शुक्रबार, ०१ चैत २०८१
ताजा लोकप्रिय
संसद्‍मा हंगामा प्रकरण

कांग्रेस–रास्वपा सांसदबिच भनाभन भएको तारकेश्वर जग्गा विवाद के हो ?

बिहीबार, २९ फागुन २०८१, १७ : ००
बिहीबार, २९ फागुन २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय सुमना श्रेष्ठ र शिशिर खनालले बुधबार प्रतिनिधि सभाको शून्य समयमा एउटा विषय उठान गरे । 

दुवै जनाले राखेको विषय थियो, ‘काठमाडौँ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर नगरपालिका–९ को लोकतान्त्रिक चोकको जग्गा विवाद । 

प्रतिनिधि सभामा श्रेष्ठले भनिन्, ‘काठमाडौँ क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ स्थित लोकतान्त्रिक चोकको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको स्थानीयहरूको गुनासो र उजुरीका बाबजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आमगुनासो छ । यसमा पनि ध्यानाकर्षण गराएँ ।’ 

प्रतिनिधि सभामा खनालले भने, ‘काठमाडौँ क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ मा रहेको जग्गा, नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६२ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीयहरूको गुनासो र उजुरीका बाबजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आमगुनासो छ ।’ 

दुवै सांसदले नाम नलिइ ‘कांग्रेस नेता’ भनेका व्यक्ति थिए डा. केदारनरसिंह केसी । डा. केसी नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अर्जुननरसिंह केसीका सहोदर भाइ हुन् । डा. केसी आफैँ पनि नेपाल मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष र विभिन्न अस्पतालको कार्यकारी निर्देशक भइसकेका व्यक्ति हुन् । 

सांसदद्वयले बोलेपछि कांग्रेस सांसदहरूले त्यसको विरोध गरे । कांग्रेस संसदीय दलका सचेतक सुशीला थिङ, पूर्वयुवा तथा खेलकुदमन्त्रीसमेत रहेका राजेन्द्र केसी, राजेन्द्र बजगाईं तथा देवप्रसाद तिमिल्सिनाले तथ्यविना आरोप लगाएको भन्दै सांसदद्वय श्रेष्ठ र खनालले बोलेको कुरा रेकर्डबाट हटाउन माग गरे ।

श्रेष्ठले धारणा राखिसक्ने बित्तिकै कांग्रेस सांसद केसी उठे । त्यसपछि सभामुख देवराज घिमिरेले ‘माननीयज्यू’ को नियमापत्ति हो भन्दै सोध्दा कांग्रेसका आधा दर्जन सांसदहरू उठेर विरोध गरे तर सभामुखले उनीहरूलाई बोल्न माइक दिएनन् ।  

सभामुखले माइक नदिए पनि सांसद केसीले बोलेको सुनिएको थियो । उनले प्रतिनिधि सभामा आरोप लगाएपछि त्यसको तथ्य पुष्टि गर्न सक्नुपर्ने बताएका थिए । तथ्य पुष्टि नहुने भए संसदको रेकर्डबाट हटाउन उनले माग गरे पनि सभामुख घिमिरेले हटाउन निर्देशन दिएनन् । 

सभामुख घिमिरेले भने, ‘प्रतिनिधि सभामा वादविवादमा जाने होइन, आफूले उत्तरदायी र जिम्मेवार तरिकाले राख्नुहुनेछ भन्ने हाम्रो विश्वास छ । सार्वजनिक ढङ्गबाट संसदको अगाडि तथ्यपरक ढङ्गले राख्नहुन्छ । राख्नुहुनेछ ।’

प्रतिनिधि सभामा कांग्रेस–रास्वपा सांसद बाझाबाझ चल्दाचल्दै सामाजिक सञ्जालमा मालपोत कार्यालय मनमैजुको ‘खुलाइ पठाइएको सम्बन्धमा’ शीर्षकको पत्र सार्वजनिक भयो । 

गत साउन १६ गते कार्यालयले तारकेश्वर नगरपालिकालाई लेखेको पत्रमा लेखिएको छ, ‘काठमाडौँ जिल्ला साविक मनमैजु वडा नं.९ सिट नं. १०२०९४४२३ कि.नं. ६२ क्षेत्रफल २१.६२ व.मि. जग्गा ज.ध. केदारनरसिंह केसीका नाममा र कि.नं.६३ क्षे.फ.२६३.६१ नेपाल सरकारका नाममा यस कार्यालयको मोठ स्रेष्तामा जनिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

483178744_9261647633911846_3880744011280269385_n

बैठकमा बोल्दा सांसद खनालले तारकेश्वरमा चिहानको जग्गा नेताको कब्जामा गएको बताएका थिए । खनालले कित्ता नं. ६२ र ६३ भनेका थिए । मालपोत मनमैजुको पत्र हेर्ने हो भने कित्ता नं. ६२ डा. केसीका नाममा देखियो । त्यसपछि भने सांसदद्वय श्रेष्ठ र खनालको अभिव्यक्ति हटाउन माग गर्ने सांसदहरूले भन्दै थिए, ‘व्यक्तिको नाम भन्न भनेका हौँ, सिङ्गो पार्टीमाथि आरोप लगाउन पाइँदैन भन्ने हाम्रो माग थियो ।’ 

यसबारे कुनै पनि सांसद थप प्रतिक्रिया दिन तयार देखिएनन् ।    

आरोप लागेका डा. केसीले भने आफूलाई मालपोत कार्यालयले सट्टापट्टामा कित्ता नं. ६२ को जग्गा उपलब्ध गराएको जानकारी दिए । ‘कित्ता नं. ६१ मेरो श्रीमती रेखा थापा (केसी)को नाममा थियो । त्यो कित्ताको केही जग्गा सडकका लागि लगेर सट्टापट्टामा मलाई कित्ता नं.६२ दिएको हो,’ डा. केसीले रातोपाटीसँग भने, ‘उहाँहरूले संसदमा राजनीतिक स्टन्टका लागिमात्रै बोल्नुभएको हो ।’

WhatsApp Image 2025-03-13 at 10.53.28 AM

आफूले कित्ता नं ६१ को जग्गा २०४९ सालमा किनेको केसीको भनाइ थियो । अहिले आएर सरकारी जग्गा हड्पेको भनेर आरोप लगाउनुको औचित्य नभएको उनले प्रस्ट पारे ।

रास्वपाका नेताहरू भने आफूहरूले चिहानका लागि प्रयोग गर्ने जग्गा फिर्ता गर्न स्थानीयले पालिकासँग पटक–पटक आग्रह गर्दा पनि कुनै वास्ता नगरेकाले आफूहरूले संसद्मा उठाइदिएको बताउँछन् । खनाल काठमाडौँ ६ बाट निर्वाचित सांसदसमेत हुन् । 

रास्वपा सांसदहरूको सङ्केत तारकेश्वर नगरपालिकाको नगरप्रमुख नेपाली कांग्रेसबाट निर्वाचित रहेकै कारण डा. केसीले शक्ति दुरुपयोग गरी फाइदा लिएको भन्नेतिर लक्षित थियो । २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका कृष्णहरि श्रेष्ठ नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

a44a2570-ddd3-4c8a-8f4e-79f51473a72a

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?