेयर गुटको लफडाले नीलकण्ठ क्याम्पसको स्ववियु निर्वाचन स्थगित

शुक्रबार, ०१ चैत २०८१, १२ : ४३
शुक्रबार, ०१ चैत २०८१

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी र नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुङ्गानाबिचको लफडाले धादिङको नीलकण्ठ क्याम्पसको स्ववियू निर्वाचन स्थगित भएको छ ।  यही चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी गरिरहेको निर्वाचन समितिका संयोजकले राजीनामा दिएपछि क्याम्पसको निर्वाचन प्रक्रिया स्थगित भएको हो । 

बिहीबार क्याम्पस प्रमुख नवराज शर्माले सूचना जारी गर्दै निर्वाचन समितिका संयोजक मुरारी अधिकारीले राजीनामा दिएकोले निर्वाचन समिति तथा शिक्षक कर्मचारीको बैठकको निर्णय अनुसार निर्वाचन स्थगित गरिएको उल्लेख गरेका छन् ।

उक्त क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको परम्परागत वर्चस्व रहँदै आएको छ । यस पटक पनि क्याम्पसमा सोही सङ्गठनको माहोल यथावत् छ । जो उम्मेदवार भए पनि आफैँले जित्ने उनीहरूको अनुमान थियो । त्यसैले उक्त सङ्गठनभित्रै दुई वटा गुट देखिएको थियो । 

त्यसमध्ये एउटाको नेतृत्व राजन अधिकारीले गरेका थिए । उनी पार्टीका जिल्ला सभापति समेत रहेका मन्त्री अधिकारीको गुटबाट अध्यक्षका आकाङ्क्षी थिए । त्यस्तै, अध्यक्षकी अर्की उम्मेदवार भावना अर्याल थिइन् । उनी मेयर भीम ढुङ्गाना तथा पार्टी पूर्व सभापति रमेश धमलाको गुटको प्रतिनिधित्व गर्छिन् । दुवैले दाबी गरेपछि उक्त सङ्गठनबाट आधिकारिक उम्मेदवार को भन्नेमा विवाद भएको थियो । 

दुवै पक्ष दाबीपछि निर्वाचन समितिले आधिकारिकताको विषयमा सोधखोज गरेको थियो । तर त्यसमा पनि दुईवटा धार देखियो । क्याम्पस इकाईले अधिकारीको समूहलाई आधिकारिक भन्यो । उता नेविसंघको केन्द्रबाट गएको पत्रमा भने अर्यालको समूहलाई आधिकारिक भनिएको थियो । निर्वाचन समितिले माग नै नगरी केन्द्रबाट गएको पत्र गएको भन्नेमा समेत विवाद भएको थियो । 

निर्वाचन समितिका संयोजक मुरारी अधिकारी यो अवस्थामा सहज वातावरणमा निर्वाचन हुनसक्ने अवस्था नदेखिएको बताउँछन् । सोही कारण आफूले राजीनामा दिएको उनको भनाइ छ ।  ‘हामीले जसको नाम टाँसे पनि अर्कोले स्वीकार गर्न नसक्ने अवस्था भएन,’ संयोजक अधिकारी भन्छन्, ‘यो अवस्थामा सहज ढङ्गले चुनाव हुन नसक्ने भएपछि समितिबाट राजीनामा दिएको हुँ ।’ 

यस्तै अवस्था अहिले त्रिवि केन्द्रीय क्याम्पसमा पनि छ । नेविसंघले आधिकारिक रूपमा दीपक जोशीलाई उम्मेदवार बनाएको छ । तर नरेन्द्र साउद, सनम ओली, पद्मा भुसाल, पदम दाहाललगायतले पनि उम्मेदवारी दिएका छन्  । यद्यपि यहाँ निर्वाचन स्थगित भएको छैन  । अहिले काठमाडौँकै क्याम्पसहरू शङ्करदेव, कोटेश्वर बहुमुखी, सरस्वती बहुमुखी, पब्लिक यूथ, विश्वभाषा र थापाथली इन्जिनियरिङमा विवादका कारण निर्वाचन प्रक्रिया रोकिएको छ । स्थगित हुने सूचीमा नीलकण्ठ क्याम्पस पनि थपिएको छ । 

fsu

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप