आंगिक क्याम्पस खोज्दै बागमती विश्वविद्यालय
_7MHfiwcdZG.jpg)
मकवानपुर । बागमती प्रदेश विश्वविद्यालयमा आबद्ध हुन प्रदेशका जिल्लास्थित क्याम्पसहरूलाई सार्वजनिक सूचना आह्वान गरिएको छ । हेटौँडास्थित प्रदेश विश्वविद्यालय केन्द्रीय कार्यालयले सूचना निकाल्दै विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा आबद्ध हुन भनेको हो ।
विश्वविद्यालयले आंगिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालन हुन आवेदन दिने सूचना जारी भएको बागमती विश्वविद्यालयका उपाध्यक्ष (डिन) डा. कुसुमराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार नेपालका कुनै विश्वविद्यालयबाट सम्बन्धन लिई प्रदेशभित्र सञ्चालनमा रहेका क्याम्पसहरूले बागमती विश्वविद्यालयको आंगिक क्यापसको रूपमा संचालन हुनेगरी आवेदन दिन सक्नेछन् ।
बागमती प्रदेश उच्च शिक्षा ऐन, २०७८ को दफा ९(३) र (४), प्रदेश उच्च शिक्षा नियमावली, २०७९ को नियम १७ तथा बागमती प्रदेश विश्वविद्यालयको विधान, २०८१ को दफा ३६ बमोजिम विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा सञ्चालित हुन चाहेमा आगामी एक महिनाभित्र प्रस्ताव पेस गर्न सकिने उनले जानकारी दिए ।
प्रदेश उच्च शिक्षा नियमावली, २०७९ को अनुसूची ५ बमोजिमको ढाँचामा बागमती प्रदेश विश्वविद्यालय संरक्षक समितिको सचिवालय, हेटौँडामा निवेदन दर्ता गराउन सूचनामार्फत आग्रह गरिएको छ ।
विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा सञ्चालन हुन क्याम्पस स्थापना/सम्बन्धन स्वीकृति पत्र, क्याम्पसको स्वीकृत विधान, क्याम्पसको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात पेस गर्नुपर्ने डिन डा. सुवेदीको भनाइ छ ।
आंगिक क्याम्पसको रूपमा सञ्चालन हुन र मातृ विश्वविद्यालयसँगको सम्बन्धन अन्त्य गर्नेसम्बन्धी क्याम्पस सञ्चालक समितिको निर्णय पनि अनिवार्य गरिएको छ । क्याम्पसको वर्तमान अवस्था, सञ्चालित कार्यक्रम, सोअनुसार विद्यार्थी संख्या, शिक्षक कर्मचारीको तहगत (स्थायी, अस्थायी र करार) विवरण, पारिश्रमिक विवरण, शिक्षण शुल्क विवरण, क्याम्पसको आर्थिक, भौतिक सम्पत्ति, आर्थिक दायित्वसमेत खुल्ने प्रोफाइल पेस गर्न आग्रह गरिएको उनले बताए ।
त्यस्तै क्याम्पसमा सञ्चालन हुन सक्ने र चाहेको शैक्षिक कार्यक्रमको सम्भाव्यता अध्ययन प्रतिवेदन पनि माग गरिएको उनले बताए ।
प्राप्त हुन आएका आवेदनमाथि छानबिन गरी सो स्थानमा सञ्चालन हुन सक्ने शैक्षिक कार्यक्रमहरूको औचित्य, सम्भाव्यता र विश्वविद्यालयको व्यवस्थापकीय पक्ष मध्यनजर गरेर विश्वविद्यालयले क्रमशः आंगिक क्याम्पसको रूपमा ग्रहण गर्ने उनको भनाइ छ । सो कार्यका लागि बागमती प्रदेश उच्च शिक्षा ऐन, २०७८, उच्च शिक्षा नियमावली, २०७९ एवम् विश्वविद्यालयको विधान, २०८१ बमोजिम प्रक्रिया अगाडि बढाइने उनले बताए ।
यसअघि मन्त्रालयले विश्वविद्यालयअन्तर्गत रहनेगरी सार्वजनिक विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि मापदण्ड पुगेका शैक्षिक संस्थाहरूबाट आवेदन पेस गर्न सूचना जारी गरेको थियो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयमातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय, हेटौँडाको निर्णयअनुसार विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवश्यक पर्ने मापदण्ड तथा पूर्वाधार पुगेका इच्छुक क्याम्पस तथा शैक्षिक संस्थालाई आवेदन माग गरिएको थियो ।
आगामी भदौबाट अध्यापन थाल्ने तयारी
बागमती विश्वविद्यालयले आगामी भदौबाट अध्यापन गर्ने गरी काम थालेको छ । हाल विश्वविद्यालयले पाठ्यक्रम निर्माणको कामलाई तीव्र पारेको र विद्यार्थी तथा प्रशासकीय कार्यलाई सहज बनाउन वेबसाइटमार्फत सूचना सञ्चार गर्ने कार्य थालिएको डिन डा. सुवेदीले बताए ।
गत २०८० मा स्थापना भएको प्रदेश सरकारको सार्वजनिक विश्वविद्यालय ‘बागमती विश्वविद्यालय’ बाट प्रदेशलाई आवश्यक दक्ष जनशक्ति निर्माण गर्ने र उक्त जनशक्तिलाई स्वरोजगार क्षेत्रमा प्रयोग गर्नेगरी प्रयोगात्मक शिक्षामा जोड दिनेगरी पाठ्यक्रम तयार पार्ने काम भइरहेको उनले बताए ।
आम विद्यार्थी र विश्वविद्यालयमाथि चासो व्यक्त गर्नेबिच अन्तरक्रिया गर्ने र विश्वविद्यालयका प्रगति तथा गतिविधि सार्वजनिक गर्ने उद्देश्यअनुसार विभिन्न छलफल र बसहका माध्यमबाट पाठ्यक्रमलाई व्यवहारिक बनाउने काम भइरहेको उनले बताए ।
आधुनिक प्रविधिको युगमा शिक्षालाई डिजिटल माध्यमबाट थप प्रभावकारी बनाउने उद्देश्यअनुसार स्थापित उक्त विश्वविद्यालयले तीन संकायका ११ विषयमा अध्यापनको तयारी गरिरहेको छ ।
विश्वविद्यालयले आगामी आर्थिक वर्षबाट विज्ञान प्रविधि, व्यवस्थापन र शिक्षा तथा सामाजिक संकायमा अध्यापनको तयारी गरिरहेको उनले बताए । विश्वविद्यालयले सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, वातावरण इन्जिनियरिङ र फोहोर व्यवस्थापन, नर्सिङ, बी फर्मा औषधि विज्ञान, जोखिम तथा बीमा व्यवस्थापन, व्यवसाय प्रशासन, सार्वजनिक क्षेत्र व्यवस्थापन, होटल व्यवस्थापन, कला स्नातक र कानुन, एलएलबी ब्याचलर अफ लेजिस्लेटिभ ल, सूचना प्रविधि, बीएडलगायत विषय अध्यापन गराउने तयारी गरेको उनले बताए ।
डा. सुवेदीका अनुसार सैद्धान्तिक ज्ञानलाई व्यावहारिक प्रयोगसँग एकीकृत गरी समग्र शैक्षिक दृष्टिकोणलाई प्राथमिकता दिइएको छ । उच्च–गुणस्तरको शिक्षाप्रति प्रतिबद्धता, अत्याधुनिक स्रोतसाधन, संकाय विकास र अनुसन्धानमा निरन्तर लगानीमा प्रतिबिम्बित रहने उनले बताए । विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि १३ वटा पाठ्यक्रम निर्माण गरी पठनपाठनको तयारी गरेको उनले बताए ।
गुणस्तरीय, समावेशी र रोजगारमूलक उच्च शिक्षा प्रदान गर्ने लक्ष्यसहित अघि बढेको विश्वविद्यालयले नयाँ अवसर सिर्जना गर्नेगरी काम थालेको उनको भनाइ छ । औपचारिक ज्ञान, अनुसन्धान, नवप्रवर्तन तथा व्यावसायिक शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने गरी छिट्टै नै विश्वविद्यालयअन्तर्गत आंगिक कलेजहरू समावेश गर्न सूचना प्रकाशन गर्ने तयारी भइरहेको उनले बताए ।
कमजोर भौतिक संरचना
प्रदेश सरकारले गौरवका आयोजनाहरूको रूपमा निर्धारण गरेर अघि बढाएको विश्वविद्यालयको भौतिक संरचनाको अवस्था भने कमजोर देखिन्छ । राजनीतिक दलहरूबिचको अन्तरद्वन्दमा कारण लामो समय विश्वविद्यालय स्थापना तथा संरचना निर्माणको काम हुन सकेको छैन ।
प्रदेश सरकारले २०७८ सालमा ऐन जारी गरी प्रदेश विश्वविद्यालय स्थापनाको तयारी थालेको थियो । तयारी थालेको दुई वर्षपछि प्रदेश उच्च शिक्षा परिषद्को कार्यालय स्थापना गरिएको थियो भने तीन वर्षपछि (२०८० वैशाख) बागमती विश्वविद्यालय नामकरण गरी कार्यालय स्थापना गरिएको थियो ।
विश्व विद्यालयका लागि भौतिक संरचना अभाव हुँदा हेटौँडा–५ मा भाडाको घरमा कार्यालय खडा गर्नेगरी प्रक्रिया अघि बढाइएको छ भने बोर्ड अफ ट्रस्टीको कार्यालय सामाजिक विकास मन्त्रालयसंगैको अस्थायी भवनमा राखिएको छ । प्रदेश सरकारले विश्वविद्यालयका लागि आवश्यक जमिन, भौतिक संरचना तथा प्रशासनिक कार्यालयहरूको व्यवस्थापन गर्न सकेको छैन ।
बोर्ड अफ ट्रस्टीमा ६ जना सदस्य नियुक्त भई हाल पाठ्यक्रम निर्माणको लागि छलफल भइरहेको छ । विश्वविद्यालयको अध्ययन अध्यापनका लागि आवश्यक भौतिक संरचना तथा क्याम्पसहरूको व्यवस्था भइनसकेको र विश्वविद्यालयमा अध्यापन गराउने संकाय निर्धारणको काम भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षासँगै हट्यो काठमाडौँमा तुवाँलो–प्रदूषण पनि सामान्य बन्दै, खुल्यो मौसम (तस्बिरहरू)
-
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सइ पक्राउ
-
स्वास्थ्य सचिव नियुक्ति : प्रधानमन्त्रीले बाराकोटी, कांग्रेसले मिश्रा च्याप्दा बिचबाट यसरी फुत्किए विकास
-
महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ
-
मटिहानीमा बन्यो पाँच शय्याको प्रसूतिगृह
-
जहाँ घरमा आगो भित्र्याएपछि मात्र होली सुरु हुन्छ