सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

ट्रम्पसँग डराएर सिधै नाइँ भन्न नसकेका हुन् पुटिनले ?

शुक्रबार, ०१ चैत २०८१, ११ : १२
शुक्रबार, ०१ चैत २०८१

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले ३० दिने युद्धविरामको लागि अमेरिका सामु तेर्साएको सर्तको आलोचना गरेका छन् । पुटिनको भनाइलाई उनले भ्रामक भनेका छन् ।

मस्कोमाथि थप प्रतिबन्ध लगाउन आह्वान गर्दै जेलेन्स्कीले पुटिनले वास्तवमा युद्धविराम सम्झौताको प्रस्तावलाई बाइपास गर्ने तयारी गरिरहेको तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सोझै भन्न डराएको दाबी गरे । 

हालै ह्वाइट हाउसमा ट्रम्पसँग चर्काचर्की पछि जेलेन्स्की युक्रेन युद्धको समाधान गर्न खोजिरहेका छन् । ‘उनीहरू वास्तवमा यो प्रस्ताव अस्वीकार गर्ने तयारी गरिरहेका छन् किनभने पुटिन ट्रम्पलाई यो युद्ध जारी राख्न चाहन्छ भनेर स्पष्ट रूपमा भन्न डराउँछन् । उनी युक्रेनीहरूलाई मारिरहन चाहन्छन्’ जेलेन्स्कीले भने ।

साउदी अरबको जेद्दामा भएको बैठकमा जेलेन्स्कीले अमेरिकाको तत्काल अन्तरिम ३० दिनको युद्धविरामको प्रस्तावमा सहमति जनाएका थिए । मार्च ११ मा युक्रेन र अमेरिकाबिच साउदी अरेबियामा एउटा महत्त्वपूर्ण बैठक भएको थियो ।

यसमा युक्रेनले तत्काल ३० दिने अन्तरिम युद्धविराम लागू गर्ने अमेरिकी प्रस्तावमा सहमति जनाएको छ । यो प्रस्ताव रुसको स्वीकृतिमा निर्भर छ । जेद्दामा शान्ति वार्तापछि ट्रम्पले युक्रेनको युद्धविराम सम्झौताको स्वागत गरेका थिए । रुस पनि यसमा सहमत हुने आशा ट्रम्पको छ । 

पहिलो पटक युद्धविरामको बारेमा खुलेर बोलेका थिए पुटिन

हालै पुटिनले युद्धविराम वार्ता गर्ने युक्रेनको इच्छाबारे आफ्नो पहिलो सार्वजनिक टिप्पणी गरेका थिए । उनले द्वन्द्वबाट विश्वलाई भएको क्षतिलाई सम्बोधन गर्न र शान्ति पुनर्स्थापित गर्न गरेको प्रयासको लागि प्रधानमन्त्री मोदी, राष्ट्रपति ट्रम्प र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा लगायत धेरै विश्व नेताहरूप्रति कृतज्ञता व्यक्त गरे ।

पुटिनले युक्रेनमा ३० दिने युद्धविरामको लागि अमेरिकी प्रस्तावसँग सैद्धान्तिक रूपमा सहमत भएको तर यसका सर्तहरू तय गर्न आवश्यक रहेको बताएका थिए । यसले दिगो शान्ति पुनर्स्थापित गर्ने कुरामा पनि उनले जोड दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप