शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

के चाहन्छन् पुटिन ? युद्धविराम कि अमेरिकालाई झुलाउन ?

शुक्रबार, ०१ चैत २०८१, १२ : २८
शुक्रबार, ०१ चैत २०८१

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको प्रस्तावसँग आफू सहमत रहेको बताएका छन् । तर युद्धविराम सम्झौतासम्बन्धी कयौं प्रश्नहरू अझै बाँकी नै । युद्धविरामको प्रस्ताव मान्न पुटिनले निकै कठोर सर्तहरू राखेका छन् । 

पुटिनले ३० दिने युद्धविराम योजनाप्रति आफ्नो प्रतिक्रिया दिएका छन् । अमेरिकासँगको वार्तापछि युक्रेनले यो योजनामा सहमति जनाएको थियो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनको योजनालाई ’षड्यन्त्रपूर्ण’ भनेका छन् । 

युक्रेनी राष्ट्रपतिले रुसमाथि थप प्रतिबन्ध लगाउन माग गरेका छन् । यसैबिच, अमेरिकाले तेल, ग्यास र बैंकिङ क्षेत्रका सम्बन्धमा रुसमाथि थप प्रतिबन्ध लगाएको छ ।

के भन्छन् पुटिन ? 
‘विचार त राम्रै हो । हामी यसलाई समर्थन गर्छौँ । तर केही प्रश्नहरू छन् जुन हामीले छलफल गर्न आवश्यक छ ।’ बिहीबार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुटिनले युद्धविराम प्रस्तावको बारेमा भने । यो युद्धविरामले शान्ति स्थापना गर्नुपर्ने र यस संकटको मूल कारणहरूलाई सम्बोधन गर्नुपर्नेमा पनि उनले जोड दिएका थिए । उनले भने, “हामीले हाम्रा अमेरिकी सहयोगीहरूसँग कुरा गर्नुपर्छ । सायद म डोनाल्ड ट्रम्पसँग कुरा गर्नेछु ।’ 

३० दिनको युद्धविराम युक्रेनको लागि राम्रो हुने पनि उनले बताए । आफू यसको यसको समर्थनमा रहेको तर यसमा जटिलताहरू भएको उनले बताए । रुस र युक्रेनबिच विवादमा रहेको एउटा क्षेत्र कुस्र्क हो । यहाँ युक्रेनले गत वर्ष सैन्य घुसपैठ गरेको थियो । यस समयमा युक्रेनले केही भाग कब्जा गरेको थियो ।रुसले कुस्र्कको पूर्ण नियन्त्रण लिएको र युक्रेनी सेनालाई ’एक्लो’ पारेको दाबी पुटिनले गरेका छन् । 

‘तिनीहरू भाग्न खोजिरहेका छन्, तर हामीले उनीहरूलाई समातेका छौं । उनीहरूका उपकरणहरू बेवारिसे अवस्थामा छन् ।’ अझ अगाडि उनले भने । कुस्र्कमा युक्रेनसँग कि आत्मसमर्पण गर्ने होइन भने मर्ने दुई विकल्प भएको पनि उनले बताए । युद्धविराम कसरी काम गर्छ भन्नेबारे पुटिनले धेरै प्रश्नहरू पनि सोधेका छन् । 

‘ती ३० दिन कसरी प्रयोग गरिनेछ ? यो के हो – युक्रेनलाई सङ्गठित गर्न ? फेरि उसलाई हतियारले सुसज्जित गर्न ? मानिसहरूलाई तालिम दिन ? वा त्यो मध्ये कुनै पनि होइन ? त्यसपछि यसलाई कसरी नियन्त्रण गरिनेछ भन्ने प्रश्न पनि छ ?’ प्रश्नमाथि प्रश्न तेर्साउँदै पुटिनले भने । 

ukrain

‘लडाइँ अन्त्य गर्ने आदेश कसले दिनेछ ? अनि कुन मूल्यमा ? २ हजार किलोमिटरभन्दा बढीको दूरीमा कुनै सम्भावित युद्धविरामलाई कसले तोडेको हो भनेर कसले निर्णय गर्नेछ ? यी सबै प्रश्नहरू दुवै पक्षले सावधानीपूर्वक समाधान गर्नुपर्छ । यसको निगरानी कसले गर्छ ?’ अझ अगाडि पुटिनले प्रश्नको वर्षात् गरेका छन् । 

जेलेन्स्कीले पुटिनलाई निशाना बनाए

राति अबेर जारी गरिएको भिडियोमा जेलेन्स्कीले पुटिनले ‘सिधै केही नभनेको’ तर ‘व्यवहारमा उनी यसलाई अस्वीकार गर्ने तयारीमा रहेको’ बताए । ‘अवश्य पनि पुटिन राष्ट्रपति ट्रम्पलाई यो युद्ध जारी राख्न र युक्रेनीहरूलाई मार्न चाहन्छन् भनेर सिधै भन्न डराउँछन्’ उनको भनाइ थियो । 

रुसी नेताले पहिले नै धेरै सर्तहरू राखिसकेको र यी सर्तहरूले बिलकुल काम नगर्ने पनि उनले बताए । पुटिनको भनाइ र जेलेन्स्कीको प्रतिक्रियापछि, दुई पक्ष बिचको विभाजन एकदमै स्पष्ट छ । युक्रेनले यसलाई दुई चरणमा लागू गर्न चाहेको छ । पहिले, युद्धविराम तुरुन्तै लागू गरिनुपर्छ र त्यसपछि दीर्घकालीन सम्झौतामा वार्ता गरिनुपर्छ भन्ने उसको कुरा छ ।

तर रुसले चाँहि दुई चरणहरूलाई अलग गर्न सकिँदैन र सबै मुद्दाहरू एउटै सम्झौतामा समाधान गरिनुपर्छ भनेर भनिरहेको छ । दुवै पक्ष आफ्ना भिन्नताहरूमाथि बहस गर्न चाहिरहेका छन् ।  

के होला त युद्धविरामलाई ? 

आफूले शान्ति नै चाहेको होइन भन्दै रुसले दबाब दिन सक्छ भन्ने युक्रेनको ठम्याइ छ । उता, रुसले पनि यसलाई नेटोको विस्तार र युक्रेनको सार्वभौमिकताको बारेमा आफ्नो आधारभूत चिन्ता व्यक्त गर्ने अवसरको रुपमा हेरिरहेको छ । तर यसले डोनाल्ड ट्रम्पको लागि पनि समस्या सिर्जना गर्छ । लडाई केही दिनमै समाप्त होस् भनेर आफूलाई तत्कालै परिणाम चाहिएको ट्रम्पले स्पष्ट पारिसकेका छन् । तर यतिबेला पुटिनले यो विषयलाई अगाडि बढाउन नचाहेको हो कि जस्तो भान भइरहेको छ । 

पुटिनको टिप्पणीको जवाफमा ह्वाइट हाउसमा बोल्दै ट्रम्पले आफूले रुसी नेतालाई भेट्न चाहेको र रुसले सही काम गर्ने अनि प्रस्तावित ३० दिने युद्धविराममा सहमत हुने आशा व्यक्त गरेका थिए । ‘हामी रुसी पक्षबाट युद्धविराम भएको हेर्न चाहन्छौँ,’ उनले भनेका थिए । 

युक्रेनसँग यससम्बन्धी विवरणहरू पहिले नै छलफल गरिसकेको नेटो महासचिव मार्क रुटसँग ओभल अफिसमा बोल्दै ट्रम्पले पत्रकारहरूलाई भनेका थिए । ‘हामीले युक्रेनसँग कुन जमिन र जमिनका टुक्राहरू राख्ने र कुन त्याग्ने भन्ने बारेमा छलफल गर्‍यौँ र अन्तिम सम्झौताका सबै पक्षहरूमा छलफल गरियो ।’ उनले भने । 

वास्तवमा अन्तिम सम्झौताका धेरै तत्त्वहरू पहिले नै छलफल भइसकेको पनि उनले बताए । युक्रेनको नेटो सैन्य गठबन्धनमा सामेल हुने विषयमा ट्रम्पले भने, ‘सबैलाई थाहा छ यसको उत्तर के हो ।’ 

रुसले फेब्रुअरी २०२२ मा पूर्ण आक्रमण सुरु गर्‍यो । अहिले युक्रेनको करिब २० प्रतिशत भूभाग रुसको नियन्त्रणमा छ । युद्धमा रुसी सेनाको लागि लड्ने ९५ हजारभन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ । युक्रेनले अन्तिम पटक डिसेम्बर २०२४ मा आफ्नो हताहतको तथ्याङ्क अद्यावधिक गरेको थियो । 

यसैबिच, रुसी तेल र ग्यासमा नयाँ प्रतिबन्धहरू लगाइएको छ । ती मध्ये, ट्रम्प प्रशासनले अमेरिकी भुक्तानी प्रणालीहरूमा रुसको पहुँचलाई थप प्रतिबन्धित गरेको छ, जसले गर्दा अन्य देशहरूलाई रुसी तेल किन्न गाह्रो भएको छ । यसैबिच, पुटिनले मस्कोमा बन्द ढोका पछाडि अमेरिकी विशेष दूत स्टिभ विटकफसँग भेटेका छन् । 

यसअघि दिनको सुरुमा, क्रेमलिनका सहयोगी युरी उशाकोफले अमेरिकाले राखेको युद्धविराम प्रस्ताव अस्वीकार गरेका थिए । बुधबार, क्रेमलिनले एउटा भिडियो जारी गरेको थियो जसमा पुटिनले सैन्य पोसाक लगाएर प्रतीकात्मक रूपमा रुसको कुस्र्क क्षेत्रको भ्रमण गरेको देखाइएको थियो पछि रुसले सुड्जाको प्रमुख सहर पुनः कब्जा गरेको बताएको थियो । 

रुसले फेब्रुअरी २०२२ मा पूर्ण आक्रमण सुरु गर्‍यो । अहिले युक्रेनको करिब २० प्रतिशत भूभाग रुसको नियन्त्रणमा छ । युद्धमा रुसी सेनाको लागि लड्ने ९५ हजारभन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ । युक्रेनले अन्तिम पटक डिसेम्बर २०२४ मा आफ्नो हताहतको तथ्याङ्क अद्यावधिक गरेको थियो । 

उता, जेलेन्स्कीले ४३ हजार युक्रेनी मारिएको स्वीकार गरेका छन् । यसमा सैनिक र अधिकारीहरू पनि थिए । पश्चिमा विश्लेषकहरू यो तथ्याङ्कलाई निकै कम बताइएको भनिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप