नाडा विभाजित हुँदा अटो शो संकटमा, अध्यक्षले समन्वय गर्न सक्लान् ?

काठमाडौँ । अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल विभाजित हुँदा अटो क्षेत्रको सबैभन्दा ठुलो प्रदर्शनी नाडा अटो शो नै संकटमा परेको छ ।
अटोमोबाइल्स व्यवसायीबिचको आन्तरिक विवाद र लडाइँको कारण आगामी अटो शो संकटमा पर्ने देखिएको हो । लामो इतिहास बोकेको नाडा गत फागुन ९ गते आधिकारिक रूपमा दुई टुक्रा भएको थियो । कम्पनी रजिस्ट्रार कार्यालयमा नाफा वितरण नगर्ने गरी नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) दर्ता भइसकेको छ ।
अटोमोबाइल्स व्यवसायीका दुई संस्था भएसँगै १७ औँ संस्करणको ‘नाडा अटो शो २०२५’ सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । नाडाले भदौ ३ देखि ८ गतेसम्म आयोजना गर्ने स्टल बुकिङका लागि रजिस्ट्रेसनसमेत खुला गरिसकेको छ ।
तर यता भर्खरै स्थापना भएको नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नाडाभन्दा अघि नै साउन २१ बाट नाडा अटो शो गर्ने सूचना निकालेको छ । नाडाभित्र देखिएको विवादका कारण नाडा अटो शो पनि दुई वटा हुने अवस्था सिर्जना भएको हो ।
स्रोतका अनुसार वर्तमान नाडा नेतृत्वले अटो आयातकर्ताको समस्यालाई नीतिगत तहमा लभिङ गर्न नसकेको भन्दै छुट्टै संस्था दर्ता भएको छ । नाडामा अहिले स्पेयर पार्टस् बिक्रेताहरूको संख्या बढी भएको र त्यसले नीतिगत तहमा दबाब दिन नसक्दा आयातकर्ताहरूको छुट्दै संस्था दर्ता गरिएको हो । स्रोतले भन्यो, ‘आयातकर्ताका समस्या नीतिगत रूपमा दबाब दिन नसक्दा नयाँ संस्था दर्ता भएको हो । असन्तुष्ट व्यवसायीलाई वर्तमान नेतृत्वले समन्वय गर्न सकेन ।’
नाडामा स्पेयर पार्टस् बिक्रेताहरूको संख्या बढी भएको र आयातकर्ताका समस्या नीतिगत रूपमा राज्यलाई दबाब दिन संस्था दर्ता भएकाले नाडा अटो शो पनि छुट्टै गर्ने स्रोतले जनाएको छ ।
भर्खरै दर्ता भएको (नाइमा)ले नाडाभन्दा १५ दिनअघि नाडा अटो शोको सूचना निकालेसँगै नाडामा भुईँचालो गएको छ । नाडाको सदस्यका रूपमा रहेका ठूला आयातकर्ताहरू प्रायः सबै नयाँ दर्ता भएको संस्था नाइमा गएका छन् । त्यसले पनि आगामी नाडा अटो शो प्रभावित हुने देखिएको हो । नाडामा अहिले ३ हजार २१६ सदस्य छन् । अब यी सदस्य पनि विभाजित हुने देखिएको छ ।
नाडाका पूर्वअध्यक्ष ध्रुव थापाले नाडा विभाजित हुनु आफैमा नराम्रो भएको बताए । उनले नाडा विभाजित हुँदा हरेक वर्ष हुने अटो शो बढी प्रभावित हुने उल्लेख गरे । ‘वर्तमान नाडा नेतृत्वले असन्तुष्ट व्यवसायी साथीहरूलाई समन्वय गर्न सक्नुपर्ने थियो, तर नसक्दा नयाँ संस्था जन्मियो,’ उनले भने, ‘नाडा अटो शोमा समन्वय गरेर जानुपर्ने देखिन्छ ।’
पूर्वअध्यक्ष थापाले ठूला र नेपालमा चर्चा कमाएका कम्पनीहरू नयाँ संस्थामा विभाजित भएकाले नाडा अटो शोमा नाडालाई ठूलो चुनौती हुने बताए । नाडाले सकेसम्म नाडा अटो शो दुई वटा हुन नदिन नहुने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
नाडा अटो शोले अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनाका लागि विशेष योगदान पुर्याउने र अटोमोबाइल्स व्यवसायीमा सकारात्मक ऊर्जा थप्ने विश्वास गरिए पनि विभाजित हुँदा संकट आउने नाडाका एक सदस्यले बताए । वर्तमान नेतृत्वले समन्वय गरेर अटो शो गर्नुपर्नेमा उनले जोड दिए । नयाँ संस्था दर्ता गरेर पाँच दशकको लिगेसीलाई ध्वस्त बन्ने अवस्था आएको उनको भनाइ थियो ।
- वर्तमान नेतृत्व नै जिम्मेवार
नाडा विभाजन हुनु वर्तमान नेतृत्वको कमजोरी भएको पूर्वअध्यक्षहरूले बताएका छन् । उनीहरूले वर्तमान नेतृत्वले अटोमोबाइल्सका सबै व्यवसायी समान हैसियत दिन नसक्दा नाडा विभाजित भएको उल्लेख गरे । वर्तमान अध्यक्ष करण चौधरीले असन्तुष्ट व्यवसायीसँग समन्वय गर्न नसकेको उनीहरूको आरोप छ । उनीहरूले वर्तमान नेतृत्वले असन्तुष्ट व्यवसायीसँग समन्वय नगर्दा संस्था विभाजन भएको र यसको जिम्मेवारी अध्यक्षले लिनुपर्ने उनीहरूको तर्क छ ।
नाडाका पूर्वअध्यक्ष थापाले आफू अध्यक्ष हुँदा नै नाडा विभाजन हुने तयारी भए पनि आफूले सबैसँग समन्वय गरेर रोकेको बताए । तर वर्तमान नेतृत्वले गर्न नसक्दा समस्या भएको दाबी गरे ।
अब १० ठुला आयातकर्ता व्यवसायी नयाँ संस्थामा आबद्ध भएकाले वर्तमान नाडा नेतृत्वलाई अटो शोमा ठुलो संकट आउने उनको भनाइ थियो । यसको सम्पूर्ण जिम्मेवारी वर्तमान अध्यक्षले लिनुपर्ने उनले जिकिर गरे । लामो इतिहास बोकेको नाडा र नाडा अटो शोमा समस्या आउनु भनेको नेपालको अटोमाबाइल्स क्षेत्र बदनाम भएको उनको भनाइ थियो ।
नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले नाडा विभाजन भएको भर्खरै थाहा पाएको र विभाजित हुनु राम्रो नभएको बताए । दुवै पक्षलाई मिलाएर लैजाने कोसिस रहेको पनि उनको भनाइ थियो । यसका लागि अध्यक्षले समन्वय गर्नुपर्नेमा उनले जोड दिए ।
- नाइमाको अटो शोमा बिग हाउस
अटो आयातकर्ता व्यवसायीले छुट्टै संस्था दर्ता गरेसँगै अटो शो पनि छुट्टै गर्ने तयारी गरेका छन् । विभाजित भएका कम्पनीहरूले नाडाले गर्ने अटो शोमा सहभागिता जनाउने अवस्था कम छ ।
स्पेयर पार्टस् बिक्रेताको संख्या बढी भएका र आयातकर्ता व्यवसायी कम भएकाले नाडालाई अटो शोमा थप संकट गर्न सक्ने आकलन गर्न सकिन्छ । नाडासँग टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ, यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेज, सुजुकीको आधिकारिक बिक्रेता सीजी अटोमोटिभ्स, अशोक लेल्यान्ड गाडीको आधिकारिक बिक्रेता आईएमई मोटर्स, टीभीएसका लागि आधिकारिक बिक्रेता जगदम्बा मोर्टर्सलगायत मात्रै नाडा अटोमोबाइल्स एशोसिएसनमा आबद्ध छन् ।
तर यता नयाँ संस्थामा भने नाडाका संस्थापन पक्षका सबैजसो छन् । जसमा पछिल्लो समय चर्चा कमाएको बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इन्क, किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज, होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ, हुन्डाइको आधिकारिक बिक्रेता लक्ष्मी मोटर्स कर्पोरेसन रहेका छन् ।
त्यस्तै, बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी, ओमोडा र जेकु गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स, एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स, महिन्द्रा फोरह्विलरको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड र सिट्रोन, प्युजा र लिप मोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स नयाँ संस्थामा आबद्ध भएका छन् ।
- धेरै पूर्वअध्यक्षहरू नयाँ संस्थामा
नयाँ संस्थामा पूर्वअध्यक्षहरूको वर्चश्व रहेको छ । नाडा संस्थापक विजय गजानन्द वैद्यकी बुहारी ऋतुसिंह वैद्य नै नयाँ संस्थाको अध्यक्ष बनेकी छन् । २०३२ सालमा नाडा स्थापना भएको थियो ।
त्यसपछिका अध्यक्षहरू प्रायःसबै नयाँ संस्थामा आबद्ध भएका देखिएको छ । पदम ज्योतिदेखि सौरभ ज्योति, शेखर गोल्छा र अञ्जन श्रेष्ठसम्म नयाँ संस्थामा आबद्धता भएको देखिन्छ ।