पोखरा महानगरको कर नीति प्रगतिशील छैन

कर भनेको सरकारले नागरिक र संस्थाबाट लिने आर्थिक योगदान हो । सरकारले सञ्चालन गर्ने विकास परियोजना, सामाजिक सेवा, राष्ट्रिय सुरक्षा, दैनिक प्रशासन सञ्चालन आदि कार्यहरू सञ्चालन गर्न आवश्यक पर्ने वित्तीय स्रोत भनेको नै कर हो ।
कुनै पनि सरकारको आयस्रोत भनेको कर हो भने नागरिकहरूको जिम्मेवारी र दायित्व पनि हो । जुन देश आफ्नै आर्थिक स्रोत र साधनबाट सञ्चालन हुन सक्दछ, त्यो देश स्वाभिमानी हुन्छ भने विदेशी सहयोगको भर पर्ने देश परनिर्भर र कमजोर हुन्छ ।
सार्वजनिक सेवाहरू सञ्चालन गर्न, आधारभूत पूर्वाधारको विकास गर्न, शिक्षा, स्वास्थ्य, यातायात र अन्य सेवाहरू नियमित एवं गुणस्तरीय तरिकाले प्रदान गर्नु, सरकारको आर्थिक आधारलाई मजबुत बनाउनु नै करको मुख्य उद्देश्य हो । करबाट प्राप्त हुने रकमले सरकारलाई विभिन्न सामाजिक कार्यक्रम, स्वास्थ्य सेवा, शिक्षा, रक्षा र सामाजिक सुरक्षाजस्ता महत्त्वपूर्ण कार्यहरूका लागि वित्तीय सहयोग प्राप्त हुन्छ ।
करका उद्देश्यहरूलाई निम्नानुसार व्याख्या गर्न सकिन्छ–
१. सार्वजनिक सेवाहरूको सञ्चालनः करको माध्यमबाट सरकारले नागरिकलाई शिक्षा, स्वास्थ्य सेवा, पानी आपूर्ति, सडक निर्माण, सफाइ र अन्य आवश्यक सेवाहरू प्रदान गर्दछ । यी सेवाविना नागरिकको जीवनस्तरको सुधार र समृद्धि सम्भव हुँदैन ।
२. आर्थिक विकास र समृद्धिः करको माध्यमबाट सङ्कलित रकमले सरकारी योजनाहरू र परियोजनाहरूको लागि पुँजी जुटाउन मद्दत गर्दछ र यसले सडक, विद्यालय, अस्पताल र अन्य संरचनाहरूको निर्माणमा लगानी गरेर देशको समग्र विकासमा योगदान पुर्याउने आधार निर्माण गर्दछ ।
३. सामाजिक सुरक्षा र समानताः सरकारलाई आर्थिक स्रोतहरू उपलब्ध गराउनुले समाजमा समानताको भावना ल्याउँछ । गरिब र विपन्न वर्गका लागि सामाजिक सुरक्षा योजनाहरू र भत्ता उपलब्ध गराउन करको भूमिका महत्त्वपूर्ण हुन्छ ।
४. राष्ट्रिय सुरक्षाः करको माध्यमबाट सङ्कलित रकमले राष्ट्रिय सुरक्षा, सेना, पुलिस र आपतकालीन सेवाजस्ता महत्त्वपूर्ण सेवाहरूमा पनि योगदान पुर्याउँछ ।
कर कसले तिर्नु पर्दछ भन्ने कुरा कानुनी प्रावधानमा आधारित हुन्छ । सामान्यतया सबै नागरिक र संस्थाहरू जसको आय, सम्पत्ति, व्यवसाय वा अन्य आर्थिक गतिविधि छन्, उनीहरूले प्रत्यक्ष रूपमा कर तिर्नु पर्दछ भने सम्पूर्ण नागरिकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कर तिरिरहेका हुन्छन् ।
निम्न गतिविधिमा संलग्न व्यक्ति वा संस्थाहरूले प्रत्यक्ष रूपमा कर तिर्नु पर्दछ–
१. व्यक्तिगत करदाताहरूः व्यक्तिगत रूपमा कानुनले तोकेको दायराभन्दा माथि आम्दानी भएका व्यक्तिहरूले आयकर तिर्नु पर्दछ । व्यक्तिको कुनै पनि आय (तलब, व्याज, भाडा, मुनाफा आदि) जुन सरकारद्वारा करयोग्य आय छ भने त्यस्तो अवस्थामा कर लाग्दछ ।
२. व्यावसायिक प्रतिष्ठानहरूः व्यवसायीहरूले पनि आफ्नो व्यवसायको मुनाफाबाट कर तिर्नु पर्दछ । यो उत्पादन, बिक्री, र अन्य कारोबारी गतिविधिहरूसँग सम्बन्धित हुन्छ ।
३. विभिन्न उपभोग करः विभिन्न सामान र सेवाहरूको खरिद गर्दा पनि उपभोग कर (जस्तै भ्याट) तिर्नु पर्छ ।
देशलाई स्वाधीन, आत्मनिर्भर र सक्षम बनाउनका लागि कर योगदान हो । कर भनेको देशप्रतिको जिम्मेवारी र दायित्व पनि हो भने आफूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तिरेको करको सदुपयोग भएको छ वा छैन भनी निगारानी गर्नु र खबरदारी गर्नु पनि नागरिकको कर्तव्य हो । यी दुवै दायित्व र कर्तव्य पालन गर्न सकेमा मात्र देश समुन्नत र सुशासनयुक्त हुन्छ ।
करको दुरुपयोग र कर दुरुपयोग गर्नेहरूलाई मान सम्मान गर्ने प्रवृत्ति नै भ्रष्टाचारको जड हो । कर नागरिकको सामाजिक दायित्व पनि हो भने करदाताहरूलाई विभिन्न सेवा र सुविधा उपलब्ध गराउनु राज्यको दायित्व हो ।
१. राज्यको दायित्व निर्वाहः सरकारले करको माध्यमबाट प्राप्त हुने रकमबाट शिक्षा, स्वास्थ्य, सडक, सुरक्षाजस्ता प्रमुख सेवाहरू प्रदान गरेर आफ्नो दायित्व पूरा गर्दछ भने नागरिकहरूलाई दक्ष र सक्षम बनाउँछ ।
२. समाजको समृद्धि र न्यायः कर तिर्ने प्रक्रिया सामाजिक न्यायको आधार हो । यसले समाजका सबै वर्गका मानिसलाई समान अवसर र सेवा प्रदान गर्न सहयोग पुर्याउँछ । विशेषगरी, गरिब र मध्यवर्गका नागरिकलाई शिक्षा, स्वास्थ्य र सामाजिक सेवाहरूको पहुँच बढाउँछ ।
३. नागरिकको जिम्मेवारीः कर तिर्नु नागरिकको जिम्मेवारी हो, जसले राष्ट्रको समृद्धिमा योगदान गर्दछ । यसको माध्यमबाट नागरिकहरूले देशको भलाइको लागि योगदान गरिरहेका हुन्छन् ।
कर तिरेपछि नागरिकका जीवनमा सकारात्मक सुधार ल्याउने विभिन्न प्रकारका सेवा र सुविधा उपलब्ध गराउनु पर्दछ । आधारभूत रूपमा राज्यले निम्न सेवाहरू अनिवार्य रूपमा उपलब्ध गराउनै पर्दछ–
१. शिक्षा र स्वास्थ्य सेवाहरूः करदातालाई उच्च गुणस्तरको सार्वजनिक शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्ने व्यवस्था मिलाउनु पर्दछ । सरकारी अस्पताल र विद्यालयहरूलाई उचित वित्तीय स्रोत प्रदान गर्नका लागि कर महत्त्वपूर्ण हुन्छ ।
२. पूर्वाधारको विकासः सडक, पुल, पार्क र सार्वजनिक भवनहरूको निर्माणमा करबाट प्राप्त रकम लगानी गरिन्छ । यसले नागरिकलाई यातायात र अन्य पूर्वाधार सेवाहरूको सुविधा प्रदान गर्दछ ।
३. सामाजिक सुरक्षा र भत्ताः सरकारद्वारा गरिब र असहाय वर्गलाई प्रदान गरिने भत्ता र पेन्सन योजना करको रकमबाट नै उपलब्ध गराउनु पर्दछ । यसले समाजका कमजोर वर्गलाई सशक्त बनाउन मद्दत पुर्याउँछ ।
४. सुरक्षा र कानुनी सेवाः करबाट प्राप्त रकमले राष्ट्रिय सुरक्षा र कानुनी सेवाहरूको स्तरीकरणमा मद्दत गर्नु पर्दछ । प्रहरी, सैनिक, र आपतकालीन सेवाहरूलाई प्रवर्द्धन गर्ने काम करको माध्यमबाट गरिन्छ ।
५. वातावरण संरक्षणः वातावरण र प्राकृतिक संसाधनहरूको संरक्षण गर्नका लागि सरकारले विभिन्न योजना र प्रोजेक्ट सञ्चालन गर्नु पर्दछ, जसका लागि कर महत्त्वपूर्ण स्रोत हो ।
समग्रमा, कर एउटा महत्त्वपूर्ण वित्तीय उपकरण हो, जसले सरकारलाई देशको विकास र समृद्धिमा योगदान पुर्याउने अवसर दिन्छ । नागरिकको दायित्व भनेको कर तिरेर समाजमा सुधार ल्याउनु हो, जसले आफू र अरूसँगको जीवनस्तरको गुणस्तरमा वृद्धि गर्न मद्दत पुर्याउँछ ।
स्थानीय सरकारको रूपमा पोखरा महानगरपालिका एक अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्था हो । महानगरपालिका शासकीय दायित्व भएको संवैधानिक संस्था भएको कारण नेपाल संविधानले दिएको अधिकार प्रयोग गरी स्थानीय कर सङ्कलन गर्ने अधिकार प्राप्त संस्था हो ।
महानगरपालिकाले महानगरवासी र महानगरपालिकाभित्र विभिन्न सेवा उपभोग गर्ने उपभोक्ताहरूसँग कर सङ्कलन गर्न सक्दछ । करलाई महानगरवासी र महानगरका उपभोक्तामैत्री बनाएर महानगरको आर्थिक स्रोत अभिवृद्धि गर्ने काम महानगरपालिकाको हो । करको दायरा सुनिश्चित गर्दा महानगरपालिकाले करदातालाई न्यून भार र महानगरको उच्च आय हुने रणनीति अपनाउनु पर्दछ ।
महानगरपालिकाको आय वृद्धि गर्ने नाममा महानगरवासीहरू र महानगरका उपभोक्ताहरूमा अधिक कर थुपार्नु कुशासनमात्रै नभइ विद्रोहको आधार सिर्जना गर्नु पनि हो भने न्यूनतम करमा अधिकतम रकम सङ्कलन गर्ने रणनीति अपनाउनु सुशासन र जन उत्तरदायित्व बहन गर्नु हो । महानगरपालिकाले उच्चस्तरको शासकीय दक्षता र जवाफदेहीताले मात्रै यो काम गर्न सक्दछ । कम्तीमा पनि महानगरपालिकाले महानगरवासीहरूको सम्पन्नता स्तरीकरण गरी गरिबीको रेखामुनि रहेका नागरिकहरूको लागि आवास, खानेपानी, बिजुली, फोहरमैला व्यवस्थापन, स्नातकसम्मको शिक्षा, स्वास्थ्य उपचार, सुनौलो एक हजार दिनसम्म आमा र सन्तानका लागि पोषण भत्ता, शिक्षित बेरोजगारहरूका लागि प्राविधिक तालिम र अर्ध शिक्षित र अशिक्षितहरूका लागि श्रम रोजगारको सुनिश्चितता गरेर सबैको सहज जीवन सुनिश्चित गर्नु पर्दछ ।
करको दायरा निर्माण गर्दा पैत्रिक आवासको रूपमा रहेका सबै महानगरवासीहरूको एक हजार वर्गफिटसम्मको घरको कर, खानेपानी, न्यूनतम बिजुली र न्यूनतम फोहर सङ्कलन निःशुल्क वा न्यूनतम शुल्क तोक्नु पर्दछ र आवास सुविधा महानगरवासीको नैसर्गिक अधिकार हो भन्ने कुरा सुनिश्चित गर्नु पर्दछ ।
पोखरा महानगरपालिकाभित्रको सबै जमिन र घरको अभिलेखीकरण गरी सबै सम्पत्तिलाई रेकर्डमा उतार्नु पर्दछ र आम्दानी अनुसार वर्गीकरण गरेर प्रगतिशील कर निर्धारण गर्नु पर्दछ । पोखरामा व्यवसाय, घर बहाल, घर नक्सा पास, जमिनको भाडाजस्ता कुराहरूको अभिलेख महानगरपालिकासँगै छैन, जसले गर्दा ७५ प्रतिशतभन्दा बढी करयोग्य व्यवसाय, जमिन र भाडा, घर जग्गा नक्सापास जस्ता कुराहरू करको दायरामा आएका छैनन् । घर निर्माणको मापदण्ड वैज्ञानिक छैन । उदाहरणका लागि लेकसाइडका अधिकांश घर एक वा दुई तला नक्सा पास गरेर आठ–दश तलासम्म निर्माण गरिएका छन् । यी घरहरूलाई नियमित गर्न निर्माण भइसकेका घरहरूलाई राजस्व लिएर नक्सा पासको प्रमाणपत्र दिँदामात्रै अहिले सङ्कलन भइरहेको राजस्वमा करिब तीन सय प्रतिशत वृद्धि हुन्छ भने सधैँका लागि करको दायरामा आवद्ध हुन्छ तर दण्ड–सजायको त्रास देखाएर करको दायरामा आउने वातावरण नबनाउँदा ठुलो सङ्ख्यामा स्रोत खेर गएको छ ।
त्यसैगरी बजारक्षेत्रमा बहाल करमा पनि अधिकांश घर समेटिएका छैनन् । यस्तो अवस्थामा हाल सञ्चालनमा रहेको बहालकरलाई न्यूनीकरण गरी सबैलाई करको अभिलेखमा ल्याउँदा स्रोत बढेर जान्छ ।
पोखरा महानगरपालिकाको राजस्वको ठुलो स्रोत भनेको नदीजन्य पदार्थको उत्खनन र व्यवस्थापन हो, जहाँ बर्सेनि करोडौँको अनियमितता हुने गरेको छ । बिडम्वना के छ भने ठुला पार्टीका नेताहरू एवं प्रशासन सबै मुकदर्शक छन् र पोखराको अस्मिताको लुटको साक्षी र सहयोगी बनेका छन् । यी सबै कुरालाई व्यवस्थित गर्ने र महानगरवासीलाई महानगरपालिकाको मालिक बनाउने भनेर मेयर मानबहादुर जीसीको कार्यकालमा पारित भएको पोखरा पूर्वाधार विकास निगम ऐनलाई अहिलेका मेयरले धोती लगाइदिएका छन् भने नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले चासो नै दिएका छैनन्, जसले गर्दा मानबहादुर जीसीले सुरु गरेको आर्थिक रुपान्तरणको प्रयासको दाहसंस्कार भएको छ । यद्यपि पोखरा महानगरपालिकाको राजस्व बढाउन निम्न उपाय अपनाउन सकिन्छ ।
१. स्थानीय करको सुधारः स्थानीय सरकारको प्रमुख आम्दानी स्रोत कर हो । पोखरा महानगरपालिकाले नागरिक र व्यापारिक प्रतिष्ठानबाट उचित कर सङ्कलन गर्न सक्ने प्रणालीलाई थप सुधार गर्नुपर्दछ र सम्पूर्ण व्यवसाय र सम्पत्तिलाई डिजिटाईजेसन गरी अभिलेखीकरण गरेर अनलाइन सिस्टमको विकास गर्नु पर्दछ ।
२. कर दरको वृद्धिः सम्पन्नता स्तरीकरण गरेर ठुला व्यवसाय, वातावरण तथा सांस्कृतिक सम्पदालाई असर गर्ने व्यवसायहरूको वर्गीकरण गरी उचित अवस्थामा करका दरहरूको पुनरवलोकन गरेर वृद्धि गर्न सकिन्छ तर, यसका लागि नागरिकसँग राम्रो संवाद र विश्वास निर्माण गर्नुपर्ने हुन्छ ।
३. स्थानीय स्रोतहरूको व्यवस्थापन तथा सार्वजनिक सम्पत्ति र स्रोतहरूको प्रयोगः पोखरा महानगरपालिकामा रहेका खाली स्थानहरू र सरकारी सम्पत्तिहरूको उचित व्यवस्थापन गरेर आय आर्जन गर्न सकिन्छ । उदाहरणका लागि, पार्किङ शुल्क, सार्वजनिक भूमि वा भवन भाडामा लगाउने र व्यावसायिक प्रयोगका लागि दिनु ।
४. विज्ञापन व्यवस्थापनः नगरपालिका क्षेत्रका प्रमुख स्थानमा विज्ञापन बोर्ड राखेर आम्दानी गर्न सकिन्छ । यस्ता कार्यले महानगरपालिकालाई अतिरिक्त राजस्वको स्रोत प्रदान गर्छ ।
५. पर्यटनको प्रवर्द्धनः पोखरा पर्यटकीय नगरी हो, र यहाँ आउने पर्यटकहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पर्यटकीय आकर्षणको प्रवर्द्धन गर्दै, पर्यटकसँग सम्बन्धित शुल्क र सेवा शुल्कहरू (जस्तै, प्रवेश शुल्क, गाइड सेवा शुल्क, पार्क शुल्क आदि) बढाउन सकिन्छ ।
पोखरा महानगरपालिकाले पर्यटकीय स्थलहरूको संरचना र सफाइमा सुधार गरेर, राम्रो अनुभव र सेवा प्रदान गर्ने उपायहरू अवलम्बन गरेर वातावरणीय सेवा शुल्क लागु गर्न सकिन्छ । यसले पर्यटकहरूको संख्या र त्यसबाट हुने राजस्व दुवै बढाउँछ ।
६. नयाँ व्यवसाय र उद्योगको प्रवर्द्धन : साना उद्योग र व्यवसायको प्रवर्द्धन गरेर पोखरा महानगरपालिकाले नयाँ व्यवसाय र उद्योगहरूलाई प्रवर्द्धन गर्नका लागि नीति बनाउन सक्छ । स्थानीय युवाहरूलाई व्यावसायिक प्रशिक्षण र उपयुक्त अनुदान प्रदान गरेर रोजगार सिर्जना गर्न सकिन्छ, जसले कर राजस्व बढाउन मद्दत पुर्याउँछ । नयाँ उद्यमहरूको लागि प्रोत्साहन नीति लागु गर्नाले दीर्घकालीन रूपमा राजस्व बढाउन सकिन्छ ।
७. सार्वजनिक सेवाहरूको सुधार र शुल्क प्रणाली : पोखरामा प्रदान गरिने विभिन्न सार्वजनिक सेवाहरू (जस्तै, सफाइ, सार्वजनिक यातायात, पानी आपूर्ति आदि) को शुल्क परिमार्जन गर्न सकिन्छ । पोखरा महानगरपालिकाले आफैँले फोहरमैला सङ्कलन तथा व्यवस्थापन गरेर राजस्वमा वृद्धि गर्न मद्दत पुर्याउँछ ।
८. संवेदनशील योजना र व्यवस्थापनः सेवामा सुधार ल्याउन र आवश्यक योजनाहरू कार्यान्वयन गर्दा नागरिकहरूको सहमति र सहभागिता बढाउँछ ।
९. सस्तो र प्रभावकारी प्रशासनः प्रशासनिक कार्यहरूलाई अनलाइन माध्यमबाट सञ्चालन गर्दा समय र खर्च बचाउन सकिन्छ, जसले महानगरपालिका प्रशासनको व्यय घटाउँछ र राजस्व बढाउन मद्दत गर्छ ।
१०. पारदर्शिता र इ–गभर्नेन्सः सरकारी कामकाजमा पारदर्शिता राखेर भ्रष्टाचार कम गर्ने र नागरिकको विश्वास बढाउने उपायहरूले दीर्घकालीन रूपमा राजस्वको वृद्धिमा योगदान पुर्याउँछ ।
११. साझेदारी र सहयोग : निजी क्षेत्रसँग साझेदारी गरेर विभिन्न सार्वजनिक परियोजनामा लगानी गर्न सकिन्छ, जसले महानगरपालिकालाई नयाँ राजस्व स्रोतहरू प्रदान गर्छ । उदाहरणका लागि पोखराको प्रथम त्रिवर्षीय योजनाले ३३ वडामा महानगरपालिका र महानगरवासीको साझेदारीमा मल तथा व्यावसायिक केन्द्र वा पर्यटन केन्द्रहरूको निर्माण परिकल्पना गरेको थियो, जसले महानगर, वडा र वडावासीको नियमित आम्दानी सुनिश्चित गर्दछ भने पोखरा पूर्वाधार विकास निगममार्फत महानगर र महानगरवासीको साझेदारीमा निर्माण कम्पनी, बैँक, फोहरमैला व्यवस्थापन आदिमार्फत आम्दानी सुनिश्चित गर्ने परिकल्पनासहित खाका प्रस्तुत गरिएको थियो ।
१२. अन्य सरकारी निकायसँग सहयोगः प्रदेश र संघीय सरकारसँग सहयोग गरेर विभिन्न विकास परियोजनाहरूमा सहभागिता जनाउन सकिन्छ, जसले महानगरपालिकाको आम्दानी बढाउँछ ।
१३. अनुदान र अन्तर्राष्ट्रिय सहायताः पोखरा महानगरपालिकाले विभिन्न अन्तर्राष्ट्रिय संस्था, गैर–सरकारी संस्था वा दानदाताबाट अनुदान प्राप्त गर्न सकिन्छ । यसका लागि विभिन्न सामाजिक र पर्यावरणीय परियोजनाहरूमा ध्यान केन्द्रित गर्नुपर्दछ ।
यी विभिन्न उपाय लागु गरेर पोखरा महानगरपालिकाको राजस्व वृद्धि गर्न सकिन्छ । प्रत्येक कदममा नागरिकसँग समन्वय र पारदर्शिता राख्नु अत्यन्त महत्त्वपूर्ण छ ।
(लेखक लामिछाने इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी पोखरा महानगरपालिका अन्तर्गत सहरी योजना आयोगका पूर्वउपाध्यक्षसमेत हुन् ।)