जो अन्तिम समयमा अभागी बने, जो उपाधि यात्रामा कायमै छन्

काठमाडौँ । युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पुरा भएको छ । यसपटक इङ्ल्यान्ड, जर्मनी र स्पेनका दुई–दुई क्लब क्वार्टरफाइनलमा पुगेका छन् ।
इटाली र फ्रान्सको एक–एक क्लब पनि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । इङ्ल्यान्डबाट आर्सनल र एस्टन भिल्ला तथा जर्मनीबाट बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड अन्तिम आठमा पुगेका हुन् । दुई स्पेनिस ‘पावर हाउस’ बार्सिलोना र रियल म्याड्रिड पनि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
फ्रान्सबाट पेरिस सेन्ट जर्मन (पीएसजी) र इटालीबाट इन्टर मिलान अन्तिम आठमा प्रवेश गरेका हुन् । प्रतियोगिताको क्वार्टरफाइनलमा भने पीएसजीले एस्टन भिल्लाको तथा आर्सनलले रियल म्याड्रिडको सामना गर्नेछन् ।
यसैगरी, क्वार्टरफाइनलमा बार्सिलोना र बोरुसिया डर्टमन्ड तथा बायर्न म्युनिख र इन्टर मिलान आमने–सामने हुनेछन् । क्वार्टरफाइनलको पहिलो लेग खेल अप्रिल ८ र ९ तारिखमा तथा दोस्रो लेग खेल अप्रिल १५ र १६ तारिखमा खेलिने छ ।
यसपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने टोलीहरुको विषयमा यहाँ चर्चा गरिएको छ । यसदेखि वाहेक लिभरपुल, एसी मिलान, बेनफिकालगायत केही बलिया टोलीहरु क्वार्टरफाइनलमा पुग्न असफल भएका छन् । यी क्लबको बारेमा पनि सामान्य चर्चा गरिएको छ ।
जो उपाधि होडमा कायमै छन्
- रियल म्याड्रिड (स्पेन)
स्पेनिस क्लब रियल म्याड्रिड सबैभन्दा बढी च्याम्पियन्स लिगको उपाधि चुम्ने टोली हो । रियलले हालसम्म १५ पटक च्याम्पियन्स लिगको उपाधि चुमिसकेको छ । रियल म्याड्रिड यो प्रतिष्ठित प्रतियोगिताको साविक विजेता पनि हो ।
रियलले सबैभन्दा महिले सन् १९५६ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । सन् १९५६ देखि सन् १९६० सम्म रियलले लगातार पाँचवटा उपाधि हात पारेको थियो । सन् १९६६ मा रियलले छैटौँ पटक उपाधि जितेको थियो ।
त्यसपछि भने रियलले च्याम्पियन्स लिग जित्न लामो समय प्रतिक्षा गर्नु परेको थियो । रियलले सन् १९९८ मा सातौँ उपाधि चुमेको थियो । रियलले सन् २०००, सन् २००२, सन् २०१४, सन् २०१६, सन् २०१७, सन् २०१८, सन् २०२२ र सन् २०२४ मा पनि च्याम्पियन्स लिग जितेको थियो ।
यसका अतिरिक्त, रियल म्याड्रिड तीनपटक च्याम्पियन्स लिगको फाइनलमा पराजित भएको छ । सन् १९६२, सन् १९६४ र सन् १९८१ मा भने रियल म्याड्रिड च्याम्पियन्स लिगको उपविजेतामा समेटिएको थियो ।
- बार्सिलोना (स्पेन)
सबैभन्दा बढी च्याम्पियन्स लिगको उपाधि कुम्ल्याउने क्लबहरुको सूचिमा बार्सिलोना पाँचौँ स्थानमा आसिन छ । यो स्पेनिस क्लबले हालसम्म पाँचपटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ । बार्सिलोना हालसम्म तीनपटक उपविजेतामा समेटिएको छ ।
बार्सिलोनाले सन् १९९२ मा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि चुमेको थियो । त्यसपछि एकैपटक सन् २००६ मा आएर बार्सिलोनाले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । बार्सिलोनाले तेस्रो उपाधि भने सन् २००९ मा हात पारेको थियो ।
यसैगरी, बार्सिलोनाले सन् २०११ मा चौथो र सन् २०१५ मा पाँचौँ उपाधि जितेको थियो । त्यसपछि भने बार्सिलोनाले उपाधि चुम्न सकेको छैन । सन् १९६१, सन् १९८६ र सन् १९९४ मा बार्सिलोना उपविजेतामा समेटिएको थियो ।
- बायर्न म्युनिख (जर्मनी)
प्रभावशाली जर्मन क्लब बायर्न म्युनिख सबैभन्दा बढी च्याम्पियन्स लिगको उपाधि जित्ने टोलीको सूचिमा तेस्रो स्थानमा आसिन छ । यो जर्मन क्लबले हालसम्म ६ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ ।
बायर्न म्युनिखले सन् १९७४ मा पहिलो पटक च्याम्पियन्स लिग जितेको थियो । बायर्न म्युनिखले सन् १९७४ देखि सन् १९७६ सम्म लगातार तीनपटक उपाधिमाथि कब्जा जमाएको थियो । त्यसपछि भने बायर्न म्युनिखले उपाधिका लागि लामो समय प्रतिक्षा गर्नु परेको थियो ।
सन् २००१ मा बायर्न म्युनिखले चौथो पटक उपाधि कुम्ल्याएको थियो । त्यसपछि सन् २०१३ र सन् २०२० मा पनि बायर्न म्युनिखले च्याम्पियन्स लिग जितेको थियो । बायर्न म्युनिख हालसम्म पाँचपटक उपविजेता बनेको छ । जर्मन ‘पावर हाउस’ बायर्न म्युनिख सन् १९८२, सन् १९८७, सन् १९९९, सन् २०१० र सन् २०१२ मा उपविजेता बनेको थियो ।
- बोरुसिया डर्टमन्ड (जर्मनी)
अर्को जर्मन क्लब बोरुसिया डर्टमन्डले हालसम्म एकपटक मात्र च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छ । बोरुसिया डर्टमन्डले सन् १९९७ मा यो प्रतिष्ठित प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको थियो ।
त्यसपछि यो क्लबले उपाधि हात पार्न सकेको छैन । यद्दपि, बोरुसिया डर्टमन्ड दुईपटक फाइनलमा पुगेर पराजित भएको छ । बोरुसिया डर्टमन्ड प्रतियोगिताको साविक विजेता पनि हो । यो क्लब सन् २०१३ र सन् २०२४ मा उपविजेता बनेको थियो ।
- आर्सनल (इङ्ल्यान्ड)
यसपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने दुई इङ्लिस टोलीमध्ये एक हो, आर्सनल । आर्सनलले हालसम्म एकपटक पनि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । त्यसैले यसपटक आर्सनल पहिलो उपाधि कुम्ल्याउने दाउमा रहने छ ।
आर्सनल सन् २००६ मा एकपटक प्रतियोगिताको फाइनलसम्म पुगेको थियो । उक्त संस्करणको फाइनलमा स्पेनिस क्लब बार्सिलोनाले आर्सनललाई २–१ गोलले हराएको थियो । यसवाहेक आर्सनल हालसम्म फाइनलमा पनि पुग्न सकेको छैन ।
- एस्टन भिल्ला (इङ्ल्यान्ड)
पछिल्लो समय इङ्लिस क्लब एस्टन भिल्ला लयमा देखिन्छ । रमाइलो पक्ष के हो भने, च्याम्पियन्स लिगमा आर्सनलभन्दा एस्टन भिल्लाको इतिहास गौरवशाली देखिन्छ । एस्टन भिल्लाले एकपटक च्याम्पियन्स लिगको उपाधि पनि जितिसकेको छ ।
एस्टन भिल्लाले सन् १९८२ मा च्याम्पियन्स लिगको उपाधि हात पारेको थियो । उक्त संस्करणको फाइनलमा एस्टन भिल्लाले बलियो जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई १–० गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो । एस्टन भिल्ला फाइनलमा पुगेको पनि त्यो एकमात्र अवसर हो ।
- पेरिस सेन्ट जर्मन (फ्रान्स)
च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) को इतिहास खासै गतिलो देखिँदैन । पीएसजी हालसम्म एकपटक मात्र च्याम्पियन्स लिगको फाइनलमा पुग्न सकेको छ । सन् २०२० को च्याम्पियन्स लिगको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखले पीएसजीलाई १–० गोलले हराएको थियो ।
- इन्टर मिलान (इटाली)
च्याम्पियन्स लिगमा इटालियन क्लब इन्टर मिलान निकै पुरानो इतिहास बोकेको टोली हो । च्याम्पियन्स लिगमा विगत गौरवशाली भए पनि इन्टर मिलानको वर्तमान भने खासै गतिलो देखिँदैन । इन्टर मिलानले हालसम्म तीन पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
इन्टर मिलानले सन् १९६४ मा पहिलो पटक यो प्रतिष्ठित प्रतियोगिताको उपाधि जितेको थियो । त्यसलगत्तै सन् १९६५ मा इन्टर मिलानले नै उपाधि कुम्ल्याएको थियो । इन्टिर मिलानले अन्तिम पटक सन् २०१० मा च्याम्पियन्स लिग जितेको थियो ।
यसदेखि वाहेक यो इटालियन क्लब तीनपटक च्याम्पियन्स लिगको उपविजेता पनि बनेको छ । सन् १९६७ मा इन्टर मिलान फाइनलमा पराजित भएको थियो । सन् १९७२ र सन् २०२३ मा पनि इन्टर मिलान फाइनलमा पराजित भएको थियो ।
जो अन्तिम समयमा अभागी बने
- लिभरपुल (इङ्ल्यान्ड)
प्रभावशाली इङ्लिस क्लब लिभरपुल भने यसपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्न असफल भयो । एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएको लिभरपुल प्रि–क्वार्टरफाइनल भिडन्तमा भने स्तब्धः बन्न पुग्यो ।
लिग चरणको खेलमा अंक तालिकाको पहिलो स्थानमा रहेर लिभरपुल नकआउट चरणमा प्रवेश गरेको थियो । लिभरपुल लिग चरणमा आफूले खेलेको आठामध्ये सात खेलमा विजयी भएको थियो । केवल एक खेलमा पराजित भएको लिभरपुलले कुल २१ अंक बटुलेको थियो ।
सोही कारणले लिभरपुल सिधै प्रि–क्वार्टरफाइनलमा पुगेको थियो । त्यसपछि प्रि–क्वार्टरफाइनल चरणको खेलमा लिभरपुल फ्रान्सेली प्रतिद्वन्द्वी पीएसजीसँग पराजित भएको थियो । प्रि–क्वार्टरफाइनलको पहिलो लेग खेलमा लिभरपुल १–० गोलले अगाडि थियो ।
दोस्रो लेग खेलमा भने लिभरपुलको टोली पीएसजीसँग ०–१ गोलले पराजित हुन पुग्यो । दुबै टोलीको कुल गोलभिन्नता १–१ भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । तर, दूर्भाग्यपूर्ण तरिकाले पेनाल्टी सुटआउटमा पीएसजीले लिभरपुललाई ४–१ गोलले हराएको थियो ।
लिरभपुल सबैभन्दा बढी च्याम्पियन्स लिगको उपाधि जित्ने क्लबहरुको सूचिमा चौथो स्थानमा आसिन छ । लिभरपुलले हालसम्म ६ पटक च्याम्पियन्स लिग जितेको छ । लिभरपुलले सन् १९७७, सन् १९७८, सन् १९८१, सन् १९८४, सन् २००५ र सन् २०१९ मा च्याम्पियन्स लिग जितेको थियो ।
यसका अतिरिक्त, लिभरपुल हालसम्म चारपटक उपविजेता पनि बनेको छ । सन् १८८५, सन् २००७, सन् २०१८ र सन् २०२२ मा लिभरपुल फाइनलमा पुगेर पराजित भएको थियो । गौरवशाली इतिहास बोकेको लिभरपुलका लागि च्याम्पियन्स लिगको यो संस्करण भने दूर्भाग्यपूर्ण रह्यो ।
- एसी मिलान (इटाली)
इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिगको इतिहासमा सफल टोलीमध्ये एक मानिन्छ । एसी मिलान हालसम्म सबैभन्दा बढी च्याम्पियन्स लिगको उपाधि जित्ने क्लबहरुको सूचिमा पनि दोस्रो स्थानमा आसिन छ ।
एसी मिलानले हालसम्म सातपटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ । यो इटालियन क्लबले सन् १९६३ मा पहिलो पटक च्याम्पियन्स लिग जितेको थियो । सन् १९६९ मा दोस्रोपटक उपाधि कुम्ल्याएको एसी मिलानले त्यसपछि भने उपाधि जित्न लामो समय पर्खनु परेको थियो ।
एसी मिलानले सन् १९८९, सन् १९९०, सन् १९९४, सन् २००३ र सन् २००७ मा पनि च्याम्पियन्स लिग जितेको थियो । एसी मिलान हालसम्म चारपटक उपविजेता पनि बनेको छ । यो क्लब सन् १९५८, सन् १९९३, सन् १९९५ र सन् २००५ मा फाइनलमा पराजित भएको थियो ।
यसपटक भने एसी मिलान प्ले–अफ चरणभन्दा अगाडि बढ्न सकेन । लिग चरणको खेलमा एसी मिलान अंक तालिकाको १३औँ स्थानमा रहेको थियो । लिग चरणमा एसी मिलानले आठमध्ये पाँच खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको थियो ।
सोही कारणले एसी मिलानले प्रि–क्वार्टरफाइनलमा पुग्न प्ले–अफ खेल्नु परेको थियो । नकआउट चरणको प्ले–अफ खेलमा एसी मिलान डच क्लब फेयनुर्डसँग पराजित भएको थियो । पहिलो लेग खेलमा फेयनुर्ड १–० गोलले विजयी भएको थियो ।
प्ले–अफ चरणको दोस्रो लेग खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि २–१ कुल गोल भिन्नताका आधारमा फेयनुर्ड प्रि–क्वार्टरफाइनलमा पुगेको थियो भने एसी मिलान उपाधि होडबाट बाहिरिएको थियो । त्यसैले एसी मिलानका लागि पनि यो संस्करण बिर्सनलायक रह्यो ।
- बेनफिका (पोर्चुगल)
पोर्चुगिज क्लब बनेफिकाका लागि पनि च्याम्पियन्स लिगको यो संस्करण निराशाजनक रह्यो । यद्दपि, च्याम्पियन्स लिगको इतिहासमा बेनफिका सफल क्लबमध्येको एक हो । बेनफिकाले हालसम्म दुईपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
बेनफिकाले पहिलो पटक सन् १९६१ मा च्याम्पियन्स लिगको उपाधि चुमेको थियो । त्यसलगत्तै सन् १९६२ मा पनि बेनफिकाले नै उपाधि उचालेको थियो । यसका अतिरिक्त बेनफिका पाँचपटक उपविजेता पनि बनेको छ ।
बेनफिका सन् १९६३, सन् १९६५, सन् १९६८, सन् १९८८ र सन् १९९० मा फाइनलमा पुगेर पराजित भएको थियो । यसपटक भने लिग चरणको खेलमा बेनफिका १६औँ स्थानमा रहेको थियो । लिग चरणमा बेनफिकाले आठमध्ये चार खेलमा जित, एक खेलमा बराबरी र तीन खेलमा हारको नतिजा निकाल्यो ।
सोही कारणले बेनफिकाले प्रि–क्वार्टरफाइनलमा पुग्न नकआउट चरणको प्ले–अफ खेल्नु परेको थियो । प्ले–अफ चरणको खेलमा बेनफिकाले फ्रान्सेली लिग क्लब मोनाकोलाई ४–३ कुल गोल भिन्नताका आधारमा हराएको थियो ।
तर, बेनफिका प्रि–क्वार्टरफाइनल चरणभन्दा अगाडि भने बढ्न सकेन । प्रि–क्वार्टरफाइनल चरणमा स्पेनको बार्सिलोनाले बेनफिकालाई ४–१ कुल गोल भिन्नताका आधारमा हराएको थियो । बार्सिलोना पहिलो लेग खेलमा १–० र दोस्रो लेग खेलमा ३–१ गोलले विजयी भएको थियो । त्यसैले बेनफिकाका लागि पनि च्याम्पियन्स लिगको यो संस्करण निराशाजनक रह्यो ।
पूर्वविजेता जो सुरुमै निराश बने
च्याम्पियन्स लिगका केही पूर्वविजेता क्लब भने यसपटक लिग चरणबाटै बाहिरिन पुगे । केही क्लब प्ले–अफ चरणबाट बाहिरिए । पूर्वविजेता म्यानचेस्टर सिटी लिग चरणबाटै बाहिरियो । लिच चरणको खेलमा इङ्लिस क्लब म्यान सिटी २२औँ स्थानमा रहन पुग्यो ।
म्यानचेस्टर सिटीले लिग चरणमा आफूले खेलेको आठमध्ये तीन खेलमा जित, दुई खेलमा बराबरी र तीन खेलमा हारको नतिजा निकाल्यो । म्यानचेस्टर सिटीले सन् २०२३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । म्यानचेस्टर सिटी २०२१ मा भने उपविजेता बनेको थियो ।
यसैगरी, पूर्वविजेता इटालियन क्लब युभेन्ट्स लिग चरणबाट बल्लतल्ल प्ले–अफ चरणमा पुगेको थियो । लिग चरणमा युभेन्ट्स २०औँ स्थानमा रहेको थियो । लिग चरणमा युभेन्ट्सले आठमध्ये तीन खेलमा जित, तीन खेलमा बराबरी र दुई खेलमा हारको नतिजा निकालेको थियो ।
तर, नकआउट चरणको प्ले–अफ खेलमा युभेन्ट्सलाई डच क्लब पीएसभी आइन्डओभनले ४–३ कुल भिन्नताका आधारमा हरायो । युभेन्ट्सले हालसम्म दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । यो इटालियन क्लबले सन् १९८५ र सन् १९९६ मा च्याम्पियन्स लिग जितेको थियो ।
यसका अतिरिक्त युभेन्ट्स हालसम्म सातपटक च्याम्पियन्स लिगको उपविजेता पनि बनेको छ । युभेन्ट्स सबैभन्दा बढीपटक फाइनलमा पराजित हुने क्लब पनि हो । युभेन्ट्स सन् १९७३, सन् १९८३, सन् १९९७, सन् १९९८, सन् २००३, सन् २०१५ र सन् २०१७ मा फाइनलमा पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्याको सक्रियता बढ्दै, लुम्बिनी, मधेस र सुदूरपश्चिम यात्राको तयारी
-
परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने
-
ललितपुरको हरिसिद्धिमा नाचियो हरिसिद्धि नाच
-
बाराबाट १३ किलो गाँजासहित एक महिला पक्राउ
-
अर्घाखाँचीमा माटोको ढिस्को खस्दा एक महिला घाइते
-
नरसिंहा अवतार’ को टिमसँग राजेश हमालले खेले होली