उच्च अदालतको फैसला- अब रवि र छविको मुद्दा एकैसाथ हेरिने

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दा एकैसाथ हेरिने उच्च अदालत बुटवलले आदेश दिएको छ।
आज उच्च अदालत बुटवल तुलसीपुरको १ नम्बर इजलासमा न्यायाधीश राजेश्वर तिवारी र सागर विष्टले लामिछाने र जोशीको मुद्दा सँगसँगै राख्न आदेश दिएका हुन् ।
जिल्ला अदालतको आदेशअनुसार थुनामा नराखी मुद्दा लड्नुपर्ने छविको माग, रविलाई धरौटीमा नछाडी थुनामा राख्नुपर्ने उच्च सरकारी वकिलको माग, रविको धरौटीविना साधारण तारिखमा बस्न पाउने निवेदनसहित तीन वटा मुद्दा जोडिएर एउटै पेसीमा जानेछ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले रातोपाटीसँग भने, 'आज बेन्चबाट रवि र छवि सँगै जोडिएको एउटै मुद्दा हेर्नुपर्ने आदेश आएको छ, अब अर्को हप्ता थप केही आउला । '
यसअघि सरकारी वकिलले लामिछानेको मुद्दा पनि जोशीसँगै राखेर सुनवाइ गर्न माग गरेपछि इजलासले लामिछानेको कैफियत प्रतिवेदन माग गरेको थियो।
सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्यलादकुमार योगीको इजलासले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
सोही मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले गोर्खा मिडियाका सञ्चालकसमेत रहेका पूर्वडीआईजी जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । थुनाको आदेशविरुद्ध जोशीका छोरा रोचकले उच्च अदालतमा निवेदन दिएका थिए । उक्त निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै माघ ३० मा उच्च अदालतका न्यायाधीश तिवारीको इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो ।
सरकारी वकिलले फागुन १ मा लामिछानेलाई एक करोड धरौटीसहित तारिखमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध पनि निवेदन दिएको थियो । तर उच्च सरकारी वकिलको कार्यालयले भने रविलाई थुनामा राख्नुपर्ने माग गर्दै निवेदन दिएको छ ।
रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा आफूसँग माग भएको १ करोड धरौटी खारेजी र साधारण तारिखमा छाड्नपर्ने माग गर्दै लामिछाने गत सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका थिए ।
उच्च सरकारी वकिल बुटवलका सूचना अधिकारी एवं सहायक न्यायाधीवक्ता वसन्तराज पोखलले रवि र छविको मुद्दा स्वतः जोडिएर एकीकृत भएको रातोपाटीलाई बताए ।आजको इजलासले जाेशी र सरकारी वकिल दुवैतर्फको उपस्थितिमा यस्तो आदेश दिएको हो।
सुप्रिम सहकारीका एक हजार ८ सय ३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ हिनामिना गरेको अभियोगमा रवि र छविसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
बचतकर्ताहरू नारायणबहादुर पहराईको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिल रुपन्देहीले मुद्दा दायर गरेका थियो । उक्त मुद्दामा सहकारी अध्यक्ष ओम प्रकाश गुरुङ सुरुदेखि नै थुनामा छन् भने रवि र छविसहित पूरक अनुसन्धान गर्ने आदेशका आधारमा पछि मुद्दा चलाएको थियो ।
रविले रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पहिलो पटक सोमबार तारिख बुझेका छन्। उनलाइ अर्को तारिख आगामी वैशाख २३ गतेलाई दिइएको अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।
यता पूर्वडीआईजी छविलाल जोशी भने रुपन्देही अदालतमा थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
१० बजे १० समाचार : तारकेश्वर जग्गा विवाददेखि विद्या भण्डारीको बढ्दो सक्रियतासम्म