शुक्रबार, ३० फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : तारकेश्वर जग्गा विवाददेखि विद्या भण्डारीको बढ्दो सक्रियतासम्म

बिहीबार, २९ फागुन २०८१, २२ : ००
बिहीबार, २९ फागुन २०८१

आज मिति २०८१ साल फागुन महिनाको २९ गते बिहीबार अर्थात फागु पूर्णिमा । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर आएका छौँ–

१. तारकेश्वर जग्गा विवाद

काठमाडौँको तारकेश्वर जग्गा विवादको विषय यतिबेला चर्चामा छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपा सांसदले यो विषय उठाएपछि हंगामा भएको थियो । सांसदले नाम नलिइ ‘कांग्रेस नेता’ भनेका व्यक्ति थिए डा केदारनरसिंह केसी ।

डा केसी नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अर्जुननरसिंह केसीका सहोदर भाइ हुन् । डा केसी आफैँ पनि नेपाल मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष र विभिन्न अस्पतालको कार्यकारी निर्देशक भइसकेका व्यक्ति हुन् । यसबारे रातोपाटीले बिहीबार विस्तृतमा समाचार लेखेको छ ।

२. सहकारी ठगी प्रकरण

प्रिम सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दा एकैसाथ हेरिने उच्च अदालत बुटवलले आदेश दिएको छ।

आज उच्च अदालत बुटवल तुलसीपुरको १ नम्बर इजलासमा न्यायाधीश राजेश्वर तिवारी र सागर विष्टले लामिछाने र जोशीको मुद्दा सँगसँगै राख्न आदेश दिएका हुन् ।

३. विद्याको सक्रियता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चैत महिनाभित्र तीन प्रदेशका विभिन्न जिल्ला भ्रमणमा निस्कने भएकी छन् । एमालेको सक्रिय राजनीतिमा फर्कन ‘वामअर्प’ गरेकी भण्डारीले यसअघि गण्डकी र कोशी प्रदेशका विभिन्न जिल्लाहरू पुगेर एमाले नेता कार्यकर्तासँग भेटघाट र संवाद गरेकी थिइन् ।

४. होली

फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ ।

 हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागु पूर्णिमा पर्व मनाइन्छ । तराईका जिल्लामा भने भोलिपल्ट यो पर्व मनाउने चलन छ ।

 

५. विवादास्पद कार्यक्रममा सांसद

गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी पक्षको एक विवादास्पद कार्यक्रममा माओवादी केन्द्रका एक जना सांसद थाइल्यान्ड र कम्बोडिया जाने तय भएको छ ।

थाइल्यान्ड र कम्बोडियामा तय भएको कार्यक्रममा सहभागी हुन केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुवोध’ जाने तय भएको हो । पार्टीमा समेत समन्वय नगरी उनी त्यहाँ जान लागेको स्रोतको भनाइ छ ।

६. समाजवादी मोर्चाको बैठक भोलि

विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक भोलि (शुक्रवार) बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने मोर्चाको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा) का सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

७. अध्यक्ष दोषी ठहर

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई जिल्ला अदालत नवलपरासीले १ वर्षा कैद, दुई लाख जरिवाना र ८ हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ।

लागुऔषधसम्बन्धी मुद्दामा गत साता बुधबार न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले उनीसहित दुई जनालाई दोषी ठहर गरेको थियो ।

८. दिल्लीमा राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् । भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी आज नयाँ दिल्ली पुगेकी हुन् । 

९. ईभीमा मापदण्ड

नेपालमा जथाभाबी रूपमा विद्युतीय सवारी साधन आयात हुन थालेको भन्दै सरकार नयाँ मापदण्ड बनाउने तयारीमा लागेको छ । विद्युतीय सवारी साधन आयात गरी बिक्री वितरण गर्ने अधिकांश कम्पनीको सर्भिस, चार्जिङ स्टेसन, पाट्र्स उपलब्ध नभएका र नेपाली बाटोअनकूल नभएका सवारी साधनलाई मापदण्डले रोक्ने छ ।

 

१०. नयाँ ब्याजदर

चैत महिनाका लागि करिब एक दर्जन बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ महिनाको ब्याजदर तालिका अनुसार यो महिना लागि केही बैंकले ब्याजदर बढाएका छन् । केही बैंकले स्थिर राख्दा केही बैंकको ब्याजदर घटाएका छन् ।

थप समाचार

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप